November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

जसले बुद्ध सर्किटको प्रवर्द्धनमा योगदान दिँदै साइकलको प्रयोग गर्न प्रेरणा दिए

भैरहवा– बुद्ध सर्किट स्थलहरुको पर्यटन प्रबद्र्धन यात्रा गरिरहेका २ सय ५० जना साइकल यात्रीकै हुलमैं थिए, काठमाडौं महानगरपालिका–२५, असनका ५४ बर्षीय पुरुषोत्तम शाहु खल । सानो उमेरदेखि नै एउटा खुट्टाले टेक्न नसक्ने भएकाले उनी बैशाखीको सहरामा हिँडडुल गर्ने गर्छन् ।

Advertisement

बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान र महत्व बिश्वव्यापी भए पनि लुम्बिनी आसपास क्षेत्रमा रहेका भगवान बुद्धसँग सम्बन्धित अन्य स्थलहरु (बुद्ध सर्किट) भने ओझेलमा छन् । नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्लामा रहेका दर्जनौं ति स्थल धार्मिक, ऐतिहासीक र पुरातात्विक महत्वका भएर पनि पर्यटकीय गन्तब्य बन्न सकेका छैनन् ।

Advertisement

पुरुषोत्तम ति सम्पदाको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन एउटा खुट्टाको सहारामा साइकलको पेडल मार्दै गत शुक्रवार र शनिवार अन्य सहयात्रीहरुसँगै यात्रामा अगाडि बढिरहेका थिए । पर्यटकिय स्थलको प्रबद्र्धनमा सहयोग पुर्याउनु बाहेक यस यात्रामा उनको अर्कोपनि उद्येश्य थियो–सर्वसाधारणलाई साइकलको प्रयोग वारेमा प्रेरित गराउनु ।

‘साइकलको प्रयोगबाट हुने स्वास्थ्य तन्दुरुस्ती, पर्याबरणीय फाइदा र सवारी साधनको इन्धन आयातका लागि बर्षेनि बिदेशिने गरेको अर्बौं रुपैयाँ जोगाउन सकिने यतार्थता बुझाउँदै सर्वसाधारणलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्न जरुरी छ’, उनले भने, ‘एउटा खुट्टाको सहायताले साइकल यात्रा गरेको मेरो दृष्य अरुका लागि अनुकरणीय बन्न सकोस् भन्ने मेरो चाहना हो ।’

साइकल यात्राको महत्वका वारेमा सर्वसाधारणलाई जागरुक बनाउन त्यस साइकल यात्रीको हुलमा अर्का अनुकरणीय यात्री थिए, बरेली भारतबाट आएका ८ बर्षीय बालक रणबीर सिंह । साइकल यात्रा गर्ने बानी सानो उमेरदेखि नै बसाल्नु पर्छ भन्ने सन्देश दिनका लागि उनी आफ्नो बावु आश्वीनी कुमार सिंहको साथमा यस साइकल यात्रामा सहभागी हुन घरबाट निस्किएका थिए ।

‘नेपाल र भारत बीचको आपसी मित्रतालाई जिवन्त राख्न यो यात्रा थप सहयोगी बनोस् भनेर म सहभागी भएको हुँ’। साइकल यात्रामा अन्य सहभागीसँगै १ सय ८० किमी यात्रा पुरा गरेका रणबीरले हिन्दीमा भने, ‘नेपालमा रहेका बुद्धसँग महत्व जोडिएका धेरै स्थलका वारेमा घुम्न पाउँदा मेरो यो साइकल यात्रा अविस्मरणीय बन्यो ।’

पछिल्लो समयमा धेरै बालबालिका मनोरञ्जनको साधनको रुपमा अनाबश्यक मोवाइल चलाउनाले स्वास्थ्यमा पार्ने असरका वारेमा अभिभावक सजग बन्दै बालवालिकालाई साइकलबाट घुम्ने बानी बसाल्नु पर्ने उनको भनाइ थियो । साइकल यात्रामैं रहेकी अर्की महिला थिइन्, भारतको जम्बुकश्मिरदेखि आएकी दन्त चिकित्सक रितु अवल । नेपालमा आप्नो सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पहिचान गराउन साइकल यात्राको आयोजना गरिएकोमा उनी धेरै हर्षित थिइन् ।

‘नेपालमा लुम्बिनी बाहेक यति धेरै स्थल बुद्धसँग सम्बन्धित रहेछन्’, उनले भनिन्, ‘कोरोनाको संक्रमणले बिश्वव्यापी रुपमा असर पारेपछि बिश्वभरी साइकल यात्राको प्रयोग बढ्न थालेको छ । यसको प्रयोगलाई भारत र नेपाल जस्ता राष्ट्रले अझ बढाउनु पर्ने आवश्यकता छ ।’

रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लामा रहेका भगवान बुद्धसँग सम्बन्धित स्थलहरु (बुद्ध सर्किट) को पर्यटन प्रबद्र्धन गर्न र साइकलको प्रयोगबाट हुने फाइदाका वारेमा जनस्तरमा जागरण ल्याउनका लागि साइकल सिटी भैरहवाले अभियानको रुपमा पहिलो पटक गत शुक्रवार र शनिवार दुई दिने ‘बुद्धज्ञान साइकल यात्रा–२०८०’ को आयोजना गरेको हो ।

