ब्याडमिन्टनः युवा–पाकापुस्तासम्मको लोकप्रिय खेल



भैरहवा– पछिल्लो समय रुपन्देहीमा ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । केही वर्ष अघिसम्म सरकारी कर्मचारी, सेना, प्रहरीमाझ लोकप्रिय बनेको यो खेल अहिले युवापुस्ता र अधबैँसेमाझ पनि लोकप्रिय बन्दै गएको छ । पहिला ब्याडमिन्टन खेल कर्मचारी मिलन केन्द्रमा मात्र सीमित थियो, खेलका लागि कोर्टहरु पनि जहाँतही बनाइँदैनथ्यो । भैरहवा र बुटवलमा ठुला कभर्डहल निर्माण भएपछि दैनिक सयौं खेलाडी कबर्ड हलमा व्याडमिन्टन खेल्न पुग्छन् ।
अहिले त अधिकांश स्थानमा कोर्टहरु बनेका छन् । सार्वजनिक भवन, संघसंस्थाको भवनमा पनि ब्याडमिन्टन खेलका लागि कोर्ट तयार पारी खेल खेलिँदै आएको छ । खासगरी ब्याडमिन्टनले स्वास्थ्यका लागि राम्रो गर्ने, विकसित र अनुशासित गराउने भएकाले पनि ब्याडमिन्टनप्रति आकर्षण बढ्दै गएको भैरहवा ब्याडमिन्टन क्लका उपाध्यक्ष राम थापाले बताए ।
‘ब्याडमिन्टनले शारिरीक रुपमा स्वस्थ मात्रै राख्दैन, यसले युवाहरु खेलप्रति आकर्षित हुँदा लागूऔषध जस्ता गलत क्रियाकलापमा सहभागी हुन पनि दिँदैन’, थापाले भने, ‘रोग र गलत क्रियाकलापबाट टाढा राख्ने भएपछि पाकापुस्तादेखि युवावर्गमाझ लोकप्रिय बन्दै गएको हो ।’ क्लबका प्रशिक्षक तथा ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी तिलक कोइरालाले विशेष गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु हेरेर प्रभावित हुँदा युवाहरु ब्याडमिन्टनप्रति आकर्षित भएको बताउँछन् ।
उनले अधबैंसेहरु छोटो समयमा शारीरिक फिटनेस हुने, स्वथ्य रहने भएकाले पछिल्लो समय ब्याडमिन्टनप्रति आकर्षित देखिएको बताए । ‘समयको बचत पनि हुन्छ, स्वस्थ रहन पनि मद्दत गर्छ, त्यसैले धेरैको रोजाई व्याडमिन्टन भएको हो’, उनले भने । रुपन्देहीमा ब्याडमिन्टन लोकप्रिय बन्दै जाँदा राष्ट्रिय टिमबाट अन्डर नाइन्टिन वल्र्ड कप क्रिकेट खेलिसकेका अन्तिम थापा अहिले क्रिकेट छाडेर ब्याडमिन्टनतिर आकर्षित भएका छन् । निरन्तर क्रिकेट खेल नहुने हुँदा ब्याडमिन्टनले छोटो समयमा राशीरिक फिटनेस कायम गर्ने भएकाले पनि आफू अहिले ब्याडमिन्टन खेलतिर बढी केन्द्रित भएको उनले बताए ।
‘हाम्रो देशमा सधै निरन्तर क्रिकेट खेल भएका छैनन्, यसले गर्दा खेलाडीहरुमा अल्छिपना, विरक्तता आउने डर हुन्छ, त्यही भएर पनि म क्रिकेट छाडेर ब्याडमिन्टनतिर लागेको हुँ’, थापाले भने । उनले खेलाडी स्वस्थ रहन र स्फूर्त रहन पनि कुनै न कुनै खेल खेल्न आवश्यक हुने बताए । आफूले क्रिकेट खेललाई अत्यन्तै सम्मान गर्ने बताउँदै थापाले बेलाबखत हुने स्थानीय तथा जिल्लास्तरीय खेलमा सहभागी भए पनि अहिले अधिकांश समय ब्याडमिन्टन खेलमा खर्चने गरेको बताए ।

