संरक्षणको पर्खाईमा बाल्मीकि आश्रम, तीनै तहका सरकारको बेवास्ता



भैरहवा– ऐतिहासिक, प्राचीन र पौराणिक सम्पदाको संरक्षणमा ध्यान नदिइँदा चितवनको माडी नगरपालिका–१ स्थित बाल्मीकि आश्रम ओझेलमा परेको छ । महर्षी वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेर लव, कुशलाई जन्म दिएको तथ्यप्रमाणबाट खुल्छ । तर, यही महर्षि वाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाणहरु रहेको आश्रम भने सरकारी उदासिनताले ओझेलमा छ ।
भारतमा तामझमसहित राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । गत माघ ८ गते भारतको अयोध्यामा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको भव्य प्राण प्रतिष्ठा गरेका थिए । यसले विश्वभर रहेका हिन्दू धर्माबलम्बीको ध्यान अयोध्यातर्फ खिच्यो । तर, भगवान् रामसँग जोडिएको आश्रम अझै विकासकै पर्खामा छ । यतिसम्म की यस्तो ऐतिहासिक ठाउँमा भारतको बाटो भएर जानुपर्छ । आश्रम जान झोलुंगे पुल त बनेको छ तर प्रयोगमा छैन । यसले गर्दा भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ । अर्कातर्फ बाल्मीकिमा रहेका ऐतिहासिक संरचना यत्रतत्र छन्, संरक्षणमा तीनै तहका सरकारको ध्यान पुगेको छैन ।
‘अयोध्यामा वार्षिक करोडौं धार्मिक पर्यटक भित्र्याउने भारतीय लक्ष्य छ । रामसँगै जोडिएको नेपालको प्राचिन र ऐतिहासक क्षेत्र भने जर्जर छ । यतिसम्मकी सीमा क्षेत्रमा पर्ने आश्रममा पुग्न भारत बिहारको भैसालोटन हुँदै जंगलको बाटो जानुपर्ने बाध्यता रहेछ’, पहिलोपटक आश्रम भ्रमणमा पुगेका भैरहवाका सिद्धार्थ अग्रवालले भने, ‘आश्रम जानका लागि नेपालतर्फबाट बनाइएको झोलुंगे पुलसमेत चितवन राष्ट्रिय निकुञ्जको अवरोधले प्रयोगमा आउन सकेको रहेनछ, यो दुखद् कुरा हो ।’

यहाँ प्राचीन सम्पदा यत्रतत्र छन् । त्यसको संरक्षणको प्रयास भएको देखिँदैन । वाल्मीकि आश्रमलाई भारतीयहरुले ठूलो तीर्थस्थलको रुपमा मान्ने गरेका छन् । हाम्रो भने तीनै तहका सरकारको उपेक्षामा छ । आश्रममा दर्शन र पुाजाआजा गर्न पुग्ने पर्यटक ऐतिहासिक ठाउँ ओझेलमा परेको देख्दा अमिलो मन बनाएर फर्किने गरेको आश्रमका पुजारी शेखर सुवेदीले बताए । ‘स्थानीय आश्रम ओझेलमा पर्दा चिन्तितमा त छौं नै आफ्नो भूमि प्रयोग गरेर ऐतिहासिक ठाउँमा आउजाउ गर्न नपाउँदा सबैलाई दुखित बनाएको छ’, उनले भने ।
यहाँ राम भगवानले सीता मातालाई वनबासका लागि महर्षी बाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान् रामका छोराहरु लव र कुशको जन्म भएको र सीता माता पातालमा भाँसिएको स्थल जीर्ण अवस्थामा छ । ‘रामायण कथाअनुसार सीताका छोरा लव र कुशको यहीँ पठनपाठन भयो । रामले लगाएको अश्वमेध यज्ञका बेला छाडेका घोडा पनि लव र कुशले समाएर बाँधेका थिए । आश्रममा यी घटनासँग जोडिएका पुराना वस्तु प्रशस्त भेटिन्छन्’, पुजारी सुवेदीले भने, ‘हाम्रा कुनै पनि सरकारले संरक्षण, विकास र निर्माणमा ध्यान दिएनन् ।’
आश्रम वरपर सीता पाताल प्रवेश स्थल, अमृत कुण्ड, हवन कुण्डका अवशेषहरु छन् । लव र कुशले घोडा बाँधेको खम्बा, पाठशालाको अवशेष, विष्णु चक्र, सीताको फलफूल बगैंचा र वाल्मीकि ऋषि अन्तरध्यान भएका स्थल पनि छन् । कलात्मक ढुंगा, ढुंगाकै खम्बा, इँट्टाका टुक्रा जस्ता प्राचीन वस्तुहरु यत्रतत्र छरिएका छन् । तर, कहीकतैबाट संरक्षणमा ध्यान दिइएको छैन । ‘आश्रम भएको स्थानमा बिजुली र मोवाइलको नेटवर्कको समेत समस्या छ । नेपालतर्फबाट सडक सञ्जाल छैन, भारतीय बाटो हुँदै पुग्नुपर्छ । त्यो मार्ग पनि सहज छैन । खोलानाला र भारतीय सुरक्षाकर्मीको हैरानी खेप्नुपर्छ’, स्थानीय रामशरण गिरी भन्छन्, ‘यस्तो महत्वपूर्ण ठाउँलाई राज्यले चिनेन ।’

