October 15, 2024, Tuesday
२०८१ आश्विन २९

झ्यालकुमारी

पुरातत्त्व विभागमा काम गर्न थालेपछि प्राचीन वस्तुहरूको सङ्गतमा दिन बित्ने गरेको छ । भौतिक अवशेषभित्र ऐतिहासिक, सांस्कृतिक, कलाकृति, शिलालेखको पहिचानमा दैनिकी बितेका छन् ।  प्राचीन वस्तुको पहिचान गर्नु, अन्वेषण गर्नु, सङ्ग्रह गर्ने जस्ता क्रियाकलाप नै जीवनशैली बनेको छ ।  वस्तु होस् वा सम्बन्ध ! जति पुरानो हुँदै जान्छ त्यति महत्त्व बढ्दै जाने रहेछ । महत्त्व बढ्नुको लागि त्यसको अभाव भने पक्कै महसुस गर्नुपर्दो रहेछ ।

Advertisement

आज नेपालका पश्चिम क्षेत्रबाट सङ्ग्रह गरेर ल्याइएका केही प्राचीन वस्तुहरूको अनुगमन गर्न जानु छ ।

प्राचीन वस्तुहरू हेर्न उत्सुक छु । गोदाममा पुगियो । गोदामका कर्मचारीले एकएक गर्दै वस्तुका विवरण र कसरी यहाँसम्म आइपुग्यो भन्ने कुराको खुलासा गर्दै थिएँ । हेर्दै जाँदा एउटा झ्याल देखियो । त्यो झ्यालसँग मेरो परिचय छ जस्तो लाग्यो । एकजना कर्मचारीले यो झ्याल व्यक्तिगत भएको र परिवारका सदस्य कोही पनि  यसको दाबी गर्ने नभएकाले त्यहाँको स्थानीय सरकारले पुरातत्त्व विभागलाई बुझाएको बेलिबिस्तार  लाउँदै छन्  ।

म भने अचानक दुई वर्ष पुरानो घटनालाई स्मरण गर्दै छ :

एउटा भीषण युद्ध जिन्दगीको करिअरमा  विजयी बनेपछि म सरकारको नुन खाने जन्तु बने । कुखुराले नुन खायो भने झोक्राउँछ तर मैले सरकारको नुन खान ठूलै संघर्ष गरेकाले  झोक्राएको छैन बरु छाती गर्वले फराकिलो भएको छ  । अहिले यो नुनले मलाई रमरम आनन्द नै दिइरहेको छ ।

थाहा छैन, समयको अन्तरालमा  यो नुनले मलाई झोक्राउने हो वा यस्तै रोमाञ्चित बनाइराख्ने हो । लोकसेवा आयोगको परीक्षाका सबै तह सकेर;  हातमा नियुक्ति पत्र बोकेर; म पहाडकी रानी ऐतिहासिक सहरमा आइपुगेको छु । लोकसेवा आयोगको तयारीका बेला यस ठाउँका  धेरै ऐतिहासिक कुराहरू कण्ठस्थ पारेकाले मलाई यहाँको बारेमा किताबी ज्ञान पक्कै थियो ।

यद्यपि किताबका कुरा यथार्थमा खास्सै काम लाग्दैन । मैले घोकेका  वंशजका इतिहास, शाह राजाका सम्बन्ध, राणाले बनाएका दरबार आदि बाहेक केही त थिएन । यसै पनि इतिहास त जित्नेहरूले लेख्ने हो । नलेखिएका इतिहासमा मलाई धेरै चाख छ ।  नेवार बस्ती भएकाले  रहलपहल पुराना घर बाँकी थिए । प्राचीन मन्दिरहरूका कलात्मक बनावट, छाना, काष्ठकला, झ्यालढोका आदि भने जीवित नै थियो । कला संस्कृति र विभिन्न जात्रा पनि यहाँ जीवितै  छ भन्ने कुरा अड्कल लगाउन सक्थेँ ।

कोठाबाट अफिस जान हिँडेर मात्रै पन्ध्रबीस मिनेट लाग्ने भएकाले म हिँडेरै कार्यालय जाने निर्णय गरेँ । उसो त यहाँ  सार्वजनिक गाडीको चलनचल्ती छैन रहेछ । कि निजी सवारीसाधन चाहियो नत्र रिजर्भ नै गर्नुपर्ने । यहाँको  बजार सेरोफेरोमा पुग्न खुट्टा नै काफी हुन्थ्यो ।

कार्यालयको पहिलो दिन थियो । म कैलाशनगर भन्ने ठाउँमा बस्ने रहेछु । ‘यो ठाउँ किन कैलाशनगर भएको’ भनेर घरबेटीलाई सोधेको थिएँ ।

`यहाँबाट हिमालका शृङ्खला देखिने भएकोले कैलाशनगर नाउ भएको हो ।´ – उनले जवाफमा भने ।

उत्तरतर्फ फर्केर हेरेँ । हिमाल देखिन  । सायद कुहिरोले ढाकेर होला मनमनै अड्कल लगाएँ ।

अफिस जाँदै गर्दा ओरालो लाग्दै जानुपर्थ्यो । कैलाशनगर पहाडको टुप्पोमा थियो । कैलाशनगरको उकालो  भनेको श्रीनगर भन्ने डाँडा बाहेक अरू सबै ओराला मात्रै थिए । उकालो ओरालोमा गएर जोडिन्छन्; ओरालो उकालीमा गएर मिसिन्छन् । उकालोलाई ओरालो चाहिने; ओरालोलाई उकालो चाहिने । खासमा यस्तो लाग्यो उकालो र ओरालो पनि मान्छेको लक्ष्यले तय गर्ने रहेछ । एउटै  बाटो चढ्नेलाई उकालो झर्नेलाई ओरालो । तर सत्य चाहिँ के भने उकालीओराली एउटा अन्तरसम्बन्ध भएको शब्दहरू हुन् ।

यो ठाउँ ऐतिहासिक सहर भनेर पढेकाले यहाँ केही पुराना ढाँचाका घरहरू जीवित होलान् भन्ने सोचेको थिएँ । तर पाकेका इट्टाले काँचा इट्टा निलिसकेका; सिमेन्टले माटोलाई विस्थापित गरिसकेका; काठका कलात्मक झ्याल ढोकालाई आल्मुनियम र फलामले डकारिसकेका रहेछन् । पोलिस गरिएको चामलमा अक्क्लझुक्कल घुन भेटिए जस्तै केही पुराना ढाँचाका घर पनि भेटिए । जसले आँखालाई भन्दा मस्तिष्कलाई मस्तिष्कलाई भन्दा हृदयलाई आनन्दित बनाउँथ्यो ।

जहाँ म हिँडिरहेको थिएँ, माथि सल्ला तल बस्ती निकै सुन्दर देखिएको थियो । परपर आँखाले भ्याएसम्म पहाड मस्त ध्यानस्थ थिएँ । त्यहाँबाट देखिने  फाँटमा सेता कुहिरोहरू म्याराथन दौडिए जस्तै हतार नगरी आधा हरियो आधा पहेँलो धानमा टेकेर भागिरहेका थिए । दरबार मालती लिपस्टिक दलेर गजक्क मुद्रामा हुन्थ्यो ।

मनभित्र आनन्दको लहर उठिरहेको थियो । केही लहर उफ्रीउफ्री कलेजोतिर छ्यापाछ्याप गन थाल्यो तरल खुसीहरूलाई । अनि अन्तरमनमा खुसीको छालमा  छ्प्लकछप्लक गर्दै  खेलिरहेको थियो, एउटा निजामती कर्मचारी ।

एउटा साँघुरो गल्लीबाट निक्लिएर गजधम्म घरैघरको संसारमा अलमलिन पुगेँ । प्राय प्राचीन देखिने घरहरू थिए । चाँदी रङको छानोमा खिया आएर टुसुक्क बसेको थियो । घरको झ्यालैबाट बिजुली, टेलिफोन, इन्टरनेट, केबल आदिका तार जेलिएर आफ्नो तरङ्ग प्रवाह गरेका थिए । इट्टाका आकार बाहिरबाटै देखिने घर थिए । झ्यालका बुट्टाहरू आकर्षक लाग्दै थिए ।

अचनाक एउटा झ्यालमा गएर आँखालाई ठेस लाग्यो । आँखा त्यहीँ अडियो । झ्यालका बुट्टाहरू यति सुन्दर लागेकी त्यहाँ कुनै माछाको कत्ला ल्याएर टाँसे जस्तो । यस्तो झ्याललाई सझ्याल भन्छन् भनेर पढेको-देखेको थिएँ । सर्पलाई ल्याएर साँचो बनाएर आकार निकाले जस्तो । कुनै शिल्पी हातले सयौं दिन लगाएर कुदेको बुट्टाका आकारले म निकै आनन्दको डुङ्गामा सवार गर्न थालें । सझ्याललाई, केशलाई जस्तै कलाकारले सूक्ष्म रूपमा कारीगरीपन गरेकाले सझ्याल भनिने कुरा पनि किताबमा पढेको थिएँ । मैले देखेको यो सझ्यालमा तीनवटा खण्ड थिए ।

