यसरी गरे सशस्त्र र नेपाल प्रहरीले यात्रुबाहक बस दुर्घटनामा घाइतेको उद्धार (फोटोफिचर)


भैरहवा– आइतबार बिहानै जनपुरबाट भैरहवा आउँदै गरेको यात्रुबाहक बस भैरहवा–परासी हुलाकी सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी पुलबाट नदीका खसेर दुर्घटना भएको छ । दुर्घटना हुँदा बसमा सवार ३२ जनामध्ये ९ जनाको मृत्यु भएको छ । २३ जना घाइते छन् । उनीहरुको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार जारी छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास र रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मात्रै पहिचान खुलेको छ । अन्यको पहिचान खोजिभइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटना भएको जानकारी पाउँदावित्तिकै घटनास्थलमा पुगेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार सुरु गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल विओपी पजरकट्टीको प्रमुख सशस्त्र प्रहरी निरीक्षक संजय केसीले दु्रत गतिमा घाइतेहरुको उद्धार गरी अस्पताल पुर्याइएको बताए ।

सशस्त्र र नेपाल प्रहरी दुर्घटनास्थल पुग्दा यात्रुहरु बसले च्यापिएका अवस्थामा थिए । उनीहरुले उद्धारका लागि हारगुहार गरिरहेका थिए । केसीले भने, ‘बसमा यात्रुहरुको रुवाबासी थियो, हामीले जतिसक्दो छिटो उद्धार गरेर अस्पताल पुर्याएका हौं । दुखद् भन्नु पर्छ सबैलाई बचाउन सकिएन ।’
जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले पुलबाट खसेको बस पानीमा घोप्टिएको अवस्थामा सुरक्षा निकाय पुगेको बताए । ‘त्यसपछि हामीले तीन–चारवटा जेसीभी ल्याएर उद्धार गर्यौं’, उनले भने, ‘धेरैलाई सकुसल उद्धार गर्न सकियो ।’ सशस्त्रले बसको सिसा फुटाएर यात्रुहरुको उद्धार समेत गरेको थियो ।













प्रतिकृया दिनुहोस्