नेपालबाटजाने पूर्वाधार नभएकै कारण नेपाली भन्दा भारतीयहरु यहाँ बढी पुग्छन् । अब यहाँको विकासका लागि सरकारले पहल गरेर रामयण सर्किट बनाउनु पर्ने माग पनि उठिरहेको छ । पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले आफू काँग्रेस नवलपरासीको सभापति हुँदा झोलुंगे पुल बनाउन पहल गरेको र यसले सार्थकता पाए पनि निकुञ्जका कारण प्रयोग नभएको बताउँछन् । ‘झोलुंगे पुलबाट आउजाउमा सहज गर्नुपर्छ, अर्कातर्फ भारतसँग समन्वय गरेर रामायण सर्किट बनाएर आश्रमलाई अयोध्यासँ जोड्नुपर्छ’, उनले भने, ‘यसो गरेमा अयोध्यामा आउने पर्यटक यहाँ आउँछन्, यसले हामीलाई नै फाइदा पुग्छ ।’
छिमेकी मुलुकले अयोध्यामा राम मन्दिर प्राणप्रतिष्ठा गरेर अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिरहँदा रामसँगै जोडिएकको प्राचीन बाल्मीकि आश्रम ओझलमा त छ नै आफ्नै भूमिबाट पुग्ने ठाउँसमेत छैन । यहाँका बासिन्दा र जानकारहरुले राम जन्मस्थल अयोध्या आउने पर्यटकहरुलाई लब–कुशको जन्मस्थल र माता सीता पाताल गएको स्थानबारे पनि जानकारी गराउन सके धार्मिक पर्यटकको रोजाई बाल्मीकि बन्नसक्ने बताउँछन् । ‘यसका लागि सरकारले आश्रमको संरक्षण गर्दै सहज पहुँचमार्ग विस्तार गर्नुपर्छ, भारतसँग सहकार्य गरी रामायण सक्रिट बनाउन लाग्नुपर्छ, आश्रमका बारे राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्ने हुन्छ’, स्थानीय गिरीले भने ।
बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारीपट्टी भारतको बाटो हुँदै जानुपर्छ । नेपालमा रहेको बाल्मीकि आश्रममा ठूलो संख्यामा भारतीयहरु आउँदा नेपालीहरु भने पहुँचमार्ग नभएकै कारण नगन्य रुपमा पुग्ने गरेका छन् । ‘यहाँ आउने ९९ प्रतिशत श्रद्धालु भारतीय हुन्, फाट्टफुट्ट रुपमा नेपालीहरु पुग्ने गरेका छन्,’ पुजारी सुवेदीले भने, ‘सहज मार्ग अभावले चाहेर पनि नेपाली आउन सकेका छैनन् ।’

आश्रमका पुजारी सुवेदीका अनुसार तत्कालीन राजा महेन्द्रले बाल्मीकि आश्रमका लागि १२ बिगाह जमिन छुट्याएका थिए । तर, हाल वन क्षेत्रमा रहेको भन्दै त्यहाँ आश्रमले कुनै पनि काम गर्न पाएको छैन । आश्रमको वरिपरी ३ वटा पुरानो घर, सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरी एउटा चौकी छ । आश्रम क्षेत्रमा २ वटा नयाँ मन्दिर बनाइएको छ भने एउटा पुरानो मन्दिर छ । त्यहाँ फूल, प्रसाद र मिठाई बेच्ने स्थानीयमात्र देखिन्छन् ।
















लेखकको सम्वन्धमा