May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

भैरहवामा सुनीलले विकास गरेको ‘नृत्य कल्चर’

भैरहवा– रुपन्देहीको सियारी गाउँपालिका–७, अमुवाका २९ वर्षीय सुनिल गुप्ताले भैरहवामा नृत्य संस्कृतिको बिकास गरेका छन् । नृत्य मार्फत् यहाँका सर्वसाधरणलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य तुल्याउन उनले प्रशिक्षण र ब्यायाम गराउँदै आएका छन् । अहिलेको उनले सञ्चालन गरिरहेकको रुद्रदेवी कलाकेन्द्रमा नृत्य सिक्ने र ब्यायाम गर्नेको भीड लाग्न थालेको छ ।

Advertisement

अहिले उनको सफलता देखेर सबैले स्याबास भन्ने गरेका छन् । यसरी प्रशंसा पाउन उनले कडा मिहेनत गर्नु परेको छ । अमुवाको कृषक परिवारका जन्मिएका उनका पाँच दाजुबहिनी छन् । परिवारका माइला सन्तान सुनीललाई बच्चैदेखि नृत्यमा रुची थियो । उनी माइकल ज्याक्सनको नक्कल गर्थे । घरमा मोवाइल र टेलिभिजन थिएन । त्यसैले साथिभाई र आफन्तले मोवाइल चलाएको देख्यो कि उनी मागेर माइकल ज्याक्सनको भिडियो हेर्थे । आफ्नो चाहनालाई पूरा गर्ने उद्देश्यले उनी जिल्लाका विभिन्न नृत्य प्रशिक्षण केन्द्रमा पुगे । त्यहाँ सिक्दै गए ।

Advertisement

जिल्लाको सिकाईले उनको चित्त बुझेन । त्यसैले थप स्तरबृद्धिका लागि भारत जाने सोंच बनाए । उनका अनुसार २०६६ सालमा एसएलसी परीक्षा दिएर उनी पहिलोपटक भारतका सहरमा ‘डान्स’ सिक्न गए । भारतमा आफन्त थिएनन् । आफूसित खर्च थिएन । त्यसैले मुम्बईस्थित एक होटलमा मजदुरी गर्दै नृत्य सिक्न थाले । तीन महिना त्यसरी नृत्य सिकेपछि नेपाल फर्किएको उनी सुनाउँछन्् ।

घर फर्किएर १२ कक्षासम्म अध्ययन पूरा गरे । त्यसपछि फेरि नृत्य सिक्न भारत फर्किने सोंच बनाए । पहिले भारत पुगेर हण्डर खाइसकेका थिए । दोस्रोपटक जाँदा उनलाई केही सहज भयो । भारतका नोएडा, दिल्ली र मुम्बई सहर घुम्दै नृत्य सिक्दै गरे । भारतमा पाँच वर्षसम्म फ्रि स्टाइल, जुम्बा तथा बलिउड नृत्य सिकेपछि २०७२ मा नेपाल फर्किएको उनले बताए ।

यहाँ आएपछि केही समय गाउँमै कलाकेन्द्र सञ्चालन गरे । अमुवामै सञ्चालन गरिएको उक्त कलाकेन्द्रमा विद्यार्थी आएनन् । त्यसको एक वर्षपछि सदरमुकाम भैरहवा सरे । भैरहवामा नृत्यको आकर्षण देखेपछि रुद्रदेवी कला केन्द्र स्थापना गरेको उनले बताए । अहिले कलाकेन्द्रका २ वटा ठुला हलमा उनीसँगै ५ जना प्रशिक्षकले काम गरिरहेका छन् । ‘रुद्रदेवीमा हाल ३ सय भन्दा बढी प्रशिक्षार्थी आउँछन्,’ उनले भने, ‘बिहान ५ बजे सुरु हुने कक्षा राति ९ बजे सकिन्छन् ।’

उनका अनुसार बिहान जुम्बा कक्षा हुन्छ । ‘उक्त कक्षामा महिला तथा पुरुषको सहभागिता रहन्छ,’ उनले भने, ‘साँझमा विद्यार्थी सिक्न आउँछन्, रातीमा चाही जागिरे जुट्छन् ।’ उक्त केन्द्रमा तीन महिनाको कोर्ष वापत ५ हजार रुपैयाँ शुल्क लिने गरेको उनले बताए । ‘म नृत्यलाई अनुशासित रुपले हेर्छु र विद्यार्थीलाई सोही अनुसार सिकाउंँु,’ उनले भने, ‘नृत्य स्वास्थ्यका लागि समेत फाइदाजनक हो, यो अति स्वतन्त्र खालको हुनुहुँदैन ।’

नृत्य सानादेखि वृद्धवृद्धासम्मले गर्ने कला भएकाले यसमा अनुशासन चाहिने उनको भनाई छ । सुरुमा एउटा स्पिकर ल्याएर कोठामा कलाकेन्द्र सुरु गरेका उनले अहिले मासिक झण्डै १ लाख रुपैयाँ भाडा नै तिर्ने गरेको बताए । केन्द्रमा टिचर्स ट्रेनिङ समेत चल्ने भएकाले त्यसका लागि १ वर्षसम्म १ लाख ५० हजार रुपैयाँ शुल्क लिएर सिकाउने गरेको उनले बताए ।