‘निकुञ्जमा पर्ने भएकाले बाल्मीकि आश्रम ओझेलमा पर्यो’
भैरहवा– राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने भएकाले बाल्मीकि आश्रम क्षेत्रको विकास स्थानीय तहले चाहेर पनि गर्न नसकिएको चितवनको माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी महतोले बताएकी छन् । बाल्मीकि आश्रम क्षेत्रको इतिहास, महत्व विश्वव्यापी रहेको र यो क्षेत्रले विश्वकै धार्मिक श्रद्धालु तथा पर्यटकलाई आकर्षित गर्ने भएकाले यसको विकास संरक्षण र प्रचारप्रसारका लागि स्थानीयसँगै संघीय सरकारकै मुख्य जिम्मेवारी रहेको उनले बताइन् ।
‘भुगोलको हिसावले बाल्मीकि आश्रम माडी नगरपालिकामा पर्ने भए पनि स्वामित्व र अधिकार भने नगरपालिकासँग नभएकाले काम गर्न धेरै कानुनी जटिलता छ’, पब्लिक कुरा अनलाइनसँगको कुराकानीमा उनले भनिन्, ‘स्थानीय तहबाट पनि कुनै पनि काम गर्न खोज्दा चितवन राष्ट्रिय निकुञ्ज भित्रको कोर एरिया हो भनेर व्याख्या हुने गरेकाले निकुञ्जको अनुमती बिना केही गर्न पाइँदैन ।’
निकुञ्जको स्वीकृति बिना काम गर्न नपाइने भएकाले नगरपालिका मार्फत् शहरी विकास आयोजनाका कार्यक्रमबाट गर्नु पर्ने निर्माण कार्यको बजेट पनि निकुञ्जको खातामा राख्ने गरेको उनले बताइन् । नेपाललाई चिनाउने धार्मिक तथा महत्वपूर्ण सम्पदा भएकाले यसमा राज्यको नजर पर्नुपर्ने भनाइ उनको छ ।
शहरी विकासले बाटो बनाउन खोजेको तर निकुञ्जका कारण नसकेपछि निकुञ्जकै खातामा बजेट हालेर भए पनि बाटो खुलाउनु भनेर माडी नगरपालिकाले केही महिना अघि सिफारिश गरेको उनले बताइन् । उनका अनुसर, त्रिवेणीबाट त्यहाँ जानका लागि बनाइएको झोलुंगे पुलबाट आश्रमसम्म जाने बाटो बनाउन निकुञ्ज क्षेत्र भित्र पर्ने भएकाले शहरी विकास कार्यालयले बजेट छुट्याए पनि काम गर्न नसकेको हो ।
‘झोलुंगे पुल बन्यो तर बाटो नै छैन । बाटो नै नभएको झोलुंगे पुलको के काम ? मात्र सेल्फी खिचाउनका लागि पुल बनाए जस्तो भयो’, उनले भनिन्, ‘राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले त्यहाँ काम गर्न असाध्यै गाह्रो भएको छ । यसबारेमा कुरा उठाइएको छ ।’ तर पनि काम अघि बढ्न नसकेको उनले बताइन् ।
‘हामीले हामीसँग भएको चिज तथा सम्पदाको उजागर गर्न नसक्ने अनि अरु देशलाई किन गाली गर्ने ?’, उनले प्रश्न गर्दै भनिन्, ‘यसमा राज्यकै ध्यान पुग्नुपर्छ । एउटा कम्जोर नगरपालिका माथि मात्र जिम्मेवारी राखेर हुँदैन ।’ ‘यदि आश्रम क्षेत्रलाई धार्मिक वन वा सामुदायिक वनमा रुपान्तरण गर्ने हो भने विकास निर्माणका कार्य तथा आवश्यक संरचना बनाउन सहज हुने उनले बताइन् । ‘यो स्थल नेपालकै गौरवको बिषय भएकाले यस खालको जटिलताको समाधान गर्ने संघीय सरकारकै मुख्य दायित्व हो’, उनले भनिन् ।
त्यस क्षेत्रमा आवश्यक संरचना बनाउन र व्यवस्थापनका लागि धेरै पटक स्थानीय तहबाट निकुञ्जसंग कुरा भएको र निकुञ्जले आफ्नो क्षेत्र भएकाले बिना स्वीकृति काम गर्न पाउनुहुन्न भनेर जवाफ दिने गरेको उनले जनाइन् । उनका अनुसार, माडी नगरपालिकामा पर्ने भए पनि त्यस ठाउँमा पुग्न नगरपालिकाबाट गाडीमा ६ घण्टा लाग्छ ।
नेपालमैं रहेको सम्पदाको यथोचित विकास, संरक्षण र विश्व स्तरमा पहिचान दिलाउन नसकेर जाने बाटो समेत भारतमाथि निर्भर रहनु पर्ने बिडम्बनालाई संघ सरकारबाटै अन्त्य गर्न जरुरी रहेको भनाइ उनको छ । ‘वनमात्रै राष्ट्रको सम्पत्ति नभएर त्यो भन्दा ठूलो सम्पत्ति पुरातात्विक सम्पदा हुन्’, उनले भनिन्, ‘अन्तर्राष्ट्रिय जगतमैं चर्चित उक्त प्राचिन सम्पदा स्थलको यथोचित संरक्षण र विकास गर्न नसक्दा हामी पनि दुःखी छौं ।’
यहाँ राम भगवानले सीता मातालाई वनबासका लागि महर्षी बाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान् रामका छोराहरु लव र कुशको जन्म भएको र सीता माता पातालमा भाँसिएको स्थल जीर्ण अवस्थामा छ । रामायण कथाअनुसार सीताका छोरा लव र कुशको यहीँ पठनपाठन भयो । रामले लगाएको अश्वमेध यज्ञका बेला छाडेका घोडा पनि लव र कुशले समाएर बाँधेका थिए । आश्रममा यी घटनासँग जोडिएका पुराना वस्तु प्रशस्त भेटिन्छन् ।
आश्रम वरपर सीता पाताल प्रवेश स्थल, अमृत कुण्ड, हवन कुण्डका अवशेषहरु छन् । लव र कुशले घोडा बाँधेको खम्बा, पाठशालाको अवशेष, विष्णु चक्र, सीताको फलफूल बगैंचा र वाल्मीकि ऋषि अन्तरध्यान भएका स्थल पनि छन् । कलात्मक ढुंगा, ढुंगाकै खम्बा, इँट्टाका टुक्रा जस्ता प्राचीन वस्तुहरु यत्रतत्र छरिएका छन् । तर, कहीकतैबाट संरक्षणमा ध्यान दिइएको छैन । आश्रम भएको स्थानमा बिजुली र मोवाइलको नेटवर्कको समस्या छ । नेपालतर्फबाट सडक सञ्जाल छैन, भारतीय बाटो हुँदै पुग्नुपर्छ । त्यो मार्ग पनि सहज छैन । खोलानाला र भारतीय सुरक्षाकर्मीको हैरानी खेप्नुपर्छ । यही समस्याकै कारण नेपाली भन्दा भारतीयहरु यहाँ बढी पुग्छन् ।
प्रतिकृया दिनुहोस्