खासगरी ब्याडमिन्टन पछिल्ला दिनहरुमा सहरको लोकप्रिय खेल मानिन्छ । सहरी क्षेत्रमा कबर्डहल र प्रशस्त कोर्टहरु छन् । पहाडी जिल्लामा न्युन छन् । पहाडी जिल्लाका सदरमुकाम र सरकारी कार्यालय परिसरका कोर्टहरु भए पनि सबै ठाउँमा नहुँदा खेलप्रति खासै पहुँच छैन । सहर–बजारमा भने प्रशस्त कोर्टहरु मात्रै छैनन्, खेल लोकप्रिय पनि छ । बिहान र साँझको समयमा खेलाडी र शरीरिक दन्दुरुस्तीका लागि ब्याडमिन्टन खेल्नेको घुइँचो लाग्छ । शारिरीक फिटनेसका लागि भए पनि सहरका युवादेखि पाकापुस्तासम्म यो खेल खेल्छन् । रुपन्देहीमा रहेका ब्याडमिन्टनका कोर्टहरुमा खेलाडीको भिड लाग्छ ।
सुरुमा भैरहवा र बुटवलमा मात्रै कभर्डहलहरु थिए । अहिले जिल्लाका तिलोत्तमा, सैनामैना, देवदहलगायतका ठाउँमा पनि कभर्डहल बनेका छन् । भैरहवा ब्याडमिन्टन क्लबका कोषाध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाबाट सेवानिवृत्त बरिष्ठ अधिकृत गणेशबहादुर क्षेत्रीले अहिले रुपन्देहीमा ११ वटा कभर्डहल रहेको बताउँछन् । यसबाहेक सरकारी कार्यालयहरुमा पनि दर्जनौं कोर्ट छन् । ‘सहरी क्षेत्र, पूर्वाधार र सहजता भएकाले होला रुपन्देहीमा ब्याडमिन्टन निकै लोकप्रिय बनेको’, उनले भने, ‘केही महंगो खेल भएकाले विगतमा त्यति खेलाडी हुँदैनथे, अहिले कभर्डहलहरु भीडले थेगिनसक्नु हुन्छ ।’
उनले आफू २५ वर्षदेखि निरन्तर ब्याडमिन्टन खेल्दै आएको बताए । ‘म यति लामो समयदेखि खेल्दै आउनुको पछाडि शारीरिक तन्दुरुस्ती, रिफ्रेसमेन्ट, साथीभाइसँगको सौहार्दता नै हो’, उनले भने, ‘सधै कभर्डहल पुग्छु र ब्याडमिन्टन खेल्छु । स्वास्थ्य राम्रो छ ।’ उनले रुपन्देहीका अधिकांश कभर्डहलहरु बिहान साढे ४ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि करिब ९ बजेसम्म खेलाडीले भरिभराउ हुने बताए । ‘हामीले ब्याडमिन्टन खेल्न सुरुगर्दा रुपन्देहीको भैरहवामा मात्रै खेल हुन्थ्यो’, उनले भने, ‘पहाडी जिल्लाहरुमा यस्तो छैन होला, तर सहरी क्षेत्रका जिल्लाहरुमा अहिले ब्याडमिन्टनप्रति लोकप्रियता बढेको देख्दा खुशी लाग्छ ।’
जिल्लाका सबै कोर्टहरु बिहान र साँझको समयमा खेलाडीले भरिभराउ हुने गरेका छन् । मुख्यतः ग्रिपिङ, सर्भिस, ट्रोक, फुटवर्क र ड्रपसट गरी ५ प्रकारका सीपहरु प्रयोग गरेर खेलिने ब्याडमिन्टन खेलमा यहाँका कवर्डहलहरुमा सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, दलका नेता कार्यकर्ता, ब्यापारी, युबा, संचारकर्मी, सर्बसाधारण सबै पुग्ने गरेका छन् ।
भैरहवामा स्पोर्टस ईभेन्ट नेपाल (सेन), सिद्धार्थ स्पोर्टस एकेडमी, जेसिआई सिद्धार्थ लगायतका संस्थाहरुले बिभिन्न प्रतियोगिता गरिसकेका छन् । बुटवलमा पनि दर्जनौं कार्यक्रमहरु भइसकेका छन् । ब्याडमिन्टन खेल्दा समयको बचत हुनु, अन्य खेल भन्दा शारीरिक फिटनेस राख्नु, आत्मियता बढ्नु जस्ता कारणले पनि ब्याडमिन्टन खेलप्रति सबै आकर्षित छन् । चिकित्सकहरुले पनि ब्याडमिन्टन स्वास्थ्यका लागि निकै लाभदायका भएको बताउँछन् ।

ब्याडमिन्टन कसरी खेलिन्छ ?
