July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

फूलमतिया

Advertisement

फूलमतियालाई शनिचराको पढ्न-लेख्न चढेको रौस देखेर निकै आश्चर्य लाग्यो, किंगरियाहरूका माझमा हुर्केर पनि पढ्छु भन्छ यो शनिचरा, हाम्रा माझका मान्छेहरूले कहिले पढे लेखे र ? यो कस्तो अनौठो भएर निस्कियो ! किंगरियाहरूका माझमा यो शनिचरा, मालिकबाबूहरूका केटाकेटीझैँ स्कुल जान्छु भन्छ । फूलमतिया कल्पना गर्छे, शनिचरा सफा लुगा लगाएर स्कुल जाँदै छ । क, ख, ग, घ, पढ्दै छ । शनिचरा स्कुलमा पढ्छ, अफिसमा बाबू’ हुन्छ, ऊ केके सपना देख्छे । आफ्नो जीवन धन्य भएको फूलमतियालाई लाग्छ । अरू जेजस्तो भनेपनि उसको शनिचरा पढ्छ । अवश्यै पढ्छ, शनिचराले पढ्यो लेख्यो, बाबू भयो भने उसको बुढ्यौली सप्रन्छ । छोरो हुनु पनि भाग्यै हो मायाको तीव्र आवेगमा ऊ शनिचरालाई छातीमा टाँसेर म्वाइँ खान्छे ।

Advertisement

फूलमतियाले शनिचरालाई पाउँदाखेरि मातृत्वको आवेगबाहेक अरू केही सपना देखेकी थिइन्, तर अहिले शनिचराको बालसुलभ जिज्ञासा र ऊभित्रको प्रतिक्रियाले नाना भाँती सपना देख्न थालेकी छ । हुन पनि शनिचरामा अनौठो बानीव्यवहार पलाउन थालेको छ । उसको चालचलन अनौठो छ । ऊ आफूलाई बाबू मालिकका छोराहरूसँग दाँज्न खोज्छ । उसका बानीव्यवहार पनि बाबू मालिकका छोराहरूका छन् । फूलमतियालाई लाग्छ, यो शनिचरा पक्का पनि कुनै श्रापग्रस्त देउता हो, त्यसैले उसको नारकीय जीवनमा नौलो र अनौठो जीवन खोज्दै छ । त्यसो नभएको भए त ऊ पनि फुलवा टिकुटी किंगरियाका सन्तानझैँ रछ्यानरछ्यान, घुर्यानघुर्यान चहारी हिँड्थ्यो होला ।

आफ्नो परिवारको वातावरणमा मिल्न नसक्ने र अनौठो व्यवहार गर्ने शनिचरालाई पाएर फूलमतिया आफ्नो भाग्यको सराहनी गर्दछे । हुन पनि फूलमतियालाई सन्तानको सारै रहर थियो । उसको अनुर्वरा क्षेत्रमा बीउ उमार्न सकेको थिएन । सन्तानकामनाले फूलमतिया कतिसँग सुती कतिसँग ? त्यसको लेखा छैन । उसका आफ्नै दौंतरी मगन्ताहरूका अतिरिक्त नगरका सेठ साहूकार, बाहुन, क्षत्री, बलवान-पहलमान सबैको ओछ्यान तताइदिएर पनि उसको अनुर्वरा क्षेत्र अनुर्वरा नै रह्यो । जतिजति उसको सन्तानप्राप्तिका उपायहरू असफल हुन्थे, उतिउति उसमा सन्तानकामना प्रबल हुँदै जान्थ्यो ।

फूलमतिया जब सन्तान कामनाको परिपूर्तिको अभावको घोर निराशामा रोएकी थिई, तब फुलवाले उसलाई सम्झाउँदै भनेकी थिई, “फूलमतिया, तँ किन दिक्क मान्छेस् ? के हुन्छ छोराछोरी पाएर ? हाम्रा के सपना छन् ? के आशा छन् र ? हामी त रछ्यान-रछ्यान चहार्ने र मागिखाने जातिका हौं । हाम्रा छोराछोरी पनि रछ्यान-रछ्यान चहार्ने त हुन् नि ! टोले आवारा कुकुरहरूका बथानमा एउटा अरू थप्न हामीले बच्चा किन जन्माउनुपयो ?”

