June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

डा.संजय पाण्डेः जसले भैरहवामै स्तन क्यान्सरको सफल शल्यक्रिया गरे

भैरहवा– क्यान्सर उपचार सम्बन्धी भैरहवा र यस आसपासमा सुविधा सम्पन्न अस्पताल छैन । यति मात्रै होइन्, पश्चिम नेपालमै स्तन क्यान्सरको शल्यक्रिया हुँदैन । बाँकेमा क्याम्सर सम्बन्धी उपचार गर्ने अस्पताल भए पनि शल्यक्रिया हुँदैन । जसले गर्दा विरामीलाई चितवन, काठमाडौं वा बाह्य मुलुक जानुपर्ने बाध्यता छ ।

Advertisement

पछिल्लोपटक भने भैरहवामा स्तन क्यान्सरको सफल शल्यक्रिया भएको छ । भैरहवा निबासी डा.संजय पाण्डेले एक महिलाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरेका हुन् । अहिले महिलामा कुनै किसिमको साइड इफेक्ट छैन । शल्यक्रिया भएको करिब एक महिना भयो । तर, सफलताको अध्ययनका लागि कुरा बाहिर ल्याइएको थिएन ।

Advertisement

‘शल्याक्रिया भएको एक मिहनासम्म सबै कुरा निरीक्षणमै राखेका थियौं, अहिले उहाँ –महिला) ठीक हुनुहुन्छ’, डा.पाण्डेले भने । महिलाको नाम भने सार्वजनिक गरिएको छैन । ‘गोपनियतालाई ख्याल राखेर होला उहाँले नाम नभनिदिनु भन्नुभयो, त्यसैले बाहिर नल्याएको हो’, उनले भने, ‘उहाँ बृद्ध आमा हुनुहुन्छ, अहिले स्वस्थ हुनुभएको छ ।’

डा.पाण्डेका अनुसार ७२ वर्षकी ती आमाको वायाँतर्फको स्तनमा भएको क्याम्सरको सफल शल्यक्रिया गरिएको हो । चितवन पश्चिम क्षेत्रमा स्तन क्यान्सरको पहिलो पटक शल्यक्रिया भएको पाण्डे बताउँछन् । ‘पश्चिम नेपालमै अहिलेसम्म स्तन क्यान्सरको शल्यक्रिया भएको छैन, तर मैले सफल शल्यक्रिया गरेँ’, उनले भने, ‘अब, यस क्षेत्रका नागरिकलाई सहज हुनेछ ।’

भैरहवाको जनकपथमा रहेको ओजश हस्पिटलमा ती महिलाको शल्यक्रिया गरिएको हो । ‘यही स्तन क्यान्सरको चितवन, काठमाडौं लगायतका ठाउँमा शल्यक्रिया गरेको भए एक लाख बढी खर्च हुन्थ्यो, भैरहवामा ५० हजार जति खर्चमा सफल शल्यक्रिया भयो’, उनले भने, ‘यसले विरामीको खर्चदेखि समय अन्य कुराहरुको बचत भयो ।’

सिद्धार्थनगर–९ निबासी डा.पाण्डे स्तन क्यान्सर रोग विशेषज्ञ मानिन्छन् । पोखरा, चितवन लगायतका राम्रा र प्रभावशाली अस्पतालका काम गरेका उनमा राम्रो अनुभव छ । उनले स्तन क्यान्सरको सफल शल्यक्रिया मात्रै गरेका छैनन्, पछिल्लो समय क्यान्सर सम्बन्धी सचेतना पनि जगाउँदै हिँडेका छन् । कयौं ठाउँमा यससम्बन्धी निःशुल्क शिविर संचालन र शल्यक्रिया पनि गर्दै आएका छन् ।

‘मैले रुपन्देहीसँगै दाङ र महेन्द्रनगरमा पुगेर पनि धेरैजनाको निःशुल्क क्यान्सर रोगबारे जाँच गरेको छु’, उनले भने, ‘यसरी जाँच गरेकामा कति रोग पत्ता पनि लागेको छ । र, त्यस्ता कतिपयको निःशुल्क शल्यक्रिया पनि गरेको छु ।’ उनले आफूले पछिल्लो चारपाँच महिनायता रोगसम्बन्धी जनचेतना जगाउँदै हिँडेको बताए । यो अवधिमा साढे ४ सय जनाको जाँच गरेको उनले सुनाए ।

‘धेरैलाई यससम्बन्धी जनचेतना हुँदा रोग फैलिरहेको छ’, उनले भने, ‘त्यसैले सचेतना जगाउँदै हिंडिरहेको छु ।’ उनका अनुसार धेरै महिलाहरुले रोग लुकाउँदा पनि विरामी बढीरहेका छन् । उनले स्तन क्यान्सर र अन्य क्यान्सरबारे सरकारी तहबाट सचेतनाका कार्यक्रम संचालन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई भेटेर पनि सुझाव दिइसकेका छन् । सरकारले क्यान्सर रोगीलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च दिँदै आएको छ ।

