July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

नेपाल आमा

Advertisement

दक्षिणतर्फ फर्किएको परम्परागत शैलीमा निर्मित एउटा दुईतले घर थियो । कमेरोले लिपेको, झिंगटीको छानोयुक्त बार्दली भएको त्यो घरमा पण्डित विश्वनाथको परिवार बस्दथ्यो ।

Advertisement

भुइँतलामा एउटा भान्सा, अर्को भर्‍याङ र साइडमा दुई कोठामा चाहिनेनचाहिने सामानहरू भरिएका थिए । पहिलो तलाका चार कोठा सुत्नका लागि प्रयोग हुन्थ्यो भने बुइँगल घ्याम्पास्याम्पाले भरिएको थियो । वरिपरि पच्चिस रोपनीजति खेतीयोग्य जमिन उनकै स्वामित्वमा थियो ।

आधुनिक प्रविधि भित्रिनासाथ उनका सुखसयलका दिन सुरु हुनेमा कुनै शंका थिएन । यस्तो दिन आउनेमा उनी आशावादी थिए । आशावादी नहोऊन् पनि किन, जोसँग धुरन्धर विद्वान् दुईजना छोराहरू जो थिए ।

जेठोको नाम शेखरनाथ त कान्छोको नाम नरेन्द्रनाथ थियो । शेखरनाथले संस्कृतमा आचार्य गरेका थिए । पण्डित्याइँ गर्दथे । सप्ताह पुराणको व्यासदेखि भ्याएसम्म कर्मकाण्डको पनि काम गर्न पाउँदा बडो आनन्द मान्दथे ।

नरेन्द्रनाथले भने विज्ञानमा स्नातकोत्तर गरेका थिए । उनले राम्रो जागिर पाइनसकेकाले बोर्डिङ स्कुलमा माध्यमिक तहसम्म अध्यापन गर्दथे ।

पण्डित विश्वनाथ बुढो हुँदै गएका कारण आफ्ना दुई जवान सुपुत्रहरूको एउटै लगनमा बिहे गराउन चाहन्थे । उनले यो कुरा आफ्नी धर्मपत्नीसँग गरे । धर्मपत्नीले सहर्ष स्वीकारिन् ।

छोराहरूको बिहेमा आफ्नै आँगनमा रत्यौली खेल्न पाउने दिन आउन लागेकोमा हर्षित भइन् । पण्डित विश्वनाथले आफ्ना छोराहरूका लागि केटी खोजी गर्न वरपरका छरछिमेकी एवम् नातागोताकहाँ कुरा पुर्‍याए ।

यो कुरा उनको दक्षिणतर्फ दरबारैजस्तो महल बनाएर बसेको भरतले थाहा पायो । ऊसँग सयौँ रोपनी खेतीयोग्य जमिन थियो । उसले परम्परागत प्रविधि छोडेर आधुनिक प्रविधिमा खेती गर्न थालिसकेका कारण विश्वनाथभन्दा धेरै सम्पन्न थियो ।

आफ्नै छिमेकीको बुहारी आफ्नै क्षेत्रको पार्न पाए भविष्यमा साथ, सहयोग पाइनेमा ऊ ढुक्क थियो । विश्वनाथको परिवारलाई सुहाउने र परिआए आफूलाई काम लाग्ने खालको केटी खोजेर खबर उसले पुर्‍यायो ।

विश्वनाथलाई भरतप्रति त्यति विश्वास थिएन । भारोपर्म, ऐँचोपैँचोको बेलामा भरतले आफ्नो अनुकूल काम गर्दथ्यो । एकपटक असारको बेला खेतमा ट्याक्टर लगाउने विचारले भरतसँग सहयोग मागेका थिए उनले । भरतले पूरा सहयोग गर्ने वचन दिएको थियो ।

विश्वनाथले बाउसे र रोपाहारहरू सबै बटुलेर धमाधम बीउ काटे । दिउँसो बीउ रोप्ने बेलामा भरतले ट्याक्टर नपठाएर कामै हल्ट भएको थियो । त्यहाँदेखि छिमेकीको नाताले बोलचाल गरेता पनि विश्वनाथ भरतप्रति सशंकित हुन्थे ।

भरतले देखाउन लगेको केटीप्रति विश्वनाथले रुचि देखाएनन् । न त उनका पुत्रद्वयले नै चासो दिए । विश्वनाथको परिवारको रवैयादेखि भरत क्रुद्घ भयो । उसले विश्वनाथलाई सम्झाउँदै भन्यो, “मैले खोजिदिएको केटी तिमीहरूकै भलाइको लागि हो । तिमीहरूले सुख पायौ भने मलाई सन्तुष्टि मिल्छ ।”

जवाफ दिँदै विश्वनाथले भने, “आफ्नो हित र भलो कसरी हुन्छ त्यो मलाई राम्ररी थाहा छ । यसमा अनावश्यक चासो नदिनू ! तपाईंले आफ्नै भलाइको बारेमा सोचे राम्रो होला !”

विश्वनाथको जवाफले भरत झन् चिढियो । उसले त्यसपछि धम्की नै दियो, “यदि, मैले खोजिदिएको केटी बिहे नगर्ने भए तिमेरूको खेतमा लाग्ने कुलो बन्द गराइदिन्छु । त्यसपछि जे मन लाग्छ गर्नू ।”

भरतको धम्की सुनेर विश्वनाथको परिवार चिन्तित भयो । एकपटक भरतले निहुँ खोजेर कुलोको पानी छोडेको थिएन । त्यस वर्ष रोपाइँ गर्न नपाएर भातै खान पाएका थिएनन् । त्यस अत्याचारका विरुद्घ उनले मुद्दा नहालेका होइनन्, धन र शक्तिको अगाडि उनको मुद्दाको पेसी लम्बिइरह्यो । तर, फैसला अझैसम्म भएको थिएन ।

फेरि पनि त्यसै गर्‍यो भने उनले धेरै दुःख व्यहोर्नु पर्दथ्यो । तीनै बाबुछोराले सल्लाह गरेर अरू छिमेकीसँग सहयोग लिने निर्णय गरे । उनीहरूले चारैतिरका छिमेकीसम्म भरतको व्यवहारबारे फेहरिस्त पुर्‍याए ।

आफ्नो छिमेकीमाथि भरतले गर्न लागेको दुर्व्यवहारप्रति सचेत हुँदै विश्वनाथको उत्तरतर्फ विशाल महल बनाएर बसेको चीनकाजीले नम्र भाषामा भन्यो, “हामी आफ्नो छिमेकीको हित चाहन्छौँ । यदि, उनलाई स्वीकार छ भने हामी खोज्दिन्छौँ नि केटी ।”

वास्तवमा विश्वनाथले चीनकाजीले खोजेको केटी चाहेका थिएनन् । उनले त भरतले गर्न लागेको अन्यायपूर्ण व्यवहारप्रति प्रतिरोध गर्न साथ र समर्थन खोजेका थिए । भरतविरुद्घमा केही नबोली आफैँ केटी खोज्न तम्सेको चीनकाजीप्रति पनि उनको परिवार आश्वस्त हुन सकेन ।

यस्तो मौकामा विश्वनाथको साथ लिएर भरत र चीनकाजी दुवैतर्फ आफ्नो स्वार्थ घुसाउन सकिने मौका पर्खिएर बसेका पश्चिमतर्फका पाँचसात घरका छिमेकीहरूले उनको घरमा आउजाउ बढाए ।

उनको घरबाट पूर्वतिरका छिमेकीहरू उनीभन्दा सम्पन्न त थिए, तर ती भरत र चीनकाजी एवम् पाँचसात घरका सँग जोरी खोज्न सक्ने हैसियतका थिएनन् । त्यसैले उनीहरू कानमा तेल हालेर बसे ।

उनको घरमा तागतदार छिमेकीहरूको चलखेल बढ्न थाल्यो । यसले गर्दा नरेन्द्रनाथको तनाव बढ्न थाल्यो । घरमा लेखपढ गरेर स्कुलमा पढाउनुपर्ने मान्छेलाई समय मिलाउन धौधौ भयो । कहिले बेलुका एउटा छिमेकी आइपुग्ने त कहिले स्कुल हिँड्नै लागेको बखतमा अर्को आइपुग्ने । छिमेकी आइपुगेपछि कुरै नगरी हिँड्न नमिल्ने भएकोले आफ्नो कर्तव्यप्रति बाधा उत्पन्न भइरहेको थियो ।

यो कुरा उनले आफ्नो स्कुलको प्राचार्यसँग गरे । प्राचार्यले कुरा बुझेर सहयोग गर्ने वचन दिए ।

