December 10, 2024, Tuesday
२०८१ मंसिर २५

मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ

लुम्बिनी- बुद्धपूर्णिमाको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनीमा हुने भ्रमणको सबै तयारी पूरा भएको छ । मोदीको स्वागतका लागि लुम्बिनीलाई झकिझकाउ पारिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिँगार्ने काम पूरा भइसकेको छ ।

‘हामीले अधिकांश काम पूरा गरिसकेका छौं’, उनले भने, ‘साना केही काम रातिसम्म सकिनेछन् । भोलि मोदीजीको लुम्बिनीम भव्य स्वागत हुनेछ ।’ नेपाली समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवाको निम्तोमा मोदी लुम्बिनी आउने भएपछि यहाँ सिँगारिएको हो । मोदी यसपटक बुद्धपूर्णिमाको अवसर पारेर लुम्बिनी आउने तय भएपछि यसअघि देखिबाटै लुम्बिनीमा स्वागतका लागि आवश्यक तयारी थालिएको थियो ।

Advertisement

विकास कोषका अनुसार लुम्बिनीमा भौतिक संरचना निर्माण र सजावटको काम सकिएको छ । मोदीको स्वागतका लागि लुम्बिनीको पर्सा चोकदेखि महिलवारसम्म पोलमा नेपाल–भारत र बौद्धधर्मावलम्वीको झण्डा टाँगिएको छ । यस्तै, लुम्बिनी गुरुयोजनाको भैरहवा–तौलिहवा सडक खण्ड अन्तर्गत पर्ने एक किमी कालोपत्रे बाटोका दुईतर्फ नेपाल र भारत तथा नेपाल र बौद्ध धर्मावलम्बनीको झण्डा टाँगिएको छ । यो बीचमा ठाउँठाउँ स्वागतद्वार बनाइएको छ । मोदी र देउवाका लागि अन्तर्राष्ट्रिय सभा हल तथा ध्यानकेन्द्र अघि कालोपत्रे बाटो र ९ नम्बर गेट अघि ठूला स्वागत द्वार बनाइएको छ ।

लुम्बिनी भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबिसी)मार्फत जर्मन स्तुपा उत्तर विहार बनाउन लागेको छ । मोदी प्रवेश गर्ने गेटदेखि विहार निर्माण स्थलसम्म पुग्ने करिब ७ सय मिटर बाटो धुँलो तथा हिलो मुक्त बनाइएको छ । विहारलाई नयाँ वाउण्ड्री वाल लगाएर घेरिएको छ । विहारमा टेन्ट लगाइएको छ । सुरक्षाका लागि विहारमा प्रहरी खटिएको छ । उक्त विहारको प्रधानमन्त्री मोदी र देउबाले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ । उक्त विहार एक अर्ब भारतीय रुपैयाँमा ३ वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्य छ । कुल बजेटको १० प्रतिशत धरौटी र ५ प्रतिशत सेवा शुल्क आईबिसीले लुम्बिनी विकास कोषलाई बुझाइसकेको छ । ८० मिटर वाई ८० मिटर क्षेत्रफलको प्लट वर्तमान प्रम देउबाले पर्यटन मन्त्रीको कार्यभार सम्हालेका बेला उनको अध्यक्षमा बसेको कोष बोर्ड बैठकले केही समय अघि निर्णय गरेर दिएको हो ।

विकास कोषका अनुसार मोदी ९ नम्बर गेट हुँदै भारतले बनाउन लागेको विहारसम्म पुग्ने बाटो पनि बनाइएको छ । कालोपत्रे नभए पनि राम्रो बेस बनाएर बाटो चिटिक्क बनाइएको हो । मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसर भित्र, बाहिर र अशोक स्तम्भ भित्र सरसफाई गरेर चिटिक्क बनाइएको छ । बाटोबाटो सफा गरेर सुन्दर बनाइएको छ । मन्दिरलाई झिलीमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । मायादेवी मन्दिर उत्तरको सकुलरलेभीका दुई ठूलठूला पोखरी सफा गरेर पानी छाडिएको छ ।

ठाउँ–ठाउँमा बुद्ध बचन, बाणी र पंचशिलका नयाँ तुल व्यानार टाँसिएको छ । बाहिरी गेटमा स्वागत बनाइएको छ । २५६६ औं बुद्ध जयन्तीका बेला लुम्बिनीलाई सफा, स्वच्छ, हराभरा र तुल व्यानरले सिंगार्ने कार्यक्रम नै थियो । मोदी आउने भएपछि झनै चिटिक्क पारिएको हो । आइतबार लुम्बिनीमा मन्त्रीहरु, कुटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी पनि आउने छन् । अतिथि व्यवस्थापनका लागि आवास, यातायात, प्रचारप्रसार, सुरक्षा, पूजापाठ र शान्ती र्याली समिति बनाएर काम भइरहेको छ ।