कस्तो कलात्मक झ्याल । कति दिन लगाएर बन्यो होला यस्तो सुन्दर झ्याल ? यही सोच्न थालेँ । निसङ्कोच सोचमा डुबिरहेको मलाई परेवाको आचीले पो दिगमिगाइदियो । मेरो सेतो पनि होइन निलो पनि होइन यस्तै सेतो र निलो बीचको कुनै एउटा रङको शर्टमा पिचित्तै बिस्टाएर गुटुरगुटुर गर्दै मलाई जिस्काइरहेको थियो । परेवाको साना आँखामा आँखा जुधाएर हेरेको थिएँ । बडो साहसका साथ मसँग आँखा जुधाउन लाग्यो । एक पैसाको डर थिएन परेवासँग । सायद मेरो शर्टमा आची गरेर खुब आनन्द मानिरहेको थियो ।

मैले रुमाल निकालेर पुछे । रुमालबाट परेवाको आचीको दुर्गन्ध, उम दुर्गन्ध नभनौँ सुगन्ध, उम सुगन्ध पनि नभनौँ क्यार दुर्गन्ध र सुगन्ध बिच जे हुन्छ त्यहीँ भनौ‌ं क्यार । मलाई खुब मन परेको झ्यालमा गएर आँखाले फेरि ब्रेक हान्यो ।

त्यहाँ घरगौँथलीले गुँड पनि लगाएको रहेछ झ्यालको शिरमा छानाको दाँतीमा । घरगौँथलीको गुँड अन्य चराको भन्दा सुन्दर लाग्छ मलाई । अन्य चराहरू सिन्काको गुँड बनाउँछन् भने गौँथलीले माटोको गुँड बनाउँछ । कस्तो मेहनती गौँथली । माटो कसरी मुच्छ होला । गौँथली साँच्चै इन्जिनियर जस्तै लाग्छ मलाई ।

केही भँगेराहरू बिजुलीको खम्बाबाट भुर्र उडेर झ्यालमा आएर बसेका थिए । झ्यालबाट भुर्र उडेर तारमा गएर बसे । तारबाट भुर्र उडेर ढोकाको सँघारमा आए । केही दाना उठाउँछ अलि परको फोहोरका थुप्राबाट । पुनः भुर्र उडेर झ्यालमा आउँछ । यो सब गरिसक्दा भँगेराले एक मिनेट पनि पार गरेको थिएन । भँगेराहरू चकचके केटाकेटी जस्तै लाग्यो मलाई । एक ठाउँमा बस्नै नसक्ने । चकचक गरिरहने । हल्ला गरिरहने । अनि भँगेराहरू बच्चा जस्ता छन् र खुसी छन् ।खुसी हुन आखिर बच्चापन जोगाइराख्न जरुरी हुन्छ ।

घडीमा दस बज्न दसै मिनेट थियो । कार्यालयको पहिलो दिन ढिलो होला भनेर । मलाई मोहनी लगाउने झ्याललाई बायबाय भनेर जानुपर्ने भयो । अलि पर पुगेर फर्केर हेरेर । त्यो झ्याल अझै सुन्दर लाग्यो । अलि धमिलो धमिलो देखिँदै थियो । त्यो झ्यालमा यति बेला गौंथली देखिएन । परेवा देखिएन । भँगेरा देखिएको थिएन । त्यहाँ एउटा आकृति देखियो ।

कालो झ्यालको खुल्ला भ्वाङमा यतिबेला एउटा रातो कपडामा देखियो । राम्रोसँग ठम्याउन नसके पनि झ्याल मलाई निकै सुन्दर लाग्यो । त्यो झ्यालमा देखिएको त्यो आकृति साँच्चिकै अलौकिक दृश्यमा सजियो । यो अलौकिक दृश्य मबाट अलप हुँदै थियो । जसरी घाम डुब्दा एउटा सिन्दुरी साँझ छोडेर बिदा हुन्छ । एउटा मोड आयो । म मोडिएँ । म मोडिएसँगै झ्याल लुक्यो । तर मेरो मानसपटलमा झ्याल र झ्यालमा देखिएको रातो आकृति  चुइगम पाइन्टमा टाँसिए झै टाँसियो ।

