May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

तपाईंको वास्तविक एवं साँचो स्वभाव !

-प्रेम रावत

बाल्यकालमा एउटा क्षमता हुन्छ। बच्चाले कसैलाई पनि कुनै सिसा वा कुनै चश्माको दृष्टिकोणले हेर्दैन। यथार्थमा तपाईँ जे हुनुहुन्छ, उसले त्यस्तै देख्छ। उसको कुनै अपेक्षा पनि हुँदैन। ‘तपाईँ यस्तो हुनुपर्छ, तपाईँ त्यस्तो हुनुपर्छ।’ बच्चाले कुनै पनि कुरालाई भेदभावका दृष्टिले हेर्दैन। बालकले निर्दोष बालापनलाई देखेको हुन्छ र आफूभित्र पनि त्यही निर्दोषतालाई पहिचान गर्न थाल्छ । त्यही कुराले नै हाम्रो हृदयलाई स्पर्श गर्छ। त्यो निर्दोषता अहिले पनि हाम्रो हृदयमा छ र त्यो सदैव रहनेछ। तपाईँ एक वर्षको हुनुहुँदा या छ महिनाको हुनुहुँदा तपाईँमा भएको बालापनको विशेषता कहाँ गयो ? त्यो एक वर्षको बालापनमा ऊ निर्दोषपूर्ण ढङ्गले खेल्ने गर्थ्यो। मानिसहरूतिर दोषरहित भएर हेर्ने गर्थ्यो। कसैलाई पनि राम्रो नराम्रो भनेर टीकाटिप्पणी गर्दैनथ्यो। त्यो विशेषता कहाँ गयो ? त्यो अहिले पनि जीवित छ र त्यो चीज तपाईँभित्र छ । तथापि, हामीले त्यसलाई पहिचान गर्न बिर्सियौँ र अन्य चीजमा फसेर व्यस्त भयौँ ।

Advertisement

हाम्रो दिमागमा दुई किसिमको सिक्ने कला हुन्छ । पहिलो त हामीले अनुभवका आधारमा सिकेका हौँ । अनि दोस्रो, गणना गर्ने, भाषा सिक्नेजस्ता कुराचाहिँ हामीले घोकेर सिकेका हुन्छौँ । भाषालाई हामीले घोकेर सिकिरहेका हुन्छौँ। यसमा कुनै तर्कवितर्क गर्न सकिँदैन । यदि कसैले तपाईँसँग ‘यो एकलाई किन एक भनिएको हो ?’ भनेर सोधे भने अर्थात् एक त एक नै हो तर किन एक भयो ! तपाईँको बाल्यावस्थामा तपाईँका बुबा अथवा आमा अर्थात् अरू कसैले ‘यसलाई नछोऊ, यो तातो छ, हात पोल्छ !’ भन्दा तपाईँले मान्नुभयो ? मान्नुभएन नि। त्यसो भनिए तापनि एक दिन तपाईँले त्यसलाई छोइछोड्नुभयो। तपाईँलाई पोलेपछि मात्रै तपाईँले उहाँहरूद्वारा भन्न खोजिएको कुरालाई बुझ्नुभयो । यही कुरालाई अनुभवबाट प्राप्त सिकाइ भनिन्छ। अहिलेसम्म कति कुराहरूलाई रटेर सिक्नुभयो । कतिपय कुरालाई अनुभवका आधारमा सिक्नुभयो । हामीले धेरै कुरा पढेका छौँ । घोकेर पढेका छौँ । अनुभवचाहिँ केही पनि हुँदैन । यसर्थ अनुभवयुक्त सिकाइचाहिँ साँचो सिकाइ हो । घोकेर सिकिएको कुरा त परिवर्तनशील हुन्छ ।

Advertisement

एउटा शब्द छ– अनुभूति ! अनुभूति गरेको कुराको कुनै प्रमाण हुँदैन। अनुभूतिलाई त महसुस गर्नुपर्ने हुन्छ। वास्तवमा यो श्वास आउनु–जानु नै सृष्टिकर्ताको कृपा हो। यसरी सृष्टिकर्ताले कृपा त गरेका छन् तर तपाईँले कसरी आभार व्यक्त गरिरहनुभएको छ!

