जून आउने बाटो


मिलन, एउटा सानो क्याफे खोल्नुपर्छ ! शान्त वातावरणमा चिया, चुरोट वा कफी । उस्तै सजावट होस्, गज्जबको बस्ने ठाउँ होस् । सजाएर राखिदिनुपर्छ, सबै मान्छेका लागि सबै खालका किताब । दर्द बोकेर आउन वा खुसी बोकेर आउन, क्याफे होस् उनीहरूको साथी । पृष्ठभूमिमा बजिरहोस् मधुरो स्वरमा गितार वा पियानो । बसेर घण्टौँ कुरा गर्न मन लागोस् । कुनै दिन छुट्यो भने ‘मिस’ हुन सकोस्, हाम्रो क्याफे ।
म झस्किएँ, ‘के भयो साथी तिमीलाई ।’
उनलाई रोकिनु नै थिएन, रोकिइनन् । मतिर हेरेर मुसुक्क मुस्कुराइन । अनि फेरी उही लयमा हिँडिरहिन् निरन्तर ।
तिमीलाई थाहा छ मिलन, तिमी ह्याण्डसम छौ । तर, तिमीलाई थाहा नै छैन । ह्याण्डसम हुनु भनेको दुई दिनमै खुइलिई जाने अनुहार सुन्दर हुनु होइन । रंग उडेपछि बाकी रहेको तिमी सुन्दर हुनु सक्नु हो । वा प्रभाव छोड्न सक्नु हो । र, अर्को कुरा तिमीमा विरलै मान्छेले भाग्यले पाउने क्षमता छ । त्यो क्षमता क्याफेमा भरपुर देखाउन सक्छौ ।
पुलुक्क मलाई हेरिन्, थोरै हाँस्दै भनिन्, तर काउन्टर मा म बस्छु नि !
‘मतलब भाँडा डिपार्ट मेरो । मस्काउने चम्काउने डिपार्ट मेरो । पकाउने बनाउने डिपार्ट मेरो । काम जति मेरो । अनि आर्थिक डिपार्ट तिम्रो ?’ मैले हाँस्दै सोधेँ ।
उनले भनिन्, अँ, आर्थिक बाहेक प्रशासन डिपार्ट पनि मेरो ।
है, यो समाजको एक्लो मान्छे हुँला यति सुन्दा पनि मजै मान्ने ।
उसले भनी, अनि तिमीले नै भनेको होइन, चुलो चौका गरेर त्यो चन्द्रमाको अनुहार किन डढाउँछौँ भनेर ।
‘भनेँ हुँला आवेशमा । मान्छे आवेशमा बोल्छ अनि फुर्सदमा पछुताउँछ ।’ मैले थप प्रश्न गरे, ‘तिमी एउटा कुरा भन त, खासमा कसरी क्याफे खुल्यो ? तिमी र म कहिलेबाट हामी भयौँ ? र, कसरी क्याफे हाम्रो भयो ?
ऊनी केही बोलिनन् । मेरो अनुहार हेरिरहिन् । यसरी मलाई हेरिन्, मानौँ मलाई पहिलोपल्ट कसैले हेर्दै छ ।
–
आज अफिसको काम सक्न मुस्किल थियो । यसै पनि कामको तनाव, त्यसमा अफिसले मलाई सघाउन नयाँ सहकर्मी दिएको थियो । म हतार गर्दै अफिस पुगेँ । मेरो क्याबिनमा कोही नयाँ मान्छे थियो । सोचेँ, होला कोही ‘क्लाइन्ड’ । पहिला कम्प्युटर खोलेँ, कोट कुर्सीमा भिराइदिएँ । जगबाट पानी गिलासमा भरेँ । फाइल खोलेँ, कुर्सीमा बसेँ ।
सोधेँ, हजुरको केही थियो कि ?
