June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

परिवर्तन

मैले पटक पटक भन्ने गरेको छु । उसलाई भेटेको दिनदेखि मेरो मन काबुमै छैन भनेर । गाजलु ठुलाठुला आँखा, नागबेली लामो केश, सुडौला पिडौला, गहुँगोरो मिलेको जिउडाल, अनारका दानाजस्ता मिलेका दाँत जति हेर्यो हेरूँ हेरूँ लाग्ने,  बोल्दा थकाइ नलाग्ने रुपनारायण सिंहको ‘बितेका कुरा’ कथाकी नायिका भन्दा कम छैन ऊ । अति सुन्दर छे अनि मन काबुमा रहोस् पनि कसरी ।

Advertisement

उसो त मेरो जीवन पनि रुपनारायण सिंहकै ‘बितेका कुरा’ कथाको नायक पुरुषको जस्तै जस्तै ताराजस्तै श्रीमती, जलधाराजस्तै छोरी  र ध्रुवताराजस्तो छोरा छन् । अझ कथाका पात्रहरूभन्दा मेरो यथार्थ जीवनका पात्रहरू दमदार छन्, मायालु छन्, आँखामा राखेपनि नबिझाउने खालका छन् । मेरी श्रीमतीको गुणगान मैलेभन्दा मेरा छिमेकीहरू बढी गाउँछन् । रहर गर्छन् हाम्रो जोडीलाई र कतिले डाहा पनि गर्दा हुन् । उनी पढेलेखेकी छन्, आज्ञाकारी छन्, जाने बुझेकी छन् । सरकारी जागिर खान्छिन् यति मात्र होइन छिमेकी, आफन्त सबैकी प्यारी छन् । लोभ–लालच छैन, ईर्ष्या कहीँकतै भेटिँदैन । उनी हजारमा एक हुन् एकमा हजार हुन् ।

Advertisement

महिना पुग्ने बित्तिकै मेरो भन्दा उनको तलब मेरो खातामा पहिला आउँछ । कहाँ गयो ? कसरी खर्च भयो ? के गर्नु भो ? बाँकी छ छैन त्यसको समेत हिसाबकिताब सोधखोज केही हुँदैन । गाउँटोल, समाजमा कोही कसैलाई गाह्रोसाह्रो परेको बेला सहयोग गर्न अगाडि सर्छिन् । कोही रुन बसेको देखेमा पहिला आफू रुन्छिन् । उनी दयाकी खानी हुन् । मनकी मनकारी हुन् ।

तपाईँले बुझिसक्नु भो । मेरी उनी दया, माया, ‍करुणा, भावना, विवेकमा मात्र होइन, व्यवहारमा समेत अब्बल छिन् । घरमा सबै छ, अड्कलेर खानु पर्दैन । अड्कलेर लगाउनु पर्दैन । लाग्दो हो घरमा चञ्चलाश्री भईकन पनि किन यस्तो मति आएको होला भनेर अनि मन किन काबुमा राख्न नसकेको होला भनेर ।

सुरुसुरुमा सबैलाई यस्तै हुन्छ । मलाई पनि तपाईँलाई जस्तै भयो । अहिले पनि लाग्छ तर जे नहुनु पर्ने हो त्यही भयो । सम्झन्छु गाजलु ठुलाठुला आँखा, नागबेली लामो केश, सुडौला पिडौला, गहुँगोरो मिलेको जिउडाल, अनारका दाना जस्ता मिलेका दाँत जति हेर्यो हेरूँहेरूँ लाग्ने, जति बोले पनि थकाइ नलाग्ने मेरो उमेरको ठ्याक्कै आधा उमेरकी छे । म पुरै नियन्त्रणभन्दा बाहिर छु । अफिस गएपछि घर र घर पुगेपछि अफिस फर्कन मनै छैन । मेरो सबै दैनिकीहरू लथालिङ्ग भताभुङ्ग भए । काम गर्ने मन छैन । लेख्न बस्दा शब्दहरू कहाँ जान्छन् कहाँ । न जीवनको नियन्त्रणमा छु न शब्दहरूको ।

उ बेलाको जस्तो समय छैन । मन परेका मान्छेको तस्बिर सिरानीमा राख्नु पर्दैन । यत्रतत्र सर्वत्र सामाजिक सञ्जालमा भेटिन्छन् । टिकटकमा हेर्यो । लाइक कमेन्ट गर्यो । लाइक कमेन्ट गरेको पनि देखिने मनको तिर्सना पनि मेटिने ।

साँझमा होस् या बिहानमा, दिनमा होस् या रातमा मोबाइल समात्यो म्यासेन्जरमा म्यासेज टाइप गर्यो । के छ ? कस्तो छ ? खाना खायौ ? सुत्ने हैन ? सुत्यौ ? के खायौ ? के लगाएकी छौ ? भोलि कति बेला भेट्ने ?  टिकटकमा तिमीलाई हेरेर बसेको इत्यादि इत्यादि गफ । गफ पनि के गफ हुनु, बकम्फुसे गफ भनौँ ।