आइतबार काठमाडौंबाट १ हजार १ सय भिक्षु–भिक्षुणी आइपुग्नेछन् । बुद्धस्थलको प्रवद्र्धन गर्न कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह समेटेर एउटा समन्वय समिति निर्माण गरिएकोे छ । कोषका कोषाध्यक्ष भट्टराईका अनुसार शनिवार बिहान गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गरेका थिए । त्यसक्रममा कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसित छलफल गरेर भ्रमण तयारीका बारेमा जानकारी लिएका थिए ।

भारतीय प्रधानमन्त्रीलाई यहाँसम्म ल्याउने भारतीय वायु सेनाका हेलिकोप्टरले शनिवार लुम्बिनीमा निर्माण गरिएका हेलिप्याडमा परीक्षण उडान गरेका छन् । प्रताप र प्रताप वान कल साइन भएका हेलिकोप्टरमा आएका भारतीय सुरक्षा अधिकारीले परीक्षण उडान गरेका थिए । भारतीय वायु सेनाका दुई वटा एमआई १७ हेलिकप्टर विहान साढे १० बजे लुम्बिनी आएर साढे १२ बजेतिर फर्किका थिए । मोदी आउने भएपछि विकास कोषले दुई नम्बर गेट अगाडि चारवटा पक्की हेलीप्याड बनाएको हो । हेलीप्याड दुई साता लगाएर निर्माण गरिएको थियो । लुम्बिनीमा निर्माण भइरहेको सडक इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तर्गत हेलीप्याड बनाइएको हो । शनिवार सुरुमा दुई वटा हेलिकप्टर पश्चिमतर्फको हेलीप्याडमा उत्रिएका थिए । मोदीसंग ४ वटा हेलीकप्टर आउने जनाइएको छ ।

मोदीको सुरक्षाका लागि अघिल्लो बुधबार मात्रै दिल्लीबाट भारतीय वायुसेना कोइलुसियन आईसी–७६ एमडी विमानमा मोदीका सुरक्षार्की लुम्बिनी आएका थिए । उनको सुरक्षार्थ स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) को ४५ जनाको टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर लुम्बिनी पुगेको थियो । एसपीजीका वरिष्ठ सुरक्षा अधिकारी रवि कुमारको नेतृत्वमा ४५ जनाको टोली साना हतियार, ‘सुरक्षा सामग्री’ र लगेजसहित आएका थिए । मोदीको सुरक्षार्थ थप सुरक्षाकर्मीसमेत सँथै आउने छन् । अहिले लुम्बिनीमा भारतीय सुरक्षाकर्मीसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान तैनाथ छन् । उनीहरुले मोदीले उद्घाटन गर्ने बिहारदेखि हेलीप्याड, सभाहल र होटलसम्मको सुरक्षा दिइरहेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले भारतको कुशीनगर जिल्लामा निर्माण भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेर हेलिकप्टरमार्फत दिउँसो १२ बजे लुम्बिनी आउनेछन् । त्यसपछि मोदीले लुम्बिनीमा मायादेवी मन्दिरमा पूजाआजा र ध्यान गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि सन् २०१४ मा नेपालमा भारतका लागि तत्कालीन राजदूत रञ्जित रेले मायादेवी मन्दिर परिसरमा (मन्दिरदेखि ३० मिटर पर) वृक्षरोपण गरेको बोधिवृक्षमा पानी सिञ्चित गर्ने कार्यक्रम छ । त्यसपछि पर्सा चोक, लोखडिया चोक हँुदै नौ नम्बर गेटभित्र रहेको प्लटमा भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसन (आईबीसी) मार्फत निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्नेछन् । मोदी दिउँसो पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा हुने बुद्धजयन्ती कार्यक्रममा सहभागी हुनेछन् । यहाँ मोदीले सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

दिउँसो नै भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा रहेको होटल पवन प्यालेसको ‘स्विट रुम’ मा विश्रामका लागि जाने तालिका छ । उक्त होटलमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । बैठकमा कुनै विषयको सम्झौता हस्ताक्षर हुने जनाइए पनि बैठकका एजेण्डाहरु भने सार्वजनिक गरिएको छैन । बैठकपश्चात् संयुक्त रुपमा पत्रकार सम्मेलन गरिने जनाइएको छ । मोदीले उक्त होटलमा करिब एकदेखि डेढ घण्टा बिताउने सुरक्षा स्रोतले जनाएको छ । अहिले उक्त होटल पूरै खाली गराइएको छ । भारतीय सुरक्षा टोली र नेपाली सुरक्षाकर्मीले उक्त होटललाई केही दिन अघिदेखि नै कडा सुरक्षा दिइरहेका छन् ।