शेखरनाथ पुर्खौली पेसा पण्डित्याइँमा हिँड्ने हुँदा यतातिर उनलाई खासै असर पर्थेन । प्रायजसो उनी सबेरै हिँड्थे र बेलुका अबेर गरी फर्कन्थे । सप्ताह आदिमा गएको बेला त घरमै हुन्थेनन् । घरमा भएको बेलामा जोसुकै आए गए पनि उनलाई खासै चासो हुन्थेन । उनी आएका सँग सिधासिधा कुरा गर्दथे । जे कुरा गर्नुपर्छ तिनका पिता विश्वनाथले नै गर्दथे ।

स्कुलका प्राचार्यले सबै कुरा बुझे । उनले पश्चिमी पाँचसात घरका छिमेकीहरूको साथ लिएर भरत र चीनकाजीको चित्त बुझ्ने गरी आफैँले केटी खोज्ने राय सबैसँग प्रकट गरे ।

मध्यमार्गी उनको प्रस्तावलाई सबैले रुचाए । तर, भरतले एउटा सर्त अडानका साथ तेर्स्यायो– प्राचार्यले शेखरनाथका लागि मात्रै केटी खोज्नुपर्ने र नरेन्द्रनाथको बिहे पछि गर्नुपर्ने । यसलाई विश्वनाथले स्वीकार गरे ।

प्राचार्यले आफ्नै स्कुलमा पढेकी सुन्दरी नामकी कन्याको प्रस्ताव गरे । ती कन्याले त्यति बेला स्नातक उत्तीर्ण गरिसकेकी थिइन् । तिनको पर्वतको चुचुराजस्ता छाती, नारायणी नदीजस्तो जिउ, तराईको भूमिजस्तो पाइताला त हिमालको हिउँझैँ गोरो मुहार थियो । सूर्यको झुल्को पर्दा उनको मुहार आकर्षक भई झल्कन्थ्यो ।

निधारको बीचमा चन्द्र आकारको टीका टलक्क टल्कन्थ्यो । यस्ती सुन्दरीलाई आठनौ कक्षादेखि नै साथीहरूले नेपाल सुन्दरी भनेर सम्बोधन गर्दथे । कलेजमा पनि नेपाल सुन्दरीभन्दा तल सम्बोधन कसैले गर्दै गरेनन् । त्यस्ती सुन्दरीलाई पनि पण्डित विश्वनाथले त्यति रुचाएनन् ।

नरुचाउनुको खास कारण नेपाल सुन्दरीको पिता नेवार त आमा मगर थिइन् । पण्डितलाई ती कन्या आफ्नो भान्सामा सुहाउँदो भइनन् । विज्ञान पढेका नरेन्द्रनाथले आधुनिक जीवनपद्घति बुझाउँदै बुबालाई सम्झाए । ती केटी बिहे नगरे कुलो बन्द गरेर भरतले दिने दुःख देखाए ।

बलजफ्तीले विश्वनाथ राजी भए । त्यसपछि परम्परागत ढंगमा शेखरनाथ र सुन्दरीको बिहे धुमधामसँग भयो । बिहेको रातिबाट भुइँतलाकै एउटा कोठा खाली गरेर उनीहरूलाई सुत्ने व्यवस्था मिलाइयो ।

बाबुजस्तै शेखरनाथ पनि परम्परावादी भएकैले उक्त बिहेप्रति असन्तुष्ट थिए । सुन्दरीबाट जन्मिएका सन्तानले दिएको पिण्डदानले आफू नतर्नेमा विश्वास राख्दथे । रूढिवादीयुक्त सोच र कर्मकाण्डी व्यवहारले सुन्दरीलाई सन्तुष्ट पार्न सकेका थिएनन् । कोठामा आउँदा, बस्दा, सुत्दा र खाँदापिउँदा समेत सुन्दरीप्रति झर्कोफर्को गर्दथे ।

उनको व्यवहारले सुन्दरीलाई पीडा हुन्थ्यो । आफू स्नातक गरेकी युवती ‘कस्तो रूढिवादीसँग पर्नु पर्‍यो’ भनेर स्कुलका प्राचार्यलाई सराप्थिन् ।

एक दिन घरमा कसैलाई नभनी सुन्दरी भरतको कारखानामा काम खोज्न गइन् । भरत त्यस्तै मौका ढुकेर बसेको थियो । भरतले उनको योग्यताले भ्याउने काम दियो ।

बेलुका घर फर्किएपछि आफूले भरतको कारखानामा ठूलो जागिर पाएको बेलीविस्तार लगाइन् । आफ्नो अनुमति नलिई भरतकोमा गएर काम खोजेको देखेर शेखरनाथ जंगिए ।

‘शत्रुको घरमा काम गर्न गएको…!’ भनेर पण्डित विश्वनाथ पनि रिसले मेघझैँ गर्जिए ।

“बुहारी, तिमीले काम खोज्न जानुअघि अनुमति लिनुपर्दथ्यो । जो छिमेकी हाम्रो शत्रुभन्दा खतरनाक छ, तिमी त्यसैकोमा काम गर्न जान्छौ ?”

“के गर्नु बुबा, यस घरको भातभान्सा गर्न भनेर मैले स्नातक गरेको हुँ र ! पढेअनुसारको काम पनि गर्नुपर्‍यो नि । भाततिहुन मात्रै पकाउने बुहारी चाहेको भए नपढेको खोजेर गरेको भए भइहाल्थ्यो नि !”

आफ्नी पत्नीले बुबासँग मुख लागेको देखेर शेखरनाथ लज्जित भए । उनले पत्नीको चुल्ठो समाउँदै भने, “के रे कुलंगार्नी ! तैले स्नातक पढेको भनेर हामीले बिहे गरेका होइनौँ । तँलाई हाम्रै दयाले भान्सामा चढाएका छौँ । नत्र तेरो जातले पकाएको भात हामीलाई चल्थेन, बुझिस् ! तँजस्तीसँग बिहे गर्न बाध्य हुनुमा त्यही भरते चोरको ठूलो हात छ, बुझिस् !”

लोग्नेले चुल्ठोमा समातेर तानेपछि दुःखेको त छँदै थियो, त्यसमाथि उनको तिखो वचनले मुटुमै प्रहार गरेपछि आँसुका धारा बग्न थाले सुन्दरीका आँखाबाट । चुल्ठोबाट लोग्नेको हात हटाउन असफल प्रयास गर्दै उनले रुँदै भनिन्, “अर्काको करले किन बिहे गरेको त ! मेरो यौवन बिगार्न यहाँलाई कसले दियो अधिकार ? के म सस्ती लाग्छु हजुरलाई !”

“तँलाई अरूकै लागि बिहे गरेको हो, बुझिस् !,” शेखरनाथ सुन्दरीको चुल्ठो झट्कारेर झर्किन थाले । सुन्दरी दुःखाइ कम गर्न पतिको हात समाउँदै कपाल तानेतिर टाउको झुकाउँथिन् ।

शेखरनाथले फेरि कड्किँदै बोले, “थाहा पाइराख्, यो घरमा अब छिट्टै मेरो रोजाइको अर्की आउँछे !”

यति भन्दै उनले पत्नीलाई घचेटी दिए । सुन्दरी मझेरीबाट हुत्तिँदै एकैपटक आफ्नो कोठाभित्र पुगिन् । उनी खाटमाथि लडेर डाँको हाल्दै रुन थालिन् ।

त्यही बेलामा यता नरेन्द्रनाथ र आमा भएर उनीहरूलाई सम्झाउन थाले । जे भए पनि आफ्नो हँसिया आफैँतिर सोझिन्छ भनेझैँ उनीहरूले आफ्नै परिवारको निर्णयलाई सदर गरे । सुन्दरीलाई आफ्नो घरव्यवहार प्रतिकूल हुन नदिने निर्णय गरे ।

भोलिपल्ट सुन्दरीले चाहेर पनि भरतको कारखानामा काम गर्न पाइनन् । उनलाई आफ्नै खेतबारीमा काम गर्न अह्राइयो । स्नातक पढेकीे अहंले परम्परावादीले झैँ उनलाई परिश्रम गर्न जाँगर चलेन । छिमेकीले झैँ आधुनिक प्रविधि भित्र्याउन उनीहरूले सकेका थिएनन् ।

झन् त्यसपछि त रातदिनको रडाको हुनथालेपछि त्यस्तो उन्नत प्रविधिको कुरा नै हराइसकेको थियो ।

आफ्नो कारखानामा काम गर्न नेपाल सुन्दरी नआएपछि भरतले आफ्नो साइँलो छोरो पवनलाई बुझ्न पठायो । पवनले विश्वनाथकै घरमा गएर सुन्दरीसँग कुरा गर्न खोज्यो । रछ्यानको डिलमा बसेर भाँडा माझ्दै गरेकी सुन्दरीले उसलाई यथार्थ विवरण पस्किइन् ।