“फुलवा ! तँ आमा भइसकेकी छेस्, तँलाई के ? हामी स्वास्नीमान्छेलाई त आमा हुनुमै स्वाद लाग्छ, तृप्ति हुन्छ । हो कि होइन ? तैंले त्यत्राविधि छोराछोरी किन पाइस् त ?”

“फूलमतिया ! साँच्ची भनौं भने मलाई यी छाउराहरू जन्माउने रहर थिएन । देहसुखको लोभले गर्दा नै यी जन्मँदै गएका हुन् । के गर्छन् यिनले ? हामीहरूझैँ रछ्यानरछ्यान चहार्छन्, टोलका कुकुरहरू जुठाको लागि बाझाबाझ गर्छन्, अलि ठूला भएपछि चोरचार गर्छन्, समातिएर जेल पर्छन्, यी बाँच्नुको के अर्थ छ र ? हामी नर्कका कीरा हौं । यी नर्कका कीरा बढेनन् भनेर पीर नमान् फूलमतिया, पीर नमान् ?”

“फुलवा ! तँ त निकै ज्ञानगुनका कुरा गर्न लागिस् नि ? कहाँबाट सिकिस् या ज्ञानगुनका कुरा ?”

“त्यसै मेरा मनमा उम्रिरहन्छन् यस्ता कुरा । सायद मेरी आमाको भुँडीमा कुनै ज्ञानको बीउ परेको थियो कि क्या हो !”

फुलवाको कुराले चित्त बुझाएकी थिई फूलमतियाले, तर उसको अतृप्त आकाङ्क्षाले भने फणा उठाइनै रहन्थ्यो । यस्तैमा एक बिहानै उसले टोकला घुर्यानमा शनिचरालाई पाएकी थिई । शनिचरा उसको अतृप्त आकाङ्क्षाको परिपूर्ति थियो । त्यसैले ऊ शनिचरालाई आफ्नो एक मात्र सम्पत्ति ठान्दथी शनिचराको एकएक इच्छामा ऊ सर्वस्व लुटाउन चाहन्थी । उसको सर्वस्व नै थियो शनिचरा । त्यो पनि अनौठो अनौठो कुरो गर्छ र फूलमतियालाई सताइरहन्छ ।

शनिचरामा पनि एउटा नौलो संस्कार पलाउन थालेको छ । फूलमतियाले फाटेर झुत्रो भइसकेका लुगा लगाएर शनिचरा डोऱ्याउँदै घरघर, ढोकाढोका केही दि…दिनुस् हजुर भन्दै माग्दै वा जुठो फालेको रछ्यानमा जुठाको लागि लुछाचुँडी गरेको शनिचरालाई निको लाग्दैन । त्यसको विकल्प भने उसको बालमस्तिष्कले खोज्न सकेको छैन । उसले फुलवा, चमेली या बुधिया, सुकई कसैलाई पनि यसरी मागिहिँड्न र जुठ्यानजुठ्यान चहार्नेसिवाय अर्को केही काम गरेको देखेकै छैन । बुधई, सुकई, मङ्गल, सोमे सबैले जुठ्यान, घुऱ्यानमा फालेको खाएको देख्तै पनि शनिचरालाई त्यस्तो खान घिन लाग्न थालेको थियो ।

अलि केही बुझ्नेबित्तिकै अब त शनिचरा घिनको अतिशयताले वाक्क भएको छ । ऊ फूलमतियालाई भन्छ, “आमा ! हामीले मात्रै त्यो अर्काले फालेको रछ्यानको जुठो किन खाने ? बाबू साहेबनीहरूले झैँ चाल पकाएर खानु हुँदैन ?’

