June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

सिद्धार्थनगरमा बारम्बार बल्झिने गरेको अटो-टेम्पो र इ-रिक्सा व्यवस्थापन मुद्दा

Advertisement

भैरहवा– स्थानीय नगरपालिका, प्रहरी प्रशासन लगायतका सरोकारवाला निकायले बिना दर्ता र मापदण्ड बिपरीत संचालित अटो तथा इरिक्साको अनुगमनलाई निरन्तरता नदिँदा सिद्धार्थनगर क्षेत्रमा अटो तथा इरिक्सा संचालनको समस्या बारम्बार बल्झिने गरेको छ ।

Advertisement

सिद्धार्थनगर नगर क्षेत्रका अटो तथा इरिक्सा व्यवसायीले आफ्ना माग राखेर आन्दोलन गरेको धेरै पटक भयो । कहिले दर्ता भइ निर्धारित मापदण्ड अनुरुप संचालन भएका व्यवसायीले आन्दोलन गर्छन् । भने, कहिले बिना दर्ता संचालनमा रहेका व्यवसायीले । अनि अटो–टेम्पो, इरिक्सालाई व्यवस्थित गर्ने भनेर कहिले जिल्ला प्रशासन कार्यालय त कहिले नगरपालिकामा बैठक बसेको पनि धेरै पटक भयो ।

बैठक बस्छ, मापदण्ड बनाइन्छ, निर्णय पनि हुन्छ । निर्णय अनुरुप सुरुका दुई चार दिन कार्यान्वयनका लागि पहल पनि गरिन्छ । सडकमा नगर प्रहरी र ट्राफिक प्रहरी अनुगमनमा खटिएको पनि देदिन्छ । बिना दर्ता र मापदण्ड बिपरीत संचालित केही अटो तथा इरिक्सालाई कारवाही गरिन्छ । जरिवाना तिराइन्छ ।

कारवाहीमा परेका व्यवसायीको पक्षमा कहिले कुनै दलका नेताले भनसुन गर्छन् । कहिले कुनै जनप्रतिनिधिका आफ्ना कार्यकर्ता तथा समर्थक पर्छन् । अनि क्रमशः नगरपालिका लगायत सरोकारवाला निकाय मौन बस्न थाल्छन् । अनि फेरि व्यवसायी आन्दोलन सुरु गर्छन् ।

उता, दर्ता भएर र मापदण्ड अनुरुप मात्र संचालन गर्नका लागि कडाइ गर्न थालेपछि सिद्धार्थनगरपालिका बाहिरका व्यवसायी आन्दोलनमा उत्रिन्छन् । उनीहरुलाई अप्रत्यक्ष रुपमा विभिन्न पालिकाले उक्साएको पाइन्छ । सवै अटो तथा इरिक्सा व्यवसायीको चाहना भने यही हो की सुनौली–बेलहियाबाट यात्रुलाई ओसार्न तथा पुर्याउन पाइयोस् ।

अटो तथा इरिक्सा संचालनको मुख्य उद्देश्य ग्रामीण क्षेत्रबाट सहर बजारलाई जोड्नु र यात्रुबाहक बस संचालन हुन नसकेको ग्रामीण क्षेत्रबाट यात्रुलाई राजमार्गसम्म ल्याइनु हो । अधिकांश अटो व्यवसायीले बेलहिया–सुनौलीलाई नै मुख्य गन्तब्य बनाउनुको पछाडी भने धेरै यात्रु पाइने र यात्रुको परिस्थितिलाई हेरेर भाडा आफू अनुकुल लिन पाइनु नै हो ।

अटो तथा इरिक्सालाई राजमार्गमा संचालन गर्न नपाइने भनेपछि सवैले छ लेन अन्तर्गतको सर्भिस लेनबाट यात्रुलाई ओसारपसार गर्ने गरेका छन् । त्यसो त नगरबस तथा बुटवल बेलहिया माइक्रो बसका नाममा थोत्रा र भेडाबाख्रा सरह यात्रुलाई कोचेर उकुसमुकुश भएर यात्रा गर्नको बिकल्पमा धेरै यात्रुको रोजाइ अटो तथा इरिक्सा नै बन्ने गरेको छ । अटो–टेम्पो–रिक्सा सहज र जताततै उपलब्ध हुने भएकाले यात्रा छिटो र सहज बन्ने गरेको छ ।

बैठक बस्ने निर्णय गर्ने तर कार्यान्वयमा कम्जोर रहने पवरिपाटीको उदाहरण हो गत बिहीवार सिद्धार्थनगर नगरपालिकामा अटो तथा इरिक्सा व्यवसायीले गरेको घेराउ सहितको बिरोध प्रदर्शन कार्यक्रम । व्यवसायीको आरोप थियो, बिना दर्ता र मापदण्ड बिपरित नगरमा संचालित अटो–टेम्पो तथा इ–रिक्साको अनुगमन तथा व्यवस्थापन गरिएन । यसैको बिरोमा उनीहरुले सिद्धार्थनगरमा बिरोध प्रदर्शनसहितको आन्दोलन गरेका थिए ।

