November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

बालसुधार गृह ‘लागूऔषधका अखडा’

भैरहवा– कानूनको विवादमा परेका (बालबिज्याइँ) लाई विवाद निरुपण नहुँदासम्म अथवा अभियोग पुष्टि भएमा बाल सुधारगृहमा राखिन्छ । अभियोग लागेका बालकलाई सुधार गर्ने उद्देश्यले मुलुकका विभिन्न सहरमा बालसुधार गृह सञ्चालन गरिएका छन् । त्यस्ता गृहमा राखिएका बालबालिकाको आचरणमा सुधारको साटो उनीहरु निरन्तर हिंसा र झडपका घटना संलग्न भइरहेका छन् । एकपछि अर्को घटना हुन थालेपछि अहिले यस्ता गृहलाई ‘अपराधी’ उत्पादन केन्द्रका रुपमा विश्लेषण गर्न थालिएको छ ।

Advertisement

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न बालबालिकालाई सुधार गरेर सामाजिक जीवनमा पूनस्र्थापित गर्ने गृहको लक्ष्य हो । पछिल्लो समय गृहभित्रै सुधारका क्रियाकलाप देखिएका छैनन् । उल्टो यस्ता गृह लागूऔषध अखडा बनेको आरोप लाग्न थालेको छ । सुरक्षा घेराभित्र रहेका बालबालिका समक्ष लागू औषध कसरी पूर्ति भइरहेको छ ? यो चिन्ताको विषय हो ।

Advertisement

सुधार गृहमा तनाव श्रृंखलाको सुरुवात रुपन्देहीको भैरहवाबाट भएको थियो । एक वर्षअघि भैरहवामा रहेकाले गृह यहाँ रहेका बालकले तोडफोड र आगजानी गरेका थिए । त्यसक्रममा उनीहरुले गृहको मुख्य द्वारमा करेन्ट लगाएका थिए । जिल्लास्थित उच्च सुरक्षा अधिकृत ठूलो दुर्घटनाबाट बचेका थिए । गृह सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी घाइते भएका थिए । दिनभरि जसो त्यहाँ रहेका बालकले उग्र प्रदर्शन गरेका थिए । उक्त घटनापछि भैरहवा सुधार गृहमा रहेका बालकलाई बाँकेको नेपालगन्ज र भक्तपुर स्थानान्तरण गरिएको थियो ।

भैरहवामा रहेको प्रदेशस्तरीय सुधार गृह प्रमुखका अनुसार गृहभित्रका बालबालिकाले गाँजा र लागू औषध सेवन गरेको पाइएको थियो । उनीहरु समक्ष लागूऔषध, मदिरा र सूर्ति, चुरोट पुग्ने गरेको सार्वजनिक भएको थियो । गृहमा रहेका बालबालिकाको अश्लिल क्रियाकलापले आसपासका बासिन्दा आजित थिए । स्थानीयले यस्तो अराजकताबिरुद्ध सरकारी निकायमा गुनासो गरेका थिए ।

भैरहवाबाट सुरु भएको अराजकताको श्रृंखला भक्तपुर, बीरगन्ज हुँदैं बाँकेको नेपालगन्ज पुगेको छ । नेपालगन्जमा एक महिना अघि समेत तनाव भएको थियो । पर्साको बीरगन्ज र भक्तपुर सुधार गृहमा समेत हिंसात्मक झडप भएको थियो । मुलुकमा ठूला सहरको मध्य भागमा रहेका गृह नै असुरक्षित बनेपछि अभिभावक चिन्तित छन् । झडपका घटनासँगैं बालबालिकाले लागूऔषध सेवन गरिरहेको र उनीसमक्ष आपूर्ति भइरहेको पाइएपछि अभिभावक तनावमा परेका हुन् ।

बाँकेको नेपालगन्जमा बिहीबार र शुक्रबार भएको घटनापछि लागू औषध सेवन छरफष्ट भएको छ । बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा १६ घण्टा तनाव भएको थियो । सुधार गृहमा राखिएका बालबालिकाबीच कुटाकुट भएपछि बिहिबार राति सुधार गृह तनावग्रस्त बनेको थियो । गृहका बालबालिका दुई समूहमा विभाजित भएर आपसमा भिडेका थिए । जिल्ला प्रशासनका अनुसार शुक्रबार अपरान्ह तीन बजे गृहको तनाव साम्य भएको थियो । त्यसअघि दिनभर बालबालिकाले गृहभित्र तोडफोड र प्रदर्शन गरेका थिए ।

