मर्चवारबासीको पीडाः डुंगा चलाउन एसएसबीले रोक्यो, ट्युवमा जोखिम मोलेर नदी वारपार


भैरहवा– दूरी नजिक भएपछि रुपन्देहीको मर्चवारका स्थानीय बासिन्दा भैरहवा, बुटवल भन्दा भारतीय बजारमा किनमेलका लागि पुग्छन् । तर, सीमा क्षेत्रमा रहेको डण्डा नदी यहाँका बासिन्दाको तगारो बन्दै आएको छ । नदीमा पुल छैन । जसले गर्दा लामो समयदेखि स्थानीयले डुंगामार्फत नेपाल–भारत आउजाउ गर्छन् । भदौयता भने भारतीय सीमा सुरक्षा बल एसएसबीले डुंगा संचालनमा रोक लगाएपछि स्थानीयले जोखिम मोलेर ट्युवमार्फत् ओहोरदोहोर गरिरहेका छन् ।
यसबाट स्थानीयले सास्ती मात्रै पाएका छैनन्, जनधनको क्षति हुने जोखिम बढाएको छ । एसएसबीले डुंगाा चल्न नदिएपछि स्थानीयहरु अहिले बस, ट्याक्टर लगायतका ट्युबमा हावा भरेर त्यसैको सहारामा ज्यानै जोखिममा राखेर नदी तर्न बाध्य छन् । स्थानीय दैनिक उपभोग्य सामान, साइकल, खाद्यान्न लगायत पनि ट्युवमा राखेर नदी तार्ने गरेका छन् ।
दूरीका हिसाबले भैरहवा, बुटवल भन्दा भारतीय बजार कुलही, पुरहवा, सनपतिहा, पैसिया, चण्डी र नौतनवा नजिक पर्ने भएपछि मर्चवारबासी भारतीय बजार जाने गर्छन् । दैनिक उपभोग्य सामान खरिदसँगै विरामी हुँदा उपचार गर्नसमेत भारतीय बजार पुग्छन् ।
कयौं भारतीयको नेपालतर्फ र नेपालीको भारततर्फ बिहेबारी भएको छ । तर, मर्चवारबाट भारतीय बजार जोड्न डण्डा नदीमा पुल छैन । पुल नभएपछि मर्चवारका स्थानीय डुंगामार्फत् जोखिम मोलेर आउजाउ गर्छन् । त्यही डुंगा चलाउनमा पनि भारतीय सुरक्षाकर्मीले रोक लगाएपछि समस्या भएको स्थानीय मिश्रीलाल लोनियाले दुखेसो पोखे । ‘पर्व नजिक आउँदैछन्, सामान लिन जान, छोरीचेली घरमाइत गर्न पनि समस्या भयो’, उनले भने, ‘एसएसबीलाई कसले भनेर हुन्छ, डुंगा चल्न दिन भन्नु पर्यो ।’

ट्युबमा भन्दा डुंगामा नदी पार गर्दा जोखिम कम हुन्छ । तर, लामो समयदेखि यहाँ संचालित डुंगा एसएसबीले चल्न नदिँदा स्थानीय मर्कामा परेका हुन् । केही दिन अघि मर्चवारी–१ का ४ जना युवा भारतमा रोजगारी गर्न जाने क्रमामा ट्युवमार्फत् नदी तर्दा बगेका थिए । पौँडी खेलेर ज्यान जोगाए पनि उनीहरुका झोला, मोबाइल, पैसा सबै भिजेपछि दिल्लीतर्फ रोजगारी गर्न हिँडेका उनीहर घर फर्किएका थिए । ‘डुंगा नचल्दा अहिले यस्ता घटना दैनिकजसो घट्ने गरेका छन् । मानवीय क्षति नभए पनि धनमालको क्षति सधैंजसो हुने गरेको छ’, स्थानीय महेन्द्र मल्लाहले भने, ‘हाम्रो पीडा कसले बुझिदिने ? सरकारले समन्वयन गरे हुन्थ्यो ।’
हुनत सीमा क्षेत्रका नेपालीलाई भारतीय सुरक्षाकर्मीको ज्याददी नयाँ होइन् । विगतदेखि नै कुनै न कुनै बहानामा भारतीय सुरक्षाकर्मीले नेपालीलाई यसीगरी दुःख दिँदै आएका छन् । पछिल्लोपटक भारतीय सीमा सुरक्षा बल एसएसबीले डुंगा संचालनमा रोक लगाएपछि यहाँका बासिन्दा समस्यामा परेका हुन् । स्थानीयले एसएसबीको ज्यादतीले आफूहरु हैरानी भएको समेत गुनासो गरेका छन् ।
मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले डुंगा संचालन गर्न दिन अनुरोध गर्दासमेत भारतीय एसएसबीले बेवास्ता गर्दै आएको बताए । ‘हामीले पहल गरेका हौं, तर एसएसबीले मानेको छैन’, उनले भने, ‘प्रशासनले समन्वय गरेर हुन्छ की कसले के गरेर हुन्छ, समस्या समाधान गर्नुपर्छ ।’ उनले सांसदहरुले यस विषयमा ध्यान नदिएको जनाए । ‘पालिकाले बाहेक अरुले कुनै ध्यान दिएका छैनन्’, उनले भने, ‘कुनै घटना भइहाल्यो भने जिम्मेवारी को हुने ? यसमा समयमै सोच्नुपर्छ ।’

मर्चवारवासीलाई नजिकैको नेपाली बजार भैरहवा पुग्न करिब ३५ किलोमिटरसम्म पर्छ । भारतीय बजार भने ३ देखि ५ किलोमिटरको दुरीमा छ । यसले गर्दा दुबै देशका नागरिक विगतमा डुंगाकै माध्यमबाट आउजाउ गर्थे । मर्चवारी गाउँपालिका–१ को खैराघाट, २ को जोगियाबारी, ७ को कंचनपुर र चण्डीघाट गरी चार ठाउँमा स्थानीयले डुंगा संचालन गरी वारीपारी आउजाउ गर्छन् । एसएसबीको रोकावटले अहिले ट्युवमा यात्रा गर्न परेपछि नदीमा बग्ने जोखिम बढ्दो छ ।
भारतीय ग्राहकको भरमा संचालित सीमा क्षेत्रका ससाना खाजानास्ता पसलहरु पनि सुनसान छन् । डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका स्थानीय कामबिहीन भएका छन् । डुंगाा संचालन रोकिँदा वर्खे भेलमा ट्यूबमा साइकल र घरायसी सामान पनि जोखिम मोलेरै ओसार्ने गरिरहेका छन् । ‘ट्युवमै आउजाउ गर्दासमेत कहिलेकाही एसएसबीले लखेट्ने गरेको छ । यसले मर्चवारबासीले झनै सास्ती खेपिरहेका छन्’, मल्लाहले भने । स्थानीयले सरकारी तहबाट समन्वय गरेर डुंगा संचालनमा सहजीकरण गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्