November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

सडक नै गोठ बनेपछि…

भैरहवा– स्थल र हवाई नाकाको सहर भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार । सिमावर्ती सहर भएर सयौं पर्यटक मुलुक भित्रिने र बाहिरिने गर्छन् । डेढ वर्षयता भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि होटल र रेष्टुराँमा लगानी बढ्दो छ । सहरलाई सुन्दर बनाउन सिद्धार्थ नगरपालिकाले बेलाबेला सौन्दर्यकरणका काम पनि गर्छ । पर्यटक पोखरा घुम्न जाँदा त्यहाँको सफाई र सत्कारले लोभ्याउँछ । यहाँ भने त्यस्तो छैन । यहाँ ज्यान जोगाएर यात्रा गर्नुपर्छ ।

Advertisement

सोमबार साँझ भैरहवा विमानस्थलबाट देवकोटा चोकतर्फ आइरहेका स्थानीय अनमोल गुप्तालाई मोटरसाइकल चलाउन धौंधौं भयो । विमानस्थलदेखि देवकोटाचोक खण्डका विभिन्न स्थानमा गाइबस्तु बसिरहेका थिए । केही स्थानमा उभिरहेका थिए । उक्त मार्गमा सडक बत्ती छैन । जसले गर्दा अध्याँरोमा अगाडि केही देखिँदैनन् । ‘धेरै ठाउँमा गाइगोरुसित ठोक्किन लाग्दा भाग्यले बचेँ,’ उनले भने, ‘अन्धकारमा केही देखिँदैन । नजिकै पुगेपछि गोरु हुन्छन् । तिव्र गतिमा चलाउनेलाई त जोगिन गाह्रो छ ।’

Advertisement

यो त उदाहरण मात्र हो । सहरको मुख्य सडक बैंक रोड, आवारोड, लुम्बिनी सडकमा सडकमै गाइबस्तुको बास हुन्छ । दिनभरि लाखापाखा लागेका बस्तुभाउ साँझ परेपछि सडकमा आइपुग्छन् । यस्ता खुला बस्तुभाउका लागि सार्वजनिक सडक नै गोठमा परिणत भएका छन् । रातभरि गाइबस्तु बस्ने भएकाले बिहान सडकमा गोबर नै गोबर हुने गर्छ । रुपन्देहीका तिलोत्तमा, बुटवल, सैनामैना जताततै सडक गोठ बनेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी सबैभन्दा ठूलो गोठ बनेको छ ।

लुम्बिनीमा बाहिर र भित्र जताततै अहिले गोबर मात्रै देखिन्छ । गोबर गन्हाएर यात्रुलाई स्वास फेर्न कठिनाई हुने अवस्था छ । मायादेवी मन्दिर अगाडिदेखि शान्ति दीपसम्म गोबर फिंजारिएको देखिन्छ । गाडी गुड्ने मात्र होइन, पैदल मार्ग समेत गोठमा परिणत भएका छन् । सबैभन्दा ठूलो समस्या कपिलवस्तुमा देखिन्छ । कपिलवस्तु जिल्लाभरका सडक अहिले गोठ बनेका छन् । एक वर्षयतादेखि तौलिहवाका हाटबजार र फुटपाथका ब्यसायीका लागि यस्ता बस्तुभाउ समस्या बनेका छन् ।

कपिलवस्तु नगरपालिका ३, सडवाका कृषक मनगठ्ठु यादव छाडा बस्तुभाउका कारण तनावमा परेका छन् । ऋण गरेर १० कठ्ठामा लगाएको सावित्री धान खाएर हैरान बनाएका छन् । ‘रातिराति गोठाला लाग्नु परेको छ’, उनले भने, ‘नभएर क्षति पुर्याउँछन् ।‘ कृषकहरु रातभरि नसुतेर धान जोगाउनु परेको उनी दुखेसो गर्छन् ।