लुम्बिनी गेटबाट सुरु भएको उक्त यात्रा नवलपरासीको रामग्राम, रुपन्देहीको भवानीपुर देवदह, कपिलबस्तुको तिलौराकोट, जगदिशपुर ताल, सगरहवा, गोटिहवा, कुदान, लुम्बिनी हुँदै भैरहवासम्मको १ सय ८० किमीको दुरी तय गरेको थियो । यात्रामा भारतको जमु कश्मिर, पंजाव, दिल्ली, बरेली लगायतका ठाउँबाट महिला र बालकसहित १३ जना सहभागी थिए । चीनबाट एकजना दम्पत्ति सहभागी थिए । नेपालको धरान, काठमाडौं, कीर्तिपुर, पाल्पा, पोखरा, अर्घाखाँची, बारा, घोराही, कावासोती, चितवन, धादिङ लगायतका स्थानका साइकिलिङ समूह तथा क्लबबाट साइकल यात्री सहभागी थिए ।

लुम्बिनी बाहेक अन्य बुद्ध स्थलहरुमा पुग्न यातायातको राम्रो व्यवस्था नभएकाले यात्रा सहज नभएको अवस्थामा ति स्थलको प्रचारप्रसार र पर्यटकीय प्रबद्र्धनमा साइकल यात्राकै भूमिका प्रभावकारी हुने भएकाले यो यात्राको अभियानको थालनी गरिएको आयोजक संस्था साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले बताए ।

‘लुम्बिनीसहित यस क्षेत्रमा रहेका धेरै बुद्ध सर्किटका स्थल प्रदुषण र पर्यावरणीय समस्यामा परिसकेकाले त्यसलाई जोगाउन पनि जरुरी भएको सन्देश दिन पनि यो साइकल यात्रा निकै फलदायी बन्यो’, सारुले भने, ‘साइकल यात्राको माध्यमबाट ति स्थल राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पहिचान दिन पनि सफल भए ।’

१ सय ५० मुलुकमा साइकल यात्रा गरी ति मुलुकको झण्डा सगरमाथाको सफल आरोहण गरि चुचुरोमा फहराएका विश्व साइकल यात्री पुष्कर शाह यस यात्राका प्रेरणाको श्रोत बनेका थिए । ‘हिजो बुद्ध हिँडेको पाइलालाई हामीले साइकलबाट पछ्याउदै बुद्धको माया प्रेम शान्ति र करुणाको मार्गलाई आत्मसात गरेका छौं’, शाहले भने ।

दुई दिनमा १ सय ८० किमी साइकल यात्रा गरेर बुटवल उपमहानगरपालिका ३ गोलपार्कका ११ बर्षिय मनिक श्रेष्ठ, सिद्धार्थनगर नपा ९ की ११ बर्षिया आश्वीनि खरेल लगायत अन्य धेरै यात्रीले साइकलको प्रयोगलाई प्रोत्साहित गर्नमा अनुकरणिय भूमिका निभाउँदै नया इतिहास रचेका छन् ।

यात्राको समापन समारोहमा लुम्बिनी प्रदेसका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले यो साइकल यात्राबाट बुद्ध जन्मस्ल लुम्बिनी र आसपास क्षेत्रका अन्य बौद्ध भूमिको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनमा ठूलो योगदान पुर्याएको बताए ।

‘यो अभियानप्रति लुम्बिनी प्रदेश सरकारको साथ रहने छ’, मुख्यमन्त्री चौधरीले भने, ‘लुम्बिनी प्रदेश सरकारले यो अभियानलाई अव संस्थागत रुपमैं अगाडि बढाउने छ ।’ सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खानले यो अभियानलाई निरन्तरता दिन जरुरी भएको बताए । उनले सिद्धार्थनगरमा एशियाली बिकास बैंकको सहयोगमा अव निर्माण हुने २८ किमी लम्बाइको सडकमा साइकल लेनसहितको निर्माण गरिने जनाए ।

‘यो साइकल यात्राले ओझेलमा परेका बुद्ध स्थलहरुको वारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा उजागर गरेको छ’, उनले भने, ‘सिद्धार्थनगर नगरपालिकाले साइकिलिङलाई प्राथमिकता दिँदै त्यस अनुरुपको संरचना बनाउन बजेट छ्ट्याउने छ ।’ साइकल यात्राको यो सफलताले आयोजक निकै उत्साहित बनेका छन् । साइकल सारु मगरले साइकल यात्रासंग जोडेर पर्यटन बिकास गर्न सकिने पर्यटकीय गन्तब्य स्थल प्रशस्त रहेको बताए । ‘यस अभियानको दोश्रो संस्करण आगामी बर्षमा सार्क स्तरीय साइकल यात्राको आयोजना गरिने छ’, सारुले भने, ‘दश बर्षमा भैरहवालाई दक्षिण एशियाको पहिलो साइकिलिङ सहर बनाउने प्रयत्न गरिने छ ।’