मर्चवारमा विकासको ‘छवी’ बनाएका प्रमोद यादवको रफ्तार



भैरहवा– प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा चुनावी रौनक दिनप्रतिदिन बढ्दै छ । उम्मेदवारहरु जनमत आफ्नो पक्षमा पार्न दिनरात नभनि खटिरहेका छन् । विकासको गतिउन्मुख रुपन्देहीको मर्चवारमा अहिले चुनावी चहलपहल ह्वात्तै बृद्धि भएको छ । आफ्नो दैनिकी सम्हाल्दै सर्वसाधरण उम्मेदवारसँगै प्रचारप्रसारमा होमिएका छन् ।
निर्वाचन आयोगले तोकेको समयसीमाका कारण लामो अवधि शान्त रहेको मर्चवारमा अहिले चुनावको उल्लास छ । रुपन्देही–४, मा अहिले साँच्चिकै चुनावी माहोल बनेको छ । यहाँका मतदाता आफ्नो प्रतिनिधि चुन्न अतुर छन् । रुपन्देही–४, मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांगे्रसबाट स्थानीयको भनाईमा ‘बिकास प्रेमी’ नेता प्रमोद यादव उम्मेदवार छन् । उनी ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट बिजयी सांसद हुन् ।
लामो अवधिदेखि मर्चवार विकास पर्खिरहेको थियो । ‘यादव निर्वाचित भएपछि बिकास निर्माणले गति लिँदै छ,’ सम्मरीमाई–७, एकलागाउँका रामदास मोहरियाले भने, ‘आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास छ ।’ उनका अनुसार अहिले मर्चवारमा यादव र लोकतान्त्रिक समाजबादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यी दुईलाई जनता समाजबादी पार्टीबाट ओमप्रकाश यादव ‘गुल्जारी’ र जनमत पार्टीका भोपेन्द्र यादवले चुनौती दिइरहेका छन् । ‘माहोल एकतर्फी त छैन,’ स्थानीय सुवासचन्द्र यादवले भने, ‘शुक्ला र प्रमोद यादवबीच टक्कर हो । प्रमोदको पक्षमा ६५ प्रतिशत, शुक्लाको पक्षमा २५ प्रतिशत र बाँकी अन्य उम्मेदवारको पक्षमा माहोल छ ।’
अहिले मतदाताले उम्मेदवार पर्खिरहेको र खेतपातीमा व्यस्त भएपछि भोट हाल्न आतुर रहेको उनले बताए । ‘प्रचारप्रचार हेर्दा प्रमोद यादवको पक्षमा कार्यकर्ताको रफ्तार छ,’ स्थानीय मतदाता राजकुमार खटिकले भने, ‘अर्को पक्षको प्रचारप्रसार त्यति देखिएको छैन ।’ मर्चवारका मतदाता फेरिएको उनले बताए । ‘पहिले जस्तो आदेशको भरमा भोट हाल्ने जमाना छैन,’ उनले भने, ‘जसले बिकास गर्छ, उसैलाई भोट हाल्ने हो ।’