उनी उठेको थाहै पाइन । भनिन्, ‘सर नमस्कार, म कोपिला । प्रोजेक्ट सकाउन हजुरको सहयोगी नियुक्त भएर आएको ।’
पहिला कतै काम गरेको थियो कि ? मैले सोधेँ ।
ठ्याक्कै यस्तै काम त गरेको छैन । तर, तपाईँलाई निराश पार्दिन ।
मलाई उनको अन्तिम शब्दमा निकै झर्को लाग्यो । सोचेँ, यस्तो आपातमा के के परीक्षण गर्छन् यार । कसले बोलायो नयाँ मान्छे । कसैको साली वा भान्जी त होला । नातेदारले के काम गर्छन्, अफिसमा टन्नै मान्छे थिए त ।
उनलाई केही भनिन् एकसरो काम सम्झाएर लागे हाकिमको कोठातिर ।
यो भेट नै कोपिलासँगको पहिलो भेट थियो । पहिलो भेटमा न मैले उनको अनुहार हेरेँ न गफ नै गर्न भ्याएँ । हामी आधारात सम्म लागेर काम सक्यौँ । उनलाई अफिसमै छाडेर म निस्किएँ ।
–
सर चिया सेलाएछ त ?
मैले भने, होस् खान्न ।
यति भन्दाभन्दै कोपिलाले चिसो चिया पिइसकेकी थिई ।
मैले भने, जुठो थियो यार, के गर्छौ तिमी पनि ।
अनि के भो त । कतै तपाईँको जुठो खाएर म पनि तपाई जस्तै हुन्छु कि । उनले जिस्काउँदै भनी ।
म कति पनि जिस्किने मुडमा थिइनँ । मलाई उसले मेरो जुठो लुकालुकी खान्छे भन्ने केदार सरले भनी सकेका थिए । मैले उल्टै केदार सरलाई भनेको थिएँ, सर कुनै सेन्स छ तपाईँको कुरामा ? कोही मान्छे कसैको जुठो किन खान्छ ? सर मौन भएका थिए ।
आज मेरै अघि कोपिलाले त्यो आँट गरेकी थिई ।
मैले सोधेँ, मान्छेको जुठो खाँदै हिँड्ने के सोख हो यो तिम्रो ?
उसले भनेकी थिई, मान्छेको होइन तपाईँको ?
मैले केही भनिनँ, उसैले भनी । सर, तपाई अफिसका अरूसँग त इमानदार भएर गफिनु हुन्छ रे । कसैले पनि तपाई साह्रै अप्ठ्यारो मान्छे हो भन्दा पत्याउँदैनन् । मसँग किन यस्तो हुनुहुन्छ ?
म कसैसँग न सजिलो छु, न अप्ठ्यारो । मलाई काम सक्नै पर्ने दबाब हुन्छ । र, त्यो दबाबको एउटा हिस्सा तिमी पनि हौ । अरू स्टाफसँग काम गरेको त वर्षौँ भयो, उनीहरू अफिस बाहिरको म पनि चिन्छन् । तिमीले अफिस बाहेक कहाँ मलाई चिनेकी छौ र ?
म त्यै तपाईँ चिन्न चाहन्छु ।
मैले सोधेँ, किन ?
उसले भनी, मलाई तपाईँ बुझ्ने रहर छ । एउटै मान्छे कसरी दुई वटा हुनसक्छ ?
मैले भनेँ, दुई वटा मात्रै होइन धेरै वटा पनि हुनसक्छ ।
उसले सोधी, कसरी ?
