May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेनः यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताएका छन्। बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले कृषिलाई औद्योगिकरण गरेर मात्रै गरिबीहरूको बेरोजगारी घटाउन सकिने भए पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे।

Advertisement

उनले उद्योग धन्दाहरू सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र पनि सरकारको प्राथमिकतामा नपरेको बताए। उनले विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको बताए।

Advertisement

मन्त्री यादवले भने, ‘बाहिर जाने म्यानपावरलाई आफ्नै देशमा रोक्ने ठूलो सेक्टर कृषि हो। तर प्रमुख प्राथमिकतामा कहिल्यै कृषि परेन। नेपाल कृषिप्रधान भन्यो तर सबैकुरा बाहिरबाट किनेर ल्याउने अवस्था भयो। विगतमा अत्यधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरू जहाँ लाखौंले रोजगारी पाएका थिए, ती उद्योग गलत नीतिका कारण बन्द भएका छन्। निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिएर उद्योग सबै बन्द भएका छन्। त्यसलाई कसरी सञ्चालन गर्ने? र नयाँ उद्योग खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने? यी विषय प्राथमिकतामा पर्नुपर्छ। ’

उनले प्राथमिकता दिँदा शैक्षिक, आर्थिक रूपले अति छाडि परेका विपन्न वर्ग र मानवीय जीवनमा समेत मानवीय रूपमा बाँच्न नसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए।

उनले योजना आयोगले पुरानो तौरतरिकाबाट अघि बढेर योजना बनाउन आवश्यक रहेको बताए। १६ औं पञ्चवर्षीय योजनामा परम्परागत र सनातती याेजनाहरू रहेकाे आराेप उनकाे छ। संघीयता कमजोर भएर प्रदेशलाई अपांग बनाएर विकास हुन नसक्ने पनि बताए।