May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

निर्यात प्रवर्द्धन र राजश्व वृद्धिमा सरकारले विशेष ध्यान दिन जरुरी छः नेपाल

नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन्।

Advertisement

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले अर्थ विज्ञ, योजना विज्ञहरूले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताएका हुन्। 

Advertisement

हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ। बजेटको महत्त्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्नुपर्ने उनले बताए।

उनले भने,  ‘हाम्रा विज्ञ, अर्थ विज्ञहरू, योजना विज्ञहरूले हाम्रो देशका विकासका समस्या के हुन्? त्यो समस्याहरूलाई हामीले पहिल्याउन सकेका छौं कि छैनौं? यो जम्मै पक्षहरूमा जसरी हामीले अझै ध्यान दिनुपर्ने हो। अझै पुगेको छैन कि जस्तो लागेको छ। हामी हचुवा पाराले काम गर्छौं। देशभरका ७४३ वटा पालिकामा एकैपटक अस्पताल बनाउने कुरा सोच्छौं। जहाँ-जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौं। कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउने ? यसमा प्राथमिकीकरणको कमी छ। त्यसको निम्ति कतै हाम्रो अध्ययन र अनुसन्धान गर्ने क्षेत्रमा जति ध्यान दिनुपर्ने हो, राज्यले त्यसमा जोड दिनुपर्ने हो, त्यसमा त्यति ध्यान नदिएको महसुस मलाई लाग्छ।’

 पूर्वप्रधानमन्त्री नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको भन्दै कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताए।

निर्यात प्रवर्द्धन, राजश्व वृद्धि गर्ने कुरामा सरकारले विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ।