November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

पहिलो व्यवस्थित र नमूना बस्ती ‘बर्मेलीटोल’

भैरहवा– बिक्रम सम्बत् २०२३ साल बैशाखमा बर्माबाट १५ जनाको सपरिवार भैरहवा आए । उतिवेला बर्माको मेम्युबाट भैरहवा आउँदा मनमाया भट्टराई २३ वर्षकी थिइन् । उनको परिवार बर्मामा गाई पाल्ने र दुधजन्य उत्पादनको कारोबार गर्ने गथ्र्यो । त्यतिबेला भैरहवामा अहिलेको जस्तो बस्ती र बजार थिएन । फाट्टफुट्ट मात्र घर थिए । अधिकांश स्थान झाँडी र खेत ।

Advertisement

हालको बुद्ध चोकदेखि पूर्वतर्फ ३ कट्ठा जमिन लिएर उनको परिवारले घर बनायो । उनको परिवारले त्यस स्थानमा घर बनाउनु अगावै दुई–तीनवटा घर बनिसकेका थिए । बर्माबाटै आएका नेपालीको । क्रमशः अन्य घर पनि निर्माण हुँदै जान थाले । सवै बर्माबाटै आएका नेपालीको ।

Advertisement

‘त्यतिबेला भैरहवामा बस्ती नै थिएन, स साना झुपडीमात्र थिए’, हालको सिद्धार्थनगर नगरपालिका–९ निवासी ८० बर्षीया भट्टराईले भनिन्, ‘हामी भन्दा पहिला बर्माबाट यहाँ आउनुभएका आफन्तले हामीलाई यहाँ बस्न राम्रो भएको सल्लाह दिनुभयो । हामी आयौं । हामीले पनि आफन्तलाई त्यही सल्लाह दियौं । अरु पनि आएपछि बस्तीकै रुपमा विकसित भयो ।’

उसबेला भैरहवामा बिजुली बत्ति थिएन । नत सुनौलीदेखि पोखरा जोड्ने सिद्धार्थ राजमार्गकै निर्माण र अहिलेको जस्तो चहलपहल । अति पातलो बस्ती । तीन–चार किमी दुरीको अन्तरालमा भेटाइने तराइका बस्ती । एकै स्थानमा धेरै झुपडी कुचुरुप्प बसेका बस्ती । जहाँ, दश–बाह्र घरको एउटै साझा आंगन । यही सामाजिक परिवेशमा भैरहवा आएर व्यवस्थित ढंगबाट सामूहिक बसोवास गर्न थालेको थियो, बर्मेली नेपालीको ।

२०२१ सालमा बुवाको हात समात्दै बर्माको मेम्युबाट भैरहवा आएका थिए, शंकर घिमिरे पनि । बर्माको मेम्युमा रहेका सबै छरछिमेक तथा नातेदार भैरहवामा पनि व्यवस्थित रुपमा एकै स्थानमा बसोवासका लागि आफ्ना बुवासहित भिनाजुले डोरीले जग्गा नाप्दै घडेरी छुट्याएको सम्झना अहिले पनि उनलाई ताजै छ ।

‘त्यतिबेला ८ बिघा जमिन खरिद गरेर ठूलाठूला प्लटसहितका घडेरी छुट्याइएको थियो’, नेपाल म्यान्मार मैत्री परिषद्का अध्यक्ष समेत रहेका घिमिरेले भने । बुद्धचोकदेखि पूर्वतर्फको खाली जमिन । ८ बिघा जमिन किनेर कोलोनी बनाउनका लागि सुरुवात गरियो । बर्मामा रहेका आफन्त र नातेदारलाई बस्नका लागि बोलाए । दुवैतर्फ नालीसहितको बीचमा फराकिलो २५ फिटे सडक । दायाँवायाँ घर निर्माणका लागि छुट्याइएका जमिनको प्लट । चारैतर्फ कम्पाउण्डले घेरिएको जमिनको बीचमा लहरै २०–२२ वटा ठूला ठूला घर ।

घर अगाडि गेट, विभिन्न फूल फूलेका फूलवारी, हरियो दुवोसहितको विहानमा टहल्ने मैदान । बीचमा आधुनिक घर । घर पछाडी तरकारी र अन्य खेती । कतिपयको घर अगाडि गाडी । बस्ती छिर्नु अगाडि गेट । बस्ती सकिएपछि पर्खालले घेरिएको । जहाँबाट अन्य व्यक्तिको आवतजावत हुन नसकोस् । बस्तीमा रेखदेख र सुरक्षाका लागि सामूहिक रुपमा राखिएका चौकीदार । यही आधुनिक र व्यवस्थित बस्तीको नामाकरण भयो, ‘बर्मेलीटोल ।’

भैरहवा र आसपासका क्षेत्रमा सवैभन्दा पहिलो नमूना बस्तीको रुपमा आफूलाई चिनाउन सफल भयो । यो बस्तीलाई कोलोनीको रुपमा पनि परिचित हुन थाल्यो । अचम्म मान्दै यो बस्ती हेर्न आउने स्थानीय र बाहिरीको तांती लाग्न थाल्यो । त्यस कोलोनी तथा बस्तीको स्व.राजा बीरेन्द्र समेत आएर हेरेको बताउँछन् घिमीरे । घिमिरेका अनुसार, बर्मामा रहेका नेपालीले मेहनत र परिश्रम गर्दै कृषि पशुपालन र दुधजन्य व्यवसाय गरेर प्रगती गरेका थिए ।

