May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

लुम्बिनीका चार उपमहानगरमा गठबन्धन र एमालेबीच नै टक्कर

भैरहवा– लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामा सत्ताघटक पाँच दलले संयुक्त उम्मेदवार खडा गरेर चुनावी मैदानमा छन् । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालसँग मुलुकभर जस्तै लुम्बिनीका चार उपमहानगरमा पनि गठबन्धन गरेको छ । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेको छ । एमाले पनि अहिले चुनाव जित्ने राणनीतिसहित अघि बढीरहेको छ ।

Advertisement

खासगरी लुम्बिनी प्रदेशका बुटवलसहित नेपालगंज, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई विशेष चासोसाथ हेरिएको छ । ठूला नेताको जिल्ला पर्ने उपमहानगर हुनुले पनि धेरैको चासो यी उपमहानगरमा पर्ने गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि उम्मेदवार दर्ता प्रक्रिया सकिएपछि दलहरु रणीतिक योजनासाथ घैरदैलोमा छन् । मतदातासमक्ष आफ्ना एजेन्डासहित उम्मेदवारले मत मागिरहेका छन् ।

विगतको निर्वाचन मतपरिणामलाई हेर्दा लुम्बिनीमा रहेका उपमहानगरमा नेकपा एमाले र गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । गठबन्धनले भागबन्डाका आधारमा उम्मेदवारी दर्ता गरेका छन् ।

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा काँग्रेसका खेलराज पाण्डे र उपमेयर नेकपा एकीकृत समाजजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन् । ‘हामीले गठबन्धनबाट संयुक्त चुनावी प्रचारमा छौं, गठबन्धनप्रति मतदाताको आकर्षण बढेको पाएका छौं’, गठबन्धनबाट बुटवल उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङले भने, ‘जनतामा तीव्र विकासको अपेक्षा छ तर अघिल्लोपटकको नेतृत्वले बुटवलमा काम गर्न सकेन, त्यसैले मतदाताले विकल्प खोजिरहेका छन्, त्यो विकल्प भनेकै गठबन्धन हो ।’

नेकपा एमालेले बुटवलको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई अघि सारेको छ । यस्तै, दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा माओवादीका हेमराज शर्मा (डायमण्ड) र उपमेयरमा काँग्रेसका भूपबहादुर डाँगी उम्मेदवार छन् । एमालेबाट यसअघिका मेयर नरुलाल चौधरी मेयरका उम्मेदवार छन् भने उपमेयरमा हुमा डिसी छन् ।

दाङकै तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा काँग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणा उम्मेदवार छन् । यस्तै, एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी उम्मेदवार भएकी छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दिन राई तथा एमालेबाट मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाल चुनावी मैदानमा होकिएका छन् ।

मतदानको मिति नजिकिँदै गर्दा दलहरुमा दौडधुप चलेको छ । सानादेखि, स्वतन्त्र र ठूला दलले घरदैलोमा व्यस्त छन् । लुम्बिनीमा सत्ताघटक दलले जसरी पनि गठबन्धनलाई जिताउने भनेर लागि परेको छ भने एमालेले गठबन्धनलाई पराजित गरेरै छाड्ने रणनीतिसाथ अघि बढेको छ । ‘हाम्रो विगतको काम, राष्ट्रिय राजनीति सबै किसिमले निर्वाचन जित्छौं भन्नेमा ढुक्क छौं’, एमालेबाट घोराही उपमहानगरपालिकाका मेयरका उम्मेदवार नरुलाल चौधरीले भने ।

उनले यसअघिको आफ्नो कार्यकालमा जनभावनाअनुसार काम गरेकाले यसपल्ट पनि नगरबासीले निर्वाचित गराउनेमा ढुक्क रहेको बताए । घोराही उपमहानरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो । यहाँ एमाले उम्मेदवार चौधरीले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए । प्रतिस्पर्धी नेपाली काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।

