सन्ध्यालाई प्रहरीले लागूऔषधमा फसाएको दावी, खेत बन्धकी राखेर मुद्दा लड्दै प्रभु


भैरहवा– साइकलमा तरकारीको भारी लोड गरेर तीन घण्टाको यात्रापछि बुटवलको मिलनचोक पुगेका रुपन्देहीको मायादेवी–२, महादेवाका ३६ वर्षीय प्रभु मल्लाह तरकारी विक्रीमा व्यस्त थिए । साँझ ग्राहकसित तरकारीको मोलतोल गरिरहेका थिए । गत असोज ९ गते साँझ भतिजाले घरबाट फोन गरेर ‘काका छिटो आउनुस्’ भने । तरकारी विक्री गरेर प्रत्येक दिन राति १०–११ बजे घर पुग्ने प्रभुको मन अत्तालियो । भतिजाले छिटो बोलाउनुको कारण भने खुलाएनन् ।
सडक किनारमा घर भएकाले परिवारका सदस्य दुर्घटनामा परेको आशंकामा तरकारी बोरामा हालेर थन्क्याए । साइकल चलाएर घर फर्किन थाले । साइकलमा घर पुग्न तीन घण्टा लाग्छ । त्यसैले गाउँबाट छिमेकीहरु उनलाई लिन मोटरसाइकलमा आधा बाटोसम्म पुगे । ‘साइकल काखमा राखेर मोटरसाइकलमा चढेर आए,’ बिहीबार प्रभुले भने, ‘घर आएपछि श्रीमतीलाई पक्राउ गरेको जानकारी भयो ।’ श्रीमती पक्राउ परेको डेढ घण्टापछि घर पुगेको उनले बताए । श्रीमती सन्ध्यालाई पक्राउ गरेर प्रहरीले नजिकै रहेको रमही मल्लाको घरमा राखेको थियो । त्यसपछि प्रभु छिमेकी रमहीको घरमा पुगे । पुग्ने वित्तिकै प्रहरीले सन्ध्यातर्फ इशारा गरेर ‘यो तेरो श्रीमती हो ?’ भनेर सोध्यो ।
प्रहरीले लागूऔषध कारोबार गरिरहेको अवस्थामा सन्ध्यालाई पक्राउ गरेको जानकारी दियो । ‘मेरो श्रीमतीले यस्तो गर्दैन भने,’ प्रभुले भने, ‘प्रहरीले जबरजस्र्ती यसैले कारोबार गरेको हो भन्यो ।’ त्यसबेला पत्नीलाई हतकडी लाएर राखेको देखे । हातमा मोवाइल थियो । साँझ प्रहरीले मुचुल्का उठायो । मुचुल्का लेख्ने बेला प्रहरीले सन्ध्याको हातमा भएको मोवाइलबारे बुझनुपर्ने भएकाले हिरासतमा लिनु परेको जानकारी दियो । प्रभुका अनुसार मोवाइल सम्पर्कबारे बुझेपछि सन्ध्यालाई घर पठाइदिने प्रहरीले बताएका थिए । यति भनेपछि गाउँलेले मुचुल्कामा हस्ताक्षर गरेको दावी प्रभुले गरे । ‘तर, मुचुल्कामा त सन्ध्याको हातमा लागू औषध भेटिएको उल्लेख रहेछ,’ उनले भने, ‘प्रहरीले गाउँलेलाई झुक्यायो, मेरो परिवारको बिजोग बनायो । मलाई न्याय चाहियो ।’
पत्नी पक्राउ परेदेखि प्रभुले बुटवल पुगेर तरकारी कारोबार गर्न छाडेका छन् । घरमा तीन छोराको रेखदेख र श्रीमतीलाई छुटाउन हारगुहार गर्दै उनको दिन बितिरहेको छ । परिवारमा उनी, श्रीमती र तीन छोरा छन् । आमा पक्राउ परेपछि कान्छो छोरालाई मावली पठाएका छन् । दुई छोरा घरमै छन् । उनीहरुको चुलो बलेको छैन । दाजु–भाउजु, बुहारीले आलोपालो खाना खुवाइरहेका छन् । सन्ध्यालाई पक्राउ गरेको अर्कोदिन स्थानीय बासिन्दा ट्याक्टरमा इलाका प्रहरी कार्यालय सूर्यपुरा पुगेका थिए । सूर्यपुराबाट उनलाई अनुुुुुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइसकेको जानकारी थिए ।
