सुधारगृह की बिग्रिने गृह ?


भैरहवा– घरमा असुरक्षित भएको महशुस भएपछि बाल सुधारगृह नजिकै घर भएकी एक किशोरीलाई उनको अभिभावकले भैरहवादेखि टाढा मामा घर राखेका छन् । १८ वर्षीया ति किशोरी कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । आफ्नै घरमा पनि अभिभावकालाई छोरी असुरक्षित महशुस लाग्नुको पछाडीको कारण हो, नजिकैको बाल सुधारगृहमा रहेका किशोरहरुको क्रियाकलाप ।
घरमा कपडा धुने, सुकाउने लगायतका घरायसी काम गरेको मौका पारेर बाल सुधार गृहका केही किशोरले सुधार गृहको छतबाट मोबाइलले जुम गर्दै छोरीको तस्वीर खिचेको जानकारी पाएपछि छोरीको सुरक्षाप्रति चिन्तित बनाएको किशोरीकी आमाले बताइन् ।
‘त्यतिबेला छोरीको बुवा घरमा हुनुहुन्थेन । सुधारगृहका किशोरले मोबाइलबाट आफ्नो तस्बीर खिचेको थाहा पाएपछि छोरी बेस्सरी रुन थाली’, किशोरीको आमाले भनिन्, ‘छोरी घरमा असुरक्षित हुन सक्ने ठानेर तत्कालै मैले उसको मामा घरमा पठाइदिएँ ।’ उनीलगायत भैरहवाको बाल सुधारगृह आसपासमा बसोवास गर्ने महिलाको एउटा समूह नै सुधारगृहलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने माग राख्दै ६ दिन अघि जिल्ला प्रशासन कार्यालयमा डेलिगेशनका लागि पुग्यो । प्रमुख जिल्ला अधिकारी समक्ष उनीहरुले सुधारगृहमा रहेका किशोरहरुको क्रियाकलापले आफ्ना छोराछोरी असुरक्षित रहेको र गलत बाटोमा जाने जोखिम बढेको चिन्ता व्यक्त गरे ।
यतिमात्रै होइन्, सुधारगृहका केही किशोरहरुले दिने धम्कीले आफूहरु समेत असुरक्षित भएको महशुस गरेको उनीहरुले बताए । ‘सुधारगृह अगाडिको बाटोबाट विद्यालय हिँडेका छात्रा र नजिक घरमा रहेका युबतीलाई भित्रबाट सिट्ठी बजाउने, जिब्रो पड्काउने, छतबाट जिस्क्याउने र अश्लिल बोल्ने गर्छन्’, बाल सुधारगृह नजिकै घर भएकी स्थानीय मुना आचार्यले भनिन्, ‘अहिले बाल सुधार अगाडिको सडकबाट स्कूले विद्यार्थी हिँड्न छाडेका छन् र छोरीचेलीवेटी हिँड्न असुरक्षित पनि ।’
जान–अन्जानमा बाल विज्याइँ गरेका र कानुनको विवादमा परेका १८ वर्ष मुनिका बालकहरुलाई आदलतमा मुद्दाको पुर्पक्षका लागि, मुद्दा पैmसला नहुन्जेल र कैद भुक्तानका लागि बाल सुधारमा राख्नु पर्ने कानुनी प्रावधान छ । उनीहरुमाथिको अभियोगको सुनुवाइका लागि पनि बालमैत्री आधारमा गर्ने भनेर अदालतमा बाल इजलास कक्ष अलग्गै छ । मुद्दाको सुनुवाइ, बस्ने लगायतका सबै प्रकृया बालमैत्री आधारमा हुनु पर्ने प्रावधान छ ।
विभिन्न अपराधमा मुछिएका बालबालिकालाई कानुनले कडा सजायमा छुट दिएको छ । उनीहरुले गरेका अपराधलाई बालबिज्याई मानेको छ । कानुनले कलिला बालबालिकालाई सुधारको मौका दिएको छ । अन्य कैदी सरह उनीहरुलाई कारागार तथा जेलमा नराखेर बाल सुधारगृहमा बालमैत्री आधारमा राखि आनीबानी र आचारणमा सुधार ल्याउँदै भविष्यमा असल नागरिक तयार पार्ने उद्देश्यले नै बाल सुधारगृहको स्थापना गरिएको हो । तर, भैरहवास्थित बाल सुधारगृहमा हुने उनीहरुका क्रियाकलाप र गलत क्रियाकलापलाई उत्प्रेरित गर्न अनुकुल हुने अन्य बातावारणले सुधारगृहबाट भविष्यमा बाहिर समाजमा निस्किँदा असल नागरिकको सट्टा कतै खतरनाक अपराधी बनेर निस्किने त होइनन् ? भन्ने आशंका देखा परेको छ ।