कुरा बुझेपछि ऊभित्र कताकता स्वार्थको बिरुवा पलाउन थाल्यो । त्यो बिरुवालाई हुर्काइबढाइ गरेर फल फलाउने दाउमा ऊ लाग्यो । उता विश्वनाथ पवनलाई आफ्नै छोरासमान व्यवहार गर्दथे । भरतसँग शत्रुता भए पनि पवनलाई बालक नै ठानी त्यसो गर्दैनथे ।

विश्वनाथकी पत्नी पेटमा कुरा राख्न सक्दिन थिइन् । गाउँघर, छरछिमेकमा चहार्ने बानी थियो । बुहारीले गरेको झगडाको इतिवृत्तान्त गाउँमा आफैँले सुनाउन थालिन् । अर्काको कमजोरीमा खेल खेल्न अभ्यस्त गाउँलेहरूले उनलाई झन् उचालेर पठाए ।

घर पुग्नासाथ उनले बुहारीलाई तथानाम सराप्न थालिन् । बुहारीले पनि आजभोलि गर्दागर्दै दिनहुँ हुने सासूको अचाक्ली वचन खप्न सकिनन् । उनले पनि इँटको जवाफ पत्थरले भनेझैँ आफ्नो वचन तिखो पार्न थालिन् ।

त्यसपछि त सासूबुहारीको झगडामा विश्वनाथ र शेखरनाथ आफ्नो स्वार्थअनुरूप सुन्दरीलाई खेद्थे ।

रातदिन हुने घरझगडाले नरेन्द्रनाथलाई लेखपढ गर्न बाधा उत्पन्न हुन्थ्यो । एकातिर पढेअनुसार काम नपाइनु, त्यही काम जोगाइराख्न पनि लेखपढ गर्नुपर्ने बाध्यता थियो उनको ।

सोचेजस्तो वातावरण विस्तारै धमिलिँदै गएकोले उनले पाएदेखि विदेश जाने सोच बनाए । कि आयो आँप कि गयो झटारो भनी उनले पश्चिमी मुलुकमा छात्रवृत्तिमा पढ्न भनेर निवेदन दिए ।

लामो प्रक्रियापछि अन्ततः उनले छात्रवृत्ति पाए । र, कहिल्यै घर नफर्कने सोच बनाएर उनी पश्चिमी देशतिर हान्निए ।

नरेन्द्रनाथ विदेशिएपछि त्यस घरको एउटा खामो कमजोर भएको प्रस्ट देखिन्थ्यो । मौका खोजिरहेको पवन बेलाबेला त्यस घरमा आउन–जान थाल्यो । पवनको आउजाउलाई त्यस घरका कसैले नराम्रो मानेका थिएनन् ।

एक दिन घरमा सुन्दरी मात्रै भएको मौकामा ऊ टुपुल्कियो । घरपरिवारले गर्ने अपहेलनालाई औजार बनाउँदै उसलाई फकायो । नेपाल सुन्दरीलाई आफ्नो वासनाको शिकार हुन आमन्त्रण गर्‍यो ।

घरपरिवारले जति नै हेला गरे पनि उनी स्वाभिमानी थिइन् । तिनले पवनलाई लोप्पा ख्वाएर पठाइन् ।

पति आएपछि पवनको हर्कतको कुरा लगाउने सोचमा साँझपख शेखरनाथको बाटो हेरेर बसिरहेकी थिइन् । अघिपछिभन्दा झमक्कै साँझ परिसकेको थियो, तर अझै उनका पति आइपुगेका थिएनन् ।

त्यस साँझ विश्वनाथ पनि घरबाहिरै थिए । भित्र गनगन गरेर बसेकी उही सासू थिइन् । तिनको कुरालाई बेवास्ता गर्दै उनले पतिको बाटो हेरिरहिन् ।

त्यस रात घरअगाडि तीनवटा आकृति देखा परे । सबैभन्दा अगाडि घुम्टो ओढेकी महिलाको आकृति थियो भने त्योभन्दा पछि दुईजना पुरुष आकृति । आकृति विस्तारै दैलोअगाडि उभियो । तीमध्ये एकले चिच्याउँदै बोल्यो, “ए बुढी, घरकी लक्ष्मीको स्वागत गर् ! बत्ती बालेर भित्र्या !”

विश्वनाथको आवाज सुनेर हर्षित भई बुढियाले शेखरनाथकी दोस्रो पत्नीलाई घरमा भित्र्याइन् । त्यो देख्नासाथ नेपाल सुन्दरी कोठामा पुगेर डाँको छोडेर रुन थालिन् । भुइँतलाकै अर्को घुर्‍यान राखिएको कोठा उनकी सासूले सफा पारिन् । त्यस रातदेखि नवविवाहित जोडी अलग्गै अर्को कोठामा सुत्ने भयो ।

यता, आफ्नै जातकी बुहारी र पत्नी पाएँ भनेर बाबु, आमा र छोराले खुसी मनाए । ‘बल्ल मुक्ति मिल्ने भो’ भनेर तिनले सुस्केरा हाले ।

भोलिपल्ट बिहानै शेखरनाथले बहुविवाह गरेको खबर गाउँभरि फैलियो । भरतले पनि थाहा पाए । अनि, मुरमुरिँदै विश्वनाथको दैलोमा आएर हकार्‍यो ।

“मलाई नसोधी तिमेरू आफूखुसी बिहे गर्ने ? तिमेरको घर बिग्रियो भने मेरो घरसम्म असर गर्छ । मचाहिँ तिमेरकै हित सोच्ने, तिमेरूचाहिँ एक वचन मलाई नसोध्ने ! सोध्नु पर्दैन ?”

विश्वनाथले नम्र हुँदै भने, “के गर्नु भरतजी, परिस्थिति त्यस्तै पर्‍यो । छोराले मन पराएर बिहे गर्‍यो । उसको भविष्यको लागि मैले आँखा चिम्लिएँ । हजुरले पनि माफी दिनुस् ।”

“कहाँ हुन्छ ! यो सोझो ग्वाङ्ग्रेले भविष्य के देख्छ ? आजै गएर बहुविवाहको मुद्दा दर्ता गरेपछि स्वाद चाख्छ । बुहारी कता गइन् ? ए नेपाल सुन्दरी, तिमी बाहिर आऊ त !”

भरत कड्किएपछि सुन्दरी कोठाबाट बाहिर आइन् । सुन्दरीलाई हेर्दै भरतले नम्र भाषामा फकाउन थाल्यो ।

“हेर सुन्दरी, तिमी सबैकी बुहारी हो । तिम्रो जीवनको बर्बाद त्यसै गर्न पाइन्न । आफ्नो अधिकार मागेर पाइन्न, खोसेरै लिनुपर्दछ । अन्याय सहनु भनेको अन्याय गर्नुजत्तिकै हो । आजै गएर मुद्दा हालिदेऊ ! परेको म व्यहोरौँला ।”

उसको कुरा सुनेपछि सुँक्कसुँक्क रुँदै सुन्दरीले भनिन्, “बुबा, हजुरको कुरा सही हो, तर के गर्नु ! जे नहुनुपर्थ्यो त्यो भइसकेको छ । अब मुद्दा हालेर मैले एकलौटी पति पाउन्नँ । यो जायजेथा बाँच्नेले बाँच्नकै लागि प्रयोग गर्ने हो । म मुद्दा हालेर पछुताउँदिनँ, बुबा ।”

सुन्दरीको कुरा सुनेर भरत जंगिँदै आफ्नो बाटो लाग्यो, “हँ, यिनी पनि उस्तै रै’छिन् ! यो घरको सबै उस्ता । चाल पाउलाऊ पछि तिमेर्ले !”