लागू औषध कारोबारमा सन्ध्याको संलग्नता नरहेको दाबी गर्दै स्थानीय इलाका प्रहरी लुम्बिनीसम्म पुगेको प्रभुले बताए । लुम्बिनी पुग्दा प्रहरीले सन्ध्यालाई भैरहवा लगिसकेको जानकारी दियो । परिवारका अनुसार सन्ध्यालाई अहिले इलाका प्रहरी कार्यालय बेथरीको थुनुवा कक्षमा राखिएको छ । गाउँको संकलन केन्द्रबाट दिनहुँ २–३ हजार रुपैयाँको तरकारी खरिद गरेर बुटवल पुर्याएर विक्री गर्ने प्रभुले मुश्किलले दिनमा पाँच सय रुपैयाँ बचत हुने गरेको बताए । ‘श्रीमती पक्राउ परेपछि त्यो आम्दानी गुम्यो,’ उनले भने, ‘छुटाउन दौडधुप गर्दागर्दै खर्च नभएर जग्गा बन्धकी राख्नु पर्यो ।’ उनका ६ दाजुभाई छन् । उनको भागमा चार कट्ठा जमिन छ । त्यही जमिन पत्नीलाई छुटाउन एक लाख रुपैयाँमा बन्धकी राखेको उनले बताए ।
एक लाख रुपैयाँ ऋण दिएर स्थानीय जोगिन्द्र मल्लाहले उनको जमिन जोतभोग गरिरहेका छन् । प्रभुले एक लाख रुपैयाँ चुक्ता गरेपछि मात्रै जमिन फिर्ता मिल्ने बताए । ‘तीन महिना भनसुन, थाना, प्रहरी चौकी धाउँदैं बित्यो,’ उनले भने, ‘सरकारी वकिलकोमा जान्छु, मिशिल के भयो भन्छु, माथिबाट आएको छैन भन्दै फर्काउँछन् ।’ प्रभु तरकारी विक्री गर्न बुटवल गएका बेला सन्ध्या घरमा रहेको मेशिनले लुगा सिलाउँथिन । गाउँघरमा सधै लुगा सिलाउने काम मिल्थेन । कहिलेकाही लुगा सिलाएर हुने आम्दानीले नुनतेल चल्थ्यो । बिहीबार घरमा पुग्दा मेशिन कुनामा थन्किएको थियो । प्रभुले आफ्नो भागमा परेको एउटा कोठामा पाँच जनाको परिवार बस्ने गरेको बताए । त्यही कोठाभित्र एक थान सिलिण्डर, ग्यास चुलो, केही थान थाल, लोटा र बाटा थिए । कोठाभित्र एउटा पलङमा छोराहरु सुत्ने गरेको उनले बताए । ‘बुढाबुढी भुईमा सुत्थ्यौं,’ उनले भने, ‘घर भन्दा नि डेरा जस्तो छ ।’
प्रभुकी दिदी मुन्नी मल्लाहाको घर नजिकै छ । मुन्नीका अनुसार सन्ध्यालाई प्रहरीले उनकै घरबाट पक्राउ गरेर लगेको थियो । ‘सन्ध्या आफ्नो माइतीसत मोवाइलमा फोन गरिरहेकी थिइन,’ मुन्नीले भनिन्, ‘त्यहीबेला पुलिस आएर घरभित्र पसेर पक्राउ गरेर लग्यो ।’ लागूऔषध अन्त बरामद गरेको प्रहरीले आफ्नो घरमा आएर सन्ध्यालाई पक्राउ गरेको मुन्नीले दाबी गरिन् । सन्ध्याकी जेठानी सुमीत्रा मल्लाहाले पनि मुन्नीको कुरामा सही थापिन । ‘सन्ध्याले फोनमा कुरा गर्ने बेला म साथै थिए,’ उनले भनिन्, ‘पुलिस मोटरसाइकलमा आएका थिए, मोटरसाइकल घर छेउमा राखेर सादा पोसाकमा पुलिसले पक्राउ गरेर लगे ।’ प्रहरीको हातमा बाँसको ठूलो भाटा देखेको उनले बताइन् । गाउँमा कहिल्यै नआउने प्रहरी आएपछि स्थानीय डराएको उनले बताइन् । सन्ध्यालाई घरबाटै जबरजस्र्ती लगेको सुमीत्राको दाबी छ । ‘मेरो देउरानी हो, किन समातेको हो भनेर सोधे,’उनले भनिन, ‘तै पनि लगिहाले ।’
