आधुनिकताको नाममा मनपरी पूर्वाधार थपिँदा लुम्बिनी खतराको जोखिममा



भैरहवा– भारतको राजधानी नयाँ दिल्लीमा गत जुलाई २१ देखि ३१ सम्म आयोजना भएको युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६औं सेसनले लुम्बिनीलाई तुरुन्तै खतराको सूचिमा नराख्ने निर्णय लियो । तर, खतरामुक्त घोषणा गरेन । लुम्बिनीमा युनेस्कोको मापदण्ड विपरीतका कार्य सुधारका लागि उक्त सेसनले ६ महिने डेटलाइन तय गर्यो । उक्त समयसीमाभित्र लुम्बिनीमा आवश्यक सुधारसहित नेपाली टोली फर्कियो ।
युनेस्को वल्र्ड हेरिटेज कमिटीकोे निर्णयले लुम्बिनी बिकास कोष र सरकारलाई केही समयका लागि राहत मिलेको मात्र हो । कोषका पदाधिकारी र युनेस्कोका लागि नेपालका राजदूतको लविङले तत्कालका लागि जोखिम टरे पनि खतरा यथावत छ । युनेस्कोले के–के कारणले लुम्बिनी जोखिममा परेको हो, तिनको सुधारका लागि ६ महिने ‘डेटलाइन’ तय गरेको हो ।
अगामी ६ महिनाभित्र कमजोरी सुधार नगरिए आगामी वर्ष खतराको सूचीमा पर्नबाट लुम्बिनीलाई बचाउने अवस्था छैन । सम्पदा सूचिमा समेटिएका कारण सम्पदाको विश्वब्यापी महत्व बढ्ने र त्यसको संरक्षण सम्बद्र्धन गर्न टेवा पुग्ने हुँदा यस्तो सूचीलाई महत्वपूर्ण मानिन्छ । तर, लुम्बिनीमा गुरुयोजना विपरीतका गतिबिधि र सम्पदामैंत्री काम नगर्दा युनेस्कोले लुम्बिनीलाई २०२४ मा खतराको सूचिमा राख्ने मस्यौदा तयार गरेको थियो । तत्कालका लागि जोखिम टरे पनि युनेस्कोको खतराको सूचिमा राख्ने मस्यौदाको निर्णयबाट हट्न भने धेरै काम गर्नु पर्ने देखिन्छ ।
लुम्बिनीमा भइरहेको क्रंक्रिटमैत्री काम र जथाभावी विकास निर्माणले चुनौती बढ्दै गएको छ । नेतृत्वकर्ता बीचको सामन्जस्यता अभाव र स्थानीय सरोकारवालासँग सम्बादविहीनताले समस्या बल्झिँदै गएको हो । लुम्बिनीमा भएका सम्पदालाई संरक्षण गरेमात्र पुग्छ । अहिले यहाँ आधुनिकता र सुन्दरताको नाममा अनावश्यक पूर्वाधार थपिँदै जाँदा जोखिम बढेको सम्पदाबिज्ञहरु बताउँछन् ।
नयाँ दिल्लीमा गत जुलाईमा आयोजित युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६ औं सेसनमा लुम्बिनीलाई खतराको सूचिमा किन नराख्ने ? भन्ने विषयमा छलफल हुँदा भारतले संशोधन प्रस्ताब हालेको थियो । उक्त प्रस्तावका कारण तत्काललाई खतराको सूचिमा पर्नबाट लुम्बिनी जोगिएको हो । तर, त्यहाँ लुम्बिनीका विषयमा भएको छलफलमा नेपालले राखेका प्रस्ताब, उठेका विषय, जिज्ञासा र आएका सुझावलाई समेटेर युनेस्को वल्र्ड हेरिटेज कमिटिले १२ बुँदे निर्णय पठाएको छ । यी बुँदालाई केन्द्रमा राखेर सुधार र संरक्षणको प्रयास थालिसकिएको लुम्बिनी विकास कोष वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए ।
‘धेरै काम गर्नु छ,’ उनले भने्, ‘यसमा तीनै तहका सरकार, बिज्ञ र सरोकारवालाको सहयोग अपरिहार्य छ ।’ यसलेमात्र लुम्बिनीको भविष्य सुरक्षित हुने उनले बताए । युनेस्कोले औल्याएका कमजोरी सुधारका लागि ६ महिना बाँकी रहेको उनले बताए । युनेस्कोले दुई बुँदालाई सकारात्मक माने पनि ८ वटामा प्रश्न उठाएको छ । सरकारले लुम्बिनीका सम्पदाको संरक्षण र ब्यवस्थापन गर्न स्विकृती दिएको एकीकृत ब्यवस्थापन संरचना (ईन्टिग्रेटेड म्यानेजमेण्ट फ्रेमवर्क)लाई पूर्णरुपमा तिब्रगतिमा कार्यान्वयनमा ल्याउन निर्देशन गरेको छ ।
