रूपन्देहीमा राजीनामा र दल फेरबदलले ‘हलचल’


भैरहवा– रुपन्देहीमा पछिल्ला दिनमा दल फेरबदल र राजीनामाको लहर नै चलेको छ । स्थानीय तह निर्वाचनको मुखमै कतिपय नेताहरुले टिकटका लागि दल फेरबदल गरिरहेका छन् भने कतिले टिकट वितरणमा असन्तुष्टि जनाउँदै ।
शनिबार संचारमाध्यममा छ्यापछ्याप्ती समाचार आए, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) प्रवेश गरेको । २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित चौधरी अघिल्लो महिना मात्रै जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रवेश गरेका थिए । लुम्बिनी क्षेत्रमा राम्रो पकड भएका उनले पुनः दल बदलेपछि यस क्षेत्रमा राजनीतिले अर्कै मोड लिएको छ । उनी लोसपाबाट लुम्बिनीको मेयर उठ्दैछन् ।
उनले दल फेरबदल गरिरहेको देखेर कार्यकर्ता र स्थानीय भने खुशी छैनन् । उनलाई लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल लगायतले काठमाडौंमा पार्टीमा प्रवेश गराएका हुन् । रुपन्देहीकै कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमति बनिया राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । जसपा परित्याग गरी उनी शनिबार राप्रपामा प्रवेश गरेकी हुन् ।
गत स्थानीय तहको निर्वाचनमा बनिया तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । मर्चवारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष शैलेष श्रीवास्तव पनि जसपा परित्याग गरी राप्रपा प्रवेश गरेका छन् । करिब एक महिना अघि उनी जसपामा प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा श्रीवास्तव स्वतन्त्र उम्मेदवार भइ वडाध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाले उनलाई मर्चवारी–४ को वडाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ ।
त्यस्तै, कोटहीमाई गाउँपालिका–६ का युवा नेता मुकेश यादव, कोटहीमाई–७ का दिलीपकुमार यादव, कोटहीमाई–४ का वडा सदस्य रामकुमार यादव पनि जसपा परित्याग गरी राप्रपामा प्रवेश गरेको उक्त पार्टीका जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समिति संयोजक अजयकुमार गुप्ताले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) सम्मरीमाई गाउँपालिका अध्यक्ष सहाबुद्दिन देवानले पनि पार्टी परित्याग गरेका छन् । उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका नेता प्रमोदकुमार यादवले देवानलाई पार्टी प्रवेश गराएका हुन् । उनीसहित सयौं नेता काँग्रेस प्रवेश गरेका छन् । देवानसँगै माओवादी सम्मरीमाई उपाध्यक्ष अहमद हुसेन देवान (जाकिर), अदहम अलि देवान (बुलबुल) पनि कांग्रेसको प्रवेश गरेका छन् ।
मुस्लिम मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष समेत रहेका माओवादी नेता देवानले माओवादीमा ३० वर्षदेखि काम गरेको र अहिले पार्टीमा बेइमानी र पूंजीवाद हावी भएको आरोप लगाए । ‘माओवादीले पूंजीवादको दबाबमा परेर टिकट विक्रीवितरण गरिरहेको छ, यसैले मैले पार्टी त्यागेको हुँ’, उनले भने ।
अघिल्लो हप्ता नेपाली कांग्रेस परित्याग गरेका नेता मात्रिकाप्रसाद यादव जसपा प्रवेश गरेका छन् । उनी जसपाबाट सिद्धार्थनगरको मेयरको उम्मेदवार बन्दैछन् । कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का पूर्व क्षेत्रीय सभापति समेत रहेका यादव शुक्रबार जसपामा प्रवेश गरेका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकामा प्रमुखमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।
उनले काँग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई सिद्धार्थनगरको मेयर उम्मेदवार बनाउने निर्णय गरेपछि पार्टी छाडेका हुन् । उनी यहाँ काँग्रेसबाट मेयरको आकांक्षी थिए । पार्टी छाड्दै गर्दा उनले काँग्रेसले पूराना नेतालाई पाखा लगाएर नयाँलाई प्राथमिकता दिएको आरोप लगाएका थिए । तर, उनै यादव जसपा प्रवेश गर्दावित्तिकै मेयरको टिकट पाउँदैछन् ।