स्थानीय पूर्णबासी गुप्ताका अनुसार प्रभुका भाईबुहारीले खबर गरेपछि सन्ध्यालाई पक्राउ गरिएको जानकारी पाए लगत्तै आएको बताए । घटनास्थलमा आएपछि प्रहरीले सन्ध्यालाई लगेर छिमेकी रमही मल्लाहाको घरमा राखेको देखेको उनले बताए । ‘किन पक्राउ गरेको हो भनेर सोध्दा प्रहरीले मोवाइल चेक गरेर भोलि फिर्ता पठाउँछु भन्यो,’ उनले भने, ‘अर्को दिन सबै गाउँले सूर्यपुरा इप्रकामा जाँदा लुम्बिनी पुर्याइसकेको जनायो ।’ त्यसपछि गाउँलले मिलेर स्थानीयदेखि जिल्ला प्रहरीसम्म यथार्थ बुझाएपछि छाड्न नमानेको उनले दाबी गरे ।
छिमेकी रमहीको घरमा लागूऔषधको कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । स्थानीयका अनुसार सादा पोशाकमा पुगेका एक पुरुष र महिला प्रहरीले सुरुमा खरिदकर्ता बनेर रमहीको घरबाट ब्राउनसुगर किने । महिला प्रहरी ब्राउनसुगर किनेपछि पुरुष प्रहरीले नजिकैको इलाका प्रहरी कार्यालय, सूर्यपुरामा फोन गर्न लाग्दा रमहीको परिवारले सुइको पायो र महिला प्रहरीमाथि हातपात गरे । सूर्यपुराबाट थप प्रहरी बल आउँदासम्म रमही, उनकी श्रीमती सीमा भाइबुहारी दिनेश र दुर्गावती तथा धम मल्लाह फरार भइसकेका थिए । थप प्रहरी बल आएपछि प्रहरीले गाउँमा खानतलासी सुरु गर्यो । त्यही क्रममा आफ्नो माइतीसँग मोबाइलमा कुरा गर्दै घर अगाडिको सडक छेउमा रहेको आफन्तको घर पुगेकी सन्ध्यालाई प्रहरीले पक्राउ गरेर रमहीको घरमा लग्यो । हथकडी लगायो र साथबाट ३३ ग्राम १ सय १० मिलिग्राम ब्राउनसुगर बरामद भएको जनाएको स्थानीयको दावी छ ।

‘आफैले किनेको लागूऔषध प्रहरीले सन्ध्याको हातबाट फेला परेको भनेर फसायो’, प्रभुले भने । अहिले उनै सन्ध्यालाई लागूऔषध ब्राउनसुगरको कारोबार संलग्न भएको आरोप लगाई प्रहरीले करिब तीन महिना लगाएर अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय, भैरहवामा फाइल बुझाएको छ । प्रहरीले रमहीको घरको कोठाबाट ३३ ग्राम ४ सय ८० मिलिग्राम ब्राउन सुगरसमेत उसबेला बरामद गरेको थियो । अर्कैको घरमा लागूऔषध भेटिएको र प्रहरीलाई कुटपिट गरेर भागेका रमहीका परिवारलाई उम्काउन सन्ध्यालाई मुख्य प्रतिवादी बनाएर मुद्दा चलाएको भन्दै परिवारसँगै स्थानीयले न्याएको माग गरेका छन् ।