लागूऔषध र नसालु पदार्थको प्रयोग
सुधारगृहभित्र लागूऔषध, चुरोट, मादक पदार्थको सेवन हुने गरेको कुरा खुल्न आएको छ । गांजा र नेपालमा प्रतिबन्ध मेडिकल प्रयोगमा आउने औषधिसमेत सुधारगृहमा रहेका किशोरलाई उपलब्ध हुने गरेको तथ्य बाहिरिएको हो । सुधारगृहमा रहेका कैयन् बालक तथा किशोरले बाहिरबाट सेटिङ मिलाएर नशालु पदार्थ भित्र्याउने गरेको प्रत्यक्ष आफूले देखेको बताउने स्थानीय बासिन्दा प्रशस्त छन् ।
सुधारगृहमा कसैले पनि मोवाइलको प्रयोग गर्न पाइँदैन । तर, उनीहरुको हातहातमा मोवाइल कसरी पुग्यो ? लागूऔषध र मादक पदार्थ कसरी उनीहरु समक्ष पुग्ने गर्छ ? लगायतका प्रश्न उब्जिएका छन् । यस्ता क्रियाकलाप र गतिबिधिले सुधारगृहभित्र गहिरो अनुशन्धानसहितको छानबिन गर्न जरुरी देखिएको छ ।
सुरक्षाकर्मीको २४ सै घण्टा तैनाथी रहने र सुधारगृहको भित्रबाट सुरक्षाकर्मी र सुधार गृहका कर्मचारीको स्विकृति बिना कम्पाउण्डमा समेत निस्किन नपाउने प्रावधान छ । उनीहरुलाई भेट्न जाने अभिभावक र अन्य जो कोही पनि सुरक्षाकर्मीको खनतलासी र सुरक्षा चेकजाँच बिना भित्र पस्न पाउँदैनन् ।
सुरक्षाकर्मीको तैनाथी रहँदारहँदै पनि सुधारगृहभित्र स्वीकृति नभएका सामान र प्रतिबन्धित नशालु पदार्थ कसरी पुग्ने गर्छ ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । सुधारगृहका कर्मचारी पिताम्बर न्यौपानेले सवै सामान सुरक्षा चेकजाँच भएर भित्र जाने गरे पनि सुधारगृह भित्र मोवाइलको प्रयोग हुने गरेको र नशालु पदार्थ भेटिने गरेको बताए ।
‘छ–सात महिना अघि सुधारगृह परिसरमा गाँजा र प्रतिबन्धित औषधि नाइट्रोजन ट्याब्लेट सिसी क्यामेराबाट वेवारिसे अवस्थामा देखिएपछि जलाएर नष्ट गर्यौं’, न्यौपानेले भने, ‘सुधारगृहमा रहेका कैयन् किशोर र बालक बेलाबेलामा निकै उत्तेजित हुने गर्छन् र अराजक ढंगले प्रस्तुत हुने पनि गर्छन् ।’
अभिभावकबाट पनि उपलब्ध
गत मंगलवार सुधारगृहमा सुरक्षा निकायले सर्च गर्दा करिव २० ग्राम गांजा, एक दर्जन भन्दा धेरै मोवाइल, आठ–दशवटा फलामको डन्डा, किलाकाटा र काठको टुक्रा बरामद गर्नुले पनि सुधारगृहमा प्रतिबन्धित सामाग्री पुग्ने गरेको स्पष्ट हुन्छ । आफ्ना छोरालाई भेट्न आउने कतिपय अभिभावक स्वयंले चुरोट लगायतका नशालु पदार्थ लुकाएर उपलब्ध गराउने गरेको कुरा बाहिर आएको छ । सुधारगृहकी प्रमुख सुभद्रा गौतमले अभिभावकले नै खानेकुरामा सूर्ति, चुरोट लुकाएर दिने गरेको कुरा खुल्न आएको बताइन् । ‘एक बालकका अभिभावकले चनाभित्र सूर्ति लुकाएर दिएको भेट्यौं’, उनले भनिन् ।
अभिभावक स्वयंले लागूपदार्थ उपलब्ध गराउने कुरा स्थानीय बासिन्दा पनि बताउँछन् । ‘यस्ता चिज छोरालाई किन दिनु भएको त ? भनेर सोध्दा अभिभावकले नदिए सेरिएर मर्दिन्छु भन्छ । मर्न भन्दा बरु दिए ठिक भनेर दिए भन्ने धेरै छन्,’ स्थानीय मुना आचार्यले भनिन्, ‘छोराले मागेको सामान पुर्याइदिने अभिभावक पनि छन् । र, मागेको पैसा दिँदा उनीहरुले बाहिरबाट मगाएर पनि खाने गर्छन् ।’ भान्सामा बचेर खेर जाने खाना बंगुर र सुंगर पाल्ने व्यक्तिलाई लिन बोलाउने र उसले डिब्बामा मदिरा उपलब्ध गराउने गरेको धेरै स्थानीयले प्रत्यक्ष देख्ने गरेको बताउँछन् ।