फूलमतिया रसिलो आँखाले शनिचरातिर हेर्छे । भावावेशमा उसलाई छातीमा टाँसेर म्वाइँ खाँदै मनमनै भन्छे, “हे श्राप परेको देउता ? कुन पापले यो नरकमा पर्न आइस्, …तर म अब अरू तँलाई यो नरक भोग्न दिन्नँ ।” एउटा दृढ अठोट लिन्छे फूलमतिया । अब ऊ रछ्यानको जुठो भात उसलाई दिन्न । आफू पनि लुकीचोरी मात्र खान्छे । ऊ केही घरबाट रोइकराई फुको चामल मागेर ल्याउँछे । त्यही पकाएर शनिचरालाई खान दिन्छे । एक दिन फूलमतिया बिरामी परेर माग्न जान सकिन । शनिचरा भोकै पर्ला भनेर फुलवासँग चामल माग्न पुगी, “फुलवा ! मलाई अलिकति चामल दे न, शनिचरालाई भात पकाइदिऊँ ।”

“किन रे, चामल किन चाहियो ? आज हीरा सेठकी छोरीको बिहे थियो । मीठोमीठो हलुवापुरी तरकारी फालेका थिए, पतरीबाट बटुलबाटुल पारी ल्याएकी त्यही लैजा, मीठो मानेर खान्छ ।

“फुलवा ! आजभोलि शनिचरा रछ्यानको जुठो खान घिन मान्छ । त्यसैले भात पकाइदिन खोजेकी ।”

“फूलमतिया ! तँ किन व्यर्थे शनिचराको बानी बिगार्न खोज्छेस् । किंगरिया जातका हामीहरूले रछ्यान नचहारी खानै पाउँदैनौं । शनिचरा के गरेर खान्छ, ठूलो भएपछि ? कहाँबाट पाउँछ उसले चोखो भात ? उसको बानी नबिगार फलमतिया ! उसले माग्नैपर्छ, रछ्यान चहार्नैपर्छ, कथरी-मथरी लगाउनैपर्छ । उसको भाग्यमा त्यसभन्दा बढी केही छैन, उसलाई पछि सहनै नसके दुर्गतिमा नपार् ।”

“म के गरौं फुलवा ! कुन्नि कुन भैयाबाबूको सन्तान हो त्यो । कुनै श्राप परेको देउता पो हो कि ? जहिले पनि ज्ञानगुनका कुरा गर्छ । हामी किंगरियाहरूको रहनसहन मनै पराउँदैन, म के गरौं ? म त्यसलाई यो नरक भोग्न दिन चाहन्नँ । के थाहा उसको भाग्यले नै उसलाई यस्तो गराउँदै पो छ कि ? म उसको इच्छाबेगर हिँड्नै सक्तिनँ ।” त्यस दिन फुलवासँग चामल लिई फर्केकी थिई फुलमतिया ।

० ० ० ०

आज फेरि शनिचरा भन्दै छ, “आमा ! म पढ्न जान्छु ।” किंगरियाको छोराले पढ्छु भन्नु नै ठूलो कुरो हो, अनौठो कुरा हो । यो शनिचरा जहिले पनि यस्तै अनौठो कुरो मात्र गर्छ । छोराको पढ्ने रौस, बाबू मालिकका छोराहरूले गरेझैँ गर्न खोज्ने बानी देखी फूलमतियामा एउटा नयाँ धुन जाग्छ । ऊ शनिचरालाई पढाउने, लेखाउने, ऊ जस्तो हुन चाहन्छ त्यस्तै बनाउने अठोट गर्छे ।