बिहीबार पनि घरमा ६० जनाभन्दा बढी गाउँले भेला भएर सन्ध्याले न्याय पाउनु पर्ने माग गरिरहेका थिए । परिवार, स्थानीयको भनाई र घटनास्थलका केही तथ्यले सन्ध्यालाई फसाइएको आशंका गर्ने ठाउँ छन् । घटनाका प्रत्यक्षदर्शी जोगिन्दर लोधले सन्ध्यालाई पक्राउ गरेर रमहीको घरमा पुर्याएको प्रहरीले मुचुल्कामा पाँच जनाको हस्ताक्षर जरुरी रहेको बताउँदै स्थानीयलाई हस्ताक्षर गर्न पठाएको थियो । ‘मैले मुचुल्का पढ्न दिनुस् भने,’ उनले भने, ‘कागजको बीचमा खाली राखिएको थियो, सन्ध्यालाई लगेर मोवाइल जाँच गरेपछि छाड्छौं भने, त्यसपछि गाउँलेले सही गरे ।’ उनका अनुसार सन्ध्या र रमहीकी बुहारी धमाको अनुहार मिल्दो छ । शरीर र कदकाटी पनि एउटै छ ।
अनुहार एउटै देखेर झुक्किएर पक्राउ गरेको हुन सक्ने उनले बताए । कहिल्यै प्रहरी, प्रशासन नदेखेका स्थानीयले डराएर हस्ताक्षर गरेको उनले बताए । ‘रमहीको घरमा कारोबार भएको भनिएको छ,’ उनले भने, ‘पक्राउ अर्कै व्यक्तिलाई अर्कै घरबाट गरिएको छ ।’ अहिले रमहीको घरमा आमा र कान्छो भाइ मात्रै छन । तीन बुहारी र दुई भाई घटनाको मितिदेखि फरार छन् । उनीहरुका बस्तुभाउ आफन्तले लगेका छन् । रमहीको खेतीपाती पनि आफन्तले नै स्याहारेको छिमेकीले जानकारी दिए ।
मायादेवी गाउँपालिका–२ का वडाध्यक्ष अग्लु यादवले पनि सन्ध्यालाई विनाकारण प्रहरीले पक्राउ गरेको जनाए । उनले न्याएका लागि पहल भइरहे पनि प्रहरीले नछाडेको सुनाए । रुपन्देही प्रहरीले भने स्थानीय रमही मल्लाहाको घरको कम्पाउण्डभित्र लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सन्ध्याका साथबाट ब्राउनसुगर बरामद भएपछि पक्राउ गरेर अनुसन्धान गरेको जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले कसैलाई फसाउने उद्देश्य नभई घटनास्थलमा भेटिएको प्रमाणका आधारमा मुद्दा चलाएको दावी गरे ।
ब्राउनसुगर बरामद भएको घरको छिमेककी सन्ध्या अहिले इलाका प्रहरी कार्यालय, बेथरीको हिरासतमा छन् । उनीमाथिको अनुसन्धान इलाका प्रहरी लुम्बिनीले गरेको थियो । तर, ब्राउनसुगर कारोबार भएको रमहीका कुनै परिवार पक्राउ परेका छैनन् । उक्त घरका पाँचजना फरार छन् । स्थानीयले भने प्रहरीले प्रहरीलाई नै कुटपिट गरेर फरार भएका लागूऔषध कारोबारीलाई उम्काउन आर्थिक चलखेल गरेर खेतीकिसानी गरेर जिविका चलाउने निर्दोष परिवारका सदस्यलाई फसाएर अन्याए गरेको भन्दै न्याएको माग गरेका छन् । सन्ध्यामाथि लागूऔषध कारोबार ऐनअनुसार हदैसम्मको सजाय माग दावीसहित प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ ।









लेखकको सम्वन्धमा