April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

आचारसंहितामा कडाई होस् [सम्पादकीय]

कुनै पनि निर्वाचनलाई स्वच्छ, कम खर्चिलो, पारदर्शी र निष्पक्ष गराउनका लागि निर्बाचन आचारसंहिता जारी गरिन्छ । निर्बाचन प्रक्रियालाई कम भन्दा कम खर्चिलो बनाइ नेतृत्वमा विपन्न तथा सर्वसाधारणको पनि सहजै पहुँच होस् भन्ने मुख्य अभिप्रायका लागि हरेक निर्बाचनमा निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने गर्छ । यसको पालना गर्नु पर्ने दायित्व हरेक राजनीतिक दल, उम्मेदवार, मतदाता, मतदानमा खटिने कर्मचारी, संचारकर्मी, पर्यवेक्षक र निर्बाचन अधिकृत समेतको हुन्छ ।

Advertisement

निर्बाचन आचारसंहिताको कार्यान्वयनका लागि हरेक जिल्लामा मुुख्य निर्बाचन अधिकृतसहितको टोली र मतदान केन्द्रमा मतदान अधिकृतको संयोजकत्वमा टोली गठन गरिएको हुन्छ । तर, आचारसंहिताको कार्यान्वयनका लागि गठित टोलीको भूमिका प्रभावकारी बन्न नसक्नु र आचारसंहिताको पालना गर्नु पर्ने अन्य सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण प्रत्येक निर्बाचनको वेलामा आचारसंहित देखाउने दाँतमात्र जस्तो भएको छ । देखावटी र औपचारिकतामा मात्र सिमीत हुने गरेको छ भन्दा उत्ति फरक नपर्ला ।

Advertisement

आउँदो स्थानीय तहको निर्बाचनका लागि जारी गरिएको आचारसंहिताका वारेमा रुपन्देही जिल्लामैं हेर्ने हो भने पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनु त परै जाओस् निकै दयनीय अवस्था छ । आचारसंहितको धज्जी उडेको छ । हुन त आयोगले यस अघिका निर्बाचनका लागि भन्दा यसपालिको निर्बाचानमा आचारसंहिता कडा पारेको छ ।

आचारसंहिता कडा पारे जस्तै कार्यान्वयन पक्षको व्यवस्थापनका लागि भने उति साह्रै जोड दिएको पाइँदैन । आचारसंहिताको कार्यान्वयनका लागि आयोग वा सरकारी स्तरबाट तोकिएका अधिकृत श्रोत साधन र जनशक्ति बिहीन अथवा न्युन भएकाले उनीहरुबाट कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गर्न सकिँदैन ।

बिदेशी गाडीको प्रयोग गर्न नपाइने, प्रमुुख र उपप्रमुुखले आफ्नो क्षेत्र भित्रमात्रै प्रयोग गर्ने गरि एक–एकवटा मात्र गाडीको प्रयोग गर्न पाइने, वडा अध्यक्षले एउटा–एउटा मात्र आफ्नो क्षेत्र भित्रका लागि मात्रै मोटरसाइकलको प्रयोग गर्न पाइने, प्रचार प्रसारका क्रममा माइक, डिजेको प्रयोग गर्न नपाइने, प्रचार प्रारका लागि सार्वजनिक स्थान वा बस्तुुको प्रयोग गर्न नपाइने, बालवालिकाको प्रयोग गर्न नपाइने लगायतका प्राबधान छन् ।

सदरमुकाम सिद्धार्थनगर भित्रै त आचारसंहितको कार्यान्वयन हुन सकेको छैन । सदरमुकाम बाहिरी क्षेत्रमा त आचारसंंहिताको धज्जी उडेका छन् । धज्जी उडाउने काम हाल उम्मेदवारको तर्फबाट भैरहेका छन् । संचारकर्मी पनि यति बेला संयमित भएर आफ्नो कार्य सम्पादन गर्ने भन्दा आफू समर्थक दल वा उम्मेदवारका पक्षमा हुने खालका समाचार सामाग्री पस्किने र बिवपक्षीका वारेमा भ्रामक र कपोकल्पित लान्छाना लगाउने प्रबृत्ति बढ्दै जान थालेको छ ।

उदाहरणको रुपमा मर्चवार, लुम्बिनी लगायत दक्षिणी सिमावर्ती क्षेत्रमा हेर्ने हो भने प्रचारप्रसारका लागि भारतको युपी, दिल्ली, हरियाणा लगायतका राज्यबाट झिकाइएको गाडीको लाम देखिन्छन् । चर्को कानै खाने आवाजमा डिजेसहितको संगीत घन्काउने गरिन्छ । त्यहाँ गएर हेर्दा लाग्छ, पैसा खर्च गर्न नसक्ने व्यक्तिले चुनाव जित्न सक्दैन ।

आचारसंहितको कार्यान्वयनका लागि अव आयोगसहितका सरोकारवाला निकाय सजग बन्नुपर्छ । को–कसले आचारसंहितको उल्लघंन गरेको छन्, तिनको एक–एक प्रमाणसहितको विवरण तयार पारी तत्काल कारवाहीको दायरामा ल्याउन बिलम्ब गर्नु हुँदैन ।