मानसपटलमा चेतन दाइ


चेतन पन्त, नामै काफी थियो । स्वच्छ, स्पष्ट, अध्ययनशील, लुम्बिनीबारे जानाकार र बुद्धस्थल चिनाउने । सायदै चेतन दाईलाई नचिन्ने लुम्बिनी क्षेत्रमा कोही थिएन । यसैले पनि मैले नामै काफी भनेको हुँ । निस्वार्थ लुम्बिनी प्रबद्र्धनको काम गर्नुभएका चेतन दाइले दर्जनौं मुलुकमा पुगेर बुद्ध जन्मस्थलको ब्राण्डिङ गर्नुभयो । तर, आज उहाँ हाम्रो स्मृतिमा मात्रै हुनुहुन्छ । कुनै समय थियो, लुम्बिनीबारे बोल्न, लेख्न र नयाँ तथ्य जानकारी लिन परेमा चेतन दाईलाई खोजिहाल्ने ।
अंग्रेजी भाषामा समेत राम्रो दख्खल भएकै कारण उहाँको अझ बढी खोजी हुन्थ्यो । विडम्बना भनौ वा उहाँंको लेखा । ‘राम्रो मान्छे, धेरै टिक्दैन’ उक्ति उहाँमा मेल खायो । गत वर्ष चेतन दाईले हामीलाई सधाका लागि छाडेर जानुभयो । चेतन दाइ भैरहवाका बरिष्ठ संचारकर्मी हुनुहुन्थ्यो । उहाँसँगको मेरो सामिप्यता २०६२ साल मङ्सिरबाट सुरु थियो ।
त्यतिबेला म नेपाल वान टिभीमा पाल्पा, गुल्मी र अर्घाखाँचिको रिपोर्टिङ गर्थेँ, तयो पनि पाल्पा सदरमुकाम तानसेनमा बसेर। मेरो गृहजिल्ला पनि पाल्पा नै थियो । अचानक टिभीले हाललाई पाल्पा छाडेर बुट्वल झर्नु भन्यो । मैले पारिश्रमिकको कुरा गर्दा त्यती बेला १० हजार रुपैयाँ मासिक प्राप्त हुने र अन्य सेवासुबिधा पनि पाइने आश्वासन पछि म अर्को दिन बुटवल झरेँ । तर, मैले गन्तब्य भने भैरहवा बनाएँ ।
समाचार खिचेका क्यासेट (भिडियो फाइलहरु) बिमानइस्थलबाट काठमाडौ पठाउनु पथ्र्यो दिनहुँजसो । त्यसैले भैरहवा गन्तब्य बनाएँ । साथै मामाघर मधवलिया र ससुराली पनि भैरहवा सेरोफेरो रहेका कारण थप सहज भयो । त्यतिबेला देश द्वन्द्वको चरम भूमरीमा थियो । कति बेला कहाँ के हुन्छ थाहा थिएन ।
भैरहवा आएको अर्को दिन महेन्द्रसभा गृहमा राजदरबार सम्बन्धि एक कार्यक्रम थियो । थाहा पाएर त्यहाँ गएँ । खासै कसैलाई चिनिन । चेतन दाइले उद्घोषण गर्नु भएको थियो । उहाँका भाइ शम्भु पन्तले छायांकन गर्दै हुनुहुन्थ्यो ।
चेतन दाइ इमेज टिभीमा र शम्भु दाइ नेपाल टिभीमा काम गर्नुहुन्थ्यो । ती बाहेक माधव ढुंगाना (कान्तिपुर), कुलमणि ज्ञवाली (नेपाल समाचार पत्र) र शारदा मल्ल ( च्यानल नेपाल) सँग त्यही परिचय भयो । पछि दिपेश पछाई, टिपी भुसाल र मुकेश पोख्रेलसित परिचय भयो ।
शम्भु दाइको मिलनचोकमा फोटो फेमस नामको इस्टुडियो थियो । मसित त्यतिबेला क्यामरा नभएकाले त्यही गएर कार्यक्रमको भिडियो मागेको मौकाले चेतन दाइ पनि त्यही हुनुहुन्थ्यो । उहाँसित परिचय पछि भिडियो दिनुभयो र काठमाडौं पठाउन बिमानस्थल गएँ । समाचार फ्याक्स गरि पठाएँ ।
त्यसदिनदेखि दाइसित सामिप्यता बढ्यो र यो क्रम बिस्तारै बढ्दै गयो । पछि विभिन्न कार्यक्रममा चेतन दाइसँग सँगै हिंड्न थालेँ । चेतन दाइको ४ जनाको सानो परिवार भाउजू गङ्गा पन्त, छोराहरु उत्सव पन्त र उमंग पन्त । सानो परिवार सुखी परिवार ।