मैले भने, भर्खरै जन्माएको बाछो चलायौँ भने गाई दाम्लै चुटाएर मारौला जस्तो गर्छे । बाछाको छेउमा केही आयो भने गाइले धपाउँछे, खेदाउँछे । साँझ दुहुने बेला मान्छेले उसको छेउमा बाछो ल्याइदिँदा दिनभरिको माया एकै पटक देखाउँछे । चाट्छे, सुमसुम्याउँछे । जे होस् मान्छेले भन्दा धेरै माया देखाउँछे गाइले । तर, जब खाना खाने बेला हुन्छ गाइले घाँस र खोले मात्रै देख्छे । गाईले आफू आमा भएको बिर्सिन्छे । बाछालाई खानै नदिई आफू मात्र खान खोज्छे ।
प्रकृतिमा एउटै नियम लागु हुन्छ । हरेक प्राणी दोहोरो चरित्र बाँच्छन् ।
म पनि बिर्सिन्छु होला घाँस खाने बेलामा आमा भएको । खाने बेलामा सम्झिए पनि हिँड्ने बेला, बोल्ने बेला वा काम गर्ने बेला बिर्सिन्छु होला । मैले चाहेर केही हुने होइन । कुनै साथीसँग भेट हुँदा म कुनै रूपमा थिएँ होला, अर्कोसँग भेट्दा मेरो अवस्था अर्कै थियो होला । दुवै साथीले मेरो फरक फरक चित्र बोकेर हिँडेका छन् । यसमा तिमीले नौलो मान्नु पर्ने केही छैन ।
कोपिलाले भनी, अरे वाह ! फेरी नयाँ रुप । बोल्दै नबोल्नु, बोलेपछि दर्शन नै दिनु ।
कोपिला गएपछि आफैँलाई भनेँ, वाह, मिलन ! तँलाई जान्ने पल्टेर दर्शन दिनु पर्ने !
–
मिलन, सुनन् । कोपिलाले मेरो ध्यान भङ्ग गरिदिई ।
अँ, भन ।
तिम्रो घर कस्तो छ ?
जस्तो मान्छेको घर हुन्छ ।
तिम्रो कोठा ?
जस्तो मान्छेको कोठा हुन्छ ।
कोपिलाले अलि स्वर फेर्दै भनी, जस्तो मान्छेको हुन्छ भनेर टार्दैनौँ भने, साँच्ची सोधौँ, तिम्रो घर कस्तो छ ?
उनीतिर छड्के हेर्दै मैले सोधेँ, तिमीलाई कस्तो लाग्छ ?
उ अनुहार रातो बनाइँदै भन्न थाली, ‘भित्तामा डरलाग्दा बाध, भालु, सर्प र बिच्छीका तस्बिरहरू होलान् । टेबलमा पनि कुनै डरलाग्दो जनवारको प्रतिमा होला । भित्ताको एउटा छेउमा अर्ना वा मृगको सिङ सजाइएको होला । पुस्तक कलेक्सनमा पनि संसारमा भरका डरलाग्दा र हिंस्रक मान्छेका जीवनी धेरै होलान् । गोर्कीको आमा, कार्लमाक्सको पुँजीदेखि सुरु भएको लहर डेभिट ग्रेनको किलर अफ द फ्लावर मुन सम्म पुगेर सकिएला । धेरै से धेरै पढ्यौ भने रोवर्ट कियोसाकी र स्यारोन लेक्टरकोे रिच ड्याड पुवर ड्याड वा बेन्जामिन ग्रामको द इन्टेलिजेन्ट इन्भेस्टर पढ्यौ होला, जहाँ माया वा प्रेमको कुनै मूल्य नहोस् । केबल बेपारका कुरा हुन् । अरूको आँखामा हेर्दा पनि तिम्रो आँखाले फाइदा र घाटा मात्रै देखोस् । माया छुटाओस् ।
मैले फिस्स हाँस्दै सोधेँ, के म कुनै कुख्यात गुन्डा नाइके वा अमानवीय व्यापार गर्ने व्यापारी लाग्छु ?
मैले त्यसो भनेकी छैन । अजिब लाग्छ भनेकी हुँ । कोपिलाले सोधी, सबै विषयको थोर बहुत ज्ञान राख्ने मान्छे कसरी अनुहार र व्यवहारमा लुकाउन सक्छौ ? मेरो मुटुमा पनि माया छ है भन्ने अल्लाराम कसरी म्यूट गर्न सक्छौँ ? पिडा दुःख वा खुसी नै भए पनी, कसरी नबोलेर वा हाँसेरै टार्न सक्छौ ?