उक्त खर्च सरकारले तोकेको अस्पतालमा उपचार गराए उपलब्ध हुन्छ । तर, सरकारी तहबाट तोकिएका र उपचार हुने अस्पतालमा विरामीको पालो आउनै महिनौं लाग्छ । अर्कातर्फ टाढा आउजाउ गर्दा र विरामी कुरुवाकै कारण लाखौं अतिरिक्त खर्च भइसकेको हुन्छ । भैरहवामै उपचार र शल्यक्रिया गर्दा विरामीलाई निकै सस्तो पर्ने डा.पाण्डे बताउँछन् ।

नेपालमा वर्सेनि कति जनालाई स्तन क्यान्सर हुन्छ भन्ने एकीन तथ्यांक भने छैन । तर, पछिल्लो तथ्यांकअनुसार विभिन्न अस्पतालमा गरेर २ सय ७८ जनाको शल्यक्रिया भएको छ । सरकारी तथ्यांकअनुसार स्तन क्यान्सर भएकामध्ये मृत्युदर ९.७ प्रतिशत छ । महिला, पुरुष दुबैलाई हुने भए पनि बढी मात्रामा महिलालाई स्तन क्यान्सर हुने गरेको चिकित्सकहरु बताउँछन् ।

डा.पाण्डेका अनुसार शरीरको कुनै पनि अंगमा हुने कोशिकाहरुको अनियन्त्रित वृद्धि नै क्यान्सरको प्रमुख कारण हुन्छ । शरीरको आवश्यकता अनुसार यी कोशिकाहरु विभाजित हुन्छन, तर जब यीनीहरु लगातार वृद्धि हुन्छन्, तब क्यान्सरको रुप लिन्छन् । यस प्रकार स्तन कोशिकाहरुमा हुने अनियन्त्रित वृद्धि नै स्तन क्यान्सरको प्रमुख कारण हो । ‘कोशिकाहरुमा हुने लगातार वृद्धिहरु एकत्रित भएर गाँठोको रुप लिन्छ, जसलाई क्यान्सर ट्यूमर भनिन्छ’, उनले भने ।

स्तन क्यान्सर हुँदा पहिलो र दोस्रो चरणमा नै यसको बारेमा थाहा भयो भने सही समयमा यसको उपचार सम्भव हुन सक्छ । ‘तर, यसको बारेमा थाहा पाउनु पनि व्यक्तिको जागरुकतामा निर्भर हुन्छ । यदि तपाईंहरु स्तन क्यान्सरप्रति जागरुक हुनुहुन्छ भने यसको लक्षणहरुलाई चिनेर तपाईंले सही समयमा यसको उपचार गराउन सक्नु हुन्छ’, उनले भने ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरका विभिन्न कारणहरु हुन्छन । ती मध्ये बच्चा नजन्मनाका कारण, उमेर भैसके पछि बच्चा जन्मनु, स्तनपान नगराउनु, वजनमा अत्याधिक वद्धि, धेरै मदिरा सेवन गर्नाले पनि स्तन क्यान्सर हुन्छ । नराम्रो र अनियन्त्रित जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो । यसबाहेक अनुवांशिक रुपमा पनि स्तन क्यान्सर हुने सम्भावना रहेको चिकित्सकहरु बताउँछन् ।

स्तन क्यान्सर हुँदा स्तनको आकारमा परिर्वतन महसुस हुनु, स्तनको तल्लो भाग छाम्दा गाठो भएको महसुस हुनु, स्तन थिच्दा दुख्नु, कुनै तरल अथवा चिप्लो कुरा स्तनबाट बहनु, निप्पलको अग्रभाग मोडिनु एवं रातो रंगको हुनु, स्तन सुनिनु यसका लक्ष्णहरु हुन् । ‘महिलाहरुमा हुने क्यान्सरहरुमा स्तन क्यान्सर प्रमुख हो, जसको महसुस भएपछि सतर्क भएर यसबाट बच्ने उपाय गर्नु आवश्यक छ’, डा.पाण्डे भन्छन् ।

स्तन क्यान्सरलाई रोक्न धेरै मदिरा सेवन र धुम्रपान नगर्ने, गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने, एक्सरसाइज र योगा नियमित रुपमा गर्नुपर्छ । ‘महिलाहरु जागरुक हुनुको साथै नियमित रुपमा स्तन क्यान्सरको जाँच गराइराख्नु पर्छ । महिलाहरु आफ्नो स्तन परीक्षण, मेमोग्राफीले गराउन सक्छन् । यसको उपयोग रोगको पहिचान गर्न र त्यसलाई पत्ता लगाउने उपकरणको रुपमा गरिन्छ । मेमोग्राफीको लक्ष्य स्तन क्यान्सरको शुरुवाती तौरमा नै पत्ता लगाउनु हो’, उनले भने ।