जवाफ पनि बकम्फुसे नै आउँछन् तर रमाइलो लाग्छ । के भयो भयो मजस्तो म रहन सकिनँ । प्रेमले बुद्धि तत्त्वको नाश गरेर भाव तत्त्वको विकास गर्छ भन्थे हो रहेछ कि क्या हो ।

अब भन्छु । अदालतभित्र गरिब परिवार बस्ने घरको सानो कोठा जस्तो मेलमिलाप कक्ष छ । उक्त कक्षमा कुर्चीहरू छरपस्ट छरिएका छन् । भुइँमा खुइलिएको कार्पेट र सिलिङमा बिग्रिएको पङ्खा झुन्डिएको छ मेरा सस्ता सपना जस्तै ।

मेलमिलापका माध्यमबाट विवादको दीर्घकालीन समाधान खोज्नका लागि म मेलमिलाप कक्षमा प्रवेश गर्दा ऊ सहित चार पाँच जनाको समूह मेरो प्रतीक्षामा थिए ।

नियमित प्रक्रियाझैँ पहिले परिचय त्यसपछि सामान्य नियमहरूको जानकारी सहित विषयको उठान गर्न लगाए ।

ऊ बोल्नु भन्दा पहिला उसकाहरू बोले । वारेस बस्नै नहुने मान्छे वारेस बनेर आएकी छे । हामीले मुद्दा ज्वाइँलाई हालेको देखिए पनि मुद्दा ज्वाइँलाई हालेको हैन । मुद्दा हालेको यसैलाई हो । यो नै वारेस बनेर आएकी रहिछ । योसँग बसेर कस्तो मेलमिलापको अपेक्षा गर्नु र खै । अर्काको बहिनीमाथि सौता बनेर भित्रिएकी छ । नाटक यसले जति जान्दछे अरूले जान्दैनन् । भाडामा बस्ने भनेर कागज बनाएकी छे रे । सिउँदोमा सिन्दूर र हातमा चुरा लगाएर विवाह भएको छैन भन्न लाज लाग्नुपर्ने लाज पचेकी मान्छे ।

ऊ बिचमा बोल्न खोज्दै थिई । मैले रोकें ।

‘पालै पालो आफ्ना कुरा राख्नु,  आफ्नो पालोमा बोल्नु, एकले अर्काको मर्यादामा आँच नपुग्ने  गरेर बोल्नु एकले अर्कालाई आक्षेप लगाउने काम नगर्नू ।’

‘मन जलेको छ । तपाईँ आक्षेप नलगाउने भन्नु हुन्छ । हृदय जलेपछि बोल्न बाध्य भइने रहेछ । मेरी बहिनी र भान्जा जापानमा छन् । जापानबाट कमाएर पठाएका पैसाले बहिनी ज्वाइँका लागि भनेर हामीले नै घर बनाइदिएका हौँ । जुन घर हामीले बनायौँ त्यही घर देखेर यो आएकी हो । यसलाई सम्बन्धको होइन घरको माया छ । पाएसम्म घरमा बस्छे, बल गर्छे, सकेसम्मको कोशिस गर्छे । कसै नसके, घर छोड्दा ज्वाइँलाई पनि छोड्छे । अर्कालाई टिपेर जान्छे । कानुनले कान्छी श्रीमतीलाई चिन्दै चिन्दैन । यो दोस्रो श्रीमतीको रूपमा मेरी बहिनीको घरमा पसेकी कालो साप हो । यसले जुन बेला पनि डस्न सक्छे । यसैलाई ठेगान लगाउनका लागि हामी भान्जाको संरक्षक बनेर अंश मुद्दा दायर गरेका हौँ । हामी केही जान्दै जान्दैनौँ । भान्जाको अंश चाहियो । तिहारमा बहिनी नेपाल आउँछे । आफ्नो घरमा जान्छे । यो भाडामा बस्ने मान्छेलाई प्रहरी लगाएर बाहिर निकाल्छे । नमाने बहुविवाहको जाहेरी हालेर भए पनि थुन्छे । चौटा खान आएकी झोलमा डुबेर मर्ली । भाडैमा बस्ने हो भने अहिले नै मेरो बहिनी र भान्जाको घर तुरुन्तै खाली गरिदिनु पर्यो ।’

गर्मी बढेकाले बन्द कोठामा सबैका शरीरबाट पसिना आएको देखिन्थ्यो । त्यसमाथि उसको गालामा अरूका भन्दा बढी नै पसिना बगेको देखिन्थ्यो । तपतप पसिनाका दाना मोतीका दानाझैँ उसका गालाबाट बगेर भुँइमा खसेका थिए ।

‘तपाईँको भन्न बाँकी ?’