मैले भने, मानौँ तिमीलाई टाढासम्म यात्रा गर्नु छ, त्यो पनि एक्लै । यात्रा सुरु हुँदा सुन्दर बगैँचा, हरियाली वा सुन्दर सडकहरू थिए । सडकका वरपर फूलजस्ता बालकहरू रमाउँदै खेलिरहेका थिए । महिलाहरू पानीको गाग्रो बोकेर हिँडिरहेका, गोठालाहरू बस्तु चराइरहेका थिए । कोही खेतमा काम गदै थिए, कोही बारीमा । नजिकैको देउरालीमा माया लगाउन आएका जोडी पनि देखिन्थे । कहीँ कतै नदी वा चराको आवाज । हिमाल वा पहाडको शीतलता । यात्राको सुरुमा सबै सबै थिए ।
हिँड्दै जाँदा जङ्गल आयो । आवाज हराउँदै गयो । शरीरले शीतलता महसुस गर्न छाड्यो । मनले आनन्द भेट्न छाड्यो । पर–परसम्म कोही छैन । धेरै टाढासम्म केही पनि छैन । मनमा एक खालको डर कायमै छ, कतै बाघ भालु त छैनन् वनमा । कतै सर्प वा बिच्छीले बाटो त छेक्दैनन् ।
अलि परबाट बाटो पनि हराउँछ । तर , हिँड्नु त छँदै छ । यति बेला सब थोक बिर्सिन्छौँ तिमी । मात्रै बाटो खोज्छौँ, मात्रै यात्रा गरिरहन्छौँ ।
कोपिला अलमलिँदै सोधी, मिलन के भन्न खोजेको यार !
बाटोमा हेरेनौँ, वा बिचार गरिनौ । वनमा बिचबिचमा फूलहरू पनि थिए । रुखमा कापमा अल्झिएर फुलेका फूलहरू पनि तिमीलाई साथ दिन खोजिरहेका थिए । तर, तिमीले केही देखिनौ । कोही रुखका पातहरू नै फूल भन्दा राम्रा थिए । कोही सजिलामा फुलेका थिए, कोही अप्ठ्यारोमा । कोही नराम्रा लाग्ने रुखमा राम्रा फुल थिए । कोही राम्रा रुखमा नराम्रा फूल । तर, यात्रामा तिमीले ती फूलहरू देखिनौ । यात्रामा तिमीले त्यो रमाइलो देख्दै देखिनौ । देख्यौ भने पनि याद गरिनौ ।
कोपिला, यति बेला तिमी मेरालागि त्यो वनको फूल जस्तै हौ । मेरो मनमा डर छ । यात्रा छिचोल्ने सडक टुङ्गिएको छ । मलाई पारी पुग्नु छ । यात्रामा जसरी तिमीले फूल देखिनौ, यो यात्रामा मैले तिमीलाई पनि देखेको छैन । यात्राको धर्म हो बाटो देख्नु । कोही यात्री बाटोको वरपर हेर्न थाल्छ भने उसले अगाडीको यात्रा गर्न सक्दैन । ऊ गन्त्ब्यमा पुग्दैन ।
ऊ केही बोलिनँ । अचानक उनको अनुहारको रङ्ग रातो भयो । आँखाबाट ठूल–ठूला थोपा आँसु खसाई, कोपिलाले । चुपचाप मलाई हेरिरही । यसरी हेरी, मानौँ मलाई पहिलोपल्ट कसैले हेर्दै छ ।
–
म पुग्दा त्यहाँ कोही थिएनन् । कोपिला एउटा टेबलमा बसेर पानी पिउँदै थिई । म सँगैको कुर्सीमा गएर बसेँ ।
सर, तपाईँ मेरो दाइ जस्तै लाग्छ । कोपिलाले गफ सुरु गरी ।
एक दिन तिम्रो दाई सँग पनि भेट्नुपर्छ । मैले भनेँ ।
आँखामा आँसु छचल्कियो कोपिलाको । सुस्तरी बोली, ऊ अब यो दुनियाँमा छैन ।
ओ, सरी । मैले हत्तपत्त भने ।
कोपिलाले मलिन अनुहारले मलाई हेरी, अनि शिर मेरो काँधमा राखी ।
आज खाना यही होटेलमै खाम न त, मैले प्रस्ताव राखेँ । कोपिला केही बोलिनँ । हामी कफी खान थाल्यौँ । निकै बेर कफी पिएपछि कोपिलाले भनी, सर तपाईँलाई म कस्तो लाग्छ ?
