…अनि आमाले ‘रामधुलाई’ गर्नुहुन्थ्यो
भैरहवा– रुपन्देहीको भैरहवाका बासिन्दा क्रिकेटर शक्तिप्रसाद गौचनको बाल्यकाल भारतमा बितेको थियो । बुवा खड्गप्रसाद गौंचन भारतीय सेनामा कार्यरत भएकाले अभिभावकसँगै शक्तिले भारतका विभिन्न सहरमा बाल्यकाल बिताए । तर, लामो अवधि भैरहवाबाट एक सय किलोमिटर दूरीमा रहेको गोरखपुरका गल्ली मोहल्लामा खेल्दैं कटाए । गोरखपुरबाटै शक्तिमा क्रिकेटप्रतिको लगाव जाग्यो र उनले यहीँ खेललाई आफ्नो भविष्य बनाए ।
अहिले सक्रिय क्रिकेटबाट अवकाश लिएर प्रशिक्षणमा संलग्न शक्ति सुरुमा क्रिकेटका फ्यान थिएनन् । उनको रुची फुटबलमा थियो । शक्ति अर्जेन्टिनी फुटबल लेजेन्ड म्यारोडोनाका फ्यान थिए । त्यसबेला म्यारोडोनाको जादुयी खेलकोे छाप आफूमाथि परेको हुनसक्ने शक्तिले बताए । फुटवल पारखी भएकाले अभिभावकसित म्यारोडोनाको टिसर्ट र फुटबल किन्दिनु भनेर जिद्दी गर्ने गरेको उनले सुनाए । गोरखपुरस्थित मोहल्लाका गल्लीमा फुटबल र क्रिकेट दुबै खेलप्रति के्रज थियो । विद्यालयमा दुई कक्षा पुगुन्जेल फुटबल मोहले गाँजेको उनले बताए ।
छोराको खेलमा लगाव थियो । खेल खेल्न आमा रामकुमारीको भने जहिल्यै शर्त हुनेगथ्र्यो । विद्यालयमा सञ्चालन हुने त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षामा राम्रो अंक हाँसिल गरेमात्रै आमाले खेल सामाग्री खरिद गरिदिन्थिन् । शर्त पूरा गरेका दिन आमाले शक्तिलाई नयाँ लुगा, क्रिकेट ब्याट किनेर ल्याइदिन्थिन् । सुरुमा आामाले नै ब्याट किनेर दिएपछि शक्तिमा क्रिकेटप्रति रुची त बढ्यो । तर, मैदानमा उत्रिएर खेल्न शक्तिसित क्रिकेट किटको पूरै सेट थिएन ।
दुई कक्षाको परीक्षामा राम्रो अंक हासिल गरे । त्यसबाट खुसी बनेकी आमाले क्रिकेट खेल्न आवश्यक खेल सामाग्रीको ‘सेट’ खरिद गरेर दिइन् । खेल सामाग्री पाएपछि गोरखपुरका मोहल्लामा शक्तिको शान बदलियो । शक्तिका लागि बुवाले पहिलो क्रिकेट ब्याट खरिद गरेका थिए । आमाले त्यसभन्दा एककदम अगाडि बढेर क्रिकेट किटको सेट नै किनेर दिइन् ।
‘क्रिकेट सेट बोकेको देखेपछि धेरै साथीले खेल्न जाउ भन्न थाले,’ शक्ति भन्छन्, ‘अरु बेला खेल्न दिए पनि आमाले परीक्षाका बेला कडाई गनुहुन्थ्यो ।’ क्रिकेटमा लगाव बढ्न थालेपछि कहिलेकाही शक्तिले परीक्षाको बेवास्ता गर्थे । ‘त्यस्तो बेला आमाको रिसको पारा तात्थ्यो,’ उनले भने, ‘अनि आमाले रामधुलाई गर्नुहुन्थ्यो ।’
खानपान, लुगाफाटो र खेल सामाग्री जुटाउन पछि नपर्ने आमा पढाईमा लापरबाही गर्दा धेरै रिसाउने गरेको शक्ति बताउँछन् । शक्तिले बाल्यकाल आमासितै बिताए । आमासित धेरै नजिक बने । त्यसैले आमासित छुट्टिन सक्थेनन् । एकपटक ५ वर्षका हुँदा शक्ति दुर्घटनामा परे । सडकमा हिंडिरहेका बेला मोटरसाइकलले उनलाई ढलायो । उनी भुइँमा लडेपछि पेटमाथि मोटरसाइकल चढ्यो । अस्पताल पुर्याएपछि चिकित्सकले पेटभित्र रक्तश्राव भएकाले तुरुन्त शल्यक्रिया गर्नुपर्ने जानकारी दिए । उनको शल्यक्रिया गरियो । त्यसपछि दुईरात अस्पतालमै बिताउनु पर्ने भयो । अस्पतालमा भर्ना कक्षमा आमालाई आउजाउ अनुमति थिएन ।
‘पहिलोपटक आमासित अलग्गिएर अस्पतालमा रात बिताउनु पर्यो,’ उनले भने, ‘नर्सले माया गर्थे, तर आमालाई साथै बस्न दिन्थेनन् ।’ त्यसबेला पहिलोपटक आमाको न्यास्रो महशुष गरेको उनले बताए । आमाको सम्झनाले अत्याएपछि नर्सलाई हातपात गरेर भाग्दै अस्पतालको गेटसम्म पुगेको सुनाए । ‘गेटबाट गार्डले मलाई नियन्त्रणमा लिएर फेरी कक्षमा पुर्याए,’ उनले भने, ‘उपचारका क्रममा पहिलोपटक मलाई आमाको अभाव फिल भयो ।’ निको भएपछि उनले क्रिकेट अभ्यासलाई निरन्तरता दिए । शक्तिले नेपालबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
खेल जीवनबाट सन्यास लिएका शक्ति अहिले रुपन्देहीको ओमसतियामा स्टार क्रिकेट एकेडेमी चलाएका छन् । त्यहाँ उनले क्रिकेट सिक्न आउनेलाई प्रशिक्षण दिन्छन् । धेरै जिल्ला, प्रदेश स्तरका खेलाडी उत्पादन गरिसकेको उनी सुनाउँछन् । नेपाललाई क्रिकेट मार्फत् विश्वभर चिनाएका गौचनले अहिले खेल जीवनबाट संन्यास लिएपछि पनि खेलाडी उत्पादनमा लागेको देख्दा उनको परिवार खुशी छ ।
प्रतिकृया दिनुहोस्