‘सकियो । छैन हामी अरू केही जान्दैनौँ र जान्नु पनि छैन । घर देखेर आएकी । अर्काले दुःख गरेर कमाएर बनाएको घरमा आँखा लगाएकी । होइन भने भाडामा बस्ने हुँ भन्नेले घर छोडेर देखाउन सक्नुपर्यो । भाडामा बस्नका लागि बजारभरि घर छन् । जसकोमा गएर बसे पनि त भयो नि । हामी ज्वाइँसँग मुद्दा लडेका हौँ, घर बचाउनका लागि लडेका हौँ, सम्बन्ध जोगाउनका लागि लडेका हौँ,  लड्छौँ । यसलाई न लुतो न कन्याइ खुरुक्क घर छोडेर गए भैगौ । यो हाम्रो परिवार तितरबितर बनाउनका लागि आएकी । हाम्रो बिचमा नआउनुपर्ने आएकी । ठुलाठुला गाँस खान आएकी खान नपाएकी । बाँकी उतै उसैलाई सोध्नुहोस् । हाम्रो भन्नु केही छैन ।’

‘नाम सुनिता । २६ वर्षकी भएँ । सरकारी जागिरे हुँ । कम्प्युटर अपरेटरको रूपमा काम गर्छु । खान लाउन आफ्नै कमाइले पुग्छ । कसैको एक पैसा खाएकी छैन र खान पनि नपरोस्  । कर्ममा विश्वास गर्छु र कर्म गरेर बाँचेकी छु । यिनीहरूले जसलाई मुद्दा हालेका छन् ती मेरा घरबेटी हुन् । विगत चार–पाँच वर्षदेखि म त्यहीँ घरमा भाडामा बस्दै आएकी छु । नियमअनुसारको मासिक रूपमा भाडा बुझाउँदै आएकी छु । वडा कार्यालयले मलाई भाडामा बस्ने हो भनेर सिफारिस समेत बनाएर दिएको छ । अफिस आउन जान सजिलो हुने भएर त्यो घरमा बसेकी हुँ ।

मेरा घरबेटीले आफू विदेश जानुभन्दा केही दिनअगाडि मलाई यो मुद्दामा अधिकृत वारेसनामा दिएका थिए । विश्वास गरेर दिएकाले अधिकृत वारेसले गर्नु पर्ने काम र पुर्याउनु पर्ने जिम्मेवारी पुर्याउनु मेरो कर्तव्य हो । उहाँहरू जहिले पनि मनपरी बोल्नुहुन्छ । उहाँहरूले भनेजस्तो र यो मुद्दाको पेटबोलीमा लेखेजस्तो बेहोराको म नै व्यक्ति हुँ, न उहाँका ज्वाइँसँग मेरो सम्बन्ध छ । म त्यस्तो होइन र  हुन्न पनि ।

आजलाई मेरो यहाँभन्दा बोल्नु केही छैन । उहाँहरूले आफ्नी बहिनी र भान्जालाई जापानबाट झिकाएर त्यो घरमा बस्नुहुन्छ भने मेरो केही छैन । म निस्किदिन्छु तर आशाको त्यान्द्रोमा अर्कालाई बर्षौंबर्ष पर्खाएर बन्दी बनाउनु जायज हैन । अर्को दिनको तारेख दिनु । कुनै पनि निर्णय लिनुभन्दा अगाडि सम्बन्धित व्यक्तिको राय लिनु वारेस बस्नेको कर्तव्य हो । घरबेटीसँग सल्लाह अर्को तारेखमा निर्णय गरौँला । भए मिलापत्र हुन्छ नभए अदालतले फैसला गर्छ । मिलापत्र भए मिलापत्रबाट नभए फैसलाबाट विवादको दीर्घकालीन समाधानका लागि मञ्जुर छौँ ।’

प्रक्रिया पुर्याएर तारेख दिए । अर्को तारेखमा एक पक्षले अर्को पक्षलाई कुर्न नपर्ने गरी एक बजेको समयमा उपस्थित हुनुहोला मैले अनुरोध गरेँ । दुवै पक्षले हुन्छ भने ।
राम्री अगाडि नै भनिसकेँ नि बहुतै राम्री । गाजलु ठुलाठुला आँखा, नागबेली लामो केश, सुडौला पिडौला, गहुँगोरो मिलेको जिउडाल, अनारका दानाजस्ता मिलेका दाँत जति हेर्यो हेरूँ हेरूँ लाग्ने,  बोल्दा थकाइ नलाग्ने  खै कस्ती कस्ती साँच्चिकै भनूँ भीमनिधि तिवारीकी ‘मध्यम वर्गकी श्रीमती’ जस्ती । मन काबुमा राख्छु भनेर भएभरको प्रयास गरेँ, सकिनँ असफल भएँ ।  म काबुमै रहन सकिन ।
मोबाइलको घण्टी बज्यो । नयाँ नम्बर रहेछ ।

‘हेल्लो ।’

‘हजुर, तपाई मेलमिलाप कर्ता हो ?’