युवा नेता प्रमोद यादव बिकास प्रेमी र जनताको सुखदुखमा साथ दिने व्यक्ति भएकाले उनको पक्षमा माहोल बनिरहेको उनले बताए । बिहीबार सम्मरीमाई गाउँपालिकामा घरदैलोमा व्यस्त प्रमोदसित युवादेखि पाका सर्वसाधरण देखिएका थिए । उनीहरु दलको झण्डा र चुनाव चिन्ह बोकेर घरघर पुगिरहेका थिए । ‘प्रमोदले जितेयता हामीले विकासको अनुभूति गर्न पाएका छौं’, स्थानीय जसोधरा हरिजनले भनिन्, ‘बाटाघाटा, पुलपुलेसा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन्, फेरि जितेमा उहाँले थप काम गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’ उनले मर्चवार सधै पछाडि पर्नुको कारण यसअघि यहाँबाट जितेर पटकपटक मन्त्री भएकाहरुले काम नगरेका कारण हो ।
घरदैलोका क्रममा पब्लिकुरासित कुरा गदैं नेता प्रमोदले ०७४ सालमा मर्चवारका बासिन्दाले कांग्रेसलाई माया गरेको र त्यो वातावरण कायम पाएको बताए । ‘यसपाली मतदाताले कांग्रेस चाहिन्छ भनिरहनु भएको छ,’ उनले भने, ‘त्यसको कारण हामीले सुरुवात गरेको बिकास निर्माण हो ।’ आफ्नो कार्यकाल सुरु भएलगत्तै बिकासका काम थालनी भएको उनले दाबी गरे । ‘कोरोनाले गर्दा केही काम हामीले पूरा गर्न पाएनौं,’ उनले भने, ‘अबको निर्वाचन लगत्तै ती काम पूरा हुन्छन् ।’
कोरोना महामारीले गर्दा मर्चवारका धेरै बिकास योजनाका लागि छुट्याइएको बजेट फ्रिज हुन गएको उनले बताए । ‘संघ, प्रदेश र स्थानीय सरकारसित मिलेर बिकासको लहर ल्याइयो,’ उनले भने, ‘त्यसैलै मर्चवारका बासिन्दा अहिले कांगे्रसको पक्षमा हुनुहुन्छ ।’ मसुक्क हाँस्ने, प्रष्ट बोल्ने, जनताको सुखदुःखमा साथ दिने प्रमोदको सानैदेखिको बानी हो । उनको यही बानी र शालीनताका कारण मर्चवारका अन्य पार्टीका नेता–कार्यकर्ता पनि उनीप्रति सहानुभूति राख्छन् ।

‘युवा हो, उमेर छ, सधै जनतासँग रहन्छ, यसले गर्दा पनि प्रमोदप्रति धेरै मर्चवारबासीको विश्वास छ’, स्थानीय कलामति हरिजनले भनिन्, ‘यसपटक फेरि प्रमोदलाई जितायौं भने पक्कै पनि यस क्षेत्रले रुपन्देहीका अन्य क्षेत्रजस्तै विकासको अनुभूति गर्न पाउनेछ भन्ने हाम्रो विश्वास हो ।’ स्थानीयको काँग्रेस युवा नेता प्रमोदसँग जुन किसिमको सदासयता छ, घरदैलोका क्रममा पनि पब्लिकुराको टिमले त्यो पायो । घरदैलोमा उनलाई आशीर्वाद दिनेको लर्को नै लाग्थ्यो ।
धेरैले विकासप्रेमी नेता फेरि जित्नुपर्छ भनेर आशीर्वाद दिन्थे, कतिले युवा छौं, अधुरा काम पूरा गर्नु भनेर आग्रह गर्थे भने कतिले मर्चवारलाई विकसित क्षेत्र बनाउने अठोटबाट पछि नहट्नु भनेर शुभकामना दिन्थे । स्थानीय माया र आशीर्वाले हौसिएका यादव निर्वाचन जित्नेमा आफू ढुक्क रहेको बताउँथे । ‘यतिधेरै माया र विश्वास छ, म कहिल्यै यसलाई कमी हुन दिनेछैन’, उनले भने ।
उनले शिक्षा, स्वास्थ्य, सिंचाई, पूर्वाधार विकास, रोजगारी सिर्जनालाई आफ्ना मुख्य एजेण्डा बनाएका छन् । पब्लिक कुरासँग कुराकानी गर्दै प्रमोदले भने, ‘हामीले यस क्षेमा करोडौं बजेट पारेर विकासको सुरुवात गरेका छौं, यसलाई निरन्तरता दिइने छ, नयाँ योजना ल्याएर मर्चवारको मुहार फेर्ने मेरो अठोट हो, कत्ति पनि विचलित नभई काम गर्ने छु ।’ घरैपिच्छे प्रमोदलाई स्वागत गर्नेको लाइन नै लागेको थियो । बेलाबेला नेपाली काग्रेस जिन्दावाद, प्रमोद यादव जिन्दावाद, अष्टभुजा पाठक जिन्दावाद, बसिउद्दीन खाँन जिन्दावाद भन्ने नारा स्थानीय र कार्यकर्ताले लागाइरहेका थिए । यसले उम्मेदवारहरुमा थप उत्साह देखिन्थ्यो ।












प्रतिकृया दिनुहोस्