हिंड्दा हिंड्दै थाहा पाए, उहाँको लगाव अनि झुकाव लुम्बिनीमा बढी थियो । प्रायः लुम्बिनी गइरहनुहुन्थ्यो । म पनि उहाँको झुकाव र लुम्बिनीप्रतिको मोह थाहा पाएर अझ बढी नजिक हुन खोज्थे । मलाइ पर्यटन र अर्थतन्त्रको समाचारप्रति बढी रुचि थियो । पछि आर्थिक कारोबारमा जोडिएपछि आर्थिक पर्यटन सामाचार बढी लेख्न थालेँ ।
दाइ देशबिदेशमा भ्रमण गर्नुहुन्थ्यो । हामी उहाँको भ्रमणको स्मरण सुन्दै आफै देश बिदेश गएको अनुभव गर्थिम । म पनि २०६३ असारबाट भैरहवामा घर भाडामा बस्न थालेँ । श्रीमती सरिता सापकोटा र छोरि अभिलाषा शर्मा (हाल क्यानाडा) लाई पनि भैरहवा बोलाएर सँगै बस्न थालिम । छोरी २ वर्षकी थिइन् ।
समयक्रम बढ्दै गयो । दाइको रुचि फोटोग्राफी र डकुमेन्ट्री निर्माणमा पनि थियो । साथै चराचुरुङ्गी र ताल तलैयाको भिडियो फोटोमा पनि लगाव भएकाले कहाँकहाँ पुग्नुहुन्थ्यो । कति ठाउँमा म पनि सँगै जान्थे त, कति ठाउँमा दाइ एक्लै गएर पछि मनोरञ्जन आज यो बनाए, हेरत भनेर देखाउनुहुन्थ्यो । म पनि हेर्थे । पछि दाइको जेठो छोरा उत्सव पन्तको अमेरिकामा डिभी परेर उतै गए । अहिले पनि अमेरिका नै छन् ।
कान्छा छोरा उमंग पन्त पनि पछि अष्ट्रेलिया गएपछि घरमा दाइ भाउजू मात्रै । दाइले त्यस बिचमा राष्ट्र बैंक सिद्धार्थनगरमा काम गर्नुहुन्थ्यो । दाइले बिचबिचमा आफ्ना जीवनका रमाइला कुरा सुनाएर हसाउनु हुन्थ्यो । येसैबीच दाइसँगै थाइल्याण्ड २ पटक, श्रीलंका, मलेशिया भ्रमण गरेँ । पर्यटन प्रवद्र्धन मुख्य गरि बुद्धजन्मस्थल लुम्बिनीको थियो । त्यहाँ दाइले खिचेर तयार गरेको लुम्बिनी स्स्म्बन्धी डकुमेन्ट्री, फोटोहरु प्रदर्शन गर्थेउ । भारतको स्रावस्ती, बोधगया, कुशिनगर पनि सँगैै गयौं, धेरै पटक । नेपालका धेरै ठाउँमा सँगै गयौं ।
दाइ सिद्धार्थ होटल संघ (सान)को पर्यटन सल्लाहकार हुनुहुन्थ्यो भने प्रेस सल्लाहकार म थिएँ । सानका अध्यक्ष सिपी दाइ (चन्द्र प्रकाश श्रेष्ठ) सँगै हामी भारतको विभिन्न शहर र नेपालका धेरै स्थानमा पर्यटन प्रवद्र्धन कार्यक्रममा गएका छौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल समयमै सम्पन्न भएर संचालनमा आउन पर्छ भनेर भिडियो, फोटो, समाचार, लेखहरुको माध्यमबाट दवाब दिइराख्नु हुन्थ्यो ।
बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध जिवनीमा आधारित रुपन्देही, कपिलवस्तु, नवलपरासीको प्रबद्र्धनका लागि हामी प्रायः लुम्बिनीका भिक्षु मैत्री महास्थबिर पनि सँगै हुनुहुन्थ्यो हामीसित । दाइ र भिक्षु मैत्रीको मित्रता पहिलादेखि नै थियो भने मलाइ दाइले चिनाइदिनु भएको थियो ।
उहाँसितै हामी लंका गएका थियौं । समयक्रम बढ्दै गयो । उहाँसँग सामिप्यता बढ्दै गयो, भिक्षु मैत्री सँग पनि, हामी तीन जना खुब मिल्थेउँ । बुद्ध दर्शनका कुरा उहाँबाट सुन्थेउ । येसै क्रममा भिक्षु मैत्रीलाई प्राणघातक रोग क्यान्सर देखियो (आन्द्राको) । अहिले पनि उहाँ उपचारमै हुनुहुन्छ । दाइको एउटा बानी थियो पान र पान मसाला खाने । केही खाइसके पछि दाँत सिन्काले कोट्याउने बानीे । तर, स्वास्थ्यको एकदम केयर गर्नुहुन्थ्यो ।
