November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

गर्मी छल्न रेसुङ्गा

Advertisement

भैरहवा– तराईकामा गर्मीले अत्याइरहेकाबेला शीतलता खोज्दैं पहाडी जिल्लाका गन्तव्य धाउनेको संख्या धेरै हुन्छ । यसरी गर्मीले अत्तालिएका व्यक्तिका लागि पछिल्लो समय उपयुक्त गन्तव्य बनेको छ गुल्मीको रेसुङ्गा । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रेसुङ्गा गुल्मी सदरमुकाम तम्घासबाट ६ किलोमिटर उकालो चढेर पुग्न सकिन्छ । शीतलताको अर्को नाम रेसुङ्गाले रेसुङ्गासहित तम्घासमा पनि शीतलता थपेको छ । सामुन्द्रिक सतहदेखि २ हजार ३ सय मिटर उचाइमा रहेको रेसुङ्गा क्षेत्र बाह्रै महिना शीतलताको छहारीमा छ ।

Advertisement

यो जैविक विविधताले भरिपूर्ण नेपालकै महत्वपूर्ण क्षेत्र हो । स्वच्छ, सफा, सुन्दर, मनमोहक र शीतलताको ठाँउ पनि हो । लुम्बिनी प्रदेशको ब्यापरिक केन्द्र बुटवलबाट १ सय १३ किलोमिटरमा तम्घास र मात्रै ६ किलोमिटर सडक पार गरेपछि रेसुङ्गा क्षेत्र पुगिन्छ । महापोखरीको स्नान, चिटिक्क परेको सिंढी, दायाँ र बायाँ निकै मनमोहक दृश्य, प्राकृतिक शीतलता र चराचुरुङ्गीको रमणीय आवाजले रेसुङ्गामा आनन्द लाग्दछ । रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय हिसावले महत्वपूर्ण रहेकोले यसलाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । अयोध्यासँगको सम्बन्धले रेसुङ्गाको थप महत्त्व झल्किएको छ ।

रेसुङ्गा भारतको उत्तर प्रदेशमा रहेको अयोध्यासँग सम्बन्ध राख्दछ । त्रेता युगदेखि सम्बन्ध स्थापित भएको मान्यता रहिआएको १२ वर्षदेखि रेसुङ्गा बसिरहेका गुरु कृष्णप्रसाद पन्थीले बताए । अयोध्यामा रहेका राजा दशरथलाई सन्तान नभएपछि उनले बशिष्ठसँग बिन्ती गरे । दशरथले बिन्ती चडाएपछि बशिष्ठले यसको समाधान खोजे । त्यसको समाधान थियो, श्रृङ्गे ऋषिलाई आचार्य बनाएर अयोध्यामा पुत्रेष्टी यज्ञ लगाउनु । बशिष्ठले भनेका श्रृङ्गे ऋषि त्यतिबेला घनघोर एक जंगल क्षेत्रमा तपस्या गरेका थिए । त्यो क्षेत्र थियो, गुल्मीको रेसुङ्गा । बशिष्ठको आग्रहमा अयोध्यामा रहेका दशरथकोमा रेसुङ्गा क्षेत्रबाट श्रृङ्गे ऋषिले पुत्रेष्टी यज्ञ लगाएर हवन कुण्डबाट प्राप्त दिब्यपास खाएपछि राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको मान्यता हुँदा रेसुङ्गा र अयोध्याको सम्बन्ध रहेको हो ।

यो क्षेत्रमा श्रृङ्गे ऋषिले तपस्या गरेकै कारण नाम रेसुङ्गा रहन गएको पन्थीले बताए । ‘रेसुङ्गा आध्यात्मिक, धार्मिक, प्राकृतिक र पर्यटकीय तपोभूमि हो,’ उनले भने, ‘गर्मी समयमा रेसुङ्गा पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुन्छ ।’ रेसुङ्गामा खानेपानीको समस्या थियो । श्रृङ्गे ऋषिले खानेपानीको समस्या दर्शाएपछि दशरथका पुत्र रामले धनुष वाणले हानी पानी निकालेको मान्यता छ । अहिले उक्त राम कुवा रेसुङ्गाका लागि प्रशिद्ध छ । अहिले पानीको अभाव पनि छैन् । रेसुङ्गामा सिद्धको पूजा गरेपछि मानिसलाई आयु आरोग्य प्राप्त हुने, गाईभैंसी सधै दुहुना हुने, अनिकाल हट्ने, अतिवृष्टि र अनावृष्टि रोकिने, सुख, समृद्धि र समुन्नति हुने विश्वास रहिआएको रेसुङ्गामा १० वर्षदेखि बस्दै आएका गुरु हरिराज भट्टाराईले बताए । ‘रेसुङ्गाको अर्को क्षेत्र सिद्धमा हरेक मनोकामना पूरा भएकै छन्,’ उनले भने, ‘रेसुङ्गा क्षेत्र आउने पर्यटक यस्तै कारणले आनन्दमय हुन्छन् ।’ साउन महिनामा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल लगायतका स्थानबाट भक्तजन सिद्धको दर्शनका लागि आउने गर्दछन् ।

धौलागिरी, निलगिरी, माछापुच्छ्र्रे जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ । यहाँ पर्यटकहरू वनविहार गर्दै विभिन्न हिमशृंखलाको दृश्यावलोकनमा रमाउने गर्छन् । रेसुङ्गा प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण छ । यहाँ पुग्ने जो कोही पर्यटक पनि यहाँको प्राकृतिक छटासँग रमाउन पुग्छन् । रेसुङ्गा पोखरी, यज्ञशाला, गौशाला, सिद्ध मन्दिर, भ्युटावरलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएकाले भक्तजनको घुइँचो नै लाग्ने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । ‘हामीले पर्यटकका लागि निःशुल्क आवास र खानाको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘देव, अृमत, पुण्य र सिद्ध भूमि रेसुङ्गा पर्यटकको तपोभूमि हो ।’ रेसुङ्गा संरक्षण समितिले यसबारे जानकारी दिन पूजाआजामा सहजीकरण गर्न गुरुहरू राखेको छ ।

गुल्मीको रेसुंगा क्षेत्रमा महापोखरी, महापोखरीसँगको मन्दिर, सानो रेसुङ्गा, चिटिक्क परेको सिंढी, रेसुङ्गा र अयोध्यासँग सम्बन्ध राख्ने रेसुङ्गा यज्ञशाला, रामले वाण हानेर निकालेको रामकुवा, सिद्ध मन्दिर, भ्यू टावर, गौशला र साउने मन्दिर लगायत रेसुङ्गा क्षेत्रका पहिचान हुन् । रेसुङ्गा क्षेत्र फागुन, चैत र बैशाखमा लालीगुराँस फूलेर राताम्ये हुन्छ । पुस र माघमा हिउँ परेर सेताम्ये हुन्छ । साउनमा साउने मेलामा हजारौं पर्यटक भित्रिन्छन् । रेसुङ्गा र अयोध्याको सम्बन्धले पछिल्लो समय बाह्रै महिना रेसुङ्गामा पर्यटक भित्र्याइरहेको छ भने रेसुङ्गा र अयोध्याको सम्बन्ध थप दर्शाएको छ । यस क्षेत्रमा सार्वजनिक बिदाको दिन ४ सय र बिदा बाहेकका दिनमा १ सयको आसपासमा पर्यटक आउने गरेका छन् ।