५ बज्यो कार्यालयको पहिलो दिन भएकाले चिनापरिचयमा समय बित्यो । नयाँ ठाउँ नयाँ मान्छे नयाँ अनुभूतिले काउकुती लगाउँदै थियो । आकाशमा सेता बादलका टुक्रा उडिरहेका थिए । बादलले पनि सायद आफ्नो आकाशलाई ढाक्ने छोप्ने काम सकाएर घरतर्फ लागेको हुनुपर्छ । कार्यालयबाट निस्कँदै गर्दा सहकर्मी साथीले सोध्दै थिए, `के मन पर्‍यो सर यो ठाउँको ?´

मैले सोच्दै नसोची फ्याट्टै भनेछु, `झ्याल !´

एकछिन सहकर्मी दङ्ग परे जस्तो गरेर `झ्याल कि झ्यालमा बस्ने मान्छे ।´ मजाक गरे ।

म पनि के कम भन्दिएँ, `झ्याल बनाउने सिकर्मी मन पर्‍यो । कहाँ होलान् । ´

– सिकर्मी त यही होलान्-नहोलान् तर झ्यालबाट हेर्ने मान्छे मन परे भेट्न सकिन्छ ।

मोड आयो हामी मुसुक्क मुस्काउँदै `ल सर´ को जवाफ `ल सर´ ले दिएर दुई बाटो भयौं ।

बिहानको झ्यालनजिक आइपुग्दा मलाई रोमाञ्चकता महसुस भयो । बिजुलीको पोलमा चङ्गा अल्झिरहेको थियो । मेरो मनमा पनि त्यो झ्याल बिहानैबाट अल्झेको हो । मेरो नियति चङ्गाको झैँ भएको थियो । बिहान टाढाबाट देखेको रातो आकृतिको खोज मेरा नयनले गरेका थिएँ ।

तर झ्याल एक्लो थियो । झ्यालभित्र केही अस्ताउँदो सूर्यको फिक्का पहेंलो किरण घुसपैठ गरेका थिए । कालो झ्यालको खापालाई फिक्का पहेंलो घामले मसारिरहेको थियो । त्यो फिक्का पहेँलो रङको घामलाई भन्न मन थियो – रातो आकृतिलाई बोलाएर ल्याइदेऊ न ।

तर के गर्नु मेरो भाषा बुझ्दैन । मैले आँखाको गेडी पराकाष्ठासम्म तन्काएर झ्यालभित्रको दृश्य हेर्न खोज्दा पनि सफल भइनँ । अनि लागेँ उकालो । बिहानको ओरालो अहिले उकालो बनिसकेछ । यसलाई ओरालो बनाउन भएपनि उकालो चढ्नै पर्ने हुन्थ्यो ।

जागिरको दोस्रो दिन

बिहानै झिसमिसेमा उठेको थिएँ । उत्तरबाट चिसो सिरेटोले हान्यो । चिसो नाकबाट पसेर फोक्सोमा घुसेर कार्बोनडाइक्साइडसँगै अलिकति निस्कियो । अलिकति रगततिर गएर होला हातखुट्टामा काँडा उम्रे जस्तो भयो ।

मलाई झ्यालको सम्झनाले निरन्तर गुदगुदी लगाइरहेको थियो । कतिबेला अफिस जाने बेला हुन्छ भनेर अतालिरहेको थिएँ । आधा काँचो खाना पाकेछ । नुन चर्को । आमाले यतिका वर्ष पकाएर दिएको खाना खाने बानी परेको मलाई । जे पाक्यो खानै पर्ने । अलिकति खाना मुखमा कोचेर आमालाई सम्झेँ – आमा भनेको साँच्चै कलाकार हो । आमाको हातलाई एकपटक चुम्न मन लाग्यो ।

बाहिर निक्लेँ ढोका उत्तरतर्फ भएकाले हिमालले सेतो हिउँको गुराँस लिएर स्वागत गरिरहेको थियो । आज बादलले आफ्नो आकाशचरण परिवर्तन गरेकाले हिमाल साँच्चै छर्लङ्ग देखियो । हिउँका सेता रङले मनभित्र भुलुक्क खुसी उमालेर गयो । यो ठाउँमा आएपछि कालो रङको बुट्टेदार झ्याल; रातो रङको त्यो अस्पष्ट आकृति र सेता रङका हिउँ  मेरा आँखालाई मन पर्ने रङ बने ।