अहिले यहाँको दक्षिणी सीमाका पालिकामा छाडा चौपायाले जनजीवन नराम्ररी प्रभावित बनाएका छन् । लुम्बिनी–तौलिहवा सडक खण्डको लवनी, पकडी, बर्रोहिया र दोहनी चोकमा छाडा चौपाया सडकमै बस्दा बाटो असहज बन्ने गरेको छ । सदरमुकाम बजार क्षेत्रको जमुवार, जिल्ला प्रशासन, नयाटोल, गौढी चौक, आनन्दबाग र भिक्षु चोकका सडकमा पनि छाडा चौपाया हुलका हुल बस्ने गरेका छन् ।

सदरमुकामका सडकभरि छरिएर बस्ने गरेका छन् । उनीहरुले सडकै गोठ बनाएका छन् । त्यही बस्ने, त्यही खाने गर्छन् । जताततै गोबरै गोरब देखिन्छ । सडक गोबरले फोहर बनेको छ । बढ्दो छाडा चौपायाका कारण सर्वसाधरणलाई तौलिहवा बजारमा हिँडडुल गर्न निकै समस्या भइरहेको छ । दुई र चार पाँग्रे सवारीसाधनलाई आउजाउ गर्न उस्तै गाह्रो छ । चौपाया उस्तै अटेरी छन् । ‘हर्न लगाउँदा पनि उठ्दैनन्’, मिनि बस चालक श्याम चौधरीले भने, ‘हचालक गएर बाटोबाट उठाएर धपाउनु पर्छ ।’

छाडा चौपायाले सदरमुकाम तौलिहवाका सडक, चोक, गल्ली र हाटबजारमा निकै समस्या थपेका छन् । राति परेपछि धानबाली खान खेतमा जान खोज्छन् । कृषकले धपाउँदै सहर, नदी चौरतिर पठाउँछन् । एक त साँघुरो बाटो त्यसमाथि सडकमै राखिएका ठेला पसलले सास्ती भोगेका सर्वसाधारणलाई हिँडडुल गर्न छाडा चौपायाले समस्या थपेका छन् । बाटोमा चौपया जुध्ने, बिक्रीका लागि राखिएको फलफूल र तरकारी खाइदिने समस्याले तौलिहवाका ब्यवसायी हैरानी परेका छन् ।

‘एकछिन आँखा चिम्ल्यो कि गाईगोरुले तरकारी खाइदिन्छन्,’ गौढी चोकका ब्यापारी मदन गुप्ताले भने, ‘गाईगोरुले निकै हैरान थपेका छन् ।’ त्यस्तै उनीहरुले दिनभरी नै आहार खोज्दै बजार चाहर्ने गरेका छन् । चौपायाले गर्ने जथाभावी दिशापिसाबकै कारण बजारमा दुर्गन्ध बढ्दै गएको छ । बजार हुँदै गाउँगाउँमा समस्या बढ्दै गएपछि यशोधरा, शुद्धोदन र कपिलवस्तु नगरपालिकाका केही वडाले गोठाला राखेर चौपायाको हेरचाह थालेका छन् । गोठालाले बालीनालीलाई हानी नोक्सानी पुर्याउन नदिई हेर्ने गरेका छन् ।

चौपायाले गर्दा निक्कै समस्या भइरहेको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले बताए । ‘यसको ब्यवस्थापनका लागि कुनै ठोस योजना बनाउन सकेका छैनौं’, उनले भने, ‘नजिकको बुद्धभूमि नगरपालिकाले वन क्षेत्रमा गौलाशा बनाउन काम थालेको छ । त्यही हामी छुट्याएको २० लाख बजेट दिएर सहकार्य गर्न योजना बनाएका छौं ।’ कपिलवस्तु नगरपालिकासहित शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिका तथा महाराजगंज, बुद्धभूमि र कृष्णनगर नगरपालिकामा यो समस्या बढ्दो छ । पश्चिम नवलपरासीमा पनि समस्या उस्तै छ । रुपन्देहीको सबैभन्दा ठूलो शहर बुटवलमा स्थानीय, चालक, पैदलयात्री र व्यापारीले छाडा चौपायाकै कराण सास्ती खेपिरहेका छन् ।