नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेश सभामा छलफल सुरु


दाङ– लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा आर्थिक वर्ष २०८३–०८४ नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभामा छलफल प्रक्रिया अगाडि बढाइएको हो ।
बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन् ।
छलफलमा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मिना कुमारी श्रेष्ठ तथा विष्णुप्रसाद पन्थीले भाग लिए । उनीहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।
बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घर्तीमगरले जानकारी गराएका थिए । प्रदेश सभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न ११ जना प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए । प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।








प्रतिकृया दिनुहोस्