सेतो रङलाई अहिले आउँछु है भनेर म ओरालो झरेँ । झ्याल र रातो रङको आकृतिलाई भेट्न मन थियो । झ्याल भएको घरनेर आएर आँखा तन्काएँ । रातो रङको आकृति झ्यालको भ्वाङ छेकेर बसिरहेकी रहिछन् । झसङ्ग भएको थिएँ । कालोमा रातो खासै म्याचिङ रङ त होइन तर यहाँ भने जादु हेरे झैँ भयो ।

हिजो झ्याल एकदम मन परेको थियो । आज झ्यालमा बसेकी रातो पछ्यौरी ओढ्ने झन् मन पर्‍यो । सुन्दरताको मानकभित्र नपर्ने उनका कालो वर्णको अनुहार मलाई असाध्यै मन पर्‍यो । कालो रङ सुन्दर होइन भन्नेहरू भेटेको भए एक मुक्का त मै हान्दिथेँ । सरकारी कर्मचारी भए पनि यति आँट गर्थें । मलाई उनका आँखा ठूलाठूला भएर होइन साना भएकाले मन पर्‍यो । मविवि शाहले यो आँखा देखेको भए गाजलु ती ठूलाठूला आँखा होइन गाजलु ती चिम्साचिम्सा आँखा भनेर गीत लेख्थे  ।

उनको कालो वर्णको अनुहारको गालामा रातोरातो आँच थियो । यस्तो लाग्दै थियो आधा निभेको कोइला जस्तै सुन्दर देखेँ । उनको एक झलकमा हराएछु । एकोहोरिएर हेरिरहेछु । उनले मलाई कर्के आँखाले हेरिसकेकी रहिछन् ।

हाम्रो आँखा जुध्यो । उनले ओठ लेप्र्याएर फनक्क फर्केर गइन् । अब त्यहाँ झ्याल र झ्यालको ह्वाङ्गै भ्वाङ मात्र बाँकी रह्यो । आफैलाई लाज लाग्यो । लाजसँगै डर लाग्यो । डरसँगै काउकुती लाग्यो ।

कोठामा पुगेर खानपिन गरिबरी निदाउन खोजेको निद्रा लोप भयो । आँखाभरि झ्याल र झ्यालमा बस्ने रातो आकृति मात्र चलचित्र बनेर भव्य प्रदर्शन हुन थाल्यो । कोल्टे फेर्दाफेर्दै कतिबेला निदाएछु पत्तै भएन । बिहानै एक हुल कुकुरको ग्याङ फाइटबाट आँखा खुल्यो । जाडोले ननुहाएको तीन दिन भएको थियो । आज जसरी नि नुहाउनु पर्छ भन्ने संकल्पका साथ स्नानघरमा छिरेँ ।

पानी यति चिसो थियो मानौं उत्तर दिशामा देखिएको माछापुच्छ्रेले रातभर ट्याङ्कीमा सुसु गरेर गएको हो जस्तो । झर्लक्क झ्याल र रातो आकृतिलाई सम्झिएँ । रातो आकृतिको नाम के होला भन्दै सोच्न थालेँ ।

अनि मैले आफैं उनको नामाकरण गर्दिएँ । उनको नाम मैले झ्यालकुमारी राख्दिएँ । झ्यालकुमारीलाई कल्पिंदाकल्पिंदै नुहाएर सकिएछ । कसैको कल्पनाको उष्णता यसरी पनि हुने रहेछ । जस्तो उसको सम्झनाको तापले मात्र पनि चिसो पानीको किनै महसुस भएन ।

कार्यालय जाने बेला भयो ।

चौबिस घण्टामा मलाई सबैभन्दा मन पर्ने घण्टा यही थियो । यही घण्टाबाट त्यो झ्याल र रातो आकृतिलाई देख्न सम्भव हुन्थ्यो ।