ब्याडमिन्टन मुख्यतः अंग्रेजहरुले प्रचलनमा ल्याएको खेल मानिन्छ । सन् १८२० तिर भारतको पुनामा समेत खेलिएको भनिएको यो खेल बेलायतका ड्युक अफ वियुफोर्टले पाहुनाको मनोरञ्जनका लागि सन् १८७० मा नियमबद्ध रुपमा खेलाएपछि आधिकारिक सुरुवात भएको इतिहासमा उल्लेख छ ।
त्यसपछि सन् १९३४ सम्ममा यस खेलको अन्तर्राष्ट्रिय संघ विश्व ब्याडमिन्टन संघ स्थापना भएपछि चर्चा बढेको थियो । त्यसपछि सन् १९६२ मा एशियाली खेलकुद प्रतियोगिता र सन् १९९२ देखि ओलम्पिक खेलमा पनि खेलाइन थालेपछि विश्वका थुप्रै मुलुकमा ब्याडमिन्टन लोकप्रिय बन्दै गएको छ । नेपामा भने ब्याडमिन्टन वि.स. १९८९ देखि नै खेल्न थालिए तापनि वि.सं. २००८ सालमा मात्र नेपाल ब्याडमिन्टन संघ स्थापना भएपछि बढी मात्रामा खेल खेल्न थालिएको हो ।
त्यसपछि मुलुकका अधिकांश स्थानहरुमा यो खेल खेलिँदै आएको छ । मुख्यतः ब्याडमिन्टन सिंगल, डबल र मिक्स डबल गरी तीन प्रकारले खेलिन्छ । सिंगलमा एक जना पुरूष वा एक जना महिला मात्र खेल्ने गर्दछन् भने डबलमा दुई–दुई जना पुरुष–पुरुष वा दुई–दुई जना महिला–महिला खेल्छन् ।
यस्तै, मिक्स डबलमा एकै समूहमा १ पुरुष र १ महिला गरी दुई समूहबीच पनि खेलिन्छ । ब्याडमिन्टन खेलमा पैसा उफारेर, चिठ्ठा हालेर तथा टस गरि सर्वप्रथम कोर्ट या सर्भिस पालोको सुरुवात गरिन्छ । सर्भिस दाँयाबाट गरिन्छ । जुनतर्फ सर्भिस हुन्छ, त्यसैतर्फको खेलाडीले थाप्नुपर्छ भने अर्कोले छुन पाउँदैन । अंक प्राप्त भएपछि साइड चेन्ज हुन्छ ।
सिंगलमा पछाडिको बाहिरको लाइनलाई लङ सर्भिस भनिन्छ । डबलमा पछाडिको भित्रको लाइन मानिन्छ । खेलाडीले नेटमा छुन पाउँदैन । विपक्षी तयार नभएसम्म सर्भिस गर्न पाइँदैन । दुवैतर्फबाट १–१ सेट जितेपछि आराम गर्न दिइन्छ । सटक कर्कलाई एउटै खेल वा पालोमा दुई पटक हानेमा फल हुन्छ । एक सेट जित्न कम्तीमा २१ अंक ल्याउनु पर्दछ ।








प्रतिकृया दिनुहोस्