‘हजुर, म मेलमिलाप कर्ता नै हो ।’

‘म सुनिता । अगाडि भेट भएको थियो नि हाम्रो ।’

‘हजुर, भन्दै जानू ।’

‘अगाडि मैले भन्न खोजेर पनि बोल्न सकिनँ । भेट्न मिल्छ भने कृपया भेटौँ न ।’

‘हुन्छ । अफिसमा आउन सक्नुहुन्छ ।’

‘होइन म बाहिर यतै कतै भेट्न चाहन्छु मिल्छ कि मिल्दैन ?’

‘कहाँ ? कति बेला ? ’

‘तपाईँको अफिस टाइम सकिएपछि यता कतै ।’

‘हुन्छ । पाँच बजेपछि फोन गर्नुहोला ।’

‘हुन्छ अहिले राख्छु ।’ उसले फोन उतैबाट राखी ।

निर्धारित समयभन्दा पाँच मिनेट अगाडि नै फोन गरी । पोखराको जिरो किलोमिटरभन्दा अगाडि रहेको दिदीबहिनी खाजा घरमा हाम्रो भेट हुने भयो ।

‘के लिनुहुन्छ ? चिया, कफी, चिसो कोक या बियर ?’

‘चिया, कफी, चुरोट, खैनी, बिडीसमेतको पारखी होइन । आजकल यस्ता मान्छेहरूलाई साथी पाउन मुस्किल पर्छ ।’

‘हाहा …म पनि त त्यस्तो अम्मली छैन । कुनै यस्ता चिजको पारखी हैन । साथीको मन नराखी नहुने अवस्था पर्दाको खण्डमा नाइँ भन्दिन पिउन सम्म पिउँछु । हाम्रा घरबेटी बियर भनेपछि भुतुक्क हुन्छन् ।’

‘के भनूँ चिया ?’

‘नाइँ ।’

‘हट लेमन भन्नुस् अलिकति मह पनि मिसाएको राम्रो । अ: खानेकुरा आउनु अगावै विषय बस्तुको उठान गर्ने  कि ? खाने बेलामा दबाब र तनाव नभएको राम्रो ।’

‘हुन्छ ।’

‘कुरा उनीहरूले जे भने त्यहीँ हो । म पढेलेखेकी उनीहरूले भनेबमोजिमकै पात्र हुँ । लेखपढमा राम्रै दक्खल छ । साहित्यिक पुस्तक भेटसम्मका पढ्छु । शिक्षाको माध्यमबाट संसार बदल्न सकिन्छ भन्ने कुरा बुझेकी छु । आफूलाई बदल्न र पीडाबाट मुक्ति पाउनका लागि पनि पढाइ उपयुक्त विकल्प हुने रहेछ ।

मैले बिहे गरेको कुरा सत्य हो । कानुनको दृष्टिमा हामी लोग्ने–स्वास्नी होइनौँ । कानुनले हामीलाई चिन्दैन । भाडामा बस्ने भनेर सम्झौता पत्र बनाएर उनको घरमा उनीसँगै बसेकी छु । वास्तवमा त्यो घर नहुँदो हो त मैले उनीसँग कुनै प्रकारको सम्बन्ध जोड्ने कुरा आउने नै थिएन । हजुर भन्नु हुन्छ भने म जुनसुकै कुरामा सम्झौता गर्न तयार छु तर घर मेरो हुनु पर्यो । घर बाहेक म सबै सम्बन्धहरू समेत त्याग्न तयार छु । म घर छोड्न तयार छैन । घर खण्डन नहुने गरी तपाईँ सक्नुहुन्छ भने तिनीहरूलाई सम्झाउनुहोस् । म मिलापत्र गर्न तयार छु । घर छोड्ने वा घर विभाजन गर्ने कुरामा मलाई मिलाउने प्रयास बिन्ती गर्दै नगर्नुहोस् ।’

‘सम्बन्धभन्दा सम्पत्ति कहिल्यै माथि हुँदैन । तपाईँ सम्बन्ध र सम्पत्ति  मध्ये कुनै एकमा चाहना राख्नु पर्दा केमा राख्नु हुन्छ ?’

हाहा.. उ बेस्सरी हाँसी र भनी, ‘सिधा कुरा यसमा दायाँबायाँ केही छैन । सम्पत्तिमा नै चाहना राख्छु । मैले सम्बन्ध जोगाउन सकिनँ । सम्पत्ति पनि जोगिएन भने मेरो सडकको बास हुनेछ । सडकको बास बसेर तपाईँ कस्तो सम्बन्धको कुरा गर्नुहुन्छ ।’

‘सम्बन्ध जोगाउन सकिन भन्नाले ?’

