June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

चोटहरूको भवसागर

एक्लै एक्लै टोलाउँछु म 
आफैँलाई बोलाउँछु 
सोचिरहन्छु सधैँजसो 
म जिन्दगीलाई केलाउँछु 

Advertisement

गल्ती मेरो कहाँ भयो 
कि भगवान मैले पुजिन
जीवनले मलाई जानेन कि 
मैले जीवन बुझिनँ

Advertisement

रङ्गीन हुन्छ जीवन भन्छन् 
तर जीवन खै कालो मान्छ 
थोरै खुसीले म हाँस्न खोज्दा 
हरेक मुस्कान ओरालो जान्छ 

पश्चिम पुगेको घाम जस्तै 
कहिले नसक्ने काम जस्तै 
प्रायः कतै काम नै नआउने
न्वारनमा राखेको नाम जस्तै 

रङ छैन स्वाद नि छैन 
जस्तै जीवन पानी भा’छ
के देखाउनु मैले प्रमाण 
मेरो साक्षी सिरानी भा’छ

पिडाको झन घानी भा’छ 
एक्लोपनको खानी भा’छ 
हरेक पल मलाई सताउने 
घाउहरूको त बानी भा’छ 

बढी पिरोल्ने सोच नै सोच्ने 
मस्तिष्कको मनोमानी भा’छ 
सम्झेर पनि बिर्सिन्छु म
पागल झैँ जिन्दगानी भा’छ 

बाटो कतैकेहीँ देख्दिनँ म 
उल्झनहरूमा अल्झेको छ 
चोटहरूको भवसागर गहिरो
यो छातीभित्र बल्झेको छ 

आफैँ छु म आफ्नो साथी 
आफैँले नै आफूलाई सुन्छु 
आफैँले नि बुझ्दिनँ आफू
आफ्नो आँशु आँखामै थुन्छु 

सपना पनि आफैँ बुन्छु
आफैँसँग एक्लो हुन्छु 
आफ्नै छाती कालो हुन्छ
आफ्नै आँशुले ती दाग धुन्छु 

आफ्नो काखमा आफैँ रुन्छु
आफ्नै सोचको माला उन्छु
देखेर नि देख्दिनँ आफैँ
आफ्नो आँखा म आफँै मान्छु

आफैँ आफ्नो दास छु म 
अब न कसैको खास छु म 
मैले बाँच्नु मर्नु फरक छैन 
एउटा जिउँदो लास छु म । -ratopati