पत्रकार पन्तः सरल स्वभावले सबैको मन जिते, रोग जित्न नसक्दा अस्ताए


भैरहवा– जीवनको उर्जावान समय बैंकिङ, पत्रकारिता र लुम्बिनीलगायत क्षेत्रका पर्यटन प्रवर्द्धनमा दिँदै ६६ वर्षको उमेरमा भैरहवाका बरिष्ठ पत्रकार तथा सामाजिक व्यक्तित्व चेतन पन्तको निधन भएको छ । दुई वर्ष भन्दा लामो समयसम्म मुखको क्यान्सर रोगबाट पीडित पन्तको आइतबार राति सिद्धार्थनगर–६, दुर्गाकोलोनीस्थित आफ्नै निवासमा ९ः १० मा निधन भएको हो । उनको एक श्रीमती र दुई छोरा छन् ।
पन्त दुई दशक भन्दा धेरै समय नेपाल राष्ट्र बैंकमा कार्यरत थिए । नेपाल राष्ट्र बैंकमैं कार्यरत रहँदाको वेलादेखि उनी पत्रकारिता क्षेत्रमा पनि उदाएका हुन् । सुरुवाती दिनमा नेपाल टेलिभिजनमा योगदान दिएका पन्त पछि स्पेश टाइम, इमेज टिभी लगायतका संचारमाध्यममा व्यवसायिक रुपमा कार्यरत रहे ।
उनी द रेयुकाइ नेपाल लगायतका सामाजिक संस्थामा आवद्ध रहि सामाजिक कार्यमा क्रियाशिल रहेँ । लुम्बिनी प्रेस क्लबको स्थापनादेखि उनी सल्लाहकार भएर काम गरे । नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदाको अवस्थामा पनि परिआउँदा आफ्नो समय र कामलाई व्यवस्थापन गरेर उनी पत्रकारिता र सामाजिक कामका लागि निस्किन्थे । उनी भैरहवा लगायत स्वदेश र बिदेशमा व्यवसायिक पत्रकार र लुम्बिनी प्रबद्र्धकका रुपमा परिचित थिए ।
मर्चवारस्थित सीमावर्ती क्षेत्रमा र कलिबस्तुको तौलिहवाको दक्षिणी सिमावर्ती क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको रसियाल खुर्द लौटन बाँध र महली सागर बाँध, साढे दुई दशक अघि सिमावर्ती भारतीय बजारबाट नेपाल भित्रिने गरेको बिषाक्त तथा गुणस्तरहीन खाने तेल लगायतका विषयलाई पत्रकारिताको क्षेत्रबाट राष्ट्रिय विषयबस्तु बनाउनमा उनको पनि ठूलो योगदान थियो ।
पछिल्लो समयमा उनले बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित बृहत लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनमा बिशेष योगदान दिए । अमेरिका, थाइल्याण्ड, म्यानमार, अष्ट्रेलिया, हङकङ, श्रीलंका, भारत लगायत दर्जनौं देशमा उनले बुद्ध जन्मस्थल लुम्बिनी र नेपालको अन्य पर्यटकीय स्थलको फोटो प्रद्धर्शनी गर्दै नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिएका थिए । लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि उनले विभिन्न युट्युव च्यानल समेत बनाएका थिए ।
कुनै पनि विषय र कामका लागि नाइ नभन्ने स्वभावका चेतन पन्तको किशोरावस्था र त्यसपछिका केही बर्ष संघर्षमय रुपमा बित्यो । बावु नगेन्द्र पन्तको देहान्तपछि जेठो छोराको रुपमा रहेका उनलाई पारिवारिक जिम्मेवारीको दायित्व सानै उमेरदेखि परेको थियो । सानै उमेरदेखि शान्त र सरल स्वभाव भएकाले उनको बास्तविक नाम भने बुद्ध थियो ।
अंग्रेजी, नेपाली, हिन्दी र अन्य स्थानीय भाषहरुमा राम्रो दखल भएका पन्तसँग हसाउने कला पनि थियो । रसिक स्वभावका थिए । आन्तरिक र बाह्य भ्रमणमा उनको बिशेष रुचि हुने गथ्र्यो । कसैलाई अप्ठेरो र दुःख साह्रो पर्दा जुनसुकै वेला पनि सहयोगका लागि तम्तयार रहन्थे ।
मुखको शल्यक्रिया पछि बोल्न नमिल्ने भएपछि उनले मोवाइलमा म्यासेन्जर र एसएमएसको माध्यमबाट आफन्त र नातेदारसँग कुराकानी गर्थे । रोगले ग्रसित बनाएपछि र काठमाडौंमा उपचाररत रहेको अवस्थामा उनले केही महिना अघि मोवाइल म्यासेन्जरमा लखेको ‘आइ वान्ट टु गो माइ डेस्टिेनेशन’ वाक्यले सबैलाई नरमाइलो बनाएको थियो । उनले भन्ने गर्थे, ‘पासपोर्टमा भिसाको म्याद नसकिन्जेलसम्म केही हुँदैन ।’ अन्तमा उनको जीवनरुपी पासपोर्टको भिसाको म्याद आइतबार राति सकियो । हार्दिक श्रद्धाञ्जलि ।








प्रतिकृया दिनुहोस्