November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

प्रधानमन्त्री कपः खेलाडी चौका–छक्का बर्षाउँछन्, हेर्ने दर्शक छैनन्

भैरहवा– प्रधानमन्त्री कप राष्ट्रिय (पुरुष) क्रिकेट प्रतियोगिताका केही खेल संचालन भएसँगै भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान पुरै सजिएको छ । प्रतियोगिता स्थलमा विभिन्न झण्डा, स्पोन्सर गरिएका बिभिन्न बिज्ञापनका होडिङबोर्ड र स्वागत ब्यानरले खेलमैदान रंगीचंगी छ । दर्शकको स्वागतका लागि प्याराफिटसम्म जाने कार्पेट बिछ्याइएको छ ।

Advertisement

दर्शकका लागि धेरै सुबिधासहितको व्यवस्था रंगशालामा उपलब्ध छन् । खेलाडीले छक्का र चौका बर्षाइरहेका छन् । तर, प्रतियोगितामा दर्शकको उपस्थिति भने छैन । आयोजक, प्रशिक्षक, खेलाडी टिमका समर्थक, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र केही संचारकर्मी बाहेक सर्वसाधारण दर्शक रंगशालामा अत्यन्त न्युन छन् । मुश्किलले ५०–६० जनामात्र दर्शक । प्याराफिटमा रित्तै कुर्ची ।

Advertisement

यस प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच भएका खेलमा बाहेक अन्य खेलमा दर्शकको उपस्थिति खेल मैदानमा अति कम छ । ती खेलमा पनि सर्वसाधारण दर्शक भन्दा आफ्नो टिमको खेल भएकाले सुरक्षा निकायकैं उपस्थिति थियो ।

‘खेलाडीलाई दर्शकको संख्याले अति महत्व राख्ने गर्छ’, क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचन भन्छन्, ‘दर्शकको हुटिङ र समर्थनले खेलाडीलाई थप उत्साहित बनाउने गर्छ । दर्शक आउँदा र दर्शक सुनसान भएको वेलामा खेलाडीको खेल प्रदर्शनमा धेरै फरक पार्ने गर्छ ।’

हुस्सु, शितलहर, अत्याधिक चिसो र प्रतियोगिताको लाइभ हुने गरेकाले दर्शकको संख्या नभएको हुन सक्ने उनी बताउँछन् । ‘मान्छेसँग समय छैन । ५० ओभरको खेलमा धेरै समय लाग्ने भएर होला पछिल्लो समयमा टि–ट्वान्टीमा क्रेज बढ्दो छ’, गौचनले भने, ‘आफ्नो क्षेत्रमा यति ठूलो प्रतियोगिता हुँदैछ भन्ने आत्मबोध स्थानीयमा हुन पनि जरुरी छ ।’

नेपाल क्रिकेट संघका पूर्व कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्लले भैरहवाको मौसम अत्याधिक चिसोले प्रतिकुल रहेको र खेलको लाइभटेलिकास्ट भएकाले दर्शक कम भएको बताउँछन् । ‘क्रिकेट प्रत्यक्ष रुपमा स्थलगत हेर्ने चाहना राख्ने धेरै युवाहरु बिदेश पलायन भए । काठमाडौंमैं हुने खेलमा पनि विभिन्न बाहिरी जिल्लाबाट गएका बिद्यार्थीहरुको भिड बढि हुने हो’, मल्ल भन्छन्, ‘अन्य दर्शकले पछिल्लो समयमा प्रबिधिको प्रयोगले मोवाइल र लाइभ टिभीबाट हेर्न थाले ।’

नेपालको राष्ट्रिय क्रिकेट टिम छनौटको मापदण्ड नै यही प्रतियोगिता भएकाले यस खेलको महत्व धेरै छ । नेपाल क्रिकेट संघले आयोजना गर्ने राष्ट्रिय स्तरको ठूलो प्रतियोगिता अहिलेसम्मको यही एउटा हो । यो प्रतियोगिता काठमाडौं बाहिर पहिलोपल्ट भैरहवामा संचालन गरिएको हो ।

‘राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता संचालनका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार र सुविधा उपलब्ध भएकाले यस प्रतियोगिाताका लागि क्यानले काठमाडौं बाहिर भैरहवालाई रोजेको हो’, मल्लले भने । मल्लका अनुसार, राष्ट्रिय प्रतियोगिता संंचालनका लागि हुनु पर्ने क्रिकेट पीच, आउट फिल्डिङ, चेन्जिङ रुम, इण्डोर र आउट डोर प्राक्टिस पीच लगायतका मापदण्ड सिद्धार्थ रंगशालामा छ ।

खेलाडी र दर्शकको सुरक्षाका लागि रंगशालाको गेटमैं सुरक्षागार्डहरुको परिचालन गरिएको छ । शितलहरसहितको अत्याधिक चिसोबाट दर्शकलाई जोगाउन प्याराफिटमाथि टेन्ट टांगिएको छ । प्याराफिटमा बिशेष अतिथिलाई बस्न सोफा र सामान्य दर्शकका लागि कुर्ची राखिएका छन् ।

प्रतियोगिताको संयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा पनि प्रतियोगिताको लाइभ टेलिकास्ट गरिएको र अत्यधिक चिसोकै कारण मैदानमा दर्शकको संख्या कम भएको हुन सक्ने अनुमान गर्छन् । ‘दर्शक किन कम भए ? हामीले पनि बुझ्न नसकेको कुरा हो’, थापाले भने ।

खेल क्षेत्रमा लिनु पर्दा भैरहवा र आसपासलाई क्रिकेट सहरको रुपमा लिने गरिन्छ । भैरहवासंग जोडिएका छिमेकमा तिलोत्तमा, बुटवल, तौलिहवा र परासी सहर छन् । जहाँ बाक्लो क्रिकेट खेल प्रेमी र जनसंख्या छ । भैरहवा क्षेत्रले शक्ति गौचन, बसन्त रेग्मी, राजु खड्का, राहुल बिक, अमृत भट्टराई, सुशान भारी, साहव आलम, कुशल मल्ल, कुशल भुर्तेल र मौसम ढकाल लगायतका दर्जनौं क्रिकेटका राष्ट्रिय खेलाडीलाई जन्माएको छ । भैरहवामा प्रधानमन्त्री कपका खेलहरु आजदेखि सकिँदैछन् ।