आज हुस्सु लागेको दिन परेछ । जाडोले आफ्नै मुखबाट निक्लिएको बाफ पनि हुस्सुमा मिसिन जाँदै थियो । सधैं जस्तै झ्याल नजिकको सडकमा पुगेँ । हिजो अस्ति टाढैबाट देखिने झ्याल आज हुस्सुले पर्खाल लगाएर बसेको थियो । हुस्सुसँग एक लट रिसाएँ । पापी हुस्सुलाई नानाथरी गाली गरेँ । अलि नजिक गएपछि झ्याल धमिलो देखियो । झ्यालमा रातो आकृतिको खोजी गरेँ । झ्याल शून्य लाग्यो उनीबिना ।

एकछिनमा उनी टुप्लुक्क टप्किइन् । हुस्सु उनको झ्यालको बाटो हुँदै आधा झ्यालभित्र आधा घरको छानातिर भाग्दै थियो । उनी आज पनि रातो पछ्यौरीमा नै रहिछन् । उनको रातो पछ्यौरीमा हुस्सुले मिसिंदा पञ्चामृतमा राता अक्षर मिसिएझैँ सुन्दर देखियो । हुस्सुले धमिलो देखिए पनि उनको मुहारको प्रकाशले अँध्यारो हुन दिएन । आज उनी हल्का मुस्कुराइन् । सायद मलाई भ्रम भएको हुनसक्छ । हुस्सुले म हुस्सु बनिएको पनि हुनसक्छ ।

मलाई झ्याल, रातो आकृति अर्थात् झ्यालकुमारी र  मेरो कार्यालय जाने समयसँग जिन्दगी बिताइदिऊँ जस्तो फिलिङ्स आउँदै थियो ।

कहिलेकाहीं सोच्थें – कसले बनायो होला झ्याल ? झ्यालबिनाको घर कस्तो होला ? झ्यालको आवश्यकता मान्छेले देखेभन्दा धेरै नै छ ।

झ्याल जसले प्रकाशलाई घरभित्र छिराउँछ । उज्यालो कमाउँछ, उज्यालो बाँड्छ । झ्याल जसले हावालाई स्वागत गर्छ । घरका कुनाकुनामा छरिदिन्छ । यस्तो लाग्छ कि घरको मुख हो । जहाँबाट हावा खान्छ अनि घरभित्रका फोक्सोमा पुर्‍याउँछ । घरको फोक्सोले आवश्यक पर्ने घरको मुटु, कलेजो, नसानसा, मस्तिष्क आदिमा पनि प्राणवायु पुर्‍याएर घरलाई जीवित राख्छ ।

मलाई झ्याल यसै त मन पर्छ । झन् झ्याल प्राचीन भएपछि उसै मन पर्ने भयो । झ्यालमा बस्ने रातो आकृतिले त मेरो ध्यान जति सबै खिचेको छ ।

लाग्छ – झ्याल घरको आँखा पनि हो । झ्यालबाटै देखिन्छ परपरसम्मको पहाड; केटाकेटीको बालापनको खेल; हतारहतार गन्तव्यमा पुग्न हिँडिरहेका मान्छे, झरीको दिन घरको सडकबाट तैरिंदै आएको कागजको डुङ्गा । यस्ता तमाम चिजहरू देखिने झ्यालबाट उनले मलाई देखिन् कि देखिनन् होला ?

मलाई यी हावा, प्रकाश, भुसुना, लामखुट्टे, किराकिरी सबैसँग ईर्ष्या लाग्छ । कति सजिलै झ्यालको बाटो हुँदै उनको घरभित्र आवतजावत गर्छन् । म पनि यीमध्ये केही भएको भए पुग्दो हुँ सजिलैसँग उनको घरसम्म; घर हुँदै दिलसम्म ।

मैले अहिलेसम्म त्यो झ्यालमा पुर्‍याउन सकेको भनेको यही नजर हो । त्यो नजर कहिलेकाहीँ उनको नयनसँग ठोकिएको छ । ठोकिएपछि धेरैबेर रहन पाउन्न । कि त उनी आँखा तर्काउँछिन्, नत्र ओठ लेप्र्याउँछिन् त्यो पनि भएन भने दिशा बदल्छिन् । यसरी एकोहोरो झ्यालमा आएर बस्नेलाई कुनै सुकुल गुन्डा नै सम्झिंदो हुन् ।

यसरी एक महिना जति मय झ्याल र मेरी झ्यालकुमारीले कथा बुन्दै गए । जाडोको महिनामा फुलेका हुस्सुका कपास  टिपेर उनका लागि प्रेमिल साम्राज्य बुन्दिऊँ जस्तो लाग्थ्यो । जिन्दगीको यात्रामा सहयात्री भेटेको जस्तो भएको थियो । मेरो जिन्दगीको झ्यालमा एउटा सुन्दर स्केच बनेर झ्यालकुमारी सजिएकी थिइन् ।