मोबाइलबाट सेटिङ
मंगलवार उक्त सुधारगृहमा सर्च गर्न पुगेका रुपन्देहीका एसपी रबिन्द्र रेग्मी सुधारगृह भित्र नशालु पदार्थ लगायतका प्रतिबन्धित सामान पुग्नुमा मोवाइलकै प्रयोग भएको बताउँछन् । ‘मोवाइल पहिल्यैदेखि उनीहरुको हातमा कसरी पुग्यो ? भन्ने वारे खोजी र छानबिनको बिषय हो’, रेग्मीले भने, ‘मोवाइलबाट सम्पर्क गरेर नै त्यहाँ रहेका किशोरले नशालु पदार्थ लगायतका प्रतिबन्धित सामान बाहिरबाट मगाउने गरेका हुन् ।’
सुधारगृह बाहिरको सडकबाट कसैले सामान पोको पारेर फ्याँकिदिने र उनीहरुले टिप्ने गरेको दृष्य सर्च गर्ने क्रममा सुधारगृहमा रहेको सिसी टिभीबाट देखिएको उनले बताए । उनका अनुसार, सुधारगृहमा रहेकामध्ये अधिकांश लागुपदार्थ अभियोगका छन् । उनीहरुलाई कोसँग सम्पर्क गर्दा लागु पदार्थ तथा नशालु पदार्थ उपलब्ध हुन्छ ? भन्ने वारेमा जानकारी छ । मोवाइलबाट उक्त व्यक्तिलाई सम्पर्क गरेर मगाउँछन् । बाहिरबाट फ्याँकिदिएको सामान आफूहरुको हात लागेमा सुधारगृहमा शान्तले बस्ने र सुरक्षाकर्मीको अवरोध भएमा होहल्ला र नाराबाजी गर्ने गरेका हुन् ।
सुधारगृहमा रहेका केही किशोरको व्यवहार उदण्ड रहेको र उनीहरुले अन्य सोझा साझालाई पनि उक्साउने र आफ्नो दवदवामा राख्ने गरेको उनले बताए । ‘अस्ति त्यहाँभित्र सर्च गरेर उदण्ड किशोरलाई बाहिर निकाली अन्यत्र स्थानान्तरण गरेपछि अहिले त्यहाँको अवस्था शान्त छ’, एसपी रेग्मीले भने, ‘सुधारगृहमा किशोरहरुको बिकृतिले हद पार गरेपछि बाध्य भएर ‘अपरेशन’ गरिएको हो ।’
सुधारगृहभित्र बिकृति भएको अनुमान गरेर दुई साता अघि प्रहरी जिल्ला सुरक्षा समितिका पदाधिकारी भित्र पसेर सर्च गर्न लाग्दा एकजना किशोरले आफ्नो शिर भित्तामा र कांटीमा ठोकेर रगताम्मे हुँदै टाउको फोर्न लागेर सर्च कार्यलाई अवरोध पारेका थिए । उनलाई तत्कालै उपचार गराउन अस्पताल लैजान परेको थियो । उनीहरुले सुधारगृहभित्र कोही पनि पसेर सर्च गर्न लागेमा आफूहरु तरकारी काट्ने चक्कुले सेरिएर आत्महत्या गर्ने र शिलिण्डरमा आगजनी गरेर पड्काइदिने धम्की दिँदै शिलिण्डर र सलाई लिएर भित्र पसेपछि सर्च गर्ने कार्य अवरुद्ध भएको डीएसपी नवरत्न पौडेलले बताए ।
हिंस्रक गतिबिधि
सुधारगृहमा रहेका किशोर अश्लिल र अभद्र व्यवहार गर्नेमात्रै होइन्, उनीहरुको क्रियाकलाप अति हिंस्रक पनि देखिएको छ । सुधारगुहमा रहेका एक दर्जनको संख्यामा रहेका बन्दीले अन्य सवैलाई उक्साएर सुधारगृहमा आफू अनुकुलका कार्य गराउन दवाव दिने गर्छन् ।
उनीहरुले आफू अनुकुलको काम नभएपछि पटकपटक सुधार गृहका कर्मचारीबिरुद्ध नाराबाजी गर्ने, झ्याल ढोकाका सिसा फुटाउने, खाना बनाउनका लागि राखिएका ग्यास शिलिण्डरमा आगजनी गरेर बिष्फोट गराउने धम्की दिने, तरकारी काट्ने चक्कुले घांटीमा सेरिएर आत्महत्या गर्ने जस्ता धम्की दिँदै सुधारगृहलाई आफू अनुकुल बनाउन दवाव दिने गर्छन् ।