‘पार्टी छाड्दा जुन आरोप लगाएर छाड्छन्, अर्को पार्टीमा गएर आफै उस्तै काम गर्छन्’, विश्लेषक उमेशचन्द्र रिजाल भन्छन्, ‘राजनीतिमा नैतिकता हराएको आभाष हुन थालेको छ । पदका लागि नेताहरु जस्तोसुकै काम गर्न थाले । यसले मुलुकको भविष्यलाई नै अन्धाकार बनाएको छ ।’
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पदबाट राजीनामा दिएका छन् । उनी स्थानीय तह निर्वाचनमा रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवारका आकांक्षी थिए । पार्टीले अन्यायपूर्ण व्यवहार गरेको, विधि, विधान, सिद्धान्त भन्दा बाहिर गएर उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको भन्दै यादवले पदबाट राजीनामा दिएको बताए ।
शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी यादवले एमालेको साधारण सदस्य समेत नरहने गरी सबै पदबाट राजीनामा घोषणा गरेका हुन् । यादवसहित एमाले सम्मरीमाई र मर्चवारी गाउँपालिकाका २३ जना स्थानीय नेताले पनि सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा गाउँपालिकाका सहसचिव, सदस्यहरु, वडा कमिटी अध्यक्ष तथा सदस्यहरु, युवा संघका नेता तथा सदस्यहरु छन् । यादव एमाले रुपन्देही क्षेत्र नम्बर चारको इन्चार्ज समेत थिए । सम्मरीमाईमा एमालेबाट यादवसहित मुस्लिम खानको नाम गाउँपालिका अध्यक्ष उम्मेदवारका लागि जिल्ला कमिटीमा सिफारिस भएको थियो । तर, यादवको नाम हटाएर पूर्व कर्मचारीसमेत रहेका खानको नाम जिल्ला कमिटीले उम्मेदवारका लागि प्रदेश कमिटीमा सिफारिस गरेको यादवले बताए ।
‘म २०५४ सालदेखि पार्टीको क्रियाशील सदस्य भएर काम गर्दै आएको थिएँ, २५ वर्ष जुन पार्टीमा योगदान गरेँ, त्यो पार्टी छाड्दा आफैमा नरमाइलो लागेको छ’, उनले भने, ‘तर, जिल्ला कमिटीका केही नेताका कारण मलाई सधै नराम्रो नजरले हेरियो । मेरै कारणले मर्चवारमा पार्टी बलियो भएन र अन्य कार्यकर्ताले पार्टी छाडे भन्ने आरोपसमेत लगाइयो ।’
कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पनि पार्टीबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनका विषयमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरीत निर्णय गरेको भन्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरि शुक्रबार राजीनामा दिएका हुन् । उनी बुटवल उपमहानगरपालिकाको प्रमुखमा आकांक्षी समेत थिए । लम्सालले जिल्ला पार्टी कार्यालय भैरहवा आएर पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएका हुन् ।
पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेर अरू नेता तथा कार्यकर्ताको भावनामा ठेस पुर्याएको दाबी उनले गरेका छन् । यहाँबाट काँग्रेसले नगर सभापति खेलराज पाण्डेलाई मेयरको उम्मेदवार बनाउँदैछ । यी त पछिल्ला हप्ता विकसित घटनाक्रम हुन् । दल बदल्ने र पार्टी छाड्ने अहिले रुपन्देहीमा होडबाजी नै चलेको छ । राजनीतिक संस्कार र इमान्दारिताको कमीले नेताहरुमा विचलन बढेको विश्लेषक रिजाल बताउँछन् ।
केही महिना अघि मात्रै जिल्लाकै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट, सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले पनि पार्टी छाडेका थिए । यादव जसपा परित्याग गरी एमाले प्रवेशका छन् । उनी रोहिणीबाट अध्यक्षको आकांक्षी छन् । यस्तै केवट माओवादी छाडेर एमाले प्रवेश गरेका हुन् भने शुक्ला एमाले त्यागेर माओवादी प्रवेश गरेका छन् । उनीहरु दुबै जना फेरि उम्मेदवारका आकांक्षी हुन् ।
राजनीतिमा नैतिकताको खडेरी परिरहँदा पछिल्ला दिनमा नेताहरुको दल अदलबदलले आमनागरिकमा भने वितृष्ण पैदा भइरहेको छ । स्वार्थका लागि पार्टी प्रवेश, दल त्याग्ने कामले चुनावको मुखमा झनै मलजल पाइरहेको छ । यसले राजनीतिक दल र तिनका नेताहरुलाई फाइदा गरे पनि आमनागरिकको जनजिविकासँग भने खासै महत्व राख्दैन । जनताका इच्छा, आकांक्षा एकातिर छन्, नेताका अर्कातिर छन् । यस्तो बेला निर्वाचन जित्नकै लागि पार्टी त्याग र प्रवेशको लहरले राम्रो सन्देश प्रवाह भने पक्कै भएको छैन ।









लेखकको सम्वन्धमा