फूलमतिया शनिचरालाई स्कुल लिएर आएकी छे । एउटा ठूलो बरको रूखमुन्तिर प्यारे मास्टर पच्चीसतीस केटाहरूलाई पढाउँदै छ । सहरनजिकको स्कुल भए तापनि यसको आफ्नो कुनै भवन छैन । यही पुरानो बरको छहारीमुनि स्कुल लाग्छ । रामपति, शकुर र प्यारे तीन जना शिक्षक छन् यस स्कुलमा । मास्टर प्यारेलाल जसलाई गाउँलेहरू प्यारे मास्टर भन्दछन्, यस स्कुलको हेडमास्टर हो ।

बरको रूखको फेदमा तीनतिर कक्षा सञ्चालन हुँदै छ । तीनैतिर बीस, पच्चीस जनाको जमातलाई रामपति, प्यारे र शकुर पढाइरहेका छन् । फूलमतिया सरासर गएर प्यारे मास्टरको क्लासछेउमा उभिन्छे । प्यारे मास्टर बोर्डमा क, ख, ग, घ लेखिरहेको छ । केटाकेटी एकअर्कासँग जिस्किइरहेका छन् । शनिचरा निकै गडेर प्यारे मास्टरको लेखाइ हेर्न थाल्दछ । प्यारे मास्टर बोर्डमा लेखिसकेर केटाहरूतर्फ फर्कन्छ त छेउमै फूलमतियालाई उभिएको देखेर उसको नाक खुम्चिन्छ ।

अमिलो मुख पारेर भन्छ, “के हो ? आज यतातिर किन फूलमतिया ?”

“मास्टरजी, यो शनिचरा स्कुलमा पढ्छु भन्छ । यसको नाम लेखाउन आएकी ।”

प्यारे मास्टर जिल्ल पर्छ । कस्तो पत्यार नलाग्ने कुरा यो, रछ्यान-रछ्यान जुठो भातका निम्ति रडाको मच्चाउने जात, उसले पनि पढ्ने रे ! ऊ उदेक मानेर दुवैलाई हेर्छ । मैलो चिथ्रैचिथ्रा भएको कमिज लाएको धुस्रेफुस्रे शनिचरा, कपाललाई मयल फोहोरले लट्टा पारेको, फाटेको कमिज र पेटीकोट उनेकी फूलमतिया । प्यारे मास्टरलाई लाग्छ, फूलमतिया उसलाई जिस्क्याउन लागेकी छे ।

ऊ फूलमतियालाई हकार्दै भन्छ, “ए फूलमतिया ! यो स्कुल हो । यहाँ पढ्नेलेख्ने काम हुन्छ, यहाँ जिस्किन नआइज, भाग् यहाँबाट ।”

“होइन मास्टरजी ! म बाबू मालिकहरूसँग जिस्कने आँट कहाँ गर्न सक्छु र ? साँच्ची, यो शनिचरा पढ्छु भनेर जिद्दी गर्छ । यसको नाम लेखिदिनुस् न ।”

“होइन, के कुरा गरेकी फूलमतिया तैंले ! यहाँ बाहुन, ठाकुरका छोराहरू पढ्छन् । यो घिनलाग्दो रछ्यान चहार्ने शनिचरा तिनीहरूसँग पढ्न बस्छ ? गाउँका बाबूहरूले के भन्छन् मलाई ? तेरो जातमा पढ्नेलेख्ने कुरै हुँदैन । तँ यसलाई पढाएर के गर्छेस् ? जा, यसको नाम लेखिँदैन यहाँ ।”

“बिन्ती छ मास्टरजी । मेरो छोरो रछ्यानरछ्यान चहार्दैन, अर्काको जुठो पनि खाँदैन । म यसलाई नुहाईवरी स्कुल पठाउँछु । मालिकबाबूका छोराहरूभन्दा अलग्गै बसेर पढ्छ यसले । सारै रहर गऱ्या छ । मास्टरबाबू, बिन्ती छ यसको नाम लेखिदिनुस् ।”

“जा भाग, बिनसित्ती मेरो गिदी नखा, जा ।”