शेखरनाथले दोस्रो पत्नी ल्याएपछि जति होहल्ला उनको आफ्नै घरमा हुनुपर्थ्यो, त्योभन्दा बढी छिमेकमा भयो । भरतले पाँचसातघरे छिमेकीलाई पनि उचाल्यो । ती पनि दैनिक आएर सुन्दरीलाई उचाल्ने त शेखरनाथ र उनका बाबुलाई धम्क्याउने गर्न थाले ।

यो सबै खबर थाहा पाएर पनि कानमा तेल हालेर बसेको चीनकाजी अति हुन थालेपछि बोल्यो, “विश्वनाथको घरको कुरोमा मलाई केही चासो छैन । उनीहरूको घरले जे चाहन्छ, त्यो मलाई मन्जुर छ । यदि, उनीहरू छरछिमेकमा मिलेर बस्नलाई मेरो सहयोग चाहन्छन् भने म गर्न तयार छु ।”

चीनकाजीले यति बोलिदिएपछि बुरुकबुरुक उफ्रने सबै छिमेकी शान्त भए । यता, सुन्दरीले आफ्नी सौता सावित्रीसँग झगडा गर्नुभन्दा मिलेर बस्नुमै निको हुने देखेर त्यसै गरिन् ।

सावित्री खाना पकाएर लोग्ने, सासूससुरालाई खुवाएर आफू खान्थिन् । त्यसपछि बल्ल बचेखुचेको खाएर खाईधन्दा सुन्दरीले गर्थिन् । खाइसकेपछि सावित्री सासूको गोडा मिचेर बस्थिन् । सुन्दरीले दैनिक खेतीपातीमा सकेको काम गर्थिन् । दिनभरि कामले थाकेर साँझमा उही सबैले खाइसकेपछिको खाएर सन्तोष मान्न अभ्यस्त हुँदै गइन् ।

तर, जति गरे पनि उनको लोग्ने र सासूससुराले उनलाई देखिसहन्थेनन् । ‘सबै खाई, सबै सिध्याई, अब हामीलाई मात्रै खान बाँकी छ, चमारेकी छोरी !’ जस्ता कटु वचन बोलेर उनका आँसुका बलिन्द्र धारा खसाल्थे ।

उनको दुःखमा सान्त्वना दिने कोही हुन्थेन । सावित्रीलाई चित्त नबुझे पनि ऊ सबैले देख्नेसुन्ने गरी सुन्दरीसँग बोल्न सक्थिनन् । कहिलेकाहीँ कोही नभएको बेला यसो दुःखसुखको कुरा गरेर लोग्नेले सप्ताह र पूजा आदिबाट ल्याइदिएको केही फलफूल लुकाएर दिन्थिन् ।

बिहे गरेको महिना दिन बित्न नपाउँदै सावित्रीको महिनावारी बन्द भयो । घरमा नयाँ सदस्य थपिने भयो भनेर सबै खुसी भए ।

उता, सुन्दरीको पनि महिनावारी रोकिएको डेढ महिना भइसकेको थियो । घरमा सबैले हेला मात्रै गरेका कारण उनले सो कुरा कसैलाई भनेकी थिइनन् । आफ्नो जिउको आफैँले हेरविचार गर्न थालिन् । कसैले थाहा नपाउने गरी माइत जान्छु भन्ने निहुँले अस्पताल गएर जाँच गराउँथिन् । शरीरले सकेजति घरबारीमा सघाउँथिन् पनि ।

सावित्री दुईजिउकी भई भन्ने थाहा पाएपछि उनका लोग्नेले केही काम गर्न लगाएनन् । सुन्दरीलाई पकाउन लगाएर पाकेको खाना पनि सावित्रीको कोठैमा लगिदिन्थे । सरकारी अस्पतालमा राम्रो हुँदैन भनेर बेलाबेलामा नर्सिङ होममा जचाउन आफैँले लैजान्थे ।

बसीबसी खाएका कारण सावित्रीलाई कहिलेकाहीँ जिउ भारी भएर सताउँथ्यो । उनी डाहाले छटपट गर्थिन् । त्यस बेलामा सासूससुरा आई भूतप्रेत लाग्यो होला भनी पहेँलो र रातो अक्षताले मन्छिन्थे । शेखरनाथ गायत्री मन्त्रले फुक्दथे ।

यसरी सुन्दरीको सातौँ महिना चलेको बेलामा उनको जिउ भारी भएर आयो एक दिन । कसैलाई नभनी उनी जँचाउन हिँडिन् । घरबाट केही पर पुगेपछि एकान्तस्थल आयो । त्यहाँ पवन एक्लै गाँजाको नशामा बसेको थियो । एक्लै आएकी सुन्दरीलाई देखेर झम्टिहाल्यो ।

‘तैँ होइनस्, मलाई लोप्पा ख्वाउने ! आज फेला परिस्’ भन्दै उनलाई हातपात गर्न थाल्यो । सुन्दरीले ‘आफू दुईजिउ भएर मर्नु न बाँच्नु भएको अवस्थामा मलाई नछो’ भनेर हात जोडिन् ।

शरीरमा यौनको दानव चढेको पवन मानेन । बायाँ हातले ढाडमा त दायाँ हातले कम्मरमा समाएर उनलाई भुइँमा लडायो । टेक्ने खुड्किलो न समाउने हाँगो भएझैँ बेसहरा सुन्दरी डङ्ग्रङ्ङ भुइँमा पछारिएर बेहोस भइन् ।

त्यस अवस्थामा पनि दानव पवनले उनको फरिया माथि सार्‍यो । प्रसव वेदनाले उनको शरीर भुक्क फुलेको थियो । नीच पापीलाई यौन उत्कुण्ठाले छोएकोले दया पलाएन । धमाधम आफ्नो पाइन्ट खोल्न थाल्यो । त्यति नै बेला भाग्यवश सुन्दरी पढेको स्कुलका प्राचार्य त्यहाँ आइपुगे ।

प्राचार्यलाई देख्नासाथ पवन एक हातले पाइन्ट समाउँदै सुइँकुच्चा ठोक्यो । आफ्नी छात्राको बिजोग देखेर मन पग्लियो । केही मान्छे बोलाए र उनले सुन्दरीलाई अस्पताल पुर्‍याए ।

अस्पताल पुगेको दुईतीन घण्टामा उनले जुम्ल्याहा छोरा पाइन् । यो शुभसमाचार प्राचार्यले विश्वनाथको घरमा पुर्‍याए । तर, उनको घरबाट कोही पनि अस्पताल पुगेनन् । न त्यस परिस्थितिलाई कसैले शुभ माने ।

दुःखसुख गरेर बचाएको पैसाले अस्पतालकै क्यान्टिनबाट खाना मगाएर सुन्दरीले खाइन् । घरबाट कोही नआएकोले आफ्ना जुम्ल्याहा छोराहरूलाई ‘रामनाथ र लक्ष्मणनाथ’ भनेर नाम राखिन् ।

दुई दिनपछि अस्पतालबाट डिस्चार्ज भएर मध्याह्नमा उनी घर पुगिन् । त्यति बेला घरको पिँढीमा सबै बसिरहेका थिए । दुई शिशुलाई दुईतिर काखमा बोकेर पाइला जोड्दै विस्तारै हिँडेर उनी दैलोमा पुग्न नपाउँदै शेखरनाथ कुर्लिए, “तँलाई लाजसरम नभएकी बेस्से ! कसको बच्चा हो यो ? जसको पाप बोकेकी होस्, त्यसैको घरमा जा !”

उनले बोल्नुभन्दा पहिले नै सासूले आगोमा घ्यु थपिन्, “त्यही बज्या पवनेको होला नि ! बेलाबेलामा आइरहन्थ्यो, दुईजिउको बनाएर छोडेछ बजियाले ! त्यसैकाँ गए भइगो नि !”

यस संवादलाई बेवास्ता गर्दै छेउछाउमा बसेका ससुरा र सौताले घरी उनको आँखामा घरी ती बच्चालाई टुलुटुलु हेरिरहे ।

घरभित्रै पस्न नदिउँलाजस्तो गरी घेरेर बसेका पतिलाई क्रुद्घ भई रुँदै जवाफ दिइन् सुन्दरीले, “यदि, यो बच्चा तेरो नभएर अरूको रहेछ भने म तेरैअगाडि विष खाएर मोर्दिन्छु, बुझिस् ! डीएनए टेस्ट गरेर हेर् ! जथाभावी आरोप लगाउने होइन, पापी !”

डीएनए भन्ने शब्द सुनेपछि शेखरनाथ हच्किए । तैपनि, सबैको अगाडि ‘तँ’ भनेर सुन्दरीले अपमान गरेको महसुस गरी तुरुन्तै सुन्दरीलाई जगल्ट्याएर लडाउन तम्सिए । चुल्ठोमा हात के पुर्‍याएका थिए, सावित्री चिच्याइन्, “नाइँ नाइँ ! दिदीलाई यस्तो बेलामा छोडिदिनुस् ।”

आफ्नी प्रिय पत्नीको आवाज आएतिर हेर्दै शेखरनाथ शान्त भए । त्यस अवस्थाले आत्तिएर रुँदै गरेका आफ्ना मुटुका टुक्राहरूलाई च्यापेर भित्र पसिन् सुन्दरी । त्यसै बेला सावित्री पेट दुख्यो भनेर अलापविलाप गर्न थालिन् ।

शेखरनाथले हतारिएर ट्याक्सी बोलाए र तुरुन्त अस्पताल लगे । त्यहाँ सामान्य जाँचपछि डाक्टरले बिरामीलाई घरै पठाइदिए ।

सावित्रीको आठौँ महिना चलिरहेको थियो । शेखरनाथलाई ठूलाबडाकहाँ सप्ताह सुनाउने अवसर मिल्यो । नामुद सप्ताहवाचक भनेर उनले त्यति बेलासम्म नाम कमाइसकेका थिए । त्यस क्षेत्रमा हिँड्ने पण्डितहरू उनको प्रतिभा देखेर डाहा गर्दथे ।

