रूपन्देही क्रिकेट एकेडेमीः जहाँ क्रिकेट सिक्दैछन् १६० बालबालिका



भैरहवा- क्रिकेट लोकप्रिय छ । यसैले होला धेरैले आफ्ना छोराछोरीले क्रिकेट खेल्न प्रोत्साहन गरिरहेका छन् । तर, धेरै ठाउँ क्रिकेट मैदान र एकेडेमी अभाव छ । जसले गर्दा चाहेर पनि बालबालिकालाई परिवारले क्रिकेटमा अगाडि बढाउन सकेका छैनन् । तर, रुपन्देही यस्तो जिल्ला हो, जहाँ एकेडेमीमा सिक्दै, राष्ट्रियस्तरको रंगशालामा खेल्न पाइन्छ । यो अवसर रुपन्देही क्रिकेट संघले प्रदान गरिरहेको छ ।
एक वर्ष अघिसम्म रुपन्देहीमा क्रिकेट सिक्न र प्रशिक्षण लिन चाहनेलाई निजी एकेडेमीमा जानु पथ्र्यो । आर्थिक अभाव भएका र महिला प्रशिक्षार्थीलाई एकेडेमी चहार्नै समस्या हुन्थ्यो । यस्तो अवस्थामा सबैलाई घरपरिवारले झट्ट पठाउँदैनथे । तर, अहिले त्यो अवस्था छैन । क्रिकेट संघको पहलमा भैरहवामा सुविधासम्पन्न ‘रुपन्देही क्रिकेट एकेडेमी’ बनेको छ । ‘यसले क्रिकेट सिक्न चाहनेलाई अवसर प्रदान गरिरहेका छ’, संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्री भन्छन्, ‘कयौं विपन्न परिवारका प्रशिक्षार्थी खेलाडीलाई निःशुल्क र सहुलियतमा एकेडेमीमा क्रिकेट सकाइरहेका छौं ।’
भैरहवामा रहेको राष्ट्रियस्तरको सिद्धार्थ रंगशालासँगै विगत एक वर्षदेखि यहाँ क्रिकेट एकेडेमी संचालनमा छ । जसले गर्दा क्रिकेट सिक्न र प्रशिक्षण लिन चाहनेलाई सहज भएको छ । एकेडीमा रुपन्देहीसहित कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा लगायत जिल्लाका १ सय ६० जना बालिबालिकाले अहिले क्रिकेट सिकिरहेको क्षेत्रीले जनाए ।
संघले प्रशक्षिक नियुक्त गरेरै एकेडेमीमा क्रिकेट सिकाइरहेको छ । ‘एकेडेमीमा प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीले नजिकै रहेको ठूलो मैदानमा खेल कौशल सिक्न पाएका छन्’, कार्यबाहक अध्यक्ष क्षेत्री भन्छन्, ‘जसले गर्दा खेलाडीहरुको क्षमता थप मजबुत भएको छ ।’ यहाँ बेलाबेला नेपाल टिमका सहायक प्रशिक्षक बसन्त शाही, पूर्व राष्ट्रिय खेलाडीहरु र कप्तानहरुले पनि प्रशिक्षण दिने गरेका छन् । यसले प्रशक्षिण लिइरहेका खेलाडीमा हौसला मिलेको छ । शुभल दरमा फरकिलो एकेडेमीमा अनुभवी प्रशक्षिकबाट प्रशिक्षण लिन पाउँदा खेलाडी खुशी छन् । स्तरीय एकेडेमीमा प्रशिक्षण पाएका प्रशिक्षार्थीले भोलिका दिनमा राष्ट्रिय टिममा पर्ने लक्ष्य बोकेका छन् ।
एकेडीमीमा क्रिकेट सिकीरहेका भैरहवामा प्रशिक्षार्थी सुजन रानाभाटले पहिला निजी एकेडेमीमा जानुपर्दा समस्या भएकामा अहिले सहज भएको बताए । ‘यहाँ म जस्ता धेरैजनाले राम्रो प्रशिक्षण पाएका छौं’, उनले भने, ‘विस्तारै हामीमा निखारता आएको छ ।’ उनले यही सिकेका धेरै खेलाडी राष्ट्रिय टिममा परेकाले आफू पनि पर्ने विश्वसा व्यक्त गरे ।

