December 12, 2024, Thursday
२०८१ मंसिर २७

दल फेर्नेलाई नै धमाधम टिकट

भैरहवा– स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न र टिकट हत्याउनका लागि नै दल फेर्ने नेताहरुले पार्टीबाट टिकट पाएका छन् । यसले लामो समय पार्टीमा योगदान गरेका स्थानीय नेता तथा कार्यकर्ताहरुमा तीव्र असन्तुष्टि छ ।

नेकपा एमालेले रोहिणी गाउँपालिकाको अध्यक्षमा सनोजकुमार यादवलाई अध्यक्षको उम्मेदवार बनाएको छ । दुई महिना अघि जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेर उनी एमाले प्रवेश गरेका थिए । टिकटको दौडाहमा रहेका यादव सुरुमा काँग्रेस प्रवेश गर्न चाहेका थिए । तर, काँग्रेसमा टिकटको ग्यारेन्टी नभए पछि एमाले प्रवेश गरे । र, टिकट पनि पाएका छन् ।

Advertisement

यादवलाई टिकट दिए पछि एमाले रोहिणीमा भूइँचालो नै गएको छ । एमालेमा तीन दशक विभिन्न कमिटीमा रहेर काम गरेर नेता संजय गुप्ताले असन्तुष्टि जनाउँदै साधारण सदस्यसमेत नरहने गरी पार्टी नै परित्याग गरेका छन् । यहाँ गुप्ता पनि एमालेबाट अध्यक्षका आकांक्षी थिए । उनले पार्टी छाड्दा यहाँ एमालेलाई ठूलो धक्का पुग्ने बताइन्छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका यसअघिका प्रमुख (मेयर) मनमोहन चौधरीले टिकटका लागि नै जसपा परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित चौधरी अघिल्लो महिना मात्रै जसपा प्रवेश गरेका थिए । चुनावको मुखमा आएर उनले जसपा छाडेर लोसपा प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै लुम्बिनीमा लोसपाले उनलाई मेयरको उम्मेदवार बनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी यसअघिकै उपमेयर जानकीदेवी श्रीवास्तव र लोसपाका युवा नेता अम्रिक चौधरी (बिक्कु) हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालमा प्रवेश गरेका छन् । लोसपाबाट मेयरका आकांक्षी चौधरी र उपमेयर आकांक्षी श्रीवास्तवले उक्त पार्टीबाट टिकट नपाउने निश्चित भएपछि प्रगतिशील पार्टी प्रवेश गरेका हुन् ।

प्रवेश गर्दाकै दिन प्रगतिशीलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा चौधरीलाई मेयर र श्रीवास्तवलाई उपमेयरको टिकट दिएको छ । ‘हामीले लामो समय पार्टीभित्र योगदान दियौं तर नयाँ मान्छे भित्र्याउँदै उसैलाई टिकट दिने लोसपाको नियतीका कारण बाध्य भएर छाड्यौं’, आइतबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा अम्रिक चौधरीले भने । उनले लोसपाले पार्टीमा योगदान गर्नेको कदर नगरेको आरोप लगाए ।

यतिमात्रै होइन् नेपाली काँग्रेसमा विद्रोह गरेर जसपा प्रवेश गरेका नेता मातृकाप्रसाद दायवले पनि सिद्धार्थनगरको मेयरको टिकट पाएका छन् । काँग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका पूर्व क्षेत्रीय सभापति यादवले नयाँलाई टिकट दिएर आफूलाई अन्याय गरेको भन्दै जसपा प्रवेश गरेका हुन् । काँग्रेसले सिद्धार्थनगरमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाएको छ ।

ओमसतिया गाउँपालिकाका बहालवाला अध्यक्ष हिरा केवटले श्रीमतीलाई एमालेबाट उपाध्यक्ष टिकट दिलाउन सफल भएका छन् । २०७४ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित केवट केही महिना अघि एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गर्दा नै उनले आफ्नी श्रीमतीलाई उपाध्यक्षको टिकट दिनुपर्ने शर्त तेस्र्याएर प्रवेश गरेको बताइन्छ । उनको शर्तअनुसारै एमालेले केवटकी श्रीमती निर्मलाकुमारी निषादलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

ओमसतियामै जसपा परित्याग गरी प्रवेश गरेका मन्जितकुमार यादवलाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको छ । सम्मरीमाई गाउँपालिकामा एमाले परित्याग गरी प्रवेश गरेका निवर्तमान गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई माओवादीले अध्यक्षको उम्मेदवार बनाएको छ । शुक्लालाई माओवादीले उम्मेदवार बनाए पछि उक्त पार्टीका पालिका अध्यक्ष सहाबुद्दिन देवानले पार्टी परित्याग गरेर काँग्रेस प्रवेश गरेका छन् । माओवादीमा दलालपुँजीवाद हावी हुँदा पूराना नेताकार्यकर्ताले पार्टी छाड्न बाध्य भएको देवानले बताए ।

कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमति बनिया राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । जसपा परित्याग गरी उनी राप्रपामा प्रवेश गरेकी हुन् । उनलाई यहाँ राप्रपाले उम्मेदवार बनाउँदैछ । मर्चवारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष शैलेष श्रीवास्तव पनि जसपा परित्याग गरी राप्रपा प्रवेश गरेका छन् । करिब एक महिना अघि उनी जसपामा प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा श्रीवास्तव स्वतन्त्र उम्मेदवार भइ वडाध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाले उनलाई मर्चवारी–४ को वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

जसरी पनि चुनाव तिज्नुपर्छ भन्ने मान्यताकासाथ दलहरुले अहिले धमाधम दल फेर्नेहरुलाई प्राथमिकता दिएर टिकट वितरण गरेका छन् । यसले दलहरुमा विद्रोह पनि भइरहेको छ । नयाँ प्रवेशीलाई टिकट दिँदा पार्टीमा वर्षौ योगदान गरिरहेकाहरु पार्टी छाड्न बाध्य भएका छन् । कतिपय पार्टी कमिटीबाटै बाहिरै भएका छन् ।