November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

आचारसंहिता उल्लघंनको होड

भैरहवा– विद्युतीय रिक्सादेखि कारसम्म, ट्याक्टरदेखि मिनी ट्रकसम्म ठूल्ठूला स्पिकर राखिएका छन् । कहीमा चार–पाँच वटा सम्म माइक राखिएका छन् । झण्डा र उम्मेदवारको तस्बीर अंकित पोस्टर सवारीमा टाँसेर सिंगारिएको छ । टोल–टोल, गल्ली–गल्ली, बस्ती–बस्ती यस्ता सवारीले चर्को ध्वनि दिँदै गुड्छन् । उम्मेदवारलाई जिताउन अपिलसहित तयार पारिएका गीत घन्किन्छन् ।

Advertisement

निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको रुपन्देहीको सिमावर्ती मर्चवार क्षेत्रमा धज्जी उडाइएको छ । चुनावी प्रतिष्पर्धामा रहेका दलबीच निर्वाचन आचारसंहिता उलंग्घन गर्ने होड नै छ । मर्चवारमा आचारसंहिताका बुँदा पालना भन्दा खिल्ली उडाउनपट्टि दलहरु केन्द्रित देखिन्छन् । यहाँ चुनाव मर्यादित तुल्याउन आयोगले दिएको निर्देशन विपरित भड्काउ र देखावटी शैलीको प्रचार भइरहेको छ । प्रचारमा बालबालिका प्रयोग बढेको छ । सयौं मोटरसाइकल र गाडी गुडाउँदा निर्वाचन खर्चिलो बनेको छ । मर्चवारमा डिजेको धुनमा ‘चुनाव’ नाचिरहेको छ ।

Advertisement

जिल्लाका अन्य क्षेत्रमा चुनाव–प्रचार केही शान्त देखिन्छ । यहाँका पालिका ‘महोत्सवमय’ छन् । यहाँ चोकचोकमा लाउडस्पीकर र साउण्डबक्स राखिएका छन् । सबै दलले लाउडस्पीकर मार्फत उम्मेदवारको प्रचार गरिरहेका छन् । यस्ता स्पीकर गाडीमा जडान गरिएका छन् । ठूलाठूला साउण्डबक्स राखिएका गाडीलाई छिनछिनमा बस्ती बीचमा पुर्याएर गीत बजाउने गरिएको छ । यसले बस्तीमा चहलपहल देखिन्छ ।

यहाँ सञ्चालन भइरहेका मोटरसाइकलदेखि बसमा दलका झण्डा बाँधिएका छन् । ‘चर्को ध्वनीमा गीत बजाएर प्रचार गर्ने भारतीय संस्कृति हो,’ कोटहीमाई–३, का गुरुवचन यादवले भने, ‘सबै उम्मेदवारले प्रयोग गरिरहेका छन् ।’ लाउडस्पीकर सुनिएपछि कुन दलका उम्मेदवार प्रचारमा आए भन्ने जानकारी हुने उनले बताए । ‘हिन्दी, मैथली र भोजपुरीमा गीत बजाउने गरिएको छ,’ उनले भने, ‘यसले प्रचारप्रसार सजिलो बनाएको छ ।’

यहाँका कोटहीमाई, मर्चवारी र सम्मरीमाइ गाउँपालिकामा यसको व्यापक प्रयोग छ । लुम्बिनी सांस्कृति नगरपालिकामा पनि यस्तै छ । जुन बस्तीमा पुगेपनि डिजे घन्किरहेका भेटिन्छन् । ‘प्रतिदिन ४–५ हजार रुपैयाँ भाडा छ,’ यादवले भने, ‘भारतको नौतनवाबाट यहाँ ल्याउने गरिएको छ ।’ रिक्सा, ट्याक्टर, कार, पिकअप जीप, मिनीट्र समान बोक्ने गाडीमा पनि यस्तै साउडबक्स राख्ने गरिएको छ ।

यहाँ अधिकांश दलले घरैदैलोमा बालबालिका प्रयोग गरिरहेका छन् । उम्मेदवारसँगै झण्डा र पोष्टर बोकेका बालबालिका घरघरमा पुगिरहेका थिए । प्रचारमा प्रयोग गरिएका गाडी र मोटरसाइकलमा उम्मेदवारका तस्बीर र चुनाव चिन्ह अंकित पोष्टर बोकेका बालक थिए । मंगलबार मध्यान्ह लोकतान्त्रिक समाजबादी पार्टीबाट मर्चवारी गाउँपालिका अध्यक्षका उम्मेदवार केशवनन्द बानियाँ र सुनीता कलवारले घरैदलोमा बालबालिका प्रयोग गरेका थिए ।

मर्चवारी–७, घरदैलोको क्रममा बालकले घरमा पोष्टर टाँसिरहेका थिए । उनीहरुले अंगालोमा विभिन्न पोष्टर बोकेका थिए । यहाँ प्रतिष्पर्धामा रहेका दलका प्रचार कार्यक्रममा बालक सहभागी थिए । जनता प्रगतिशील पार्टीबाट मर्चवारीमाई गाउँपालिका अध्यक्षका उम्मेदवार गयाप्रसाद बरईले सोमबारसम्म आफूले डिजे प्रयोग गरेको बताए । मंगलबारबाट बन्द गरेको उनले दाबी गरे ।