बिहान ११ बजेदेखि सिद्धार्थनगर नगरपालिकाको कार्यालय परिसर अगाडि अटो टेम्पो तथा रिक्सा खडा गरेर व्यवसायीले नगरपालिकामा बिरोध प्रदर्शन गरे । व्यवसायीले नगरपालिकाको मूलगेटमा लगाएको तालाबन्दीलाई सुरक्षाकर्मीले खुलाए पनि जताततै अटो टेम्पु तथा इरिक्सा खडा गरिएकाले नगरपालिका कार्यालय दिनभर अस्तव्यस्त बन्यो । नगरपालिकाका कर्मचारी, पदाधिकारी र अन्य सेवाग्राहीको सवारी साधन आवत जावत हुन सकेको थिएन ।

सिद्धार्थनगरमा दर्ता भएका अटो टेम्पो तथा इ–रिक्साको निरन्तर अनुगमन र व्यवस्थापन हुनु पर्ने र यदि त्यसो हुन नसक्ने भए नगरपालिकाले अटो टेम्पो तथा इ–रिक्साको गरेको दर्ता खारेजी गरि दर्ता रकम फिर्ता गरिनु पर्ने माग उनीहरुले राखेका थिए । नगरमा संचालित अटो टेम्पो तथा इ–रिक्साको अनुगमन तथा व्यवस्थापन हुन नसक्दा बिना दर्ता र मापदण्ड बिपरित नगरमा अटो टेम्पो तथा इ–रिक्सा संचालन निर्बाध रुपमा हुन थालेको र यसबाट दर्ता भइ नियम अनुरुप संचालन भएका अटो टेम्पो तथा इ–रिक्सा समस्यामा पर्न थालेको भनाइ उनीहरुको थियो ।

‘त्यस्ता अटो टेम्पो तथा इ–रिक्साको अनुगमन नहुँदा ब्लुबुक, सवारी अनुमतीपत्र र रुट इजाजत बिना नै जताततै अटो टेम्पो तथा इ–रिक्सा संचालन हुँदा दुर्घटना लगायत् गैरकानुनी क्रियाकलाप हुन थाल्यो’, नेपाल अटो टेम्पो तथा ईरिक्सा चालक संघ सिद्धार्थनगरका बरिष्ठ उपाध्यक्ष लोकबहादुर केसीले भने, ‘नगरमा संचालित अटोटेम्पो तथा ईरिक्साको निरन्तर अनुगमन हुने भनि बारम्बार सहमती हुने गरे पनि कार्यान्वयन भएन ।’

नेपाल अटोटेम्पो तथा ईरिेक्सा चालक संघ सिद्धार्थनगरका सल्लाहकार तथा अटो व्यवसायी निरज शाहीले नगरपालिकाले प्रदान गरेको रुट इजाजतलाई ट्राफिक प्रहरीले मान्यता नदिएपछि व्यवसायी थप समस्यामा परेको बताए । व्यवसायीले दिनभर बिरोध प्रदर्शन गरेपछि साँझतिर नगरपालिकाले बल्ल मापदण्ड बिपरित संचालित इरिक्सा र अटोको अनुगमन गर्न जाने तयारी गरेको थियो । तीन पाङ्ग्रे सबारी साधन ब्यवस्थित गर्ने प्रतिबद्धता नगरपालिकाले पुन दोहर्यायो ।

तीन पाङ्ग्रे सवारी साधन थप व्यबस्थित गर्ने विषयमा नगर प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बिहीबार नै सरोकारवाला सम्मिलित बैठकले नियमित अनुगमन गर्ने निर्णय गर्यो । नियमित अनुगमनका लागि नगर प्रहरीको नेतृत्वमा जनपथ प्रहरी, ट्राफिक प्रहरी, तीन पाङ्ग्रे सबारी सम्बद्व संघका प्रतिनिधि सम्मिलित १० सदस्यीय समिती समेत गठन गरियो ।

नगर प्रमुख खानले समितिलाई नियमित अनुगमन गरि तीन पाङ्ग्रे सवारी साधन ब्यवस्थित गर्नका लागि प्रभावकारी रुपमा काम गर्न निर्देश समेत दिए । अव हेर्न बाँकी छ, त्यो समतिले कत्तिको प्रभावकारी रुपमा अनुगमन र व्यवस्थित गर्न सक्छ । र, नगरप्रमुखको निर्देशनको कार्यान्वयन कसरी हुन्छ ? । फेरि पनि यस भन्दा पहिला गरेका बैठकको निर्णयजस्तै नबनेर समितिले प्रभावकारी रुपमा काम गर्नुपर्ने व्यवसायीको माग छ ।