भैरहवाको वाल सुधारगृहमा बन्दीहरुको चाप अत्याधिक भएपछि कारागार व्यवस्थापन बिभागले १७ जना बन्दीलाई अन्य बाल सुधारगृहमा स्थानान्तरण गर्न असार १ गते पत्राचार गरेको थियो । उनीहरुलाई नेपालगंज, कास्की र भक्तपुरको सुधारगृहमा स्थानान्तरण गर्नु पर्ने थियो । ६० जनाको क्षमता रहेको सुधारगृहमा बढीमा ३० जना भन्दा धेरै राख्ने क्षमता नभएको सुधार गृहमा १ सय १० जनालाई राख्नु पर्दा सुधारगृहको व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको थियो । स्थानान्तरण हुनु पर्ने कुनै पनि बालक तथा किशोरले मानेनन् । किनभने, यो सुधारगृहमा जस्तो आफू अनुकुलको गतिविधि अन्य स्थानान्तरण भएको सुधारगृहमा नहुन सक्थ्यो ।
स्थानान्तरण हुन नमानेर सुधारगृहमा नाराबाजी गर्न लागेपछि गत मंगलवार ठूलो संख्यामा सुरक्षाकर्मीको परिचालन गरि स्थानान्तरण गर्नु पर्ने किशोरलाई बाहिर निकाल्न लगाइयो । खाना पकाउने ग्यास शिलिण्डर लगायतका खतरा हुन सक्ने सवै सामान पहिल्यै बाहिर निकालिएको थियो ।
किशोरहरुले झ्यालको सिसा फोडेर सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, भित्रबाट ताला लगाएर अन्यत्रलाई भित्र पस्न नदिने, भित्र पस्न खोज्ने सुरक्षाकर्मीलाई किला काँटी चक्कु, छाताको डन्डी, फोडेको सिसाले लगायतले प्रहार गरेका थिए । उनीहरुले आफू पढ्ने किताव कापी र सुत्ने बिस्तारामा आगजनी गरेका थिए । दमकल ल्याएर आगलागी नियन्त्रणमा लिइएको थियो । फलामे गेटमा भित्रबाट तार जोडेर करेन्ट समेत लगाइदिएका थिए ।
उनीहरुको आक्रमणबाट डीएसपीसहित दुईजना सुरक्षाकर्मी घाइते भएका थिए । उनीहरुले बोल्दा प्रयोग गरिएका अश्लिल शब्द सुन्न नसकिने खालको थियो । सुरक्षाकर्मीले स्थानान्तरण गर्नु पर्ने १७ जनालाई बाहिर निकालेर स्थानान्तरण गरेपछि अहिले भने त्यहाँको वातावरण शान्त रहेको सुधारगृहकी प्रमुख गौतमले बताइन् ।
छानबिन जरुरी
सुधारगृहमा उदण्ड मच्चाउने लगायतको समूहलाई स्थानान्तरण गरिए पनि त्यहाँ प्रतिबन्धित सामाग्री कसरी पुगे ? भन्ने वारेमा छानबिन गर्न जरुरी देखिएको छ । सुधारगृहभित्रका किशोरले सामान मगाउँदा सुरक्षाकर्मीले धेरै पैसा लिने, पैसा फिर्ता नगर्ने भन्दै होहल्ला गर्ने गरेको एक स्थानीयले बताए । ‘त्यती धेरै मोवाइल र नशालु पदार्थ भित्र छिराउँदा सुरक्षाकर्मीले कस्तो खालको चेकजाँच गर्ने गरेका रहेछन् त ? भन्ने प्रश्न उब्जिएको छ’, ति स्थानीयले भने ।
प्रतिबन्धित सामान सुधारगृहभित्र पुग्नुमा सुरक्षाकर्मीको कम्जोरी होइन भन्न नमिल्ने एसपी रेग्मी बताउँछन् । उनले आफू रुपन्देहीमा आउनासाथ त्यहाँ खटिएका सम्पूर्ण प्रहरीलाई परिवर्तन गरेको बताए । ‘पछिल्लो पटक सुरक्षाकर्मीले कडाइ गरेकाले आफू अनुकुल नभएपछि उनीहरु उत्तेजित हुन थालेका हुन्’, रेग्मीले भने, ‘अव उक्त सुधारगृह पहिलाको जस्तो अवस्थामा रहने छैन । छानबिन पनि हामीले गर्ने छौं ।’








लेखकको सम्वन्धमा