उनले कान्छी पत्नीलाई ‘राम्रोसँग आफ्नो ख्याल गर्नू, म सप्ताह सकिनासाथ आउँछु’ भने । तर, सुन्दरीलाई फुटेको आँखाले पनि नहेरी निस्किए ।

सप्ताहवाचन भइरहेको चौथो दिनमा बिहानैदेखि हुरीबतास चल्यो । आकाशमा दुईचारवटा चिल फनन घुमिरहेका थिए । कागहरू कर्कश स्वरमा कराइरहेका थिए । त्यस दिनको अवस्था शुभ छैन भनेर धेरैलाई लागिरहेको थियो ।

नभन्दै वाचन गरिरहेकै अवस्थामा पण्डित शेखरनाथको छातीमा ड्याङ्ङ गोली लाग्यो । उनी त्यहीँ ‘ऐया’ पनि नभनी पुक्लुक्कै ढले । भुइँभरि रगतको खोलो बग्यो । सँगै बसेका उपवाचक आत्तिएर भागे । सुन्न बसेका सयौँ भक्तजनहरू ‘के भयो, लौन गुहार !’ भन्दै कोकोहोलो मच्चाउँदै यताउता गर्न थाले ।

त्यही बेला रातो झन्डा बोकेका पाँचसातजना युवाको समूह चिच्यायो, “यथास्थितिवादी पाखण्डी धर्म मुर्दावाद ! अग्रगमन जिन्दाबाद !” नारा लगाउँदै तिनीहरू हिँडे ।

आफ्नो छोराको गोली हानी मृत्यु भएको खबर पाएपछि पण्डित विश्वनाथ स्तब्ध भएर रुँदै भने, “कानुनको पालना नहुने मुलुकमा जसले जे गरे पनि हुने भो । विदेशी धर्मको इसारामा हाम्रो धर्ममाथि प्रहार भो । बाउको किरिया छोराले गर्नुपर्नेमा छोराको चाहिँ बाउले गर्नुपर्ने भो । विधिको यो कस्तो विडम्बना हो ?”

विश्वनाथकी पत्नीले ‘यो सबै त्यही कुजातकी सुन्दरीलाई भातभान्छामा उकालेको परिणाम हो’ भनेर रुँदै आरोप लगाउन थालिन् ।

बाँचेर पनि लोग्नेले मरेको जस्तो व्यवहार गर्ने सुन्दरीको लागि समेत यो खबरले दुःखित बनायो । आँखाबाट आँसुको भेल बगायो । अघिसम्म रातो लगाउन पाएकी थिइन्, अब हातका चुरा फुटालियो, सिउँदोको सिन्दूर पखालियो । रातो सारीचोलो सबै शेखरनाथको लासमा ओढाउन पठाइयो ।

सावित्रीको पनि त्यस्तै गरियो । सेतो फरियामा उनीहरू तेह्रदिने क्रियाकर्ममा बसे । क्रिया बसेको पाँचौँ दिनमा सावित्रीलाई व्यथा लाग्यो । तुरुन्तै ट्याक्सी बोलाएर विश्वनाथले अस्पताल पुर्‍याए । त्यस रात बडो कठिनपूर्वक चारवटा चम्ल्याहा छोरा र एउटी छोरी गरी पाँचवटा सन्तान उनले जन्माइन् । घर आएर एघारौँ दिनमा न्वारन गरी उनीहरूको नाम जुराइयो, जेठोदेखि क्रमशः श्याम, नटखट, बाला, वटु र कृष्णा ।

पिताले आफ्नो छोराको हत्यारामाथि कानुनी कारबाही होस् भनी पुलिस चौकीमा उजुरी दिए । पुलिसले कोसिस गर्ने मात्र बतायो । विश्वनाथ अपराधी समातिएलान् भन्ने कुरामा आशावादी हुन सकेनन् ।

छोराको मृत्युपछि उनले सकेजति जजमानी गरी दानदक्षिणा ल्याउन थाले । आफ्नो खेतबारीको अन्नले उनीहरूलाई पुग्थ्यो नै । आधुनिक जमानाको वरदान – इन्टरनेट, मोबाइल आदि चलाउन उनी त्यति जान्ने थिएनन् । त्यसमा चासो पनि दिन्थेनन् । सुन्दरीले यस्ता अत्यावश्यक कुरो माइतीबाट सहयोगमा पाउँथिन् । उनी चाख दिएर मोबाइलमा सामाजिक सञ्जाल चलाउँथिन् ।

सुन्दरीका सन्तानलाई वास्ता नगरे पनि सावित्रीका सन्तानलाई भने स्याहारसुसारमा केही कमी हुन दिएन विश्वनाथ दम्पतीले । सुन्दरीलाई सासूससुराले सहयोग नगरेर चित्त दुःखेको थिएन ।

उनी हरेक पल कामना गर्थिन्– सहयोग नगरे पनि वचनवाणले नहाने हुन्थ्यो ।

अर्काको समस्यामा सहयोग गरेजस्तो गरी आफ्नो स्वार्थ लुट्न जान्ने छिमेकीहरू पुनः सलबलाउन थाले । सुन्दरी र सावित्रीलाई आफ्नो मुट्ठीमा लिने प्रपञ्च रच्न थाले । इमानजमानमा बस्ने सुन्दरीले सित्तैमा कसैबाट पनि सहयोग स्वीकारिनन् । आफ्नै घरबारीमा दश औँलाका नंग्रा खियाएर, बरु आफूले एक पेट खाएर भए पनि आफ्ना दुई सन्तानलाई पेटभरि खुवाइन् । हुर्कंदै गएपछि स्कुल भर्ना गरिन् । घरमा तिनको पठनपाठन र सरसफाइमा ध्यान दिइन् ।

सावित्रीले भने सबैको सहयोगको इन्कार गरे पनि एकजना हेर्दै खाइलाग्दो आकर्षक पुरुषबाट सहयोग लिन रुचि देखाइन् । त्यो पुरुष भरतको समर्थक थियो वा चीनकाजीको थियो वा पाँचसातघरेको प्रतिनिधि थियो वा यी तीनै पक्षको दहीचिउरे थियो, यो कोही जान्थेनन् । हुन त ऊ कसै न कसैको प्रतिनिधि थियो । यसतर्फ सावित्रीले खासै ध्यान दिइनन् ।

सावित्रीको यस व्यवहारलाई पण्डित विश्वनाथले रुचाएनन् । पति नभएको घरमा सावित्रीले सासूससुरालाई भाउ दिन छोडिन् । जे पर्छ आफैँ निर्णय गर्न थालिन् । त्यो पुरुषको नाम आन्टे थियो । आन्टेले सावित्रीको नजिक भएर सरसहयोग गर्न थाल्यो ।

खेतीपातीलगायत सावित्रीको सन्तानको शिक्षादीक्षामा पनि पैसा लगायो । उनलाई सुन्दरीलाई जस्तो काम गर्नु पर्थेन । घरमै बसीबसी खानपुग्ने वातावरण आन्टेले मिलाइदियो । सुन्दरीले सावित्रीको कर्ममाथि कुनै वास्ता गरिनन् । बस्, उनी आफ्नै पौरखमा जिन्दगीको डुंगा खियाउँदै गइन् ।

दिनपछि रात, साँझपछि बिहान गरी क्रमशः समय बित्दै गयो । एक दिन आठ वर्षकै उमेरमा रामनाथले रुद्रीपाठ कण्ठस्थ सुनायो । हजुरबा विश्वनाथले बिहानबिहान पूजा गर्ने बेलामा भट्याउँदा सुनेको भरमा उसले कण्ठस्त पारेको थियो । उसको विलक्षण प्रतिभा देखेर विश्वनाथ दंग परे ।

उता, सावित्रीका चम्ल्याहा भने आन्टेको संगतमा परी दुर्वचन बोल्दथे । आन्टेले तिनलाई पैसा दिएर पुलपुल्याएको थियो । सावित्री बुहारीको पनि चालचलन ठिक नभएपछि बुढा चिन्तित थिए ।

अकस्मात् रामनाथले यस्तो प्रतिभा देखाएपछि सुन्दरीसँग हात जोडेर माफी मागे, “माफ गर बुहारी, अनजानमा गल्ती भो ! तिमीजस्ती सुशील, शालीन र इमानदारी आमा भएकैले आज तिम्रा छोरा विद्वान् भएर निस्कने छाँट देखाए । मानिस जातले होइन, गुणले ठूलो हुन्छ भन्ने प्रमाण तिमीले देखायौ ।”

बुढाको कुरामा सही थप्दै सासूले पनि समर्थन जनाइन् । त्यस दिन बिहेपछि पहिलोपल्ट खुसी मिलेको थियो सुन्दरीलाई । सोचिन्– त्यसबखत शेखरनाथ जीवित भइदिएको भए कति माया दिने थिए होलान् !