उसका आँखा टिलपिलाएका थिए । ऊ बोल्न खोज्थी । वाक्य राम्रोसँग पुरा गर्न सकेकी थिइन । धेरै बेर पछि आफूलाई सम्हाल्दै बोल्न थाली, ‘कानुनका कुरा सबै बुझ्न सक्दिनँ । तर मलाई थोरै भए पनि नियमका बारेमा जानकारी छ । आजभन्दा ठीक १० वर्ष अगाडि बाबा आमाको रोजाइमा मेरो यसभन्दा अगावै विवाह भएको थियो । मेरो गाउँभन्दा ५ किलोमिटर टाढा रहेको मझेरी गाउँका महेशसँग मेरो विवाह मेरा बाबाले धूमधामसँग गरिदिनु भएको हो ।

विवाह भए पछि हामी दुईको प्रेम यति मज्जाले मौलायो । यस्तोसँग फैलियो । देख्नेहरू कि त रहर गर्थे । कति डाहाले जल्थे । जो सुकैले जेसुकै गरुन् हाम्रो प्रेम घिरौँलाको झ्याङझैं फैलिएको थियो । केटी मान्छेलाई लोग्ने मान्छे भनेको लहरे खेतीलाई थाक्रो हालेजस्तो रहेछ । आड पाए पछि फैलिहाल्ने । उसको साथले म पनि लहरे बाली फैलिए सरी फैलँदै गएँ ।

ऊ कतारमा थियो । मलाई बोलायो । पासपोर्ट बनाएँ । भिसा भनेबमोजिम कै समयमा मिल्यो । म कतारमा पुगेँ । कतारमा हामी बेस्सरी घुम्यौँ र लय पनि समायौँ ।

पहिला हामीमा सन्तानको चाहना भएन । हामीले सन्तान नहोस् भनेर विभिन्न समयमा विभिन्न प्रकारका गर्भ निरोधक औषधीहरूको प्रयोग गरियो । पछि हामीमा सन्तानको चाहना भयो तर सन्तान रहेन । धेरै प्रयास गर्यौं । जाने र बुझेसम्म राम्रा र कहलाएका भनिएका अस्पतालहरू हामीले कुनै बाँकी राखेनौं । हेराउने–चराउने देखि लिएर व्रत बस्ने र पूजा लगाउने सम्मका काम गरियो । तर केही गर्दा पनि हाम्रो बच्चा रहेन । आमा बन्ने मेरा चाहनाहरू चाहना मात्र रहे । उसको बाबा बन्ने रहर पुरा भएन ।

कतारमा रहेर हामीले सन्तान कुर्दा कुर्दै चार वर्ष बित्यो । हाम्रो बिचमा सन्तान भएन । सन्तानको रहर सन्तान नहुनेहरूलाई धेरै हुने रहेछ । हाम्रा रहरहरू झनझन गाडा हुँदै गए । अन्तेमा रहरहरू जहरमा परिणत भए । हाम्रो बिचको प्रेम, प्रेम रहेन । सानासाना कुरामा पनि हाम्रो बिचमा मनमुटाब हुन थाल्यो । डाक्टरहरूले मबाट सन्तान हुँदैन भन्ने कुरा बताए पछि त झन् ऊ आक्रामक बन्दै गयो । पहिले औषधी सेवन गरेको र सो को प्रभावले गर्दा मबाट सन्तान हुन नसक्ने कुरा थाहा पाएको दिनदेखि म झन् दुःखी हुन थालेँ । एकले अर्कालाई पीडा दिने र एकअर्कोबाट पीडित बन्ने प्रक्रियाले हामी हामी जस्ता रहन सकेनौं ।

प्रेम जब प्रेम नरहेर बदलामा परिणत हुन्छ तब त्यहाँ प्राप्तभन्दा पनि एकले अर्कालाई कसरी दुःख दिन सकिन्छ भन्नेतर्फ प्रेरित होइने रहेछ ।

एक दिन आफ्नो कोठामा आफ्नै सुरतालमा बस्दै थिएँ । ऊ एकाएक मेरो कोठामा प्रवेश गर्यो । उसको हातमा धारिलो चक्कु समेत थियो । मेरो नजिक आयो । पैसा चाहियो भन्यो । मैले सुनेर पनि नसुने झैँ गरिरहेकी थिएँ । चर्को स्वरमा चिच्चायो । पैसा ले भन्यो । मैले छैन भनेँ । ऊ मान्दै मानेन । उसले मेरो कुरा सुन्दै सुनेन । मेरो खातामा तीन लाख पचास हजार छ भन्ने कुरा उसलाई पहिले नै थाहा थियो । र पनि मैले पटक पटक छैन भनेँ । चेक माग्यो । चेक पनि दिन्न भनेँ । चक्कु ताकेर मारिदिन्छु भन्यो । मेरा हातगोडा काम्न थाले । कपालको चुल्ठो समायो । म डरले राती भएँ । लगलग काम्न थालेँ ।