“दया गर्नुस् मास्टरजी मेरो शनिचराको नाम लेखिदिनुस् ।”

आफ्ना अनेक अनुनय, विनय र करजोरी बिन्तीको कुनै वास्ता प्यारे मास्टरले नगरेको देखेर फूलमतिया आगो हुन्छे । निराशा र हताशले ऊभित्र तातो उच्छ्वास उम्लन थाल्छ । अनि ऊ बेसरी कड्किन्छे, “ए प्यारे मास्टर ! यो स्कुल तिम्रो बाबुको सम्पत्ति होइन, सरकारिया स्कुल हो यो । यसमा खाली मालिक- बाबूका छोराहरूले मात्र पढ्नुपर्छ भन्ने छैन । हामी जस्ता गरिबले पढ्न पाउनुपर्छ भनेर सरकारी खोलेको स्कुल हो यो । तिमी तलब पनि सरकारको खान्छौ : म
सहर गएर बडे सरकारसँग उजुर गर्छु बुझ्यौ, प्यारे मास्टरले हाम्रो नाम लेखिदिँदैन भनेर हुँ … ।”

फूलमतियाको डाँकोले अलि तर्सिन्छ प्यारे मास्टर। “पर्सि मुलुकी ऐन दिवस छ, पर्सि गाउँमा सहरबाट ठूला बडाहाकिम आउँछन् । कहीं यो राँड त्यहाँ कराउन पुगी भने व्यर्थैको खप्की खानुपर्छ ।” …मास्टर अलि नरम भएर भन्छ, “फूलमतिया, यो सरकारी स्कुल त हो ठीक छ, तर यहाँ तँ यसलाई पढाउन त सक्छेस् ? यसको नाम लेख्न- किताब, कापी, सिलोट किन्न पैसा चाहिन्छ । कहाँबाट ल्याउँछेस् त्यतिका पैसा ?”

“हेर मास्टरजी, यो किंगरिनी मगन्तिनीलाई केही थाहा छैन भन्छन् । मैले सहरमा मालिक्नीहरूसँग भीख माग्दा सोधिसकेकी छु । सरकारी स्कुलमा पढ्न फीस पर्दैन रे ! अनि किताब पनि सित्तैमा दिन्छन् रे नि । त्यसै ठग्न नखोज ।”

“देख्तिनस् राँड, स्कुल नभएर रूखमुनि पढाउनुपरेको ? पहिला नाउँ लेख्ता पन्ध्र रुपियाँ चन्दा लाग्छ, किताब त स्कुलबाट पाइन्छ, सिलोट किन्नुपर्यो, कापी, कलम किन्नुपर्यो, धेरै खर्च लाग्छ ।”

फूलमतिया अर्थको समस्याले खुम्चन्छे । कहाँबाट ल्याउने ? जुठेल्नुको जुठो बटुल्दै मागिखानेले छोरो पढाउने धोको लिनु व्यर्थै रहेछ भन्ठान्छे र शनिचरालाई तान्दै फर्कन खोज्छे ऊ, तर शनिचरा त्यो ठाउँ छोडी फर्कन मान्दैन । ऊ त्यहीं उभिएर ब्ल्याकबोर्डका किरमिर रेखाहरू हेरिरहन्छ ।

छोराको पढाइप्रतिको लगन देखेर छोरोलाई जसरी पनि पढाउने अठोट गर्छे, “मास्टरजी ! जम्मा कति लाग्ला ?”

