May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

गृहणी महिलालाई स्वरोजगारीमा ध्यान

Advertisement

रुपन्देहीका स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगार, सिंचाई र पूर्वाधार बिकासलाई प्राथमिकता दिएका छन् । पालिका प्रमुख र उपप्रमुखले चुनावी वाचा पूरा गर्नुका साथै स्थानीय बासिन्दाका तत्कालका आवश्यकता पूरा गर्नतर्फ ध्यान रहेको बताएका छन् । उनीहरुले पालिकालाई वातावरणमैत्री बनाउँदै समृद्ध तुल्याउनेतर्फ जोड दिएको बताएका छन् । पब्लिक कुराले रुपन्देहीका स्थानीय तहका प्रमुख–उपप्रमुखसित श्रृंखलाबद्ध उनीहरुका बिकास योजना र काम कारबाहीका बारेमा कुराकानी गर्न थालेको छ । प्रस्तुत छ, रुपन्देहीको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालको बिचारः–

Advertisement

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह, सुविधा र जिविकोपार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ । आमनागरिकका मुद्दाको तत्काल सुनुवाईदेखि नागरिक वडापत्रसम्म नगरपालिकाले पर्याप्त ध्यान पुर्याएको छ । अहिलेसम्म एउटा (नेपाली) भाषामा मात्र प्रकाशित हुने गरेको नागरिक वडापत्र अब नेवार, मगर र थारु भाषामा सुरु भएको छ । त्यसले नेवार, थारु र मगर समुदायलाई पनि नगरका सेवाप्रवाहको विषयमा जान्नका लागि सहयोग पुगेको छ । नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म १ सय ५ मुद्दा दर्ता भएका छन् । ति मध्ये १ सय १ मुद्दाको न्यायिक समितिको इजलासबाटै मिलापत्र गराइएको छ । ४ वटा मुद्दा अदालत पुगेका छन् ।

उपमहानगरपालिकाले नागरिकलाई आर्थिक पहुँचमा जोड्नका लागि उपप्रमुख उद्यमशिलता कार्यक्रम, गृहणी महिला स्वरोजगार कार्यक्रम, उपप्रमुख दुग्धबद्र्धक जडीबुटी वितरण कार्यक्रम, मेयर युवा इलम कार्यक्रम संचालन गरिरहेको छ ।

गृहणी महिला स्वरोजगार कार्यक्रममा अहिलेसम्म १ हजार बढी महिला जोडिएका छन् । त्यस्तै उपप्रमुख उद्यमशिलता कार्यक्रममा विभिन्न १२ प्रकारका तालिम लिएर महिलाहरु स्वरोजगारमा जोडिएका छन् । नगरपालिकाले दिउँसोमा पढ्न नसक्ने तर, पढ्ने तिब्र इच्छा भएकाहरुको सुविधाका लागि रात्रीकालीन विद्यालय संचालन गरिरहेको छ । त्यस्तै नेपालमै पहिलो विद्यालयका रुपमा महिला साधना विद्यालय संचालन भइरहेको छ । उक्त विद्यालयमा विद्यालय जानबाट बञ्चित रहेका गृहणी महिलाहरुले अध्ययन गर्दै आएका छन् । बुटवल उपमहानगरपालिकामै घरमै बसेर पढेर परीक्षा दिन मिल्ने गरी खुल्ला विद्यालय अवधारणा अन्तर्गत कान्ति माविमा खुल्ला विद्यालय पनि संचालन गरिएको छ ।