October 15, 2024, Tuesday
२०८१ आश्विन २९

मेडिकल कलेज अगाडि खुल्यो ६५ लाख लगानीमा ग्लास्गो रेष्ट्रो

भैरहवा– भैरहवास्थित होटल ग्लास्गोले आफ्नो सेवा बिस्तार गर्दै मंगलवारदेखि युनिभर्सल शिक्षण अस्पताल रानीगाउँ क्षेत्रमा शाखा संचालनमा ल्याएको छ । ग्लास्गो रेष्ट्रो थकाली फूड एण्ड क्याफे नामको यो शाखामा पूर्ण रुपमा बातानुकुलित (एयर कण्डिशन) सुविधा छ । बिगत ५ बर्षदेखि भैरहवास्थित बैंकरोडमा होटल ग्लास्गोको संचालन गरिरहेका युवा व्यवसायी मनिष ढकालले ग्लास्गो रेष्ट्रो थकाली फूड एण्ड क्याफे संचालनमा ल्याएका हुन् ।

उनले मेडिकल कलेज शाखाको रेष्ट्रोमा बिशेष गरि सुलभदरमा थकाली खाना उपलब्ध गराइने बताए । ‘नयाँ चुनौतीको सामना गर्दै होटल ग्लास्गोले पहिलो शाखा संचालनमा ल्याएको छ’, मंगलवार आयोजित पत्रकार सम्मेलनमा ढकालले भने, ‘यस क्षेत्रमा चिया र नास्ता पसल भए पनि शान्त बातावरणमा एसीमा बसेर क्याफेको स्वाद लिने ठाउँको पनि अभाव रहेको महशुस भएको थियो । त्यही भएर यहाँ सेवा विस्तार गरेका हौं ।’

Advertisement

उनको भनाइमा, युनिभर्सल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, बिद्यार्थी, कर्मचारी, बिरामीको कुरुवा र अन्यलाई लक्षित गरेर यो शाखा संचालनमा ल्याइएको हो । मेडिकल कलेज आसपास क्षेत्रमा राती १० बजेदेखि होटल बन्द हुने गरेकाले यसलाई २४ सै घण्टा संचालन गर्ने योजना बनाएको उनले बताए ।

ढकालले थकाली खाना अति सुलभ मूल्यमा उपलब्ध गराइने र खानामा प्रयोग गरिने सामाग्री पहाडी जिल्लाबाट मगाइएको शुद्ध र गुणस्तरीय हुने दावी गरे । उनका अनुसार प्रति थकाली खाना २ सय ५० देखि ५ सय रुपैयाँ मूल्य सम्ममा उपलब्ध छ । ‘खानाको गुणस्तरमा कुनै सम्झौता हुने छैन’, उनले भने, ‘सम्भव भएसम्म यो मूल्यलाई अझ कम गर्ने छौं ।’

६५ लाख रुपैयाँको लगानीमा संचालनमा ल्याइएको यो शाखामा ५५ देखि ६० जनाले एकैपटकमा विभिन्न परिकार खाना सक्नेछन् । मासिक तथा नियमित खाना खानेको हकमा १० प्रतिशत छुट गरिने ढकालले जनाए । उक्त रेष्ट्रोमा ११ जनाले रोजगारी पाएका छन् ।