उनीहरुले भवनका सरिया उखेलेका थिए । झयालका सिसा र ढोका फुटालेका छन् । उनीहरुले गृहभित्रका महत्वपूर्ण संरचना तोडफोड गरेका छन् । उनीहरुले गृहको सुरक्षार्थ तैनाथ सुरक्ष्नाकर्मीमाथि आक्रमण प्रयास गरेका थिए । सुधारगृहका अनुसार बिहीबार राती एउटा समूहले भवनमा आगजानी गरेको थियो । त्यसपछि त्यहाँ रहेका दुइ समूहबीच भएको झगडाले उग्र रुप लियो । त्यसक्रममा भएको झडपमा परेर रुपन्देहीको कञ्चन गाउँपालिका–४, का १८ बर्षीय सुलभ केसीको मृत्यु भयो । उक्त झडपमा १० जना घाइते भएका छन् ।

घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । चार जनाको अवस्था गम्भीर रहेको बालसुधार गृहकी प्रमुख विमला काउचा मगरले बताइन् । उनका अनुसार बिहीबार राती बालबालिका उत्तेजित बनेका थिए । उनीहरुले प्रहरीलाइ अश्लिल शब्द बोल्दै आफूहरुलाइ बालक ठाने पनि सजाय त्यस अनुरुप नगरिएको भन्दै आक्रोश पोखेका थिए । सुधार गृहमा रहेका एक बालकका अनुसार दुइ समूहमा विभाजन भएपछि बिबाद हुँदा तनाव भएको हो । तनाव भए पनि प्रहरीले घटना रोक्न पहल नगरेको उनले बताए ।

उनले आफ्नो टाउको र हातमा चोट लागेको बताए । ‘हामीलाइ सुधार गृहमा राखिएको छ,’ उनले भने, ‘१६ वर्षसम्म सजाय सुनाइएको छ ।’ यहाँस्थित बाल गृहमा यसअघि पनि बिबाद र झडप हुँदैं आएको छ । एक महिना अघि गृहका एक बालकले ड्यूटीमा तैनाथ प्रहरी सहायक निरीक्षक (असइ) माथि आक्रमण गरेका थिए । त्यसबेला पनि बालबालिकालाइ सम्झाउन प्रहरीलाइ सकस परेको सुधार गृहले जनाएको छ । पछिल्लो समय सुधार गृहमा गाँजा, लागूऔषध सेवनकर्ता बढेकाले तनाव बढेको सुधार गृह प्रमुख काउचा मगरले बताइन् ।

‘उमेर पुगेकालाइ स्थानान्तरण नगरेसम्म समस्या कम हुने अवस्थामा छैन,’ उनले भनिन्, ‘रोकतोक गर्दा उल्टै प्रहरीलाइ आक्रमण गर्छन् । आफ्नो ज्यान बचाउन पनि धौं–धौं भयो ।’ उनका अनुसार सुधार गृहमा रहेका बालबालिकालाई उनीहरुका परिवारका सदस्यले मात्र भेट्न पाउँछन् । तर, आफन्त बनेर सुधारगृहका बालक भेट्न आउने धेरै हुने गरेका छन् । ‘सुधार गृहमा गाजा खाने समूहलाइ खोजीरहेका थियौ,’ प्रमुख काउचा मगरले भनिन्, ‘अहिले त लागूऔषध पनि सेवन गर्दै आएको भेटियो ।’ लागूऔषध सेवनकर्ताले बालसुधार गृहको वातावरण खलबल्याइ दिएको उनको भनाइ छ । सुरक्षाकर्मी र ब्यबस्थापन पक्षको निगरानी कम हुँदा पनि गृहमा लागूऔषध प्रयोगकर्ता बढेको यहाँ रहेका बालकका आफन्तले बताएका छन् ।