अनेस्ट, स्ट्रेट फरवर्ड र पंचुअल । मैले भने ।
तपाईँलाई काम बाहेक अरू केही आउँदैन ?
मैले भने आउँछ, तर तिमी छौँ नै त्यस्तै मैले के भन्ने त ।
क्यरिङ, व्युटि वा सेक्सी केही छैन ?
म मुस्कुराएँ मात्र । भन्न त मन थियो, कोपिला तिमी साँच्चै राम्री छौँ । मलाई अफिसमा मात्र होइन जीवनमा पनि साथी दिन्छौँ ? तर म मौन रहेँ ।
कोपिलाले तातो कफी हतार सिद्ध्याइ । औलाहरू टेबलमा यसै बजाई । खुटा चलाउन थाली । अनायासै उसको चाल फेरी यो । हताश उठी ऊ । भनी, मिलन आइ लभ यु । एकै निमेष मलाई हेरी । म अबाक थिएँ । कोपिला छिट छिटो रेस्टुरेन्टबाट बाहिर गई ।
–
कोपिला मेरो काखमा टाउको राखेर सुतिरहेकी थिई । म औलाले उसको कपाल खेलाइहरेको थिएँ । उ मलाई हेरी रहेकी थिई, म उसलाई हेरी रहेको थिएँ ।
मौसम चिसो थियो । पार्कको वरिपरि रङ्गीचङ्गी बत्ती बलिरहेका थिए । फाट्टफुट्ट मान्छे भए पनि पार्क शान्त लाग्थ्यो । पार्कको बिचैमा पोखरीले पानीका फोहरा फालिरहेको थियो । पार्कको एकछेउमा रहेको फलैँचामा बसेका थिएँ म । र, मेरो काखमा कोपिला टाउको राखेर सुतेकी थिई ।
अचानक कोपिला उठी र सोधी, मिलन तिमीलाई जून मन पर्छ ?
अब मन पर्दैन ।
किन ?
अब त मेरो हातमै छ । हातमै भएपछि आकाशको कसलाई मन पर्छ र ?
अलि फिल्मी भएन ?
भयो, म फिल्मी नै हुन खोजेको । फिल्म पनि त जीवन चोरेर बनाउँछन् । जीवनको रङ्ग लगाएपछि बल्ल फिल्म हेर्न लायक बन्छ । नत्र त फिक्का नाटक कसले हेर्छ र ?
तपाईँलाई म सक्दिनँ । एउटा कुरा सोधौँ ?
अँ, सोध । यहाँ गफै त गर्न आ होला, म थोरै हाँसे ।
उसले भनी, जुनेली रात कति राम्रो हुन्छ है !