‘एउटा डिजेलाई दैनिक पाँच हजार रुपैयाँ तिनुपर्छ,’ उनले भने, ‘यहाँका चोक–चोकमा छन्, प्रशासनले रोक्न भनेपछि मैले बन्द गरेको हुँ ।’ उनले यस्तो दाबी गरेको केही छिनमा स्थानीय अडवलिया चोकमा बरईलाई मतदान गर्न अनुरोध गरिएको गीत घन्काउँदैं गाडी आइपुगेको थियो । उक्त गाडीमा ठूला साउण्डबक्स थिए ।

वरीपरी उम्मेदवारको तस्बीर अंकित ब्यानर थिए । डिजे जडान गरिएका गाडीमा अधिकांश बालक चढेका थिए । उनीहरुले झण्डा बोकेका थिए । चुनाव चिन्ह अंकित रुमाल टाउकामा बेरेका थिए । बस्ती पुगेपछि होहल्ला गर्थे । निर्वाचन आचारसंहित विपरीत भन्दै प्रशासनले बन्द गर्न अनुरोध गरे पनि यहाँ सुनुवाइ भएको पाइएन् ।

यहाँका कोटहीमाई–६ स्थित एक घरमा नेपाल जनता पार्टीका पालिका अध्यक्षका उम्मेदवार अशोककुमार कलवार र उपाध्यक्ष पदकी उम्मेदवार सवीता गुप्ता मंगलबार दिउँसो कार्यकर्तासित छलफलमा व्यस्त थिए । त्यहीबेला स्थानीय चौकीबाट आएका एक प्रहरी अधिकृतले डिजे बन्द गर्न अनुरोध गरे । ‘तपाइँहरुले डिजे बन्द गर्नुपर्ने भयो,’ उनले भने, ‘जिल्लाबाट बन्द गर्ने निर्देशन आएको छ ।’ भेला भएका कार्यकर्ताले तत्काल बन्द गर्न आनाकानी गरे । उनीहरुले बुधबारबाट नबजाउने जवाफ दिए ।

‘डिजे र लाउडस्पीकर शुभचिन्तकको माग हो,’ जनता समाजबादीबाट मर्चवारी गाउँपालिका अध्यक्षका उम्मेदवार उमाशंकर यादवले भने, ‘चलन बनिसक्यो । एउटाले बजाए, अर्कोले नबजाई नहुने भइसक्यो ।’ उनले घरदैलोमा गरिएको स्थानमै लाउडस्पीकर घन्किरहेको थियो । ‘गीत बजेन भने उम्मेदवारलाई कमजोर ठान्छन्,’ उनले भने, ‘आचारसंहिता विपरीत कसैले भनेको छैन । सबै दलले बजाइरहेका छन् । धेरै कुरा गीतबाटै भनिरहेका छौं ।’

कृषियोग्य जमिन रहेको मर्चवारमा गोठाला बाहेक घर बाहिर भेटिएका सर्वसाधरणले आफूले समर्थन गर्ने दलको झण्डा बोकेका थिए । स्थानीय बजारका चिया पशलमा जीत–हार अड्कल गर्ने समह थिए । ‘यस क्षेत्रमा गीतको माध्यामबाट प्रचार गर्ने संस्कृति नै हो,’ पूर्व संविधानसभा सदस्य ओमप्रकाश यादवले भने, ‘घरदैलो पनि प्रभावकारी हुन्छ ।’ यहाँ दलबीच कडा प्रतिष्पर्धा छ, त्यसैले प्रभाव देखाउने होड चलिरहेको उनले बताए । उनका अनुसार यहाँका घर र सार्वजनिक स्थलमा उम्मेदवारका प्रचार सामाग्री टाँस्नु सामान्य हो ।

‘चाडबाडमा शुभकामना दिन पनि पोष्टर टाँस्न थालिएको छ,’ उनले भने, ‘एउटाले सुरु गरेपछि अर्कोले पनि त्यही गर्छन् ।’ यहाँका घर, पसल, प्रतिक्षालय र सार्वजनिक स्थलमा पोष्टरै पोष्टर देखिन्छन् । जिल्लामा उत्तरी नगर र गाउँपालिकामा यस्ता प्रचार सामाग्री देखिँदैनन । यहाँ सबै दलका समर्थकले चुनाव चिन्ह अंकित टिर्सट लगाएको देखिन्छ । आचारसंहिताले यस्ता चिन्ह अंकित कपडामा रोक लगाएको छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले कर्मचारी अभावमा आचारसंहिताको अनुगमन त्यती प्रभावकारी नभएको बताए । ‘हामीसँग जनशक्ति कम छ, तर पनि आचारसंहिता अनुगमन गरिरहेका छौं’, उनले भने, ‘प्रहरीलाई कडाई गर्न भनेको छ । यदि कहीकतै उल्लघंन गरेको पाइए कारबाहीको दायरमा ल्याउँछौं ।’ उनले अहिलेसम्म आचारसंहिता उल्लघंनका उजुरी नआएको बताए ।