२०७८ को अन्तिमतिरको कुरा हो, दाइभाउजू माता बैष्णादेवीको दर्शन गरेर फिर्ता आउँदा बनारस विश्व विद्यायालय (बिएचयु)मा परीक्षण गर्दा गिंजामा क्यान्सर रहेको प्रमाणित भयो । यो २०७८ चैत्रको कुरा हो । दाइले त्यही शल्यक्रिया गर्ने निर्णय गर्नु भयो, घरपरिवारको सरसल्लाहमा ।
छोराहरु पनि आइपुगे । दाइ भैरहवा आएर शल्यक्रियाको लागि बनारस जानू भयो । चैत्र अन्तिममा दाइको शल्यक्रिया सम्पन्न भयो । र, केही समय बनारस नै बस्नुभयो । पछि नियमित परीक्षण दिल्लीमा गर्नुहुन्थ्यो र केही किमो थेरापी त्यही चढाउनु भयो । अमेरिकामा रहेका छोरा उत्सवले बुवाको उपचारमा निकै मद्दत गरे आर्थिक रुपमा । आफ्नो त्यहाँको ब्यवसायको वास्ता नगरी बुवाको उपचारमा जुटिरहे । अष्ट्रेलिया गएका छोरा उमंगले पनि सक्दो सहयोग गरे । उनी अष्ट्रेलिया छाडेर प्रायः सँगै हुन्थे, बुवाआमासित । गङ्गा भाउजुले दाइको रातदिन स्याहार गर्नुभयो ।
२ वर्ष पछि २०८० जेठतिर दाइ फ्लोअपमा दिल्ली जाँदा क्यान्सर मुखको अर्को पट्टि फैलेको थाहा भयो । बुवा ठिक हुनुभयो भनेर बिदेश गएका छोराहरु फिर्ता आए । दाइ श्रावणमा काठमाडौं आएर हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा किमो थेरापी लगाउन उतै परिवारसहित बस्न थाल्नु भयो । दाइलाई बिस्तारै बिस्तारै रोगले गाल्दै लग्यो । छोराहरुले बुवा निको हुनुहुन्छ भनेर धेरै खर्च गरे ।
गङ्गा भाउजूका अनुसार दाइको उपचारमा २ करोड बढी खर्च भयो । यही बिचमा मलाइ पनि त्यही २०८० भदौबाट ब्यथाले (क्यान्सर)ले समात्यो । अहिले पनि उपचारमा छु । २०८१ असारमा दाइलाई भैरहवा घर ल्याइयो । जेठो छोरा उत्सव अमेरिकाबाट आइसकेका थिए भने कान्छा छोरा उमंग बुवाआमासँगै थिए ।
अन्ततः दाइले २०८१ श्रावण २० गते यस धर्तीबाट बिदा लिनु भयो । त्यतिबेला म शल्यक्रिया पछि काठमाडौंमै थिएँ । राति फेसबुकमा देखेपछि खुट्टा लगलग कापे, सरिर चिसो भयो । रातभरी सुत्न सकिनँ । अझै पनि बिश्वास लाग्दैन दाइ हुनुहुन्न भनेर । प्रायः पछिल्लो समय बिहान घरमा आएर उठाउँदै सरिता ग्रीन टि बनाउ भन्नू हुन्थ्यो । अहिले पनि त्यस्तै लाग्छ, आउनुहुन्छ कि भनेर । छोरा आगमनले हजुर बुवा आउनु भयो भन्थ्यो ।
तिथिअनुसार आज दाईको शुक्रबार बार्षिक पुण्यतिथि हो । मैले आजसम्म दाइलाई श्रद्धाञ्जली दिन सकेको थिइनँ । आजै यो लेख मार्फत् दाइलाई श्रद्धाञ्जली एवम् भाउजू गङ्गा र भतिजहरु उत्सव एवम् उमंग साथै सिंगो परिवारमा समबेदना दिन चाहन्छु । पत्रकारिता अगुवा, लुम्बिनीका अभियन्ता चेतन दाइलाई अब हामीले कहिल्यै पाउन्नौं । तर, उहाँले गरेका योगदान, हामीसँगका सहकार्य भने मानसपटलमा सधै रहिरहनेछन् । चेतन दाइले पत्रकारिता मार्फत् देखाउनु भएको सत्मार्ग सधै पछ्याइरहन पाऊ ।
पत्रकार पन्तः सरल स्वभावले सबैको मन जिते, रोग जित्न नसक्दा अस्ताए








लेखकको सम्वन्धमा