May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

मजदुर सधैं नेताको ‘भोट बैंक’ मात्रै

भैरहवा– यहाँका गाउँ सहरमा गुड्ने इ–रिक्सा र अटोमा अहिले पार्टीका झण्डा देखिन्छन् । तिनै झण्डा फहराउँदैं अटो र इ–रिक्सा चालक मजदुरहरुले यात्रु ओसार्दै आएका छन् । अहिले दलले घरदैलोसँगै यस्ता मजदुरलाई प्रचारको माध्याम बनाएका छन् । निर्वाचन अघिपछि कुनै पनि दलले यस्ता मजदुरलाई सम्झँदैनन् । न समस्या सुन्छन्, नत कुनै सहयोग गर्छन् ।

Advertisement

चुनाव आएपछि प्रचारको अग्रपंक्तिमा भने उनीहरुलाई नै लगाउँछन् । प्रचारका लागि दाईभाइ लगायत अनेकथरि नातागोता लगाउँदै विना पारिश्रमिक प्रयोग गर्छन् । बेलहियामा भेटिएका सिद्धार्थनगर–८, बसडिलवाका अटो चालक केशव मरासिनीले छिमेकी आफन्त उम्मेदवार भएकाले ल बाबु यो झण्डा अटोमा बाँध भनेपछि सहयोग गरेको बताए ।

कति पैसा दिए त अटोमा पार्टीको झण्डा बाँधेवापत भन्ने पब्लिक कुराको प्रश्नमा उनले भने, ‘के को पैसा दिनु, निःशुल्क सहयोग गरेको हुँ, झण्डा बाँध भनिहाले जिते भने पछि काम लाग्लान् भन्ने आश मात्र हो, अरु केही होइन् ।’ उनले आफू विचार र आस्था भन्दा माथि उठेर छिमेकीलाई सहयोग गरेको जनाए ।

अहिले सहरमा देखिने अधिकांश अटो र इ–रिक्सामा विभिन्न दलका झण्डा फहराउने गरेका छन् । निर्वाचन आचारसंहिताले दलको चुनाव चिन्ह अंकित झण्डा, स्टिकर र व्यानरमा रोक लगाएको छ । भैरहवामा भने त्यसविपरीत अटो तथा इ–रिक्सामा यस्ता प्रचार सामाग्री टाँसिएका छन् । धेरै अटो र इ–रिक्सामा उम्मेदवारको तस्बीर अंकित स्टिकर पनि देखिन्छन् ।

यस्ता अटो र इ–रिक्साले सर्वसाधरण बोकेर भित्री बस्तीमा पुुग्ने भएकाले पनि दलले प्राथमकिता दिएको पाइन्छ । अहिले चोक र गल्लीमा फरक–फरक दलका झण्डा बाँधेका अटो र इ–रिक्सा भेटिन्छन् । झट्ट हेर्दा उनीहर कुनै दलले सञ्चालन गरेको जस्ता देखिन्छन् । तर भित्री वास्तविकता भने फरक छ । निर्वाचनको मौकामा दलहरुले यसरी छरिएर रहेका मजदुरबाट फाइदा लिइरहेका छन् ।

स्थानीय तह निर्वाचनको मिति जति नजिकिँदै छ, दलहरुले घरदैलो र मतादाता भेटघाटलाई तीव्रता दिएका छन् । जसरी हुन्छ निर्वाचन जित्नु पर्छ भन्ने दाउँमा रहेका दलहरुले हरेक उपाय अपनाइरहेका छन् । यस्तो क्रममा उनीहरुले मजदुरलाई समेत उपयोग गरिरहेका हुन् । निर्वाचनकाबेला मजदुरलाई उपयोग गर्ने दलहरु र उम्मेदवारले भने निर्वाचन पछि उनीहरुका मुद्दा र हकअधिकारका विषयलाई भने किनारा लगाउने गरेका छन् ।