हरेक व्यक्तिको अन्तिम चाहना बाँच्नु रहेछ । मैले बाँच्नकै लागि खाली चेकमा हस्ताक्षर गरेँ । उसले मेरो कपालको चुल्ठो छोड्यो । भोलिपल्ट मोबाइलमा घण्टी बज्यो । बैंकबाट म्यासेज आएको रहेछ । मेरो खाताबाट भएको जति रकम थियो तीन लाख पचास हजार सबै झिकियो । म रित्तो भएँ । सपनाहरू क्षणभरमै खरानी भए । अब म यत्तिकै नेपाल फर्कन नसक्ने भएँ । नेपाल नफर्कियोस् भन्ने उसका चाहनाहरू पूरा भए ।

आफ्नो माटो र देश प्राण जत्तिकै प्यारो हुने रहेछ । प्रदेशमा हुँदा घरदेशको यादले सताउनु सताउँदो रहेछ । घरपायक भन्थे । घर पायक भनेको परिवार पायक रहेछ । परिवारसँगको सम्बन्ध भन्दा बलियो सम्बन्ध अर्को कहाँ हुन्छ तर म न घरदेशमा रहेँ, न परिवारको सम्बन्धभित्रको भएँ । जतिसक्दो नेपाल आउनु थियो ।

नेपाल फर्कनका लागि मसँग भएको सबै पैसा उसले लगिसकेको थियो । रातदिन वादविवाद हुन्थ्यो । राम्रोसँग खान र सुत्न नपाएर शरीर कमजोर बन्दै गएको थियो । यस्तो अवस्थामा हवाई टिकट र बाटो खर्चका लागि पनि मैले कतारमा काम खोजेर गर्नुपर्थ्यो ।
मैले कतारमा अनेकौँ कष्ट झेलेर काम गरेकी छु । भाँडा माझेकी छु । शौचालय सफा गरेकी छु । मरुभूमिमा ऊँट चराएकी छु । कतिका कपडा धोइदिएकी छु त कतिका बच्चाहरूको मालिस गरिदिएकी छु । कैयौँ पटक सडकको फोहोर उठाएकी छु त कयौँ पटक साहुको कुटाइ खाएकी छु । पैसासँग बैँस मात्र नसाटेकी हुँ । केही बाँकी राखेकी छैन ।
लगातार छ महिना छ दिन काम गरेपछि म नेपाल फर्कनका लागि तयारी गर्दै थिएँ । मेरो साथमा रहेको पैसा चोरी भयो । हैन भने पनि मेरो पैसा चोर्ने चोर ऊ नै थियो । आफ्नै आँखाले नदेखे पछि कति झगडा गर्नु । मेरो केही लागेन । रोएँ, कराएँ, चिच्याएँ आफैले आफूलाई चिथर्ने र कोपर्ने गरेँ । घर छोडेर बाहिर निस्केँ ।

मिहिनेत गर्नु बाध्यता थियो । आधा पेट खान थालेँ । नयाँ कपडा किन्दै किनिनँ । रात दिन नभनेर पहिला जस्तो काम गर्थें त्यस्तै काम गर्न थालेँ । यस पटक भने म दुई महिना दुई दिनमा नै जहाजको टिकट र बाटो खर्चका लागि खर्च जुटाई नेपाल फर्कन सफल भएँ ।

सम्बन्ध जोगिनका लागि सम्बन्ध बलियो हुनुपर्छ । एक तर्फी सम्बन्ध क्षणभरका लागि हो जतिसुकै बेला चुँडिन सक्छ । जिन्दगीमा पटक पटक रुनुभन्दा एक्कै पटक धित मर्ने गरेर रोएको राम्रो ।

नेपाल फर्केपछि मैले ऊसँगको सम्बन्ध नरहने गरी सम्बन्धविच्छेद र अंश मुद्दा दायर गरेकी हुँ । हाम्रो बिचमा लामो समयसम्म मुद्दा चल्यो । मिलापत्र भयो म अंशबापत केही नलिने  तर जबरजस्ती खोसिएको र चोरी भएको रकम लिएर सम्बन्धविच्छेद गर्ने राजी भएँ । हाम्रो सम्बन्ध सदाका लागि समाप्त भयो ।

आज पनि कहिलेकाहीँ फोन गर्छ । मैले छोडेपछि विवाह गरेको रे । श्रीमतीसँग फिलिङ नै आएन भन्छ । मलाई सम्झेर भोग्दा पनि सन्तान त हुने नै रहेछ । ऊसँग एक छोरा र श्रीमती सहितको सुन्दर परिवार छ । म यता मुद्दाको चपेटामा च्यापिएकी छु ।