क्रिकेट सिकीरहेका खेलाडीहरुमा प्रशिक्षणले निखारता ल्याएको छ । त्यतिमात्रै होइन यहाँ सिकेका खेलाडीले जिल्लास्तरीय लिगहरु खेल्न थालिसकेका छन् । क्रिकेटमा प्रशिक्षण, मिहिनत, अनुशासन र निरन्तरता जरुरी हुन्छ । यसले खेलाडीलाई अब्बल बनाउँदै लैजाने एकेडेमीमा प्रशिक्षक मानबहादुर थापाले बताए । ‘लोकप्रिय क्रिकेटलाई बलियो बनाउन तल्ला तहबाट खेलाडी उत्पादन जरुरी हुन्छ’, उनले भने, ‘यसका लागि यो एकेडेमीले महत्वपूर्ण योगदान गरिरहेको छ ।’
संघले क्रिकेट सिक्न चाहने तर आर्थिक अवस्था कमजोर भएकालाई छुटसहित प्रशिक्षण संचालन गरेको छ । यस्तै, महिलाहरुलाई निःशुल्क र अन्यलाई न्युनतम शुल्क लिएर एकेडेमीमा प्रशिक्षण दिने गरिएको संघका सचिव संजय गुरुङले बताए । ‘यसले क्रिकेटप्रति लगाब भएका बालबालिकालाई अवसर सिर्जना गरेको छ’, उनले भने, ‘आगामी दिनमा हामीले एकेडेमीलाई अझै परिस्कृत गर्दै राम्रो बनाउँदै लैजाने तयारीमा लागेका छौं ।’
रुपन्देही क्रिकेट खेल र खेलाडी उत्पादनमा मुलुककै हब मानिन्छ । जिल्लाबाट मात्रै करिब एक सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन् । यहाँ एकेडेमीमा भर्ना हुँदा सुरुमा ब्याट र बल समेत राम्रोसँग समात्न नजानेका बालबालिकाहरु प्रशिक्षणले निखारिएका छन् । २०८० माघ १५ देखि संचालनमा आएको एकेडेमीमा अहिलेसम्म प्रशिक्षार्थीबाहेक स्थानीय क्लबहरु, प्रदेश, राष्ट्रिय तथा विभागीय टिम आबद्ध २ सय बढी खेलाडीले प्रशक्षिण लिइसकेका छन् ।
नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक समेत भइसकेका बसन्त शाहीले क्रिकेटको उर्वरभूमि भैरहवामा एकेडेमीले थप रौनकता ल्याएको बताए । ‘जिल्लास्तरमा संघले एकेडेमी संचालन गरेको यो पहिलो होला सायद’, उनले भने, ‘यहाँ सिकेका खेलाडीले भोलि राम्रा अवसरहरु पाउँछन् । त्यसैले होला आकर्षण बढ्दो छ ।’ उनले क्रिकेट भन्दावित्तिकै रुपन्देहीलाई सम्झने धेरै भएको जनाउँदै एकेडेमी भविष्य र यहाँ सिक्नेको आगामी दिन उज्वल भएको बताए ।

उनले गरिब, दुखी र आर्थिक अभावले क्रिकेट सिक्नबाट बञ्चित भएकाहरुका लागि एकेडेमीले अवसर सिर्जना गरेको बताए । एकेडेमी स्थापना भएको एक वर्ष पुगेको अवसरमा संघले मंगलबार केक काटेर खुशीयाली मनाएको छ । क्रिकेटप्रेमी र प्रशिक्षार्थीको सहभागितामा उत्सव मनाइएको हो ।








प्रतिकृया दिनुहोस्