November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लुम्बिनी प्रदेशको सान स्वर्गद्वारी

Advertisement

प्यूठान– धार्मिक आस्थाको मुख्य केन्द्र, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पुण्य तपोभूमि हो, स्वर्गद्वारी । हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र स्वर्गद्वारी धार्मिक तथा पर्यटकीय दुवै हिसावले महत्वपूर्ण मानिन्छ । स्वर्गद्वारी, हिन्दु परम्परा अनुसार दैनिक पुजापाठ हुने विश्वकै एक मात्र मन्दिर हो । जहाँ सबै देबिदेबताको पुजा गर्ने गरिन्छ ।

Advertisement

समुन्द्र सतहदेखि झण्डै ६ हजार फिट उचाईमा रहेको स्वर्गद्वारी लुम्बीनी प्रदेशको प्यूठान जिल्लामा अवस्थित छ । यो प्यूठानको प्रमुख धार्मिक तिर्थस्थल हो । स्वर्गद्वारी भ्रमण गर्न तथा मनोआकाक्षा बोकेर बर्षेनि हजारौं दर्शनार्थी स्वर्गद्वारी पुग्ने गर्छन् । स्वर्गद्वारीको दर्शन गरे मागेको पुग्ने धार्मिक विश्वास रहिआएको छ ।

महाप्रभु बालतपस्वी नारायण गौतम हंसानन्द गिरीले वि.सं १९५२ सालमा स्वर्गद्वारी आएर स्वर्गद्वारी आश्रमको स्थापना गरेको किम्वदन्तीमा उल्लेख गरिएको पाइन्छ । रोल्पाको रुम्टीमा वि.सं १९१६ मा जन्मनु भएका महाप्रभु नारायण गौतम ५ वर्षको उमेरदेखि नै ध्यान र तपस्या गर्ने गरेको किम्वदन्तीमा भेटिन्छ । महाप्रभु गिरीले तपस्यासँगै स्वर्गद्वारीको स्थापना गरेको किम्वदन्ती छ । रोल्पाको रुम्टीमा वि.सं १९४४ देखि १९५१ सम्म महायज्ञ संचालन पश्चात महाप्रभु ध्यानका लागि स्वर्गद्वारी आएको विभिन्न आधारहरु भेटिन्छन् । स्वर्गद्वारी आएको पहिलो दिन आश्रम परिसरमा रहेको बाँझको रुखमूखी महाप्रभुले तपस्या सुरु गरेको इतिहास पाइन्छ । जुन कल्पवृक्ष अहिले पनि देख्न सकिन्छ ।

तपस्यासँगै आकर्षक यज्ञमण्डवको समेत यसै समयदेखि स्वर्गद्वारीमा सुरुवाती भएको पाइन्छ । विश्व शान्तिको कामना गर्दै सुरुवात भएको यज्ञमण्डवको अखण्डदीप अहिले पनि निरन्तर प्रज्वलीत छ । जहाँ दैनिक हवन र पुजापाठ हुने गर्दछ । १९५२ बाट सुरु भएको यज्ञ अहिले पनि स्वर्गद्वारीमा निरन्तर बलिरहेको छ । १ सय २९ वर्षदेखि स्वर्गद्वारीमा अखण्ड यज्ञ प्रज्वलित छ ।

अखण्ड यज्ञ, सनानत बिधि पुर्वक हुने पुजापाठ र नृत्यकर्म, भजनकृतन यहाँका मुख्य आकर्षणहरु हुन् । त्यसबाहेक स्वर्गद्वारीमा तीन सय बढी गाइहरु पालिएको छ । यसैको दर्शन गर्न बर्षेनि स्वर्गद्वारीमा लाखौं भक्तजनहरु आउने गर्छन् । स्वर्गद्वारीमा नेपालसँगै भारतको उत्तर प्रदेशबाट भक्तजन आउने गरेका छन् । नेपाली वार्षिक ३० देखि ५० हजारको संख्यामा स्वर्गद्वारीमा आउने गरेको तथ्यांक छ । त्यसबाहेक अन्य सबै भारतीय भक्तजनहरु हुन् । स्वर्गद्वारीमा बार्षिक डेढ लाख भक्तजन आउने गरेको स्वर्गद्वारी आश्रमका कोठारी प्रमुख बासुदेब भट्टराईले बताए ।

मनोआकक्षा पुरा हुने, सन्तान प्राप्ती हुने जस्ता जनविश्वास लिएर बार्षिक एक लाख पचास हजार भक्तजन स्वर्गद्वारी आउने गरेको उनले सुनाए । ‘स्वर्गद्वारीको दर्शन पश्चात् सन्तान प्राप्त गरेकाहरु पछि आफ्ना सन्तानहरुलाई लिईर कपाल मुण्डन गर्न स्वर्गद्वारी आउने गर्छन्,’ उनले भने, ‘स्वर्गद्वारी हिन्दुहरुको आस्था र धरोहर हो ।’ कोठारी प्रमुख भट्टराईका अनुसार स्वर्गद्वारी आश्रममा आउने भक्तजन मध्ये ८० प्रतिशत भक्तजन भारतीय छन् । आश्रममा आउने भक्तजनकै कारण स्वर्गद्वारी सञ्चालन हुने गरेको छ ।