प्रेमको सम्बन्ध सन्तान हुनु र नहुनुसँग हुन्छ, हुँदैन ?  हामीले हामीलाई प्रेम गर्यौं या हाम्रो स्वार्थलाई हामीले बुझेनौं । प्रेमको अनुभूति व्यक्ति नै पिच्छे फरक हुने रहेछ । मबाट सन्तान हुँदैन भन्ने बुझेको दिनदेखि नै उसले मलाई शारीरिक र मानसिक यातना दिन थालेको हो तर यता त्यस्तो छैन । सन्तान भैहाल्छ नभए पनि केही छैन भन्छन् ।’

यताको सम्बन्ध मैले बिस्तारै उसलाई सोधें । गाजलु ठुलाठुला आँखा, नागबेली लामो केश, सुडौला पिडौला, गहुँगोरो मिलेको जिउडाल, अनारका दाना जस्ता मिलेका दाँत जति हेर्यो हेरूँ हेरूँ लाग्ने,  बोल्दा थकाइ नलाग्ने ऊसँगको बसाइँले म मोहित हुँदै गएको थिएँ ।

‘हजुर, यताको सम्बन्ध मैले भनिहालेँ नि उनीहरूले जे भने सोही बमोजिमको । तर सबै होइन ।’

सम्बन्धविच्छेद भएपछि समाजले मात्र हैन आफ्ना भनाउँदाहरूले समेत फरक दृष्टिले हेर्दा रहेछन् । केटाहरू अवसरको फाइदा उठाउन सकिन्छ कि । चान्स मार्न सकिन्छ कि भनेर पछि लाग्ने रहेछन् । यो समाजका केटी मान्छेहरू आफैसँगभन्दा अरूसँग जोगिन गाह्रो । मेरो जीवनमा जोडिन्छु भनेर कति आए–गए । आँखाको बयान गर्ने जति आए त्यो भन्दा बढ्दा ओठको बयान गर्ने भए ।

राम्री छु रे । सबैले राम्री छौ भन्छन् । मेरा आँखा राम्रा, मेरो केश राम्रो, मेरा ओठ राम्रा, मेरो जिउडाल राम्रो रे । जतिले राम्री भने, जतिले आफ्नी बनाउन खोजे, मबाट सन्तान हुँदैन भन्ने बुझेको दिनदेखि सबैले छोडे । यिनी यस्ता छैनन् मुटुदेखि नै माया गर्छन् । विश्वासमा परेकी छु । भक्त भएपछिको अन्धभक्त पनि भक्त नै भएजस्तै विश्वास भएपछिको अन्धविश्वास पनि विश्वास नै हुने रहेछ ।

पहिला मरिहत्ते गर्नेहरू हराएर गए । पटकपटक फोन गर्नेहरू फोन गर्दा पनि नउठाउने भए । भाइबर, म्यासेन्जर, फेसबुक, इमो लगायतमा सबै ब्लक भए । अहिले म जसको वारेस बनेर आएकी छु नि । यी पढे लेखेका पनि छैनन् । जागिर पनि केही खाँदैनन् । एउटा भाडाको ट्याक्सी चलाउने गर्थो मरिहत्ते गरे,  घर छ, गाडी चलाउने सिप छ । श्रीमतीले छोडेर जापान गएको पनि वर्षौँ भयो । सम्बन्ध विच्छेद नभएको भए पनि भए सरह हो । ऊ फर्केर आउने अवस्थामा छैन । घर भनेको घर हो । जस्तोसुकै जागिरे लोग्ने पाए पनि जीवनभरको कमाइले पोखरामा घर बनाउन सक्ने हैनन् क्यारे भने । बिहे गर भने । मैले केही सोच्नै सकिनँ । घर देखेँ । आफ्नो बारेमा समेत पटक पटक सोचेँ । सन्तान हुँदैन भन्ने थाहा पाएपछि टाढिएकाहरूलाई सम्झिए । मबाट सन्तान हुँदैन भन्ने जान्दाजान्दै स्वीकार गर्दछन् भने भन्ने ठानेर हुन्छ भने ।

कानुनी रूपमा म उनको घरमा भाडामा बस्ने आइमाई हुँ । वडा कार्यालयबाट हामीले भाडामा बस्ने बेहोराको कागज बनाएर राखेका छौँ । उसले कुनै दिन बहुविवाहको मुद्दा दर्ता गरेको खण्डमा यो कागजले काम गर्ला भनेर ।’

ऊ एकोहोरो बोल्दै छे म हजुर हजुर भनिरहेको छु । बिचमा क्रियाप्रतिक्रिया केही जनाइनँ ।

‘रात पर्न लाग्यो छुट्ने कि ?’