मलाई थाहा थियो – वैधानिक तरिकाले झ्यालबाट उनको घरभित्रको कोठासम्म पुग्न सकिन्न । म उनको घरभित्र पस्न ढोका नै प्रयोग गर्नुपर्थ्यो । कस्तो विडम्बना त्यो ढोका प्रायः खुल्लै हुन्थ्यो तर म त्यहाँ प्रवेश गर्न निषेध थियो । ढोकाबाट त उसले मात्र प्रवेश पाउँछ जसले सम्बन्ध स्थापित गरेको हुन्छ । उसलाई छेक्ने पर्खालहरू किन बने होलान्, लाग्थ्यो । अनि सोच्थेँ –पर्खाल नबनेको भए त्यो झ्याल के को सहारामा अडिन्थ्यो र ! जे होस् अहिले मलाई यही झ्यालबाटै काम चलाउनु थियो ।

एक रात नराम्रोसँग स्याल कराइरहेको थियो । कुकुर रोइरहेका थिए । हुस्सुले ढाकेको कालो रातमा एउटा उदासी थियो ।  नरमाइलो लागेर आयो ।

भोलि बिहान सबै प्राणी उठे, घाम भने उठ्न सकेको थिएन । धुम्म कुहिरो । अरू बेलाभन्दा भिन्नै वातावरण थियो । म अफिस जान निक्लिएँ । यो उदास दिनलाई झ्यालकुमारीको दर्शनले प्रफुल्ल बनाउने आशामा म केही हदसम्म खुसी भएँ ।

हिँड्दै थिएँ । खुट्टा थरथराए जस्तो भयो । सोचेँ – कमजोरी पो भयो कि ! राम्रोसँग खुवाइ भएको थिएन । चक्कर लागे जस्तो भयो । म खाली ठाउँमा थिएँ । गएर एउटा ढुङ्गामा टुसुक्क बसेँ । ढुङ्गा पनि चलमलाए जस्तो भयो । दक्षिणदिशा जहाँ बाक्लो घरहरू थिए त्यताबाट एक हुल धुलोको मुस्लो आयो । मान्छेको हल्लाखोर आयो ।

मेरो ध्यान त्यतै मोडियो । हेर्दाहेर्दै केही घरहरू गर्लाम्मगुर्लुम ढल्न पो थाले । केही ढलिसकेका थिए । मेरो सातोपुत्लो उड्यो । हुस्सु लाग्ने बस्तीमा आज धुलोको हुस्सु लाग्यो । मरे, बचाओ, गुहार, ऐया जस्ता नमिठा शोक धुनजस्ता लाग्ने आवाजले मलाई असहज बनायो । यो भूकम्प हो भनेर अनुमान लगाउन बेर लागेन ।

चित्कारले, धुलोको कुहिरोले, त्रासमय वातावरणले म महाशून्यमा पुगेँ । जब बेहोस जस्तो अवस्थाबाट होसमा आएँ । सबैभन्दा पहिला याद आयो झ्यालकुमारीको । मान्छेको कोलाहल थियो ।

भूकम्पको कम्पन रोकिएपछि एम्बुलेन्स र प्रहरी भ्यानको साइरन एकोहोरो बज्न सुरु भइहाल्यो । म मान्छेहरू सुरक्षित ठाउँको खोजी गरेर एउटा झुप्पा बनाएर बस्न थालिसकेका थिए ।

म भने सोझै हानिएर झ्यालकुमारीको झ्याल हेर्न लागेँ । हिजो मलाई स्वागत गरेका कति घर ढलिसकेका थिए भने कति चर्किएका थिए । बाटाभरी मान्छे त्रसित भएर बसिरहेका थिए । कतिको रुवावासी सुन्न पाइन्थ्यो । आफ्ना बेपत्ता परिवार सदस्यको खोजी गर्दै थिए ।

म ढलेका घरको अवशेषलाई कुल्चँदै झ्यालकुमारीको झ्याल हेर्न कुदिरहेको थिएँ । अवरोधहरू पन्छाउँदै । बाहिरी दुनियाँमा के भएको छ हेक्का नराखी म झ्यालकुमारीको घर आउनुपूर्व आउने गल्लीमा पुगेँ । त्यहाँका घरहरू पुराना माटाका भएकाले घर ढलेर गल्ली पुरिएको थियो । मैले अर्को बाटो भएर उनको घरसम्म पुग्न पर्ने भयो ।