स्वर्गद्वारी आउने दर्शनार्थीले चढाउने भेटी, प्रसाद आदिबाटै आश्रम सञ्चालन हुने गरेको छ । ‘भक्तजनले चढाउने भेटी आश्रमको मुख्य आयस्रोत हो,’ स्वर्गद्वारी आश्रमका प्रशासकीय प्रमुख हरि अधिकारीले भने, ‘भेटिबाटै वार्षिक ३ करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ मुख्य आयस्रोतका रुपमा श्रद्धालुले चढाउने भेटि हो । भारतीय भक्तजनले यहाँ अन्न, पैसा र नरिवल चढाउने गर्छन् । दाल, चामल, गुड चढाउँछन् । त्यसैलाइ आश्रमले भक्तजनलाई प्रसाद र खानाको ब्यवस्थापन गर्दै आएको छ ।

बैशाख शूल्कपूर्णिमा, कार्तिक शुल्क औँसी, माघे संक्रान्तिमा स्वर्गद्वारीमा विशेष पुजाआजा हुने गर्छ । उक्त समयमा नेपालका बिभिन्न जिल्लासँगै भारतीय भक्तजनको भिड लाग्ने गर्दछ । यसबाहेक श्रावण महिनाभर स्वर्गद्वारीमा भारतीय भक्तजनको भिडनै रहन्छ । यो समयमा दैनिक २० हजार भक्तजन स्वर्गद्वारी दर्शन गर्न आउँछन् । ‘स्वर्गद्वारी पश्चिम नेपालको चर्चित धार्मिक स्थल हो,’ अधिकारीले भने, ‘यहाँ भारतीय भक्तजनको बाहुल्यता छ ।’ स्वर्गद्वारी आश्रम सञ्चालन गर्न भक्तजनकै ठुलो हात छ ।’

स्वर्गद्वारी आउने भक्तजनकै कारण स्वर्गद्वारी र यस आसपासमा ब्यापार समेत फष्टाउँदो छ । स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा पछिल्लो समय होटल तथा खाजाघर खुल्ने क्रम बढेको स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारीले बताए । माडी क्षेत्र जिल्लाको पछि परेको क्षेत्र हो, तर यस क्षेत्रमा स्वर्गद्वारी आउने भक्तजनका कारण चहलपहल हुन्छ । स्वर्गद्वारी आउने आन्तरिक तथा बाह्य भक्तजनको चलहपहलले ब्यापार ब्यवसाय गर्नेको संख्या बढेको हो । भिङ्ग्रीमा मात्रै सानाठुला तीन दर्जन होटलहरु सञ्चालनमा रहेको बताए ।

स्वर्गद्वारीमा रहेको गुफा, शिवालय सिद्धस्थान, बाँझ वृक्ष, गौशाला, महाप्रभुको समाधीस्थल स्वर्गद्वारीका प्रमुख दर्शनीय स्थानहरु हुन् । स्वर्गद्वारीमा कार्तिक औँशीमा गाइलाइ नुन खुवाउन बिशेष मेला नै लाग्ने गर्दछ । आश्रमका दर्शनार्थीले नुन पीठो लगेर गौशालामा रहेका गाईहरुलाइ चटाउने चलन छ । व्यदव्यास जस्ता त्रिकालदर्शीय महर्षिले स्वर्गद्वारीमा यज्ञ गरेको किम्वदन्ती छ । महाभारतका पाँच पाण्डव पनि यहि बाटो भएर स्वर्ग गएको जनश्रुती परापूर्वकालदेखि नै चल्दै आएको छ ।

स्वर्गद्वारीमा बैद्धिक परम्परामा आधारित गुरुकुल पाठशाला समेत निरन्तर संचालन हुँदै आएको छ । परापूर्वकालदेखि रुदी चण्डी व्याकरण सहित अन्य विषयहरुमा समेत पठन हँुदै आएको बाल तपस्वि बेद बिद्यालयमा हाल ९४ जना बिद्यार्थीहरु अध्ययनरत छन् । कक्षा १० सम्म संस्कृत विषयको अध्ययन हुने गरेको बाल तपस्वि बेद बिद्यालय स्वर्गद्वारीका प्रध्यानाध्यापक डा.मधुसुदन ढुङ्गानाले बताए । सुक्ल उजुर्वेद, कर्मकाण्ड, संस्कृत भाषा र ब्याकरण तथा ब्याकरण बिषयको अध्ययन हुने गर्छ ।

१ सय ८ हात गोलाई र बाहिरवाट हेर्दा ९ ओटा गजुर भएको नौ मन्दिर स्वर्गद्वारीमा अवस्थित छ । उक्त मन्दिर अहिले पुनर्निर्माणको चरणमा छ । जुन स्वर्गद्वारीको मुख्य आकर्षणको केन्द्र हो । यज्ञशालाको बीचमा मुख्य कुण्ड छ । चार दिशामा चार कुण्ड सहितको मन्दिर छ । विश्व शान्तिको कामनाको रुपमा पनि यो अखण्डदिपलाई लिँदै आइएको छ । यज्ञीय विधि अनुसार दैनिक रुपमा पूजा वेदपाठ, भागवतपाठ, नित्य घृतधारा, हवन, रुद्राभिषेक आदि कार्यहरु गर्ने गरिएको आश्रमका कोठारी प्रमुख बासुदेव भट्टराईले बताए । ‘स्वर्गद्वारीमा पुजाआजा पश्चात् मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ ।’ यही कारण यहाँ दैनिक भक्तजनको घुइँचो लाग्ने गर्छ ।