एकीकृत ब्यवस्थापन संरचनामा पर्यटक–तीर्थयात्रीका सेवा सुविधा, प्रकोप ब्यवस्थापन, समुदाय र पिलिग्रिमेजका कुरा समेटिएका छन् । लुम्बिनीका मुख्य संरचना अशोक स्तम्भ, नेटिभिटी स्कप्चर्स, चिनो ढुंगा (मार्कर स्टोन) र मायादेवी मन्दिर भित्रको पुरातात्विक भग्नावषेशका संरक्षणको ग्यारेण्टी गर्र्नु पर्ने निर्देशन छ । स्थानीय, प्रदेश र संघीय सरकारबीच सम्पदा संरक्षणमा कसरी सहयोग समन्वय र सहभागिता गराउने भन्ने कुरामा स्पष्ट हुन आग्रह गरेको छ । परापूर्वकालदेखि भइरहेको धार्मिक गतिबिधि र चाड मनाउँदा सम्पदालाई असर नपुग्ने मनाउने योजना बनाएर काम गर्न निर्देशन गरेको छ ।
त्यस्तै सेक्टर स्ट्रयाटेजी (खण्डित रणनीति) बनाउन भनेको छ । वातावरण, भिजिटर ब्यवस्थापन, संरक्षण योजना, पवित्र उद्यानको विकास र प्राकृतिक प्रकोप रणनीति बनाउन निर्देशन गरेको छ । सेक्टर स्ट्रयाटेजी तयार गरेर कार्यान्वयनमा ल्याउनु अघि युनेस्को वल्र्ड हेरिटेज कमिटि सल्लाहकार समितिबाट सल्लाह सुझाब लिएर अन्तिम रुप दिन निर्देशन गरेको छ । चौथौ बुँदामा वल्र्ड हेरिटेज सेन्टर र ईकोमसले २०२२ मा सम्पदाबिज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर अनुगमन गरेर केही काम गर्न सिफारिस र डकुमेण्ट मागेको थियो । तर, खासै काम नभएको भनेर असन्तुष्टि जनाएको छ ।
मिसनले एकीकृत ब्यवस्थापन संरचना (ईन्टिग्रेटेड म्यानेजमेण्ट फ्रेमवर्क) कार्यान्वयनका योजना, साईट म्यानेजर लुम्बिनी विकास कोष क्षमता विकास, कोष भित्रै विश्व सम्पदा ईकाई गठन, लुम्बिनी विकास कोष ऐन भित्र विश्व सम्पदाका केही कुरा उल्लेख नभएकाले राख्न आग्रह गरेको थियो । मायादेवी मन्दिरभित्र पानी चुहिने समस्या र त्यस्ले पुरातात्विक भग्नावषेशलाई पार्ने प्रभावबारे सुरक्षाको प्रत्याभूति नभएको कुरा उठाएका थिए । यसका लागि ठोस योजना बनाउन माग गरेका छन् । लुम्बिनीको संरक्षणका आगामी योजना र कार्यक्रम छ के भनेर ? पनि प्रश्न उठाएका छन् ।
मन्दिरभित्र तीर्थयात्रीका लागि पर्याप्त स्पेश छैन् । लुम्बिनी विकास कोषको नाम लुम्बिनी संरक्षण तथा विकास परिषद् राख्दा राम्रो हुने र विकास निर्माण गर्दा सम्पदा प्रभाव मूल्यांकन नगरि गरेका कुरा उठाएका थियो । विश्व सम्पदा स्थललाई कुन रंग (कलर) मैंत्री बनाउने र केन्द्रिय नहरमा चल्ने डुंगा ध्वनी प्रदुषणरहित हुनु पर्ने कुरा सुझाएको थियो । यी सुझाव राज्य पक्षलाइ यस अघि न कार्यान्वयनमा ल्याउन आग्रह गरिएका यो सेसनले पनि ती काम गर्न कडाईकासाथ पुनः निर्देशन गरेको उल्लेख गरिएको छ ।
रिएक्टिभ मनिटरिङ मिसनले युनेस्कोकोलाई बुझाएको प्रतिबेदनकै आधारमा २०२४ मा खतराको सूचिमा राख्ने ड्राफट डिसिजन भएको हो । मिसनले २०२२ मैं यी कुरा सुधार नगरेर लुम्बिनी खतराको सूचिमा पर्ने जनाईसकेको थियो । सेसनले गरेको निर्देशन अनुसार कामहरु सुरु भइसकेका कोष वरिष्ठ निर्देशक राईले बताए । एकिकृत ब्यवस्थापन संरचना (ईन्टिग्रेटेड म्यानेजमेण्ट फ्रेमवर्क) स्वीकृत भएर कार्यान्वयनमा आईसकेको र सेक्टर स्ट्रयाटेजी (खण्डीत रणनीति) बन्ने अन्तिम क्रममा छ ।
पानी चुवाहटले मायादेबी मन्दिरमा गरिरहेको असरबारे हाइड्रोलोजिक रिपोर्ट बनाएर पठाइसकेको र २०२२ मा रिएक्टिभ मनिटरिङ मिसनले गरेको सिफारिस र २०२३ को आईएससी मिटिङले गरेको रिकमेण्डेसन कार्यान्वयनको बिस्तृत योजना र सेडयुलबारे छलफल गरेर अन्तिम रुप दिएर पठाउन थालिएको उनले बताए । त्यस्तै मन्दिर भित्र जन्म स्मारक शिला (मार्कर स्टोन) ढाक्न राखिएको कमलको फुल आकारको खोल युनेस्कोले हटाउन भनेकामा हटाइएको छ । अब युनेस्कोको चासो, निर्देशनका विषयमा काम गर्न ५ महिनामात्र बाँकी छ । २०२५ फ्रेबुअरी एक अघि आफूहरुले गरेको कामबारे एसओपी (स्टेट अफ कन्जरभेसन रिपोर्ट) बुझाउन समय सिमा दिइएको छ । युनेस्कोको ४७ औं २०२५ को जुलाईमा बुल्गेरियामा हुँदैछ ।








प्रतिकृया दिनुहोस्