November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

जब भैरहवा क्रिकेटमा झुम्यो

भैरहवा– क्रिकेटप्रति लाखौं नेपालीले माया दर्शाएको साँझको चर्चा गर्दा हामी एक दिन पछाडी फर्किनु पर्छ । अर्थात् सोमबारका हाम्रा गतिविधि सम्झिनु पर्छ । मंगलबार बिहान यो खबर लेख्ने बेलासम्म धेरै क्रिकेट फ्यानको निद्रा खुलेको छैन होला । नेपालले सोमबार विश्वि क्रिकेटको महाशक्ति भारतसामु साहसिक प्रदर्शन गरेपछि उत्साहित फ्यान साँझ खुसियालीमा झुमेका देखिन्थे ।

Advertisement

नेपालले ब्याटिङमा साहस प्रदर्शन गर्दा जो कोहीको मुहारमा हाँसो छाएको थियो । वर्षाले पटकपटक बिथोलेको एसिया कप अन्तर्गत नेपाल–भारतबीचको खेलको पहिलो पारि नेपाली क्रिकेट फ्यानले जीवनकालमा भुल्ने छैनन् । क्रिकेट इतिहाँसमा पहिलोपटक भारतबिरुद्ध खेल्नु नै हाम्रा लागि ऐतिहाँसिक क्षण थियो । उक्त क्षणको साक्षी बन्न धेरै नेपाली श्रीलंकाको क्यान्डी सहरस्थित रंगशालामै पुगेका थिए ।

Advertisement

प्रत्यक्ष हेर्नेको तुलनामा सयौं गुणा बढी फयन टेलिभिजन र ठूलो पर्दा सामु थिए । टेलिभिजनबाट टाढा भएकाहरु इन्टरनेटमा खेलको नतिजा हेरिरहेका थिए । अहिलेको विश्व सामाजिक सञ्जालको कब्जामा छ भन्दा फरक पर्दैन । विभिन्न सामाजिक सञ्जालमा नेपाल–भारत म्याचको चर्चा नहुने कुरै भएन । सोमबार बिहानदेखि अबेर रातिसम्म नेपाल–भारतको प्रदर्शनलाई लिएर गरिएका टिकाटिप्पणीसँगैं सम्भावित नतिजाबारे उल्लेख गरिएका स्टाटसले सामाजिक सञ्जाल रंगिएको थिए ।

त्यसमाथि मदिरा कम्पनीले भारतबिरुद्ध छक्का, चौका प्रहार गर्ने विकेट लिने खेलाडीका लागि पुरस्कार घोषणा गरेपछि सञ्जालमा बहसले मौलाउने अवसर पायो । नेपाली क्रिकेटको यो उचाइको साक्षी रुपन्देहीको सिमावर्ती भैरहवा सहर बन्यो । उक्त म्याचको अन्तिम क्षणसम्म भैरहवाले जाग्राम बसेर नेपाली क्रिकेटरका लागि सफलताको कामना गरिरह्यो । हुन त हिजोको खेलका लागि पूर्वको जनकपुर र कपिलवस्तुको तौलिहवामा स्थानीय पालिकाले बिद्यालय बन्द गरिदिए । अर्को तर्फ अपरान्हपटि नीजिदेखि सरकारी कार्यालय बन्दै जस्तै भए ।

कार्यालयको काम व्यवस्थापन गरेर नेपालको ऐतिहासिक उपलब्धीको कर्मचारी पनि साक्षी बने । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले कार्यालय समयपछि भैरहवाको लुम्बिनी सडक पुगेर ठूलो पर्दामा खेल अवलोकन गरे । सोमबार भैरहवा क्रिकेटमा झुमेको थियो । यहाँका ठूला होटलले पर्दामा म्याच हेर्ने व्यवस्था गरेका थिए । केही स्थानमा सडकमै ठूला पर्दामा खेल देखाउने व्यवस्था गरिएको थियो ।

भैरहवाका व्यवसायी आशा गुरुङले आफ्नो घरमा रहेको ‘थिएटर’मा साथीहरुलाई निम्त्याएर खेलको मनोरञ्जन लिएको बताए । यसरी घरमा परिवार र साथीभाई जुटेर खेल हेर्ने धेरै थिए । परिवार नै टेलिभिजन सामु बसेर खेल हेर्न थालेपछि धेरैको घरमा खाना पाकेन । धेरैले सोमबार चाड जस्तै खानपिन गरेर रमाइलो गरे । म्याच हेर्नकै लागि दिउँसो नै खानपिन व्यवस्था गरेर रातिसम्म झुम्ने धेरै थिए ।

नेपाल–भारतबीच म्याच एउटा खेल मात्र नभएर ठूलो पर्व बनेको थियो । धेरैले सोमबारको म्याचका लागि धेरै योजना बनाएका थिए । त्यसै योजना अनुसार रमाए–झुमे । सोमबारको खेलमा रुपन्देहीका खेलाडीको प्रदर्शनले उत्साहित तुल्यायो । तिलोत्तमाका कुशल भूर्तेलले ओपेनिङमा साथ थिए । उनले आकर्षक चौका–छक्का प्रहार गरेर समर्थकलाई उत्साहित तुल्याए । अर्का ओपनर आसिफ सेखलाई राम्रो साथ थिए ।

कुनै दिन क्रिकेट म्याच होस् । भैरहवाको आवारोडस्थित सानु डिपार्टमेन्टर स्टोर अगाडि जात्रा नहोस् । यो सम्भव हुँदैन । झन नेपाल–भारतबीच खेल हुने भएपछि मध्यान्हदेखि समर्थक डिपार्टमेन्टल स्टोर अगाडिको सडकमा धर्यसाथ बसिरहेका थिए । खेल सुरु हुने बेला मेला लागिसकेको थियो । नेपालका खेलाडीले स्तरीय ब्याटिङ प्रदर्शन गरेपछि सडकभरि नै मान्छे नै मान्छे थिए । नेपाली राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा नाराबाजी गरिरहेका थिए ।

भैरहवा उसै त क्रिकेटर जन्माउने थलो हो । भैरहवाका खेलाडी बिना नेपाली राष्ट्रिय टिम अपुरो जस्तै हुन्छ । त्यसमाथि रुपन्देहीका बासिन्दा क्रिकेट प्रेमी छन् । यस्तोमा आफ्नो मुलुकको प्रदर्शन हेर्न प्रायः सडकमा ओलिएका थिए । खेलाडीको प्रदर्शनसँगैं समर्थकको उत्साह हेर्न लायक थियो । अबेर रातिसम्म समर्थक सडकमै बसेर खेल हेरिरहेका थिए ।

सँगै रहेको कौशी डाउनटाउ रेन्टरेन्टका दुईवटा टेलिभिजन अगाडि उस्तै भीड लागेको थियो । हिजो भैरहवाबासी जो जहाँ थिए, त्यहीँ क्रिकेटमा झुम्मिएका थिए । क्रिकेट प्रेमीको यो उत्साह र साथ भैरहवामा मात्र देखिएको थिए । रुपन्देही जिल्लामा मात्र सिमित थिएन । जिल्ला, प्रदेश र देश हिजो क्रिकेटमा झुमेको थियो । हिजोको नेपाली खेलाडीको प्रदर्शनबाट सारा विश्वले नेपाली क्रिकेटरको साहसको प्रशंसा गरिरहेको छ । भारतसँग हार व्यहोरे पनि नेपाली क्रिकेटरको खेल भने सम्झन लायक बन्यो ।