May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

सशस्त्र प्रहरीद्वारा भैरहवाबाट २७२ किलो गाँजा बरामद

भैरहवा– सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण, रुपन्देहीले मंगलबार बिहान ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गणबाट खटिएको टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बाट दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको हो । मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको गणले जनाएको छ ।

Advertisement

सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाको नेतृत्वमा गएको टोलीले सशस्त्र प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको बिशेष सूचनाको आधारमा हुलाकी राजमार्गमा चेकपोष्ट खडा गरेर उक्त परिमाणमा गाँजा बरामद गरिएको गणले जनाएको छ । उक्त कन्टेनरको चालकसिट भन्दा माथिको फल्स बटमभित्र लुकाएको अवस्थामा गाँजा बरामद गरिएको हो ।

Advertisement

गणले दिएको जानकारी अनुसार उक्त कन्टेनरका चालक भारतको पन्जावस्थित लुधियाना जिल्ला नम्बर १० भावदीप सिंहनगनर बस्ने सतनाम सिंहलाई नियन्त्रणमा लिएको छ । ‘पन्जावको लुधियाना जाने गाडी रहेछ,’ सशस्त्र प्रहरी उपरीक्षक थापाले भने, ‘चालक पनि उतैका रहेछन् ।’ चालकबाट एउटा नेपालको एनसेल र भारतीय एयरटेल कम्पनीको सिम समेत बरामद गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक जानकारी अनुसार चालक सिंहले चितवनको नारायणगढभन्दा १० किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमा ट्रक अलपत्र पारेर चालक भागेको जानकारीपछि आफू लिन गएको बताएका छन् । सशस्त्रले आवश्यक कानुनी पक्रिया पूरा गरेर थप अनुसन्धानका लागि बरामद गाँजा, कन्टेनर र चालक नेपाल प्रहरीको जिम्मा लगाउने जनाएको छ ।