November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

उपचार सेवा प्रभावकारी बनाउँदै भीम अस्पताल

भैरहवा- २६ जना चिकित्सकमध्ये १२ जनाबाट बिशेषज्ञ सेवा । २४ सै घण्टा एकजना चिकित्सकसहितको इमरजेन्सी सेवा, प्रयोगशाला, प्रसुती, एक्सरे र गर्भवती महिलाको शल्यक्रिया सेवा । भेन्टिलेटर, आईसीयु, एचडीयु, एनआईसीयु सुविधासहितका बिरामीका लागि उपलब्ध शय्या । अशक्त र अपांग विरामीका लागि लिफ्टको सेवा ।

Advertisement

९० बर्ष पुरानो भैरहवास्थित भीम अस्पतालमा पछिल्ला बर्षमा भएको यो परिवर्तनले, अस्पतालमा चिकित्सक नहुने, सामान्य बिरामीको उपचारलाई पनि अन्यत्र लैजानु पर्ने लगायतका कारणले बर्षौसम्म गुमाएको बिश्वासलाई जगाउन थालेको छ ।

Advertisement

पछिल्ला केही बर्ष यता बास्तवमैं भीम अस्पतालले भौतिक पूर्वाधार, जनशक्ति र उपकरणमा धेरै उपलब्धि हासिल गरेको छ । सामान्य केही अपवाद बाहेक अस्पतालको व्यवस्थापनमा पनि धेरै सुधार आउन थालेको महसुस स्थानीयले गर्न थालेका छन् ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ता भीम अस्पतालमा उपचार सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताउँछिन् । ‘अहिले यस अस्पतालमा धेरै खालका बिरामीका लागि गुणस्तरीय उपचार सेवा उपलब्ध छ’, उनले भनिन्, ‘अस्पतालबाट प्रदान गरिने बिशेषज्ञ सेवालाई पनि बिस्तार गर्दै लगिने तयारीमा छौं ।’

अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि हिजोआज उपचारार्थ आउने बिरामीको चाप पनि बढ्दै जान थालेको उनले बताइन् । अस्पताल प्रशासनका अनुसार, यस अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या दैनिक ३ सय नाघ्ने गरेको छ । बिस १९९० सालमा स्थापना हुँदा यस अस्पतालमा ३ वटामात्र शय्या थिए । क्रमशः बिस २०३५ सालमा १५, २०४१ मा २५, आव ०७६–०७७ मा ५० शय्यामा परिणत भएको छ । अस्पतालको आन्तरिक श्रोतबाट समेत व्यवस्थापन गरि अहिले अस्पतालमा कुल १ सय २० वटा शय्या उपलब्ध छन् ।

पाच–छ बर्ष अघिसम्म अस्पतालको अवस्था अर्के थियो । अस्पतालमा चिकीत्सकको मुहार देख्न नै दुर्लभ हुन्थ्यो । दरबन्दीमा रहेका चिकित्सक पनि काज मिलाएर अन्यत्रै हुन्थे । सामान्य उपचारका लागि पनि स्थानीय बुटवल, काठमाडौं र भारतको विभिन्न शहरमा जाने गर्थे ।

अस्पतालका प्रशासकीय प्रमुख गोबिन्द ज्ञवालीले हाल उपलब्ध रहेको एउटामात्र अप्रेशन थिएटर प्रसुति कक्षमामात्र प्रयोग भएकाले यसै आर्थिक बर्षदेखि अर्को अप्रेशन थिएटर संचालनमा ल्याएर अन्य बिरामीको सल्यक्रिया संचालन गरिने जानकारी दिए ।

उनका अनुसार, लुम्बिनी प्रदेश सरकारले भीम अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गरे अनुरुप अस्पतालमा जनशक्ति र उपकरण उपलब्ध गराएपछि भीम अस्पतालको उपचार सेवा प्रभावकारी बनेको उनले बताए । अस्पतालमा सिटी स्क्यान सेवापनि यसै बर्षदेखि सुरु हुने र यसका लागि आवश्यक जनशक्तिको माग गरि सकिएको जानकारी पनि उनले दिए ।

‘लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठान’ ले ३ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरि अस्पताललाई उपलब्ध गराएको अत्याधुनिक लिफ्टसहितको दुईतल्ले भवनले पनि अस्पतालको भौतिक पूर्वाधारमा थप गर्नमा महत्वपूर्ण भूमिका निभाएको छ । उक्त भवनमा अस्पतालले इमर्जेन्सी सेवाका लागि प्रयोगमा ल्याएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाल न्यौपानेले फिजिसियन, अर्थोपेडिक, जनरल सर्जनको बिशेषज्ञ सेवाका लागि अस्पताल बिकास समितिले आफ्नो श्रोतबाट चिकित्सक राख्ने तयारी गरेको बताए ।

दुई बर्षमा निर्माण सम्पन्न हुने गरि अण्डरग्राउण्डसहितको तिन तल्ले भवनको निर्माणको तयारी गरिएको उनले बताए । ‘सरकारी स्तरबाट प्राप्त भएका जनशक्ति र उपकरणको प्रयोगबाट मात्रै उपचारार्थ आउने बिरामीलाई अभाव हुन थालेमा अस्पताल बिकास समितिले आर्थिक श्रोत व्यवस्थापन गर्नेगरि स्वास्थ्य सेवालाई प्रभावकारी गराउन थालिएको छ’, न्यौपानेले भने ।