‘हुन्छ ।’

‘छुट्नुभन्दा पहिला एउटा प्रश्न सोधूँ ?’

‘हुन्छ, सोध्नुहोस् ।’

‘तपाईँ अहिले जोसँग जसरी समय बिताउनुभएको छ । जस्तो प्रकारको सम्बन्ध जोड्नु भएको छ । उहाँसँग तपाईं प्रेमले बाँधिएर आउनु भएको हो या उहाँको घर सम्पत्ति देखेर आउनु भएको हो ।’

‘साँच्चि भनूँ …. म घर सम्पत्ति देखेर नै आएकी हुँ । घर देखेँ घर बाहेक मैले अरू केही देख्दै देखिनँ । आज यिनीहरूले यही घर देखेर मुद्दा हाल्छन् भन्ने जानेको भए म आउने थिइनँ । आठ दश वर्षदेखि छोडेर जापान गएकी । बिचबिचमा कुनै प्रकारको सम्पर्क र सम्बन्धमा नरहेकी । उतै कमाएर रमाएर बसेकी । कसरी नेपाल फर्केली र भन्ने सोचे तर सोचेजस्तो हुन्न रहेछ । आज न रातमा निद्रा न दिनमा भोकको अवस्थामा पुग्न बाध्य छु । के गर्ने के नगर्नेको अवस्थामा मेरा दिनहरू गुज्रँदै गएका छन् । हजुरको सहयोग सम्पूर्ण रूपमा पूर्ण चाहन्छु ।’

गाजलु ठुलाठुला आँखा, नागबेली लामो केश, सुडौला पिडौला, गहुँगोरा मिलेको जिउँडाल, अनारका दाना जस्ता मिलेका दाँत जति हेर्यो हेरूँ हेरूँ लाग्ने,  बोल्दा थकाइ नलाग्ने उसको स्वभाव । छुट्ने बेलामा उसले हात मिलाउने बाहानामा मेरा हात समाई । हात यसरी समाई कि मैले फुत्काउन खोजेर सक्थे–सक्दैनथे फुत्काउन चाहिनँ । उसले मेरा हात खेलाईरही मैले

पनि दिई नै रहेँ । आनन्द ! एक प्रकारको अद्भुत आनन्दको महसुस गर्दै गएँ । हात बेसरी अँठ्याई । म भित्र भित्र अठ्ठिइँदै गएँ । मैले अगाडि पनि पटक पटक भन्दै आएको छु । उसलाई भेटेदेखि नै मेरो मन काबुमा छैन भनेर । फेरि हात समाई थोरै आफूतिर ढल्काई र गालामा झ्याप्प म्वाइँ खाई ।

उसले जसो गरी मैले उसै गरेँ । खै म के भएँ ?  मैले मलाई बिर्सें । श्रीमती र छोराछोरीलाई बिर्सें । आमा बा भाइबहिनी आफन्त इष्टमित्र सबै बिर्सें । म को हुँ र के गर्दै छु ?  के गर्न हुने र के गर्न नहुने सबै बिर्सें । सम्झे त मात्र उसलाई सम्झें । उसले अँठ्याएका हात सम्झेँ । उसले खेलाएका हत्केला सम्झें । उसका आँखामा टिलपिलाएका आँसु सम्झेँ । उसले तानेर मलाई ढल्काएको अनि म्वाइँ खाएको सम्झेँ ।

घर फर्केपछि म, पहिलाको म जस्तो रहिनँ । रूपनारायण सिंहको ‘बितेका कुरा’ कथाको पात्रकै स्थितिमा  पुगेँ । बिहे भएपछि कहिल्यै नछोडेको श्रीमतीसँगको बिस्तारा छोडें । छोराछोरीसँगको आत्मीयता छोडेँ । आमासँगको निकटता र भाइबहिनीसँगको अपनत्व छोडेँ । छिमेकीहरूसँगको व्यवहार र अफिसप्रतिको दायित्व र जिम्मेवारी छोडें । छोड्दा छोड्दै उसका याद र साथ बाहेकका जे जति सम्बन्ध, दायित्व र जिम्मेवारीहरू रहेका थिए ती सबै छोडेँ ।

मैले छोड्दै गएँ । ऊ पनि मसँगसँगै मै जस्ती बन्दै गएकी रहिछ । उसले तारेख छोडी । घर छोडी । घरसँग जोडिएका सबै सम्बन्धहरू छोडी । अनि हामी दुवैले आआफ्ना परिवार मात्रै होइन । गाउँ छोड्यौं, जागिर छोड्यौँ, धर्म छोड्यौँ, जात छोड्यौँ, छोड्दा छोड्दै अन्तिममा कहिल्यै नफर्कने गरेर देश छोड्यौँ । -sahityapost