लामो संघर्षपछि नागरिकता पाउँदा हर्ष



भैरहवा– जन्मका आधारमा नागरिकता प्राप्त गरेका आमाबाबुका सन्तानको एउटै चिन्ता थियो नागरिकता । मुलुकमा जन्मिएर, हुर्किएर, पढेलेखेर रोजगारीका लागि योग्य बन ेपनि उनीहरु अवसरबाट बञ्चित थिए । राहादानी नहुँदा बैदेशिक रोजगारीमा जान पाएका थिएनन् । बैंकबाट ऋण लिएर लगानी गर्न पाउँथेनन् । त्यसैले वर्षौदेखि उनीहरु नागरिकताका लागि संघर्षरत थिए ।
बेला–बेला अध्यादेश र गृहमन्त्रालयको परिपत्रबाट जन्मको आधारमा नागरिकता प्राप्त गरेका आमा–बाबु सन्तानको नागरिता बनाउन दौडधुपमा थिए । पछिल्लो पटक संसदबाट एक वर्षअघि पारित नागरिकता ऐन राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेपछि यस्ता व्यक्तिलाई नागरिकता दिने बाटो खुलेको छ । आइतबार यता जिल्ला प्रशासन कार्यालयबाट यस्तो नागरिकता प्रदान गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले छुट्टै शाखा तयार गरेर यस्ता व्यक्तिलाई नागरिकता वितरण गरिरहेको छ ।
नागरिकता कानुनलाई लिएर अन्यौलमा रहेको पुस्ताका युवा अहिले खुसी छन् । आफ्नो वडा मार्फत सिफारिस लिएर प्रशासन कार्यालय आएका उनीहरुलाई सहज तरिकाले नागरिता उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसरी नागरिकता लिनेमा सिद्धार्थनगर–४, का १९ बर्षिय साबिर अलि छन् । गत आइतबार बिहान जिल्ला प्रशासनबाट पहिलो नागरिता उनले प्राप्त गरे । बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने सोच बनाएका उनले भाषा अध्ययनको तयारीमा रहेको बताए । तर, नागरिता नहुँदा राहदानी बनेको थिएन । जसले गर्दा कोरियामा रोजगारी सपनामै सिमित हुने चिन्तामा थिए ।
‘अब नागरिकता बन्यो, भाषा पढ्छु र कोरिया जान्छु,’ नागरिकता पाएपछि उनले खुसी व्यक्त गरे, ‘अब सपना पूरा गर्छु ।’ आइतबार बिहान प्रशासनमा आयोजित कार्यक्रममा उनी समेत युवालाई प्रमुख जिल्ला अधिकारी भरतमण पाण्डे र सिद्धार्थ नगर प्रमुख इस्तियाक अहमद खाँनले नागरिकता उपलब्ध गराए । प्रशासनले जिल्लाका पालिकासित समन्वयमा नागरिकता वितरण गरिरहेको छ । एकैपटक भीड नलागोस भनेर आलोपालो गरिएको छ । अलि तीन वर्षदेखि नागरिकताका लागि सघर्षरत थिए । यसबीच पटक पटक जिल्ला प्रशासन धाउनु परेको उनले बताए ।
राष्ट्रपतिबाट प्रमाणिकरण भइ नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै अलिजस्ता लाखौं युवा युवतीको मुहारमा खुशी छाउने अवसर जुटेको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयनमा नआउदा २०७२ साल अघि जन्मको आधारमा नागरिकता लिएका बावु आमाका सन्तती नेपाली नागरिकता पाउनदेखि बञ्चित थिए । अव उनीहरुले बशंजको नागरिकता प्राप्त गर्ने छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अनुसार, २०७२ सालभन्दा अगाडि जन्मका आधारमा रुपन्देहीमा १४ हजार ८ सय ७९ जनालाई नागरिकता वितरण गरिएको थियो । त्यता यता ऐन अभावमा जिल्लाभित्र २५ देखि ३० हजार नागरिकताबाट बञ्चित भएका थिए । सदरमुकामस्थित जिल्ला प्रशासनका साथै बुटवल र मर्चवार इलाका प्रशासनबाट नागरिकता वितरण भइरहेको छ ।
पश्चिम नवलपरासीस्थित सरावल–१, की २३ वर्षीय पुनमकुमारी हरिजनले सोमबार नागरिकता पाउँदा खुसीको सीमा थिएन् । लामो समयपछि नागरिकता प्राप्त गरेपछि उक्त खुसी आँशुमा परिणत भयो । उनीसँगै नागरिकता प्राप्त गरेकाहरु यसलाई जिवनको सबै भन्दा ठुलो सफलता र खुसी मान्दै अविर जात्रा गर्न लागे । जिल्ला प्रशासन कार्यालयको परिसर एकाएक अविर जात्रामा परिणत भयो । नागरिकता पाउने सन्तती र उनका अभिभावक एक आपसमा अविर जात्रा गर्न थाले ।
नागरिकता सम्बन्धि नयाँ विधेएक अनुसार लामो समयदेखि नागरिकताको पखाईमा रहेका युवायुवती र उनका अभिभावक निकै खुसी थिए । पश्चिम नवलपरासीम जन्मका आधारमा नागरिकता पाएका ८ हजार भन्दा बढी नागरिक छन् । नयाँ कानुन र गृह मन्त्रालयको परिपत्र अनुसार नागरिकता वितरण भइरहेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । उनका अनुसार अनलाइन मार्फत टोकन प्रणाली लागू गरेर नागरिकता वितरण भइरहेको छ ।








प्रतिकृया दिनुहोस्