सुन्दरीले छोराहरूलाई गुगल र युट्युबमा वैज्ञानिक आविष्कार हेर्ने तरिका सिकाइन् । आफ्ना छिमेकीले उन्नत प्रविधिको प्रयोग गरी धेरै उन्नति गरेको बुझाइन् । विस्तारै हेर्दाहेर्दै उनीहरूले बाँसबाट ट्याक्टरजस्तो खेलौना बनाएर देखाए । आमा र हजुरबा त्यो देखेर औधी खुसी भए ।

एकपटक बाँसकै बन्दुकजस्तो खेलौना बनाएर देखाउँदै भने, “हजुरबा, हजुरबा, हामी अब दुस्मनलाई यही बन्दुकले हानेर मार्छौँ ! ठूलो भएपछि ट्याक्टर बनाएर खेतबारी जोत्छौँ । अनि, धेरै अन्न फलाउँछौँ ।”

त्यो सुनेर विश्वनाथले भने, “स्याबास नाति हो ! यो खेतबारीले उन्नत प्रविधि तिमीहरूबाटै देख्ने भो ।”

एक दिन नटखटले बजारबाट किनेर ल्याइएको ट्याक्टर आँगनीमा गुडाएर खेल्न थाल्यो । यस्तो खेलौना आन्टेले किनेर ल्याइदिन्थ्यो । त्यो ट्याक्टर रिमोटबाट चल्दथ्यो । पिँढीमा बसेर कसरी चल्दो रहेछ भनेर रामनाथ र लक्ष्मणनाथले ध्यान दिएर हेर्न थाले ।

आफ्नो खेलौना ती दुईले हेरेको देखेर नटखटले सन्किँदै भन्यो, “तिमेरूको जस्तो बाँसको चोयाले बनेको हो र ? हेर्, यो त साँच्चिकै हो !”

त्यो सुनेर लक्ष्मणनाथले भित्रबाट आफ्नो बाँसबाट बनाइएको ट्याक्टर खेलौना ल्याएर उसको सँग नारेर देखाउँदै भन्यो, “हेर्, यो त हामी आफैँले बनाएका हौँ, तैपनि तेरोभन्दा केही कम छैन बुझिस् !”

‘इस् हो !’ भन्दै नटखटले लक्ष्मणनाथलाई लोप्पा ख्वायो । आफ्नो आँखामा नटखटको हातको लोप्पा परेपछि लक्ष्मणनाथ झनक्क रिसाएर बोल्यो, “तेरो आमाको पो आन्टे छ र तिमेर्लाई खेलौना किन्दिन्छ । हाम्रो नेपाल आमा त स्वाभिमानी हुनुहुन्छ, बुझिस् !”

त्यही बेला नटखटका अरू तीन दाजुभाइ र बहिनी बाटोबाट खेल्दैखेल्दै घर आइपुगे । नटखट र लक्ष्मणनाथबीच भएको विवाद ध्यान दिएर सुने । आफ्ना दाजुभाइ आएपछि नटखटमा जोस पलायो । त्यो सुरमा उसले कस्सेर एक मुक्का लक्ष्मणनाथको छातीमा बजार्‍यो ।

लक्ष्मणनाथ त्यस चोटले ढल्न खोज्दाखोज्दै थामियो । दह्रोसँग खुट्टा टेकी नसक्दै नटखटले फेरि अर्को मुक्का मुखमा ताकेर हान्यो । त्यो मुक्का चलाखीपूर्वक छल्दै लक्ष्मणनाथले देब्रे मुक्काले नटखटको नाकमै दियो । नटखटको नाकबाट रगत निस्कियो । यो देखी उसका अरू सबै दाजुभाइले लक्ष्मणनाथलाई घेरेर पिट्न थाले । त्यस अवस्थामा रामनाथ दौडिँदै भित्रबाट आफूले बनाएको बाँसको वाणले पटापट हानेर पलभरमै चारै भाइहरूलाई भुइँमा लडायो ।

आफ्ना दाजुहरू लडेको देखेर कृष्णाले रुँदै भित्र गएर आमालाई गुहारी । आत्तिँदै बाहिर आएर हेर्दा आफ्ना छोराहरू भुइँमा लडिरहेको देखेर उनले रामनाथ र लक्ष्मणनाथलाई गाली गरिन् । गाली ती दुईलाई मात्रै नगरी ‘तल्लो जात्या सन्तान’ भनेर सुन्दरीलाई समेत छोइन् ।

रामनाथको दाजुभाइ सुन्या नसुन्याझैँ गरी दौडिँदै कोठाभित्र गएर चुकुल लगाएर बसे । यता, चार दाजुभाइ भुइँमा बजारिएकै समयमा आन्टे आइपुग्यो । ती सबैका ढाडमा बाँसका तिखो काँड छिरेको थियो । त्यो सबै झिकिदियो । काँडको तिखोले सर्टमा सानो प्वाल बनाएर घाउ बनाएको थियो । उसले भित्रबाट औषधि ल्याएर दलिदियो ।

अनि, त्यसैबखत उक्सायो पनि, “तिमेरू चारजना मिलेर यी दुईलाई सक्नुपर्छ । यो सारा सम्पत्ति तिमेरूको मात्रै गर्नुपर्छ । यसको लागि जे गर्नुपर्छ, म सहयोग गर्नेछु ।”

आफ्ना छोराहरूको दशा हेरेर बसिरहेकी सावित्रीले आन्टेको कुरा ध्यान दिएर सुनिन् र सुनौलो भविष्य कल्पँदै मुस्कुराइन् ।

समयक्रमसँगै रामनाथ र उसका भाइबहिनीहरू सोह्रौँ वसन्तमा प्रवेश गरे । त्यही बेलामा विश्वनाथ बिरामी भएर अस्पतालमा भर्ना भए । उनलाई कुर्न र हेर्न सुन्दरी र उनका दुई छोरा गएका थिए ।

तेस्रो दिनसम्म पनि घर फर्किन नसकेपछि आन्टेले सावित्री र चार दाजुभाइलाई उक्सायो ।

“हेर, तिमेरू बुद्धु ! रामनाथहरूले यो सबै जेथा आफ्नो नाममा सारे भने ? अस्पतालमा बस्दाबस्दै जे पनि हुनसक्छ । उनीहरूको नाममा हुनुअघि तिमेरूको नाममा हुनुपर्छ । लौ हिँड !”

यति भन्दै सावित्रीलाई समेत लिएर उनीहरू अस्पतालमा गए । सलाइनपानी चढाइरहेको थियो बिरामी विश्वनाथलाई ।

त्यस अवस्थामा उनको अगाडि गएर सावित्री चिच्याइन्, “यिनीहरू मात्रै हुन् र अंसियार ? यो घरबारीमा यी चारजनाको पनि हकअधिकार चल्छ । यिनीहरूको नाममा पास गरिदिनुपर्‍यो, बा !”

त्यस अवस्थामा सोच्दै नसोचेको प्रस्ताव सुनेर विश्वनाथ झोक्किएर कराए, “बा नभन् मलाई ! तेरो बा म होइन । सुन्, यो अंश खाने तँ मात्रै हैनस्, रामनाथहरू पनि छन् । अनि, यिनीहरूको काका नरेन्द्रनाथ पश्चिमी मुलुक पसेको वर्षौँ भइसक्यो, ऊ पनि हकदार हो ।”

“नरेन्द्रनाथ ?”

त्यति बेलासम्म सुन्दरीबाहेक अरू कसैले नरेन्द्रनाथको नाम सुनेका थिएनन् । एकाएक उनको नाम आएपछि ती सबै चकित परे । त्यही बेलामा आन्टे बोल्यो, “ठिक छ, ठिक छ । सबैलाई बराबरी गरिदिनू ।”

“जे गर्नुपर्छ म गरिहाल्छु नि, तिमी बाहिरको मान्छेलाई बीचमा बोल्न के मतलब ?”

विश्वनाथले आन्टेलाई हप्काउँदै बोलेपछि ऊ रिसाउँदै बोल्यो, “बिरामीलाई स्याहार्न आएकालाई तिमी गाली गर्छौ ? पाखण्डी बुढा ! एक्लै बस । हिँड केटा हो, कसरी तिमेरूको नाममा गर्दो रहेन छ, म पनि हेर्छु । हिँड !”