एउटा मैनबत्ती बलिरहेको छ। अर्को मैनबत्ती निभेको छ। यदि तपाईँले बलिरहेको मैनबत्तीलाई निभेको मैनबत्तीको छेउमा लैजानुभयो भने निभेको मैनबत्तीले बलेको मैनबत्तीलाई निभाउँदैन। बरु निभेको मैनबत्तीलाई त्यसले बालिदिन्छ। कुनै दिन समय परिवर्तन भएर अर्कोचाहिँ निभ्यो भने त्यसलाई बाल्नुहोस्। किनभने, यस्तो समय आउँछ । मैले यस दुनियाँलाई बुझिरहेको हुँदिन अनि दुनियाँले मलाई बुझिरहेको हुँदैन। मलाई बुझ्न सक्ने कोही सानै व्यक्ति भेटिए पनि मलाई उनीबाट आनन्द प्राप्त हुन्छ। उक्त समयमा अरू कोही नभए पनि ती व्यक्ति मेरो काँधमा लादिएको भारीलाई बोकेर साथ दिन तयार हुन्छन्।

म मानिस हुँ । यदि मैले आफूलाई ‘अरूभन्दा बेग्लै छु’ भनेर सोच्न थालेँ भने मैले मानवताका आधारमा कसैलाई पनि मद्दत गर्न सक्दिन। किनभने, आज मानवतालाई जोगाउनु अपरिहार्य भइसक्यो। हामीले ‘म मानिस हुँ’ भन्ने कुरै बिर्सेका छौँ। एउटा मानिसले अर्को मानिसलाई मानिसका आँखाले हेर्न छोडिदियो। हामी सबै एकै हौँ भन्ने कुरालाई कसले बुझाउला ! हामी एक भएर ‘शान्ति पनि हाम्रो आवश्यकता हो’ भन्ने कुरा नबुझेसम्म शान्ति कसरी हुन्छ ? किनभने, अहिले जे–जति पनि खराब भइरहेको छ नि– यसमा सबैभन्दा ठूलो जिम्मेवार अरू कोही नभएर मानिस नै हो ।

यो एकदमै राम्रो समाचार हो, किनभने यी सबै कार्य मानिसले नै गरिरहेको छ। मानिसलाई बुझाउन सकिन्छ। यदि मानिसले चाहेमा यी समस्यालाई एकदमै सहज तरिकाले समाधान गर्न सक्छ। सृष्टिकर्ताले मानिसलाई आफूले आफूलाई बुझ्न र चिन्न सक्ने क्षमता प्रदान गरेका छन्। अनि, मानिसले त्यो परम शान्तिलाई आफूभित्र अनुभव गर्न सक्छन्। यो मानिसको सबैभन्दा ठूलो विशेषता हो तर त्यस चीजलाई पहिचान गर्नु अपरिहार्य हुन्छ ।

हामीले जीवित रहुन्जेलसम्म निराश हुनु आवश्यक छैन। मानिसको वास्तविक क्षमता नै आफूले आफैँलाई चिन्ने, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण तुल्याउने हो।

यदि तपाईँ आफ्नो जीवनमा कुनै पनि कारणले असफल हुनुभएको छ भने त्यो असफलतालाई कहिल्यै पनि स्वीकार नगर्नुहोस्। तपाईँ बाल्यकालमा ताते–ताते गर्नका लागि कोशिश गरिरहँदा कैयौँपटक हिँड्ने प्रयास गर्दै उठ्नुहुन्थ्यो अनि लडिहाल्नुहुन्थ्यो। तर, तपाईँले हिँड्न नसिकुन्जेसम्म त्यो असफलतालाई पटक्कै स्वीकार गर्नुभएन । फलतः तपाईँले हिँड्न सिक्नुभयो। आफूमाथि विश्वास राखेर आफ्नै क्षमताको सहाराले अघि बढ्ने मानिसलाई अवश्य पनि सफलता प्राप्त हुन्छ।

