जसले बसको सिसा फोडेर ज्यान जोगाए


भैरहवा– आइतबार बिहान रुपन्देहीमा बस दुर्घटना हुँदा तीन जनाले बसको झ्यालको सिसा फोडेर ज्यान बचाउन सफल भएका छन् । बसमा चालक, सह–चालकसहित ३२ जना सवार थिए । तीमध्ये बाराको जितपुर सिमरा उपमहानगरपालिका–१३ का १८ वर्षीया रोहन चौधरी र धनुसाको हंसपुर नगरपालिका–३ का १८ वर्षीया मुफिद मन्सुरी पनि उक्त बसमा सवार थिए ।
एक्कासी बस तेस्रो पर्यो र खस्यो । निद्रामा रहेका उनीहरुले बस खस्दै गरेको थाहा पाए र ब्युँझिए । बस ठूलो आवाजमा नदीमा खस्यो । बसमा रुवाबासी चल्यो । तर, उनीहरुले बसको सिसा फोरे र बाहिर निस्के । ‘मेरो छेउमा एकजना साथी थियो, उसले र मैले बसको सिसा फोडेर बाहिर निस्क्यौं’, दुर्घटनामा घाइते भएर भैरहवास्थित भीम असपतालमा उपचाररत चौधरीले भने, ‘हामी दुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं ।’
उनको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ । ‘सिसा फोडेर बाहिर निस्नेपछि शरीरले काम नगरेजस्तो भयो, अनि नदी छेउको बगरमा बालुवामा म, साथी र ती सानो बालक पल्टियौं । केहीबेरमा प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो ।’ उनले छेउको साथीको नाम भने थाहा नभएको बताए । उनले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी नभएको जनाए ।
‘बसमा सबैजसो यात्रु सुतेका थिए, त्यसैले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी भएन । तर, बस खस्दै गर्दा धेरै मानिसहरु चिच्याएका थिए’, उनले भने । बुटवलको एक ग्यारेजमा काम गर्दै आएका धनुसाका मन्सुरी घरबाट बुटवल जानका लागि आएका हुन् । बसको अन्तिम सिटमा बसेर आएका उनले पनि सिसा फोडेर ज्यान बचाएको बताए ।
‘दुर्घटना पछि रुवाबासी थियो बसमा, मैले हतार–हतार सिसा फोडे र बाहिर निस्केर बालुवामा पल्टिएँ, प्रहरी आएर अस्पताल ल्याएको हो’, उनले भने । मन्सुरीको पनि भीम अस्पतालमा उपचार भइरहेको छ । निद्रामा भएकाले बस दुर्घटना पर्नुको कारण थाहा नभएको उनले सुनाए । मन्सुरीको पनि हात, खुट्टा र टाउकामा सामान्य चोट लागेको छ ।
पश्चिम नेपाल प्रालिको लु २ ख ३८४१ नम्बरको उक्त यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अहिलेसम्म ४ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रुपन्देहीकै ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस आइतबार बिहान ४ः२० मा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३२ जनामध्ये २४ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइते भएका २३ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ ।









लेखकको सम्वन्धमा