त्यसपछि सावित्रीका सन्तान सबै गुटुटुटु हिँडे, अस्पतालै शान्त हुने गरी । उनीहरू गएपछि विश्वनाथले सुन्दरीसँग बोले, “के गर्नु बुहारी, उसले भनेको नमाने कुलो बन्द गर्देला भन्ने डर । यी दुई नातिहरू मर्ने भए ।”

आफ्नी आमा बोल्नुभन्दा पहिल्यै कुरा सुनेर बसेको रामनाथ बोल्यो, “पीर नगर्नु हजुरबा, कुलो बन्द गरिदियो भने त्यसलाई म बम हानेर भष्म पारिदिन्छु र हाम्रो जग्गालाई चाहिँदो पानी ल्याउँछु ।”

रामनाथको कुरा सुनेर विश्वनाथ र सुन्दरी हर्षित भए । लक्ष्मणनाथले हजुरबासँग नरेन्द्रनाथका विषयमा अरू धेरै कुरा सोधीखोजी गर्‍यो । विश्वनाथले कान्छो छोराको कहानी सबै सुनाए ।

केही दिन अस्पतालमा बसेपछि निको भएर उनी घर फर्किए । त्यसपछि रामनाथ र लक्ष्मणनाथले फेसबुकमा नरेन्द्रनाथको खोजी गरे । फेसबुकमा हजुरबाले बताएजस्तो मान्छे फेला पर्‍यो । उनीहरूले आफ्नो ठाउँ र बा, हजुरबाका नाम मेसेन्जरमा पठाए ।

आफ्नो जन्मदाता र जन्मस्थानबाट सन्देश पाएपछि नरेन्द्रनाथ हर्षित भई उनीहरूसँग परिचय आदानप्रदान गरी लामो गफ गरे । उनी एउटा कम्पनीमा इन्जिनियर रहेछन् । अन्त्यमा आफ्ना भतिजहरूलाई ‘के चाहन्छौ ?’ भनी सोधे ।

भतिजहरूले प्रविधि निर्माणको लागि पैसा र तकनिकी मागे । नरेन्द्रनाथले बैंकमार्फत चाहिँदो पैसा र आफूले जानेको सीपका बारेमा लेखेर पठाइदिए ।

पैसा पाएपछि ट्याक्टर बनाउने कच्चापदार्थ किनेर ल्याए, ती दुई भाइले । आफ्नै मिहिनेत र परिश्रममा ट्याक्टर बनाएर आफ्नै भूमिमा जोतेर सफल परीक्षण गरे । विश्वनाथको परिवार आफैँले नयाँ प्रविधि भित्र्याएको खबर छरछिमेकमाझ आगोझैँ फैलियो ।

भरत बुढाले आन्टेलाई बोलाएर झम्टिए, “तँलाई पालेर राखेको के काम ! विश्वनाथको सन्तानलाई त्यस्तो प्रविधि हामीसँग किन्न लाउनु पर्दैन ? उनीहरू आफैँ आत्मनिर्भर भए भने हामी जाने उनीहरूसँग किन्न ?”

भरतको क्रोध देखेर आन्टे आत्तियो । तुरुन्तै विश्वनाथको जमिनमा फर्कियो । अनि, सावित्रीको सन्तानलाई साथ लिएर रामनाथ र लक्ष्मणनाथले बनाएर राखेको त्यो ट्याक्टर जलाइदियो ।

आफ्नो कठिन परिश्रम क्षणभरमै जलाइदिएको देखेर रामनाथ र लक्ष्मणनाथ ह्वाँह्वाँ रुन थाले । विश्वनाथले तुरुन्तै ती दुई भाइलाई भित्र कोठामा बोलाएर ‘आन्टेविरुद्घ केही नबोल्न र नगर्न’ सम्झाए । यदि, ऊ क्रोधित भए कुलो बन्द गरेर खेती बर्बाद पार्छ भन्ने कुरा उनीहरूलाई राम्ररी सम्झाए ।

त्यही बेला रामनाथले शपथ लियो, “हजुरबा, यो राक्षस आन्टेलाई खत्तम पार्न मेरो जन्म भएको हो । यसलाई म जसरी’नि सिध्याउँछु ।”

छोराको कुरा सुनेर सुन्दरी सुँक्कसुँक्क रुँदै बोलिन्, “त्यसो नगर बाबु, तिमीले उसलाई मार्‍यौ भने छिमेकीहरू मिलेर तिमीलाई मार्छन् । त्यसो नगर ।”

“पीर नगर्नु नेपाल आमा ! म यस्तो बन्दुक बनाउँछु कि त्यो गोली गएर आन्टेलाई लाग्छ, तर दोष पवनलाई जान्छ,” रामनाथले आमालाई सम्झाउँदै भन्यो ।

यस घटनापछि विश्वनाथको खेतबारीमा वर्षौँसम्म ट्याक्टर आउन सकेन । आन्टे आफू सफल भएकोमा भुइँमा खुट्टै नराख्ने भएको थियो । पहिलेभन्दा बढ्ता उन्माद बढेर उसले सावित्रीलाई आफ्नै पैतालामा पुर्‍याएको थियो ।

एक साँझ ऊ सावित्रीको कोठामा पसेर झगडा गर्न थाल्यो । सावित्री बिरामी भएर निस्लोट परेकीले उसलाई ‘शरीर सुम्पन नसक्ने’ बताइरहेकी थिई । ऊ भने आफ्नो पुरुषत्वको ज्वाला जसरी पनि निभाउनुपर्ने माग गर्दै थियो ।

त्यसै बेला कृष्णा त्यस कोठाभित्र पसी । कृष्णा पस्नासाथ आन्टेको नजर ऊमाथि पर्‍यो । उसले हत्तपत्त ढोकामा चुकुल लगाएर सावित्रीकै अगाडि उनलाई नांगेझार पार्‍यो ।

कृष्णाले त्यस आपत्बाट उम्कन अनेक प्रयास गरी, तर कोमल शरीर असफल भयो । आमाले आन्टेलाई हप्काएर त्यस परिस्थितिबाट मुक्ति दिलाउँछिन् कि भनी उसले सावित्रीको मुखमा हेरी । सावित्रीले उल्टै ‘हुन्दे, एकपटकलाई छोडी दे !’ भनेपछि उसको मनोबल गिर्‍यो ।

त्यस बेला उसको नराम्रोसँग कुमारीत्व सिद्धियो । काम सकेपछि ढोका खोलेर आन्टे जानासाथ कृष्णा कड्किएर बोली, “तिमीजस्ती आमा हुनु पनि धिक्कार होस् ! आफ्नै छोरीको अस्मिता लुट्न समर्थन जनाउने र लुटिएको चुपचाप हेरिरहने थुक्क आइमाई ! हेर, यदि त्यसको गर्भ बस्यो भने छोरा होस् या छोरी होस्, यसैको सहाराले म त्यस पापीलाई मारिदिन्छु ।”

त्यसपछि रुँदैरुँदै सावित्री बोलिन्, “के गर्नु छोरी, हामी उसैको आश्रयमा बाँचेका छौँ । उसले भनेको नमान्दा धेरै हन्डर खान्छौँ । अनि, ऊबाट गर्भ रहँदैन, ढुक्क होऊ ! तिम्रो बाबु बितेदेखि ऊ नै मेरो सहारा हो । म त अझैसम्म गर्भवती भइनँ भने तिमी पनि हुँदैनौ । पीर नगर !”

आमाको कुरा सुनेपछि भक्कानिएर रुँदै कृष्णा बोली, “उता नेपाल आमालाई कसैको आश्रय नचाहिने, तिमीजस्ती पातित आइमाईलाई चाहिने ? धिक्कार होस् ! प्रभु, अर्को जन्म लिएँ भने योजस्ती आइमाईलाई मेरो आमा नबनाऊ ! मलाई नेपाल आमाजस्ती आमा देऊ !”

कृष्णाले चिच्याएर कराएपछि आन्टेले उनको अस्मिता लुटेको कुरा त्यस घरभित्र कसैबाट लुकेन । विश्वनाथ, उनकी पत्नी, नेपाल सुन्दरी र रामनाथ तथा लक्षमणनाथ यस घटनाबाट धेरै चिन्तित भए ।

जे भए पनि कृष्णा विश्वनाथकी एक्ली नातिनी थिइन् । जे भए पनि कृष्णा नेपाल सुन्दरीको आफ्नै पतिको शुक्रकीटबाट जन्मिएकी छोरी थिइन् । अरू जेसुकै भए पनि रामनाथ र लक्ष्मणनाथको लागि कृष्णा आफ्नै बाबुको बीउबाट जन्मिएकी बहिनी थिइन् ।

त्यस अवस्थामा उनीहरूको मुहारको कान्ति कसरी नझरोस् ! शत्रुलाई सम्झेर कुन बेला र कसरी मुला निमोठेझैँ निमोठूँ किन नहोस् !