मैले हाँस्दै भने, वाह ! कस्तो खतरनाक कुरा पत्ता लगाइछौ । जुनेली रात राम्रो हुन्छ ।
कोपिला थोरै रिसाइ, थोरै अत्तालिई, थोरै अकमक्किइ । केही बोलिन । जे भन्नू थियो अनुहारले भनी ।
मैले नै सोधेँ, किन रिसाएको भनन । यही हो तिम्रो एउटा कुरा ? जुनेली रात राम्रो हुन्छ ।
किन बिचमा कुरा किन कुरा काट्नुहुन्छ भन्दिनँ । कोपिला अलग्गै सरेर बसी ।
एकै छिन् मौन भएँ म पनि । भनेँ, यो कुरा कृष्णहरी बराललाई पहिल्यै थाहा थियो । र लेखिदिए । राम थापालाई लाग्यो सबैसम्म पु¥याउनु पर्छ । र संगीत भरी दिए । रविन शर्मा यही कुरा बोकेर आए । ‘मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती, रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती ।’
अनि फकाउनै नजान्नेले किन रिस उठाउनु ?
मैले भने, त्यै र त कृष्णहरी बराल र रविन शर्माको शरण लिएँ त । भनन, तिम्रो एउटा कुरा के हो ?
उसले भनी, भन्दिन्न ।
प्लिज, जुनेली रात राम्रो हुन्छ । अनि ?
तिम्रो जीवनमा पनि बिहान भयो भने के गछौँ ? उसले प्रश्न गरी ।
मतलब ?
मतलब, बिहान भयो भने जून हराउँछ, अकासबाट र तिम्रो हातबाट ।
चिसो पस्यो मनमा । सिरिङ्ग भयो । सायद अनुहारको रङ्ग उडेको हुँदो हो । कोपिला चुपचाप मेरो अनुहार हेरी रहेकी थिई । म केही बोल्न सकिनँ, उसले थप केही सोधिन । सायद उसको प्रश्नको उत्तर भेटिरहेकी थिई, मेरै अनुहार र आँखामा ।
म सोचिरहेको थिएँ, किन घाम अस्ताउन्जेल पर्खिएँ ? किन उदाउन दिएँ जून ? किन बसिरहेँ जून आउने बाटो पर्खिएर ?
पार्कमा बसेर हामीले बदाम पनि खाएनौँ । चियावाली दिदीको चिया पनि पर्खेनौँ । कोपिलाले मेरो हात दह्रो गरेर समातिरही । हामी हिँडिरह्यौँ । बाटोमा न कोपिला बोली, न म नै । म डराएको थिएँ, सायद ऊ पनि ।
–
मिलन साँच्ची भनन, अफिस छुट्नु अघि कोपिलाले सोधी ।
म मेरो कुरामा कायम छु । मैले उही ढिपी दोहोराएँ ।
यो अन्तिम पटक सोधेको हो, साँच्ची । पछि पछुताउनु पर्ला नि । उसले फेरी भनी ।
म आजसम्म मैले गरेको कुनै पनि कुरामा पछुताएको छैन । मैले दोहोराए, सायद यस पटक पनि म क्लियर छु ।
तपाईँको मन छ नि ।
मैले भने, छ ।
मुटु ?
त्यो पनि छ ।
दया, माया, प्रेम, वियोग छुटाउन सक्नुहुन्छ नि ?