हामीभित्र श्वास आइरहेको कारणले नै यो सामथ्र्य पनि छ। अर्थात्, हामी जीवित छौँ । यो कुरालाई सामान्य नठान्नुहोस् । सबैभन्दा महत्वपूर्र्ण कुरा त के हो भने, वास्तवमा जीवित हुनाले नै मानिसमा क्षमता छ। तपाईँलाई यो वास्तविकता बोध भएपछि तपाईँ कति शक्तिशाली हुनुहुन्छ र तपाईँको साँचो क्षमता के हो भन्ने कुरा थाहा हुनेछ । तपाईँलाई सृष्टिकर्ताले उपहारका रूपमा त्यो क्षमता दिएका छन् ।

एकपटक एकजना राजाले आफ्ना मालीलाई बोलाएर भनेछन्, ‘पहाडमाथिको मेरो महलमा एउटा एकदमै सुन्दर बगैँचाको निर्माण गरिदेऊ।’ राजाको आदेशलाई मानेर माली बगैँचाको निर्माणतर्फ जुटे। पहाडको फेदमा एउटा नदी थियो । ती माली दुईवटा ठूला–ठूला गाग्रालाई काँधमा अघि–पछि पारेर बोक्दै हरेक दिन तल नदीमा पानी भर्न जान्थे। अनि, बल्लतल्ल महलसम्म पुगेर आपूmले तयार पारेको बगैँचामा पानी लगाउने गर्थे।

निकै समय यही क्रमअनुसार बित्दै गयो । एक दिन दुईवटा गाग्रामध्ये पछाडितिरको गाग्रो कुनै चीजसँग ठोक्किएर त्यसमा प्वाल पर्न पुग्यो । सधैँ ती माली पहाडबाट तल झर्थे । दुवै गाग्रामा पानी भर्दथे । तर, उनी महलसम्म आइपुग्दा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्थ्यो तर पछाडिको गाग्रो भने चुहिएर रित्तो भइसक्थ्यो ।

एकदिन अगाडिको गाग्रोले पछाडिको गाग्रोलाई भन्यो, ‘तिमी त अब कुनै कामका लागि लायक नै छैनौ । तिमी त प्वाल परिसक्यौ । मेरो कारणले राजाको बगैँचा यति धेरै हराभरा भएको छ, किनभने मैले मात्रै पानीलाई यहाँसम्म ल्याइपु¥याउँछु । तिमीमा त यहाँसम्म आइपुग्दाओर्दा एक थोपा पनि पानी बाँकी रहँदैन । अब तिमी बेकम्मा भइसक्यौ ।’

पछाडिको गाग्रोले आफू कुनै कामको लायक नरहेको भन्ने लाञ्छना सुनेपछि उसलाई अत्यन्तै दुःख लाग्यो । अर्काे दिन माली आए । दुवै गाग्रातिर नजर लगाए । उनलाई पछाडितिरको गाग्रो निकै उदास भएको महसुस भयो । त्यसपछि मालीले सोधे– ‘तिमीलाई के भयो, किन उदास छौ ?’

अनि, त्यो गाग्रोले भन्यो, ‘अगाडिको गाग्रोले त म अब कुनै कामको लायक नै छैन रे भन्छ ! तपाईँ बिहान–बिहानै पानी भर्नुभएर बगैँचामा आइपुग्नुहुँदा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्छ तर ममा त प्वाल परेको छ। एक थोपा पनि पानी बाँकी रहँदैन। अगाडिको गाग्रोको भनाइ के छ भने, उसकै कारणले नै यो बगैँचा हराभरा भएको छ । मेरो कारणले त केही हुन सक्दैन।’