दुईचार दिनपछि त्यस घरमा आन्टे आयो । आन्टेलाई देखेर चम्ल्याहा दाजुभाइले मुखामुख गरे । एकैछिनमा श्यामले बोल्यो, “आउनुस् ज्वाइँसाप ! हजुर हाम्रो बहिनीज्वाइँ हुनुहुन्छ, यहाँलाई हामी ज्वाइँको सम्मान दिन्छौँ ।”

चार दाजुभाइको आशय बुझेर आन्टे अति नै खुसी भयो । उसले ‘यो घरबारी जसरी’नि तिमी चार दाजुभाइकै नाममा हुन्छ, त्यो पनि एक हप्ताभित्र’ भनेर आश्वासन दियो । सुनेर चारै दाजुभाइ र सावित्री अत्यन्तै हर्षित भए । तर, कृष्णा खुसी हुन सकिन । तुरुन्तै चार दाजुभाइतिर फर्किएर बोली, “तिमेरू कसलाई ज्वाइँ भन्छौ, के यो मेरो पोइ हो ?”

त्यसको जवाफ वटुले दियो, “तेरो पोइ यही त हो नि ! अरू को हो त ?”

“कसरी भयो यो मेरो पोइ ?,” कृष्णा झोक्किई ।

त्यसको जवाफ बालाले दियो, “अस्ति तँसँग ज्वाइँसापले हनिमुन मना’को हैन ? त्यहाँदेखि तँ यिनको पत्नी भइस् !”

त्यो सुनेर रातोरातो आँखा पार्दै, हुरीबतासले सुसेलेझैँ रुँदै कृष्णा पड्किइन् । “थुक्क, नामर्द हो ! चारचार दाजु भएर एउटी अबला बहिनीको इज्जत जोगाउन नसक्ने । अझ जबरजस्ती करणीलाई बिहे भन्छौ ? तिमेरूजस्ता दाजु हुनुभन्दा त कोही नभएको जाती । परमेश्वर भगवान्, अर्को जुनीमा मलाई यस्ता दाजु नदेऊ !”

बाहिरबाट कृष्णा कराएको सुने, भित्रै बसेका रामनाथ र लक्ष्मणनाथले । ती दुई कोठाबाट निस्किएर उनलाई सम्झाउँदै बोले, “नरोऊ नानी, तिम्रो अस्तित्व लुटिएको बदला हामीले लिएर तिमीलाई सन्तोषको श्वास फेराउने छौँ । यो हाम्रो वाचा हो ।”

दुई दाजुको कुरा सुनेर कृष्णाले केही आशाको श्वास फेरी । तर, ती दुईको कुरालाई खिल्ली उडाउँदै चार दाजुभाइ र आन्टे हाँसे, “हा हा हा, कस्ता कस्ता काँ गए, मुसा छोरा दरबार !”

रामनाथले भित्रबाट आश्चर्यमय कलम निकाल्यो । रातदिनको अथक मिहिनेतबाट ती दुई भाइले त्यस्तो कलम बनाएका थिए । आन्टे जान लाग्दा उसको पिठिउँमा त्यसको चुच्चो फर्कायो । त्यसबाट सूक्ष्म रूपमा एउटा झिल्को गएर आन्टेको पिठिउँमा छिर्‍यो । त्यसले तत्काल आन्टेलाई थाहापत्तो केही दिएन ।

विस्तारैविस्तारै धिमा गतिमा जिउभित्र पस्यो । त्यति बेला आन्टे भरतको घरअगाडि पुगिसकेको थियो । त्यहाँ पुग्नासाथ रगत छादी त्यो राक्षस सदाको लागि सिद्घियो !

आन्टे कसरी मर्‍यो भनेर तत्काल कसैले पत्तो पाएनन् । लामो अनुसन्धानपछि भाइरसजस्तो पदार्थ श्वासनलीमा पसेर उसको मृत्यु भएको पत्ता लाग्यो । यसको दोष भने भरतका छोराहरूमध्ये पवनलाई लाग्यो ।

पवनले जति नै होइन भने पनि उसको चरित्रको कारण कसैले पत्याएनन् । ‘कृष्णले हजार गल्ती गरून्, तर मान्दैन कसैले रत्तिभर एक, कंसले एक गल्ती गरोस्, दोष लगाउँछन् हजारौँ सबले’ भनेझैँ भइरहेको थियो ।

आन्टेको अवसानपछि रामनाथ र लक्ष्मणनाथले फेरि उन्नत प्रविधिको ट्याक्टर बनाए । त्यसलाई आफ्नै खेतबारीमा परीक्षण गरे । सफल भएर प्रशस्तै अन्न उब्जाउन थाले । त्यो उन्नति छिमेकीलाई नपचेर त्यस घरमा फनफनी घुम्न थाले ।

पाँचसातघरेले त त्यो घरलाई आफ्नो कब्जामा लिन पाए भरते र चीनकाजीलाई पनि तह लगाउन सकिने रहस्य बुझिसकेका थिए । तसर्थ, ती चार दाजुभाइलाई सजिलै आफ्नो हातमा लिएर रामनाथ र लक्ष्मणनाथलाई खतम पार्ने योजनामा ती लागे ।

पाँचसातघरेको योजना चीनकाजी र भरतले पनि थाहा पाए । उनीहरू त्यो योजना कुनै पनि हालतमा पूरा हुन दिने पक्षमा भएनन् । ती दुवै मिली चार दाजुभाइलाई आ–आफ्नो पोल्टामा पार्ने प्रयत्न गरे । तर, पाँचसातघरेले बलियो र भरपर्दो सुपारी पहिल्यै दिएकाले तिनले कोल्टे फेरेनन् ।

त्यसपछि रामनाथ र लक्ष्मणनाथलाई आफ्नो पक्षमा ढाल्न सकिन्छ कि भनी प्रयत्न गरे । स्वाभिमानी नेपाल आमाका सन्तानले बेइमानीलाई साथ दिने कुरै भएन ।

अन्तिम उपायस्वरूप सत्य कुरा बोले, “चार दाजुभाइ पाँचसातघरेको हातमा नजानको लागि कुनै उपाय सोच्नू ! नत्र तिमी दुई भाइलाई नै सिध्याउनेछन् ।”

त्यस्तो कुरा सुनेपछि रामनाथ, लक्ष्मणनाथ, विश्वनाथ र सुन्दरीले गम्भीर भएर सोचे । योजना मुताबिक मुकाबला गर्ने निर्णय गरी छलफल टुंग्याए ।

भोलिपल्ट पाँचसातघरेका पाँचसातजना मान्छे ती चार दाजुभाइसँग गोप्य कुरा गरेर फर्किंदै गर्दा तिनको ढाडमा राम र लक्ष्मण दुवैले दुई हातबाट आश्चर्यलाग्दो कलमको चुच्चो सोझ्याए । उसैगरी सूक्ष्म झिल्को निस्किएर तीमध्ये चारजनाको ढाडमा लागेर जिउभित्र पस्यो । चारैजना आफ्नो घरअगाडि पुग्नासाथ रगत छादेर मरे ।

कलमजस्तो आश्चर्यलाग्दो बन्दुक तिनीहरूले बनाएको अत्यन्तै सफल अस्त्र थियो ।

तीमध्ये बचेका दुईतीनजनाले भरतको छोरा पवनलाई नै त्यस घटनाको पुनः दोष लगाए । आन्टे मरेकै प्रकृतिमा ती चारजनाको मृत्यु भएपछि दोष उसलाई लाग्नु स्वाभाविक थियो । पवनले आफू बच्न दोष चीनकाजीतिर फर्कायो । यसरी कसले गरेको हो भनेर भरत, चीनकाजी र पाँचसातघरेका मान्छेबीच झैझगडा परिरहन थाल्यो ।

उनीहरू आपसमा भिड्न थालेपछि रामनाथ र लक्ष्मणनाथले आर्थिक क्रान्ति गर्न थाले । आफ्ना सौतेनी भाइहरूलाई पनि आफ्नो साथमा मिलाउने कुरा गरे । झन्डैझन्डै अरूको कुरामा लागेर आफूले मार्नै लागेको दाजुहरूले गरेको अपनत्वको व्यवहारले उनीहरू नतमस्तक भए ।

त्यसपछि आफ्ना सबै परिवार मिलेर उन्नत जातका बीउबिजन रोपी मनग्ग उत्पादन गरे । उत्पादित खाद्यान्नको धेरै भाग तिनै छिमेकीहरूलाई बेचेर स्वावलम्बी बने ।

मर्नुभन्दा अगाडि आफ्ना नातिहरूले गरेको पराक्रम देखेर पण्डित विश्वनाथले गर्वले छाती फुलाए । आँखा चिम्लिएर ध्यानपूर्वक सोच्दा, आफ्नो घरलाई नेपाल र अरूलाई यसैको छिमेकी देशहरूजस्तैजस्तै पाए ।  -baahrakhari