“पन्ध्र रुपियाँ नाम लेख्ने चन्दा र तीन रुपियाँ सिलोट, पेन्सिललाई, अहिलेलाई अठार रुपियाँ भए पुग्छ ।”

“मास्टरजी ! भोलि शनिचराको हातमा अठार रुपियाँ पठाइदिन्छु । तपाईं शनिचराको नाम लेखिदिनुहोला ।” …फूलमतिया छोरालाई त्यहीँ छोडेर जान्छे ।

फूलमतिया गएपछि शनिचरा त्यहीँ भुइँमा टुक्रुक्क बस्छ । ऊ बडो मनोयोगले अक्षरहरू हेर्न थाल्छ । प्यारे मास्टर बोर्डमा लेखेको अक्षरलाई लौरोले देखाउँदै पढाइरहेका छन् ।

– क, ख, ग, घ शनिचरा पनि केटाहरूसँगै मनमनै दोहऱ्याउँछ । केटाकेटीको ध्यान बोर्डका अक्षरले भन्दा उसको कम्मरमुनिको नाङ्गो अङ्गले बढी आकर्षित गर्छ । केटाहरू खितितिखितिति हाँस्छन् ।

केटाकेटीको आकर्षण अर्कोतर्फ देखेर प्यारे मास्टर झोकिन्छ । एक पटक केटाहरूलाई हप्काएपछि ऊ शनिचरालाई हकार्न थाल्छ, “ए शनिचरा, उठ्उठ् त्यहाँबाट, नाङ्गै आएछ मोरो, जा भाग स्कुल आउने भए नुहाएर, सफा भएर, लुगा कट्टु लगाएर आएस् नत्र नआएपनि हुन्छ । जा भाग्, घर जा ।” मास्टरको हप्काइले लुत्रुक्क पर्छ शनिचरा, लाजले रातो हुँदै खुर्र दुगुरेर हुत्तिँदै घरतर्फ लाग्छ ।

० ० ० ०

फूलमतिया अठार रुपियाँको समस्याले ग्रस्त छे । तीस वर्षको लामो जीवनकालमा उसले बढीभन्दा बढी पाँच रुपियाँको मुख देखेकी छ, त्यो पनि कुनै ऐयास साहूको काखमा बसेपछि मात्र । आज उसलाई अठार रुपियाँ चाहिएको छ । एकदुई होइन पूरै अठार रुपियाँ । कहाँबाट ल्याउने अठार रुपियाँ ! फूलमतियाको लोग्ने भएको भएपनि कतैबाट चोरचार गरेर ल्याउँथ्यो होला, तर ऊ हराएको पनि दस वर्ष भइसक्यो । अलि सिल्ली तालको थियो उसको लोग्ने । एक दिन सहरतिर माग्न हिँडेको फर्केन । त्यसपछि उसले कति खोजी पत्तो लागेन । भन्दछन् ऊ नेपालमा माग्दामाग्दा वाक्क भएर अङ्ग्रेज (भारत) तिर पस्यो । त्यत्रो ठूलो देशमा कहाँ खोज्ने ? फूलमतियाले लोग्नेको केही वास्ता राखिन, उसलाई किन हो कुन्नि अङ्ग्रेजभन्दा नेपाल नै प्यारो लाग्छ । अङ्ग्रेजमा त मानिसहरू सारै मतलबी हुन्छन् । फेरि त्यहाँ जातपात र छुवाछुत धेरै मान्छन् । त्यहाँ बाच्नै गारो छ ।

हुन त अङ्ग्रेजीमा किंगरियाहरूको ठूलो जमात छ र त्यहीँबाट नै एकदुई पुस्तापहिला तिनीहरू नेपाल पसेका हुन्, तर फूलमतियालाई नेपाल नै मन पर्छ । यहाँका मानिसहरू दयालु हुन्छन् र गरिबहरूलाई बढी घृणा पनि गर्दैनन् । फूलमतियाले नेपाली परिवारहरूबाट प्रशस्त सहानुभूति पाएकी छ । यो गाउँ देहातमा त्यस्ता परिवार नभएपनि सहरमा दुईचार परिवार छन्, जसबाट फूलमतियाले चामल, भात, तरकारी पुराना चिथ्राचिथ्री पाउने गरेकी छ, तर अठार रुपियाँ भने उसका निम्ति निकै ठूलो रकम भइदिएको छ । ऊ सारै सकसमा परेकी छ । शनिचरा हुत्तिँदै आएर फूलमतियाको काखमा लटपटिन पुग्छ, “आमा मास्टरले भगाइदिए । सफा भएर सफा लुगा लगाएर आउनू नत्र नआउनू भनेका छन् ।”