म त्यतिबेला ठ्याकै उनको घरको सामु थिएँ तर घर मेरो सामुन्ने थिएन । हिजो कलात्मक झ्यालले मलाई मुस्कुराउँदै स्वागत गरेको हुन्थ्यो भने आज घर बाटोमा ढलेको छ ।

म झन् आत्तिएँ । झ्यालकुमारी कता होलिन् भन्ने चिन्ताले व्याप्त सताउन थाल्यो । वरिपरि हल्लाखोर थियो । रुवावासी थियो । कसैले मेरो छोरो पुरियो कसैले मेरी आमा पुरिइन् भन्दै रुन्चे आवाजमा चिच्याइरहेका थिएँ  ।

म भने भावशून्य भएको थिएँ । रुन पनि आएको होइन । अब के गर्ने भन्ने विचार पनि आएन । मात्र झ्यालकुमारीको तस्बिर नाचिरहेको थियो । म उनको ढलेको घरको ढुङ्गामाटो र इट्टा माझ पुगेँ । यताउता आँखा दौडाएँ । त्यो मेरो प्रिय झ्यालको टुप्पो देखेँ । आतिंदै गएर खोतल्न थालें । ईश्वरसँग प्रार्थना गरें झ्यालकुमारीलाई केही भएको नहोस् । झ्याललाई चापेको ढुङ्गा र माटोलाई सकेसम्म हटाउँदै गएँ । त्यहाँका अन्य मान्छे पनि त्यसलाई हटाउँदै थिए ।

परबाट आवाज आयो- घर अलि पुरानो थियो । सबै पुरिए जस्तो लागेको छ । कोही पनि देखिएका छैनन्, घरका मान्छे ।

यो पटक मेरो मुटुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो । जुन भुइँचालो गएको नजिकैका मान्छेले समेत थाहा पाएनन् । जुन झ्यालबाट दृश्यपान गर्थिन् उनी । त्यो झ्याल नै आज अदृश्य भएको थियो । ढुङ्गा र माटो पन्छाएपछि झ्यालको आधा भाग देखियो । हिजो भित्तामा टाँसिएर बसेको झ्याल आज भित्ताहरूले साथ छोडिदिँदा बेसहारा भएको थियो ।

हिजो मैले पर्खालसँग पनि ईर्ष्या गरेको थिएँ । आज बल्ल भित्ताको कति महत्त्व रहेछ एउटा झ्याल अड्याउनलाई भन्ने मेसो पाएको छु ।

झ्याललाई चापेर बसेको इट्टा पन्छाउँदै जाँदा एउटा रातो पछ्यौरी देखियो । मैले जुन कुरा नहोस् भनेर पुकारेको थिएँ । त्यही भयो । रातो पछ्यौरी भित्र छोइएर बस्ने मुहार यतिबेला सेतै गिदीले भरिएको थियो । त्यो दृश्य देख्दा मेरो आँखामा अँध्यारो रात पर्‍यो । यसपटक फेरि भूकम्प गयो तर पृथ्वीमा होइन मेरो मुटुमा पनि होइन यसपालि भूकम्प आकाशमा गयो । किन कि त्यतिबेला मेरो आँखाले आकाश घुमिरहेको थियो । झ्यालकुमारीलाई त्यस्तो अवस्थामा मैले धेरै बेर हेरिरहन सकिन र त्यही बेहोस भएछु ।

त्यसपछि म त्यो ठाउँमा बस्न सकिन । भनसुन गरेर सरुवा मिलाएँ । पुरातत्त्व विभागमा कर्मचारी आवश्यकता रहेछ; म त्यहीँ गएँ ।

म झ्यालकुमारीको सम्झनाबाट भाग्न यसो गरेँ । तर नियति भनूँ वा अरू केही आज पुनः उनको झ्यालले मलाई पछ्याउँदै मसम्म आएको छ । एउटा समय थियो । जहाँ म त्यो झ्याललाई लखेटिरहेको थिएँ ; अर्को समय आएको छ; जहाँ सोही  झ्याल मलाई पछ्याउँदै लखेटिरहेको छ । जिन्दगी भनेको लखेट्नु, भाग्नु र पछ्याउनुको एउटा लामो शृङ्खला न रहेछ । -sahityapost