हाँस्दै भने, त्यो त तिमीलाई थाहा नै छ नि ।
अचानक कोपिलाको भावभङ्गी फेरियो । कस्सिएर फाइल टेबलमा पछारी, रिसाउँदै हेलमेट उठाइ । मलाई धकेल्दै चाबी खोसेर आँसु पुच्दै निस्किई ऊ ।
मलाई खुब रमाइलो लाग्न थालेको थियो कोपिलासँगको साथ, माया वा झगडा नै पनि । म सोच्न थालेको थिएँ, म पनि कोपिलालाई मन पराउँछु । म उचित मौका खोजिरहेको थिएँ । कोपिलाले त मौका मिलाएर उसको कुरा राखिसकेकी थिई ।
अचानक मोबाइलमा केदार सरको फोन आयो, सर, सुन्नुभयो कोपिलाको स्कुटरलाई त ट्रिपरले हानेछ नि । ठ्याक्कै थाहा छैन तर स्पोर्ट डेड भएको हल्ला छ ।
मेरो कानमा एकोहोरो शंख बजिरह्यो । मैले शुन्य देखेँ ।
–
बिहानको त्यस्तै नौ बजेको हुँदो हो । म खोलाको किनारमा कोपिलालाई पर्खेर बसेको थिएँ । म हेरिरहेको थिएँ, तर देखेको केही थिइनँ । म सोचिरहेको थिएँ, तर केही याद थिएन । मलाई डर थियो कसैले बोलाउला कि भन्ने । कसैले बोलाएको भए म बोल्न सक्ने नै थिइनँ । मेरो मन भारी थियो । घाँटीमा गाँठो परेको थियो ।
केदार सर मसँगै बसिरहेका थिए । उनी कैले मलाई हेर्थे, कहिले खोलो हेर्थे । उनी पनि बोलेका थिएनन् । घरीघरी मलाई थपथप्याउँथेँ । मलाई भक्कानो फुटेर रुला कि जस्तो लाग्थ्यो ।
पारीबाट एउटा एम्बुलेन्स आयो । मेरो मुटु जोडले धड्की रहेको थियो । म कति पटक उठेँ, बसेँ मलाई नै हेक्का छैन ।
सर यो पानी खानुहोस्, केदार सरले पानीको बोतल दिँदै भने ।
चुपचाप पानीको बोतल लिएँ । बिर्को खोल्न खोजेँ । बोतलको बिर्को खोल्न सकिरहेको थिइनँ । बोतल छेउमा राखेँ ।
केदार सरले बोतलको बिर्को खोलेर दिए । सर मुख पनि धुनु ।
चुपचाप पानी पिएँ, मुख धोएँ ।
‘सर यति धेरै माया गर्नु हुन्थ्यो कोपिलालाई ?’ केदार सरले सोधे ।
म बोल्न सकिनँ, टाउको हल्लाएँ । सर पनि केही बोलेनन् ।
एम्बुलेन्सबाट कोपिलाको लास निकाल्न थाले । म कोपिलातिर जान खोजेँ । केदार सरले मलाई तान्दै भने, ‘सर एक छिन न है । अलि पर पुर्याएपछि जाम्ला । त्यता धेरै घाम छ । अहिले घामले चक्कर लाग्न सक्छ ।’
म बुझिरहेको थिएँ । सर मसँग डराइरहेका थिए ।
म गाडीको नजिक पुगेर लास हेर्न खोज्दै थिएँ । तर, मैले उनको अनुहार देखिनँ । उनको अनुहार ढाकिएको थियो ।
आज पहिलो पटक मेरा खुट्टाले शरीरको भार थाम्न सकिरहेका थिएनन् । आज पहिलो पटक मेरो शरीरले टाउकाको भार थाम्न सकेको थिएन । आज पहिलो पटक रक्तसञ्चार थाहा पाइरहेको थिए । आज पहिलोचोटी खुब बोल्ने म चुप थिएँ ।
लासको वरिपरि लासका आफन्तहरू रोइरहेका थिए । नजिकैका साथीका आँखा पनि रसाइरहेका थिए । माहौलले मलाई पनि रुन प्रेरणा दिइरहेको थियो । सायद म पनि मनमनै रोइरहेको थिएँ । म रोएको केदार सरले नै थाहा पाएका थिएनन् । म न नरोइबस्न सकेँ, न कसैलाई देखाएर डाको छोड्न ।
मेरो आँखा अगाडी कोपिलाको लास बलिरहेको थियो । मेरो मस्तिष्कमा कोपिलाको सपना बलिरहेको थियो । अब कहिल्यै खुल्ने छैन क्याफे । कहिल्यै काउन्टर मा मुस्कुराउँदै जून जस्ती कोपिला बसेकी हुनेछैन । उसले भनेजस्तै बिहान भयो । अब जून अस्तायो, मेरो हातबाट र आकाशबाट ।-sahityapost








प्रतिकृया दिनुहोस्