विदेशी आकाशमा इतिहास रच्दै भैरहवा र काठमाडौंका नेपाली मुस्लिम चेली
भैरहवा– यतिबेला भैरहवाकी साइमा खानले अमेरिकी आकाशमा विमान उडाइरहेकी छन् । काठमाडौंकी आलिय परमीन फिलिपिन्सको आकाशमा विमान उडाएर भर्खरै फर्केकी छन् । दुवैजना यी नेपाली मुस्लिम चेलीले बिदेशी आकाशमा आफ्नो इतिहास बनाउँदै छन् । नेपाली मुस्लिम समुदायमा महिला पाइलट बनेर आफ्नो परिचय दिनका लागि ।
पारिवारिक सहयोग र अवसर पाएमा मुस्लिम महिलाले पनि शाहसिक पेशा अँगालेर समाज र देशका लागि योगदान दिन सक्छन् भन्ने उदाहरण उनीहरुले दिँदैछन् । यतिमात्रै होइन्, बुर्का ओढेर घरायसी कामकाजमा मात्र सीमित हुनु हुँदैन भन्ने सन्देश दिँदै अन्य नेपाली मुस्लिम चेलीका लागि प्रेरणाको स्रोत पनि उनीहरु बनेका छन् ।
‘अवसर पाएमा सामान्य घरपरिवारका मुस्लिम युवतीले पनि साहसिक कार्य गर्न सक्छन् भन्ने सन्देश समुदायमा दिनका लागि मैले पाइलट बन्ने अठोट गरेकी हुँ’, सिद्धार्थनगर नगरपालिका–९, गोलीगढकी २३ वर्षीया साइमा खानले भनिन्, ‘सामाजिक प्रचलनकै कारण समाजमा महिला दबिएर बस्नु हुँदैन भन्ने मान्यता स्थापित गरि मुस्लिम समुदायको संस्कारमा पनि परिवर्तन ल्याउने सोंच मेरो छ ।’
उनका अनुसार, नेपाली ग्रामीण समाजमा महिलाका लागि पढ्नेलेख्ने देखि लिएर अगाडि बढ्नका लागि अझै पनि धेरै चुनौती र व्यवधान अगाडि तेर्सिने गर्छन् । लैंगिक भेदभाव उत्तिकै बिद्यमान छ भने कतिपय घरपरिवारमा छोरीका निम्ति पारिवारिक भेदभाव । नेपाली मुस्लिम समाजमा पनि छोरीका निम्ति यस खालका चुनौति उत्तिकै छन् ।
साइमाले आठ–नौ वर्षको उमेरमा पहिलो पटक बिमान देखेकी थिइन् । आकाशबाट जमिनमा बिमान अवतरण गरेको र उडान भर्दै आकाशमा उडेको विमानको दृष्यले उनलाई निकै रोमाञ्चित बनायो । बाल मस्तिष्कमा जमेर बसेको त्यो दृष्य नै उनका लागि भविष्य निर्माण र इतिहास रच्ने पथप्रदर्शक बन्यो ।
भैरहवाको गौतम बुद्ध बिमानस्थलमा देखिएका ति दृष्यले आफूले पनि त्यसरी नै बिमान उडाउने सपना उनले बनाएकी थिइन् । डेढ दशक अघिको बाल्यकालको त्यो सपनालाई साइमाले साकार बनाउँदैछिन् । अमेरिकी आकाशमा बिमान उडाउँदै ।
‘म पहिलो पटक बिमान हेर्न हजुरबुवाको हात समाउँदै भैरहवा बिमानस्थलमा पुगेको र विमानले अवतरण र उडान भरेको दृष्य अहिले पनि मेरो मनस्पटलमा ताजै छ’, उनले भनिन्, ‘ति दृष्यले मलाई यसरी नै आकासमा बिमान उडाउँदै साहसिक महिला बनेर नेपाली मुस्लिम समाजमा आफ्नो नाम स्थापित गराउने अठोट सानै उमेरदेखि बनायो ।’
यतिबेला उनी अमेरिकाको टेक्सास राज्यको फोर्टवार्ट सहरस्थित ‘डेल्टा क्वालिफाइट एभियशन एकेडेमी’ मा पूर्ण पाइलटको प्रशिक्षणलाई अन्तिम चरणमा पुर्याएकी छन् । उनले सन् २०२१ को नोभेम्बरदेखि प्रशिक्षण सुरु गरेकी हुन् । उनका अनुसार, सिंगल इञ्जिन बिमानको पाइलटको लाइसेन्स उनले एक बर्ष अघि नै प्राप्त गरिसकेकी छन् ।
यतिबेला उनले मल्टिइञ्जिनको बिमान र मौसम खराब भएको बेला उपकरणको प्रयोगबाट जुनसुकै वेला पनि बिमान उडाउन सिकिरहेकी छन् । यो सिकाइ अन्तिम चरणमा पुगेको छ । आउँदो मार्च–अप्रिलमा कोर्ष पुरा गरि पूर्णपाइलटको लाइसेन्स लिएर उनी नेपाल फर्किंदै छन् । आफूले बिदेशबाट प्राप्त गरेको पाइलटको लाइसेन्सलाई नेपाल नागरिक उड्डययन प्राधिकरणबाट प्रक्रिया पुरा गरि समकक्षता लाइसेन्स लिइ नेपालमैं व्यवसायिक रुपमा बिमान उडाउने योजना उनको छ ।
नेपाल नागरिक उड्डययन प्राधिकरणका अनुसार साइमाले टेक्सासको ‘डेल्टा क्वालिफाइट एभियशन एकेडेमी’ बाट पाइलट प्रशिक्षण गर्नका लागि सन् २०२१ को सेप्टेम्बर २७ मा ‘नो अब्जेक्शन लेटर’ प्राधिकरणबाट लिएकी थिइन् ।
‘पाइलट प्रशिक्षण गर्नका लागि प्राधिकरणबाट नो अब्जेक्शन लेटर लिने उनी नेपालको पहिलो मु्स्लिम युवती हुन्’, नेपाल नागरिक उड्डययन प्राधिकरणका प्रबक्ता हंशराज पाण्डेले भने, ‘आलिया परमिन दोस्रो मुस्लिम युवती ।’ नेपालमा अहिलेसम्म मुस्लिम समुदायबाट महिला तथा युवती पाइलट बनेर प्राधिकरणमा सुचिकृत कोही पनि नरहेको पाण्डेले बताए ।
ललितपुर महानगरपालिका–२, सानेपाकी २० वर्षीया आलिय परमिनले सन् २०२३ को जनवरी १७ मा फिलिपिन्सको फास्ट एभियशन एकेडेमीबाट पाइलटको प्रशिक्षण लिनका लागि प्राधिकरणबाट नो अब्जेक्शन लेटर लिएपछि फिलिपिन्सको आकाशमा विमान उडाउन सुरु गरिन् ।
लेखकको सम्वन्धमा