त्यतिबेला बर्मामा सैनिक साशन सुरु भएपछि व्यपारीमाथि कडाइ गरेको थियो । व्यपारीको सम्पत्ति राष्ट्रियकरण गर्न थालेको थियो । तथापी कृषि र पशुपालनमा रमेका नेपालीको भने सम्पत्ति राष्ट्रियकरण गरेको थिएन । तर, भोलि गर्ने हो की ? भन्ने त्रास सबैमा थियो । बि.स. २०२० सालमा तत्कालीन राजा स्व.महेन्द्रले बर्माको भ्रमणको वेलामा बर्मामा उन्नती गरेका नेपालीलाई स्वदेशमैं फर्केर व्यवसाय गर्न आग्रह गरे । बर्मामा दुःख पाएका कतिपय नेपालीलाई निःशुल्क जग्गा अपलब्ध गराउने राजाले बताए ।

‘नेपालबाट बर्मामा बस्न थालेका नेपालीका सन्तानले उमेर बढ्दै गएपछि बर्माका रैथाने समुदायमा विवाहवारी गरेर नेपाली परम्परा र संस्कृति बिलाउने हो की भन्ने चिन्ता एकातिर थियो’, घिमीरले भने, ‘अर्कोतर्फ शैनिक शासन आएपछि कमाएको सम्पत्ति राष्ट्रियकरण भएर दुःख पाइने हो की ? भन्ने चिन्ता । राजा महेन्द्रले स्वदेश फर्किन भनेपछि कमाएको सम्पत्ति सारेर नेपाल फर्केन लागेका हुन् ।’

‘बर्माबाट आएर सामूहिक रुपमा बसोवास गरेको बर्मेलीटोलको बस्तीले हामीलाई धेरै अनुकरणीय सन्देश दिएको छ’, भैरहवामा लामो समयदेखि शिक्षण र खोजमूलक अनुसन्धानमा संलग्न संस्कृतिबिद् प्राध्यापक डा.गितु गिरी भन्छन्, ‘यो बस्तीले हामीलाई कसरी सामूहिक एकतामा जुट्न सकिन्छ ? र, एक अर्काको सुख दुःखमा साथ दिन सक्नुपर्छ ? भन्ने बारेमा सन्देश दिएको छ ।’

प्राध्यापक गिरीका अनुसार, बर्मेलीटोलका वासिन्दाबाट व्यवस्थित र योजनाबद्ध बसोवास, श्रम गर्ने, श्रमको सम्मान गर्ने र व्यापार व्यवसाय कसरी गर्ने ? भन्ने वारेमा धेरै ज्ञान र सिकाई दिएको छ । व्यापार गर्न सिकाएको छ । र, सामाजिक क्षेत्रमा दान गर्न पनि । बर्माबाट भैरहवा आई बसेका परिवार अन्य भन्दा साभ्रान्त र हुनेखाने मानिन्थे । उनीहरु भैरहवा आएपछि बिस्तारै व्यापार, यातायात र उद्योग क्षेत्रमा लगानी गर्न थाले । सामाजिक क्षेत्रमापनि उनीहरुको योगदान धेरै छ ।

बर्मामा लामो समय गाई पालन गरेर भैरहवा आइ सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका मध्ये एक हुन्, स्व.लीलाराम न्यौपाने । जसको नामबाट भैरहवामा अहिले स्व.लीलाराम न्यौपाने उच्च मावि संचालनमा छ । उनले आर्थिक सहयोग नगरेको भैरहवामा सायदै कुनै कुनै पनि शैक्षिक संस्था खाली छैनन् ।

‘बर्माबाट आएका महिलामा पनि शिक्षामा लगानी गर्नुपर्छ भावना अति नै पाइयो’, प्राध्यापक गिरीले भने, ‘शैक्षिक संस्था संचालन तथा स्थापनाका लागि ति महिलाले खुत्रुकेमा राखिएको आफ्नो व्यक्तिगत पैसा निकालेर चन्दा समेत दिएको धेरै उदाहरण छन् ।’ बर्माबाट आएर बर्मेलीटोलमा बसोवास गर्ने सबै परिवार एकताबद्ध भएर बसेका थिए ।

एक परिवारलाई दुःख परेमा सबै मिलेर सहयोग गर्थे । सामूहिक लगानी गरेर व्यवसाय गर्ने परिपाटीको सुुरुवात गरेका थिए । ‘हामी बर्मामैं जन्मेर हुर्केका भए पनि यहाँ आएपछि फरक रहनसहनको कारण कुनै दुःख भएन’, मनमायाले भनिन्, ‘टोलका सबै परिवार एकै संस्कृति र परम्परामा हुर्केकाले हामी एकअर्का परिवारबीच मिलेर नै रमाउँथ्यौं । पकाएको तरकारी बाँड्नेदेखि आर्थिक सरसापटी आपसमा चल्थ्यो । अहिले त्यो सद्भाव र परम्परा कहाँ पाउनु ?’