त्यो सत्यानाशी मास्टरलाई थाहा छैन, हामी गरिब मगन्तेहरूले कहाँ सुकिलव लुगा लगाउँछौ‌ं…हे भगवान्…साँच्चै कुन नरकमा बाँचिरहेका छौँ…हामी …यो शनिचरा कस्तो हो…यसलाई किंगरियाहरूको बानीव्यवहार केही पनि मन पर्दैन…यो बाबू मालिकको छोराझैँ हुन चाहन्छ…म के गरौँ, कसो गरौं… अठार रुपियाँको समस्या त त्यसै छ, झन्, अब सुकिलो लुगा कट्टु पनि चाहियो… कहाँबाट ल्याउने ? फूलमतिया हताश हुन्छे । हताश आँखाले ३ शनिचरातिर हेर्छे ।

सुलुक्क परेको नाक ठूलाठूला आँखा, ठूला निधार, गौर वर्ण । साँच्ची शनिचराको रूपमा शापित देउता आभायुक्त छ ।… हे शापग्रस्त देउता तिमी मेरो काखमा लुटपुटिन आयौ, म तिमीलाई यस शापबाट मुक्ति दिन्छु, यस नरकबाट मुक्ति दिन्छु, मउपर जस्तोसुकै सकस अवस्था होस् । फूलमतिया छोरालाई तानेर लगातार म्वाइँ खान थाल्छे ।

फूलमतिया छोराको कट्टु लुगाको इन्तजाम गर्न सहर जाने निश्चय गर्छे । सहरमा दुईचार परिवार देखेकी छ उसले, जो उसप्रति सहानुभूति राख्छन् । तिनीहरूको ढोकामा गएर उसले रोईकराई भने त अवश्य पनि पुरानो कमिज कट्टुको इन्तजाम हुन सक्छ । फूलमतिया सहरतिर हिँड्छे ।

फूलमतिया सहरमा ढोकाढोका कराउँछे- हे मालिक्नी केही पुराना फाटेका थोत्रा लुगा पाऊँ न…मालकिनी… सानो बाबाको जडौरी कट्टु भए पाऊँ । निकैबेर धेरै घर चहारेपछि पनि फूलमतियाले उसको आवश्यकताका वस्तुहरू पाउँदिन । कसैले ब्लाउज दिन्छन् त कसैले पेटीकोट कसैकसैले फाटेका धोती नै दिई पठाउँछन्, तर कुनै बाबाको फ्याँकिएको कट्टु ऊ पाउन सक्तिन । झन् अठार रुपियाँ …. फूलमतिया हताश हुन्छे । निरास हुन्छे… क्लान्त र गलित हुन्छे ।

यस असफलताको असीम पीडाले ऊ छटपटिन्छे र निन्याउरा मुख लगाएर घरतिर फर्कन्छे । बाटोमा बतासियासँग भेट हुन्छ । बतासिया कानेका साथ आएकी छ । ऊ निकै ठाँटिएकी छ, तेल हालेर कपाल कोरेकी छ, पुरानै भएपनि नफाटेको सुकिलो धोती लगाएकी छ । उसका कालो अनुहार टलक्क टल्किएको छ । बतासियासँग आजभोलि पच्चीस रुपियाँ रहिरहन्छ । फूलमतियाको निरास हृदयमा आशाको एउटा ज्योति लाग्छ, ऊ बतासियाको नजिक पुगेर खुसामदी स्वरमा भन्छे, “बतासिया तँसँग मौकैमा भेट भयो । मलाई सारै अप्ठ्यारो पर्यो । शनिचरा स्कुल पढ्छु भन्छ । सिलोट, पेन्सिल र स्कुलको चन्दा गरेर अठार रुपियाँ चाहिन्छ रे । अहिले मेरो अप्ठ्यारो टारिदे, म तँलाई छिटै फर्काइदिन्छु ।

