September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

आत्महत्याको ग्राफ डरलाग्दो

भैरहवा– लुम्बिनी प्रदेशमा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । प्रहरीका अनुसार पछिल्लो समय आत्महत्याका घटनाहरु बढीरहेका छन् । लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा करिब ४ हजारले आत्महत्या गरेका छन् । प्रहरीको तथ्यांक अनुसार प्रदेशका १२ जिल्लाहरुमा तीन वर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् ।

Advertisement

प्रदेश प्रहरीका अनुसार झुण्डिएर, विष सेवन गरेर, हातहतियार प्रयोग गरेर, हाम फालेर, करेन्ट तथा आगो लगाएर आत्महत्या गरेका छन् । संख्यात्मक रुपमा आत्महत्याका घटना बढ्नुमा मानसिक तनाव, बहुविवाह, आत्मग्लानी, महत्वकांक्षी र गरिबी लगायत मुख्य कारण देखिएको प्रहरी भनाई छ ।

‘मान्छे चाहिने भन्दा बढी महत्वकांक्षी हुनु र ती आवश्यकता पुरा नहुँदा, वैदेशिक रोजगारी, श्रीमान् श्रीमतीबीच मनमुटाव हुँदा आत्महत्यासम्मको निर्णय लिने गरेको पनि पाइएको छ’, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले भने, ‘यी बाहेक भित्री अन्य कारण पनि हुनसक्छन्, खोजविन गरी न्यूनीकरणमा लाग्न जरुरी छ । यसतर्फ प्रहरी लागिपरेको छ ।’

उनले घटना बढ्नुका कारण र न्यूनीकरण बारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताए । बेलाबेलामा प्रहरीले सचेतनामूलक कार्यक्रम गर्ने गरेको उनले जनाए । प्रहरी तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढीरहेको देखिन्छ ।

प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा १ हजार २ सय ३३ जना, २०७७–०७८ मा १ हजार ४ सय ८ जना र २०७८–०७९ मा १ हजार ३ सय ४१ जना गरि कुल ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये सवैभन्दा धेरै रुपन्देही जिल्ला र कम पूर्वी रुकुममा रहेका छन् ।

प्रहरीकाअनुसार आर्थिक वर्ष २०७८–०७९ मा रुपन्देहीमा मात्रै २ सय ६७ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी दाङमा २ सय १४ जना, कपिलवस्तुमा १ सय ६६ जना, बर्दियामा १ सय ६१ जना, पाल्पामा ७५ जना, गुल्मीमा ७१ जना, रोल्पामा ७३ जना, प्यूठानमा ६८ जना, अर्घाखाँचीमा ५९ जना, बाँकेमा ५८ जना र रुकुम पूर्वमा १२ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा २० वर्षदेखि ४५ वर्ष उमेर समूहका बढी छन् । यीमध्ये अधिकांशले झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्ने गरेका छन् । यस्तै आगो लगाएर, हामफालेर, औजार प्रयोग गरेर पनि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । आत्महत्या गर्नेहरु बढ्दै जाँदासमेत यसको रोकथामका लागि सचेतनाका कुनै प्रयास गरिएको छैन । मुलुक संघीयतामा गएपछि प्रदेश र स्थानीय सरकार गठन भएका छन् । यी निकाय पनि मौन छन् ।

नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका प्रतिनिधिहरुले त पूर्णरुपमा बेवास्ता नै गर्दै आएका छन् । पालिका स्तरमा आत्महत्याविरुद्ध अभियान चलाउने हो भने घटनादर कम गर्न केही भए पनि सहयोग पुग्ने अधिकारकर्मीहरु बताउँछन् । खासगरी पछिल्लो समय घरायसी विवाद, अशिक्षा, गरिबी, दिर्घ रोगले गर्दा पनि आत्महत्या गर्ने बढ्दै गएको मनोरोज विशेषज्ञहरु बताउँछन् । यस्तै पारिवारिक विछोड र मानसिक तनाबका कारणले पनि मानिले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।

‘आत्महत्याको अवस्था भयाबह बन्दै गएको छ, लागूऔषध, प्रेम सम्बन्ध, पारिवारिक झगडा तथा पीडा, सामाजिक बहिस्कार र स्वनिर्णय जस्ता कारण पनि एक हुन्’, मनोरोग विशेषज्ञ प्राध्यापक डा.संदीप सुवेदीले भने, ‘आत्मवल कमजोर हुँदा विशेषज्ञ डाक्टरकहाँ उपचार गर्न पुगे पनि आत्महत्या गर्ने मनोबलमा परिवर्तन ल्याउन सकिन्छ । यसका लागि सरकार र शिक्षित वर्गले जनजागरण अभियान चलाउन जरुरी छ ।’

उनले बिलासिताका सामाग्रीहरु बढ्दै जानु तर बेरोजगारीका कारण ती आपूर्ति गर्न नसक्दा पनि आत्महत्या हुने गरेको बताए । सानै उमेरमा प्रेम गर्ने, अन्तरजातीय विवाह, महिला तथा घरेलु हिंसाको घटना, युवाहरुमा बेरोजगारी समस्या, बढ्दो प्रविधिसँगै आएको विकृतीले पनि आत्महत्याका घटनाहरु बढ्दै गएको प्रहरीको भनाई छ ।

युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके न्यूनीकरण गर्न सकिने विशेषज्ञहरु बताउँछन् । मनोरोग विशेषज्ञ सुवेदीले भने, ‘थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरुप्रति वितृष्णा, एक्ै बस्न खोज्ने जस्ता किसिमका लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ, यसो भएमा मनोबलमा परिवर्तन आउँछ र घटनामा कमी हुँदै जान्छ ।’

विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान हो । त्यस्तै, भारत र नेपालमा पनि आत्महत्या गर्नेको संख्या अत्यधिक छ । आत्महत्या गर्नेमा १० वर्षे बच्चा, युवादेखि लिएर वृद्धवृद्धासम्म छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार आत्महत्या गर्ने ९० प्रतिशत कारण उदासिनता (डिप्रेसन) रोग हो । आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य भए पनि मानिसले तत्कालै र दीर्घकालीनरुपमा आइपर्ने दुःख र निरासाको क्षण धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल पनि बितेर जाने र यसले आफ्नो आत्महत्याको सोचमा पुनर्विचार गर्न मद्दत पुग्ने सुवेदी बताउँछन् ।

‘थोरै समयमा आफूले गरेको धैर्यतामा अरुबाट थप सहयोग प्राप्त हुनसक्छ, यसले आत्महत्या गर्ने अवस्थामा पुगेको जो कोहीको पनि जीवन जोगिन सक्छ । त्यसैले धैर्य गर्ने बानी बसालौं, आत्महत्याका लक्षण देखिएकाहरुलाई सहयोग र परामर्स दिऔं । मर्नु त एकपल्टै छँदैछ तर अनाहकमा जीवन खेर नफालौं’, मनोरोग विशेषज्ञ प्रा.डा.सुवेदीले भने ।