भैरहवाको बसपार्क अगाडि भेटिएका सिद्धार्थनगर–३ का इ–रिक्सा चालक आनन्द थापा भन्छन्, ‘हाम्रा समस्या सधैं निर्वाचनका बेला मात्र उठ्छन्, अरुबेला कुनै सोधखोज हुँदैन । दल र उम्मेदवार हामीलाई जम्मा भोट बैंकका रुपमा प्रयोग गर्ने गरेका छन् ।’ उनले आफ्नो रिक्सामा धेरै पार्टीले झण्डा बाँधेर सहयोग गर्न भने पनि नगरेको बताए । उनले अहिलेसम्म आफूले चार-पाँच पटक मत दिएर जनप्रतिनिधि चुने पनि कहिल्यै सहयोग नपाएको बताए । ‘म जस्ता मजदुरलाई नेताले सधैं भोट बैंकका रुपमा मात्रै प्रयोग गर्दै आएका छन्, जितेपछि कहिल्यै सहयोग गर्दैनन् । र, आश गर्नु पनि बेकार हो जस्तो लाग्छ’, उनले भने ।

मुलुकभर सबै किसिमका मजदुर गरी एक करोड बढी भएको बताइन्छ । रुपन्देहीमा अटो तथा इ–रिक्सा चालक मजदुर कति छन् भन्ने एकीन तथ्यांक कुनै स्थानीय तहसँग छैन । तर, निर्वाचनको संघारमा मजदुरको इमान्दारितालाई भने दलहरुले खुबै उपयोग गरिरहेका छन् । अहिले पनि सबै स्थानीय तहले अटो तथा इ–रिक्सा दर्ताको व्यवस्था गरेका छैनन् । लाइसेन्स नहुँदा ट्राफिक प्रहरीको कारबाही कयौंपटक भोग्न परेको उनीहरुको गुनासो छ ।

ट्राफिक प्रहरी, स्थानीय तहका कर्मचारीदेखि ठूला सवारी चालक तथा व्यवसायीको रुखो बोली–व्यवहार उस्तै छ । निर्वाचनका बेला उम्मेदवार र दलले सबै समस्या समाधान गर्ने बाचा गर्छन् । निर्वाचन पछि मजदुरका गुनासा समाधानको प्रयास त के सुन्नेसम्म कोसिस गर्दैनन् । बरु निर्वाचनका मुखमा विगतदेखि नै स्वार्थअनुसार उपयोग गर्दै आएका छन् । मजद्ुरले भने चुनावका बेलामा मात्रै सम्झिने भन्दा आफूहरुका समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् ।

भैरहाको हाटबजार चोकमा भेटिएका इ–रिक्सा चालक गल्लामण्डीका जाहिर खानको गुनासो पनि दलहरुप्रति बढी छ । उनले निर्वाचनका बेला प्रलोभन पार्ने, निःशुल्क सहयोग लिने तर पछि सबै विर्सिने बानी नेताहरुमा भएको गुनासो पोखे । ‘छिमेकी दाईले झण्डा ल्याएर मेरो रिक्सामा बाँधिदिनुभयो, पछि काम लागौला नी भनेपछि मैले झण्डा बाँधे’, उनले भने, ‘जितेर गर्ने त केही होइन्, त्यही पनि आशा गर्नुपर्ने हाम्रो बाध्यता ।’

उनले दैनिक मजदुरी गरेर खाने आफूजस्ता कयौंलाई दल र उम्मेदवारले यसैगरी प्रयोग गर्ने गरेको बताए । ‘अहिलेसम्म जितेकाले केही गरेनन्, अबकाले झन के गर्लान् र, हेरौं झण्डा बाँधेर सहयोग गरेको छु, पछि जिते भने हाम्रा समस्या समाधान गर भन्नुपर्ला’, उनले भने । मजदुर नेता उत्तम श्रेष्ठले निर्वाचनका बेला संगठित भन्दा छरिएर रहेका असंगठित मजदुरलाई दलहरुले स्वार्थका लागि बढी प्रयोग गर्ने गरेको बताए । ‘दलले भोट र जसलाई प्रयोग गर्न सजिलो हुन्छ, त्यसैले प्राथमिकता दिन्छन्’, उनले भने, ‘त्यस्ता उम्मेदवार र दलबाट मजदुर सचेत हुनुपर्छ । काम गर्दा निःशुल्क सहयोग गर्नुहुँदैन, आफ्नो पारिश्रमिक ल्याउनुपर्छ ।’