“के रे ? हामी किंगरियाको छोरो स्कुलमा पढ्छ रे ? के गजब गर्न लागेकी फूलमतिया ! यो पढ्न सक्नु त बाबू मालिकका छोराहरूलाई सुहाउने कुरा हुन् ? शनिचराले के गर्न पढ्छ, बरु माग्नसाग्न लगा । सहरतिर पठा । केही चोरचार गरेर भएपनि तँलाई पाल्नेछ ।”

“हैन बतासिया, सारै रहर गरेको छ शनिचराले । उसलाई पढ्ने सारै रौस छ । सकेदेखि पढ्न पठाऊँ, कुन्नि उसको भाग्यले नै हाम्रो पनि दिन फर्किन्छ कि ?”

“हेर फूलमतिया ! हामी रछ्यानको जुठो खानेहरूको बुद्धि हुँदैन, शनिचरा पढ्न सक्तैन । हाम्रो दिन यी मालिकबाबूको नक्कल गरेर फर्कने होइन हामीले हाम्रै चालले दिन फर्काउनुपर्छ । हामीलाई हेर, हाम्रो दिन कति मजाले बितिरहेछ राम्रै लाउँछौँ, मीठे खान्छौं, मरीमरी काम गर्न पनि परेको छैन । रछ्यानरछ्यान पनि चहार्नुपरेको छैन । साँझ परेपछि सहर आउँछौं, मालिकबाबूका छोराहरू बतसिया भनेपछि मरिमेट्छन् । म पनि यस्तो केही टिपटाप गर्छु, मोज नै मोज छ तँ पनि बतसियाझैँ नुहाईधोई सहरतिर आउने गर् कुनै समस्या हुँदैन । शनिचरालाई मसँग लगाइदे, म उस्ताद बनाइदिन्छु के पीर !” काने आँखा झिम्क्याउँछ ।

फूलमतियालाई कानेको कुरा सुन्दा पनि घिन लाग्छ । काने कस्तो दाजु हो आफ्नै बहिनीलाई वेश्यावृत्तिमा लिएर हिँडेको छ । कहाँ पुगिसकेको छ यो जात ? हे ईश्वर ! हाम्रो जीवन यस्तै नरक भोग्न बनेको हो ? रछ्यानरछ्यान चहार्नु, पैसाको निम्ति जीउ सुम्पनुपर्ने कस्तो बाध्यता हो ? हामी किंगरियाका छोरी, बुहारीले अर्काको काखमा नसुती धरै छैन । आफ्नै दाजुले बहिनी लिएर हिँडेको छ । छि… तर केको छि … यो त वास्तविकता हो … उसले पनि त कति पटक पैसाको निमित्त देह सुम्पिएकी छ । फूलमतिया अठोट गर्छ उसले जस्तोसुकै नारकीय जीवन बिताउन परेपनि ऊ शनिचरालाई यसबाट मुक्त गरिछाड्छे । उसले जेजस्तो भोग्नुपरे पनि ऊ शनिचरालाई मान्छे बनाइछाड्ने अठोट गर्छे र निश्चयात्मक स्वरमा बोल्छे, “काने, मलाई आज बीस रुपियाँ दिलाइदे । भोलिदेखि म पनि बतासियासँगै सहर आउने गर्छु ।”
…आजभोलि शनिचरा सुकिलो लुगा लगाएर स्कुल जाने गर्छ । फूलमतिया ठाँटिएर काने र बतासियासँगै सहरतिर आउने गर्छे ।

(‘सनत रेग्मीको प्रतिनिधि कथा’बाट) -sahityapost