यहाँ नेकपा एकीकृत समाजवादीको पनि राम्रो उपस्थिति छ । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आफ्नो पार्टीले यहाँ एक्लै जित्ने स्थिति रहे पनि गठबन्धन भएकाले एमालेलाई सहजै पराजित गरिने जनाए । ‘विगतको मत परिणाम हेर्ने हो भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मतमात्रले पनि एमालेलाई हराउन सकिन्छ’, उनले भने, ‘अहिले घोराहीमा एमालेभन्दा एकीकृत समाजवादीको मत धेरै छ । त्यसैले यहाँ गठबन्धनका उम्मेदवारले सहजै जित्नु हुन्छ ।’

दाङकै तुल्सीपुर उपमहानरपालिकामा पनि २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको थियो । यहाँ एमाले उम्मेदवार घनश्याम पाण्डेले २२ हजार ८५७ मत ल्याएर जितेका थिए । निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवार शेषुराम भण्डारीले ८ हजार ६९५ मत ल्याएका थिए ।

यहाँ पनि एमाले भन्दा गठबन्धन निकै बलियो देखिन्छ । यहाँका मेयर पाण्डेले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप छ । यसले गर्दा पनि गठबन्धन झनै बलियो छ । यो उपमहानगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रले हासिल गरेको मत जोड्दा नेकपा एमालेलाई सहजै पराजित गर्न सक्ने देखिन्छ । यसमा नेकपा एकीकृतको मत जोड्दा मतान्तर धेरै फरक हुने गठबन्धनको दावी छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ४ उपमहानरपालिकामध्ये ३ वटामा नेकपा एमालेले मेयर पदमा जितेको थियो । एक उपमहानगरमा भने राप्रपाले जित हासिल गरेको थियो । एमालेले आफ्नो किल्ला मान्ने बुटवल उपमहानरपालिकामा अहिलेको सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेदवार खेलराज पाण्डेलाई २ हजार ३९८ मतको अन्तरले हराउँदै एमालेका शिवराज सुवेदी विजयी भएका थिए ।

सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए भने नेपाली काँग्रेसका उम्मेदवार पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए । यहाँ जनमुक्ति पार्टीले एक हजार १५१ मत ल्याएको थियो । यहाँ एमाले विभाजित भइसकेपछि ठूलो फरक छ । जनजाति मतदाता धेरै एकीकृत समाजवादीमा लागेको उक्त पार्टीको दावी छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङले बुटवल उपमहानगरमा यसपटक गठबन्धनले सहजै जित हासिल गर्ने दाबी गरे । सत्ता गठबन्धनबीच तालमेल भएकाले बुटवलमा एमालेलाई सहजै पराजित गर्न सकिने काँग्रेस रुपन्देही कोषाध्यक्ष हरिप्रसाद अर्याललको दावी छ । तर एमालेले भने बुटवल आफूहरुको लालकिल्ला भएकाले गठबन्धनलाई पराजित गर्ने बताएको छ । एमालेका मेयरका उम्मेदवार बाबुरा भट्टराईले नगरको विकासलाई अघि बढाउन बुटवलमा एमालेले जित्नै पर्ने बताए ।

यता बाँकेको नेपालगञ्ज उपमहानरपालिकामा गत निर्वाचनमा राप्रपाका धवल शम्शेर राणाले १२ हजार ५१५ प्राप्त गरी विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेश कुमार कनौडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्यले ७ हजार १९८ मत ल्याएका थिए । एमाले उम्मेदवार समसुद्दिन सिद्दीकीले ६ हजार ९५ मत ल्याएका थिए ।

त्यतिबेलाको काँग्रेस र माओवादीको मत जोड्दा १५ हजार ९२८ हुन्छ । यहाँ राप्रपाको पनि राम्रो पकड छ । त्यसैले यहाँ खासगरी सत्ता गठबन्धन र राप्रपाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमाले केही कमजोर छ । यद्यपि मतदाताले गठबन्धनमै मत हाल्छन् की हाल्दैनन् भन्ने हेर्न भने मत परिणाम कुर्नैपर्ला । तर, यसपल्ट एमालेले जितेका उपमहानगरमा भने सत्ता गठबन्धनले पक्कै ठूलो धक्का दिने देखिन्छ ।