मालीले हाँस्दै भने, ‘तिमी यो रहस्य बुझ्दैनौ । तिमीमा प्वाल भएको थाहा हुँदाहँदै पनि मैले तिमीलाई फ्याँकिन। मैले तिमीलाई सधैँ तल लगेर तिमीमा पनि पानी भर्छु र माथिसम्म ल्याउँछु। अँ, यो कुरा त ठिक्कै हो जति पनि बगैँचा हराभरा भएको छ, बगैँचाको हरियाली छ, त्यो त अगाडिको गाग्रोको कारणले नै भएको छ। तर, के तिमीले देखेका छैनौ ? त्यो नदीबाट माथि बगैँचासम्मका जाने बाटोको किनारमा जति पनि थरीथरीका फूलहरू फुलिरहेका छन्, ती तिम्रै कारणले त फुलेका हुन्। तिनीहरू सबैले तिम्रो कारणले नै पानी पाउँछन् । अर्कोको कारणले त केवल एउटा मात्रै बगैँचा हराभरा भएको छ तर तिम्रो कारणले त बाटाभरि– त्यो नदीदेखि लिएर बगैँचासम्मको क्षेत्र आज हराभरा छ । किनभने, तिनीहरूले तिम्रै कारणले पानी पाएका छन् ।’

यो कुरा सुनेपछि त्यो गाग्रो असाध्यै खुशी भयो । ऊ अझै पनि काम लाग्ने चीज भएको कुरा उसलाई थाहा भयो ! हो, उसले राजाको बगैँचामा त सिंचाइ गर्न सकेन तर उसले त्यस बाटोमा यस्तो सुन्दर बगैँचा बनायो, जुन बाटोबाट सारा मानिस ओहोरदोहोर गर्ने गर्छन् । ती सबैले फूलको सुगन्ध लिन पाउँछन् ।

यसर्थ, चाहे जस्तोसुकै परिस्थिति होओस् तर कहिल्यै पनि आफूलाई कमजोर ठान्न आवश्यक छैन । जीवनमा हरेकको आफ्नै महत्वपूर्ण हुन्छ । यो कुरालाई बुझ्नु आवश्यक छ । सबैभन्दा महत्वपूर्र्ण कुरा त हामी जीवित रहुन्जेलसम्म जीवित भएका कारणले नै हामीमा अनन्त सम्भावनाहरू हुन्छन् । जीवनमा चाहे जतिसुकै कठिनाइहरू आऊन् तर आफ्नो दक्षतालाई चिनेर अघि बढ्ने मानिसलाई जीवनको हरेक क्षेत्रमा अवश्य पनि सफलता हात लाग्दछ । यस्ता मानिसहरू कठिन समयमा पनि निराश हुँदैनन् ।

हामीले हाम्रो क्षमतालाई बिर्सेका छौँ । हामी को हौँ भन्ने कुरालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको करुणालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको लगनशीलतालाई हामी बिर्सन्छौँ। हामी आफूभित्र भएको दयालाई बिर्सन्छौँ। हामी आफूभित्र भएको आनन्दलाई बिर्सन्छौँ । हामी एउटा मानव के हो भन्ने कुरालाई नै बिर्सन्छौँ ।

मानिसको बारेमा कुरा नगरी तपाईँ शान्तिको बारेमा कुरा गर्न सक्नुहुन्न । किनकि, शान्ति त मानिसको हृदयमा नाचिरहेको हुन्छ।
मलाई थाहा छ, अहिले मानिसहरू भन्छन्, ‘ओहो, मानिसहरू त खराब हुन्छन्। हेर्नुहोस् त तिनीहरूले के गरिरहेका छन् ! तिनीहरू त एक–अर्कालाई मारिरहेका छन्, एक–अर्कालाई आतङ्कित तुल्याइरहेका छन्, एक–अर्कालाई त्रसित पारिरहेका छन्। त्यो त मानिसको स्वभाव होइन ।’

यस संसारमा धेरै असल कुराहरू छन् । यस संसारमा धेरै दयालु छन् । यस संसारमा धेरै उदारता छ । यो मानिसको वास्तविक स्वभाव हो, यो तपाईँको साँचो स्वभाव हो a। तपाईँको स्वभाव हो– शान्तिलाई अगाध प्रेम गर्नु, शान्ति चाहनु, तृप्त हुनु । यो भनिरहनुपर्ने कुरा नै होइन । साँच्चै नै यस पृथ्वीमा एउटा स्वर्गलाई स्थापना गर्न सकिन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल। -newsofnepal