१७औँ लोकतन्त्र दिवसः जनताका मुद्दा एकातिर, नेताको ध्यान कुर्सीतिर



भैरहवा– आज मुलुकभर १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुलुकमा लोकतन्त्र स्थापना पछि तीन तहका सरकार बनेका छन् । तर, जनताले अपेक्षाकृत विकास र समृद्धिको अनुभूति गर्न पाएका छैनन् । लोकतन्त्र सुन्दर पक्ष हो, तर नेताहरु सत्ता र कुर्सीमोहमा लिप्त हुँदा जनताले परिवर्तनको महसुस गर्न सकेका छैनन् ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
लोकतन्त्र आएको यत्तिका वर्षसम्म पनि मुलुकले अपेक्षाकृत विकासको अनुभूति गर्न पाएनन् । यसकैले कहिलेकाहीं लोकतन्त्रविरुद्ध आवाजहरु पनि बुलन्द हुँदै आएका छन् । स्थानीय सरकारले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने गरेको छ । तर, उक्त सरकारबाट पनि जनता पर्याप्त खुशी देखिँदैनन् । यसको कारण स्थानीय सरकार भ्रष्टाचारमा लिप्त भएको भन्ने आरोप छ । मुलुकमा ७५३ स्थानीय, ७ प्रदेश सरकार र संघ सरकार छ ।
सरकारले अपेक्षाकृत काम नगरेकै कारण प्रदेश संरचना खारेजीको माग उठिरहेको छ । अर्कातर्फ दलहरु सत्ता समिकरण फेरबदलमा लिप्त छन् । जनताको एजेण्डा ओझेलमा छन् । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०बीच १२ बुँदे समझदारी भयो ।
विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । लोकतन्त्र दिवस मनाइरहँदा जनताका अपेक्षा, मुलुकले जुन गति लिन पर्ने हो, त्यो हुनसकेको छैन । नेताहरुमा सद्बुद्धि पलाएको देखिँदैन । यसैकारण पछिल्लो सयम नयाँ राजनीतिक दलहरुले बाहुल्यता कायम गरिरहेका छन् । पुराना दलप्रति वितृष्णा झल्किँदैछ । यसैले अब सकै दल सचेत भएर जनभावना अनुसार काम गर्नुपर्ने देखिन्छ ।








प्रतिकृया दिनुहोस्